हरेक चुनावमा वाचा, तर बन्दैन पुल

कार्तिक २८, २०७९

मनोज पौडेल

कपिलवस्तु — तीन दशकयता हरेक चुनावमा हर्दौनाको पुल एजेन्डा बन्छ । उम्मेदवार पुल बनाउने वाचा गर्दै मत माग्छन् । तर, जितेपछि वाचा बिर्सिहाल्छन् ।महाराजगन्ज नगरपालिका–१० हर्दौनाका सोमनाथ कहार यसपटक फेरि उम्मेदवार पुल बनाउन वाचा गर्दै मत आएको बताउँछन् ।

‘चुनाव आएसँगै मतदाता फकाउन उम्मेदवार गाउँ पसेका छन् र त्यही वाचा दोहोर्‍याइरहेका छन्,’ उनले भने । उनीजस्तै हर्दौनाका रामतिरथ पालले २५ वर्षमा यस क्षेत्रबाट थुप्रै सांसद बने पनि हर्दौनाबासीको पुलमा आवतजावत गर्ने सपना ज्यूँका त्यूँ रहेको सुनाए । हर्दौनामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्नै समस्या हुने गरेको छ । उनीहरू डुंगाकै भर पर्नु पर्छ । वर्षाका बेला उर्लंदो भेलमा जोखिम मोलेर वारिपारि गर्नु परिरहेको छ । हर्दौनाबाहेक जिल्लामा अन्यत्र डुंगा विस्थापित भइसकेको छ ।

उम्मेदवारले हरेकपटक चुनावमा हर्दौना र यशोधरा गाउँपालिकाको इटवा सुल्तनवापुर जोड्ने पुल बनाउने आश्वास दिंदै आएका छन् । यसपटक भने स्थानीयले उम्मेदवारको बोलीको विश्वास गर्न छाडेको स्थानीय नन्दलाल चौहानले बताए । ‘त्यही भएर प्रश्न गर्न थालेका छौं,’ उनले भने, ‘सक्छौ भने हुन्छ भन, नभए झूटो आश्वासनको पोको बाँडेर भुलभुलैयामा नपार ।’ यहाँ पुलसँगै नदी कटानको समस्या पनि छ । दुईपटक गाउँ नै अन्यत्र सरिसकेको छ । फेरि पनि गाउँ नजिकैबाट नदी बगिरहेको छ । 

महाराजगन्जका दक्षिणी क्षेत्रका जनतालाई सदरमुकाम आउजाउ गर्न निकै छोटो र सजिलो बाटो यही हो । यशोधराबासीलाई मुलुककै प्रमुख व्यापारिक केन्द्र कृष्णनगर आउजाउ गर्न यो बाटो सहज छ । यहाँ पुल नहुँदा वर्षाका बेला १६ किमि घुमेर आवतजावत गर्नु पर्छ । वडा नम्बर १० मा ५ गाउँ पर्छन् । यो भारतसँग सीमा जोडिएको क्षेत्र पनि हो । हर्दौनादेखि उत्तरमा कजारहवा हुँदै गैडहवासम्म पक्की बाटो छ । हर्दौनामा पुल बने सदरमुकाम तौलिहवा जान निकै छोटो बाटो हुन्छ । 

हर्दौनाबासीको अर्को ठूलो समस्या बाढी हो । गाउँदेखि पूर्व दुई मिटरमै नदी बगिरहेको छ । ‘गत वर्ष आएको बाढीले लत्ताकपडा, खाद्यान्न र भाँडाकुडा सबै बगाएर लग्यो,’ सोमनाथ कहारले भने, ‘अहिले त खेतमा घर बनाएर बसेको छु । यहीं पनि नदीले घेरेकाले रातीमा जाग्राम बस्छु ।’ गाउँमा १५ वर्षयता १० पटक बाढी पसेर ठूलो जनधनको क्षति गरेको उनले सुनाए । बाढीकै कारण गाउँ आसपासमा सात जनाले ज्यान गुमाइसकेका छन् । नदीले अहिलेसम्म झन्डै ४ सय बिघा जग्गा कटान गरेर बगर बनाएको छ । नदीले धार परिवर्तन गरेर पश्चिमतिर आउँदा वर्षाका बेला गाउँले रातभर जाग्राम बस्छन् । 

यस क्षेत्रमा एमालेबाट उम्मेदवार निवर्तमान सांसद बृजेशकुमार गुप्ताले २०७७ मा पुलको टेण्डर भए पनि प्राविधिक कारणले रोकिएको बताएर मत मागिरहेका छन् । ‘चाँडै नै पुल बनाउन ठोस पहल गर्नेछु,’ उनले भने । कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले वाणगंगा रिभर बेसिन परियोजनाअन्तर्गत सिंचाइ र तटबन्ध निर्माणका लागि ६ अर्ब रुपैयाँमा परियोजनाको डीपीआर तयार भइसकेको भनेर मतदातालाई आश्वस्त पारिरहेका छन् । परियोजना सञ्चालनपछि पुल र नदी कटानको मात्र समस्या समाधान नभई स्थानीयको आय आर्जनमा पनि उत्तिकै सहयोग पुग्ने उनले बताए । 

मनोज

Link copied successfully