कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बर्दियामा विरासत जोगाउने र भत्काउनेको होड

कमल पन्थी

बर्दिया — यहाँ ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१, बाट कांग्रेसका संजयकुमार गौतम र क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका नेता सन्तकुमार थारु निर्वाचित भए । गौतमले तात्कालीन एमाले वरिष्ठ नेता वामदेव गौतमलाई पराजित गरेपछि मुलुकभरि चर्चा भयो । त्यसबेला माओवादी र एमालेबीच गठबन्धन थियो ।

बर्दियामा विरासत जोगाउने र भत्काउनेको होड

कांग्रेसभन्दा गठबन्धनका उम्मेदवार ३० हजारभन्दा बढी मतले अगाडि देखिन्थे । त्यसबेला गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी वामदेवले ४४ हजार ७६ मत प्राप्त गरे । झिनो अन्तरले सञ्जय विजयी भए ।

त्यसबेला एमालेभित्रको अन्तरघातले वामदेव पराजित भएको एमाले कार्यकर्ता सुनाउँछन् । यसपटक जिल्लाको परिस्थिति बदलिएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँचदलीय गठबन्धन बनेको छ । स्थानीय तहमा कांग्रेसले बारबर्दिया, मधुवन नगरपालिकामा माओवादीको गढ भत्काएर जित हात पारेको थियो ।

०७४ मा एमालेले जितेको ठाकुरबाबा नगरपालिकामा पनि कांग्रेसले प्रमुख जितेको छ । गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा दोस्रोपटक कांग्रेस विजयी बनेको थियो । राजापुर नगरपालिका प्रमुख माओवादीले जितेको छ । यस हिसाबले जिल्लामा गठबन्धनको मत बढी देखिन्छ । तर, यसपटक नागरिक उन्मुक्ति पार्टी परम्परागत दललाई चुनौतीका रुपमा देखिएको छ । नागरिक उन्मुक्तिबाट बर्दिया-१, मा सञ्चारकर्मी ठाकुरसिंह थारु प्रतिनिधिसभाका उम्मेदवार छन् ।

बर्दिया-१, मा गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार सञ्जय गौतम अंक गणतीय हिसाबमा अगाडि देखिन्छन् । उनलाई पार्टीभित्रका असन्तुष्ट र नागरिक उन्मुक्ति पार्टीमा मत दिने कार्यकर्तालाई रोक्ने चुनौती छ । गौतमले निर्वाचनमा जित मिल्ने बताए । ‘कोही पनि असन्तुष्ट छैनन्,’ गौतमले भने, ‘मलाई होइन‚ पार्टीलाई भोट दिन्छन्‚ त्यसमा म ढुक्क छु ।’ यहाँबाट दुईपटक निर्वाचित गौतमले बबई, भादा, ओराही नदी नियन्त्रण व्यवस्था कार्यालय स्थापना गरेको, उत्तर दक्षिण राजमार्ग निर्माणदेखि थुप्रै विकास निर्माणको काम गरेको बताए ।

गौतमलाई एमालेबाट पहिलोपल्ट संसदीय निर्वाचनमा उम्मेदवारी दिएका लक्ष्मणराज ज्ञवालीले चुनौती दिइरहेका छन् । ज्ञवाली यसपटक आफू विजयी हुने दाबी गर्छन् । एमालेलाई जनताको अपार माया भएका कारण अन्य दलका मतदाताले मत दिएर विजयी गराउने उनले बताए ।

ज्ञवालीले निर्वाचित भए विगतमा जनप्रतिनिधिले नगरेका जिल्लाको विकास निर्माणका काममा आमूल परिवर्तन गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे । बेरोजगारी समस्या, बाढी र कटान रोकथाम, किसान समस्यालगायत भूमिहीनलाई व्यवस्थापन गर्ने उनले बताए । उनलाई भने चुनाव जित्न ठुलो कसरत गर्नुपरेको छ । उनलाई गठबन्धनका कारण वामपन्थीका मत विभाजन हुने चुनौती थपिएको छ । नागरिक उन्मुक्ति पार्टी पहिलो संसदीय निर्वाचनमा सहभागी भइरहेको छ । उक्त पार्टीले जनमत बटुल्ने क्रममा छ । उक्त पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले पहिचान, संस्कृति, भ्रष्टाचारविरुद्धका चुनावी मुद्दा अघि सारेका छन् । थारु बाहुल बर्दियामा उक्त पार्टी विस्तार भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, स्वतन्त्र पार्टीलगायतका उम्मेदवार चुनावी मैदानमा छन् । ती पार्टीका उम्मेदवार पनि ठुला दललाई आफूहरूले पराजित गर्ने दाबी गर्दै आएका छन् ।

बर्दिया-२ मा गठबन्धनबाट माओवादी केन्द्रबाट प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थ छन् । उनी पनि पहिलोपटक संसदीय निर्वाचनमा पहिलोपटक टेकेका छन् । सामाजिक क्षेत्रमा पहिचान बनाएका पन्थ कोरानाकालमा स्वास्थ्य सामग्री निजी खर्चमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधरणलाई नि:शुल्क वितरण गरी चर्चा कमाएका थिए । कोरोनाकालमा काठमाडौंबाट ती सामग्री ल्याएर वितरण गर्न निकै जोखिम थियो ।

पन्थका लागि कांग्रेस परित्याग गरी राप्रपामा उम्मेदवारी दिएका विनय रावल, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीका बुबा लालवीर स्वतन्त्र उम्मेदवार र एमालेका पंकजसिंह राठौरसँग प्रतिस्पर्धा गर्नुपरेको छ । २०६४ सालदेखि माओवादी केन्द्रले प्रतिनिधिसभा जित्दै आएको २ नम्बर क्षेत्र भएकाले जित सहज भएको उनी बताउँछन् । अंक गणीतीय हिसाबले गठबन्धनको बढी मत देखिन्छ । गठबन्धनभित्र अन्तरघात हुने आशंका यहाँ पनि रहेको स्थानीय बताउछन् ।

पन्थ भने अन्तरघात कतैबाट नहुने बताउँछन् । राप्रपाका रावल आफूले सामाजिक क्षेत्रमा थुप्रै सहयोग गरेको दाबी गर्छन् । उनले अन्य दलमा आस्था राख्ने मतदाताले अत्यधिक मत दिएर आफूलाई निर्वाचित गराउने विश्वास गरेका छन् ।

प्रकाशित : कार्तिक २८, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?