‘जनताबाट अनुमोदित भएर राजनीति गर्न उम्मेदवार बनेको हुँ’

सबैले प्रश्न गर्छन् कि तपाईं जत्तिको अन्तर्राष्ट्रिय जगतसँग जोडिएको र अन्तर्राष्ट्रिय जगतमा नेपालको एउटा झण्डा फहराउन सक्ने मान्छेले किन हाम्रा लागि नेपालमै बस्ने वातावरण बनाउने काम गर्न सक्नु हुन्न ? मैले यो कुरालाई मनभित्र गम्भीरतापूर्वक लिएँ । र राजनीतिमा आएँ ।

कार्तिक २८, २०७९

कान्तिपुर संवाददाता

पश्चिम नवलपरासी — खर्बपति उद्योगीका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका उद्योगपति विनोद चौधरी अहिले पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । ४५ वर्षभन्दा लामो अवधि मुलुकको औद्योगिक र आर्थिक विकास र प्रवर्द्धनमा बिताएका चौधरी मुलुकबाट फोर्ब्समा सूचिकृत उद्योगी हुन् ।

यसअघि २०७० मा संविधानसभा सदस्य बनेका उनी २०७४ सालमा सामानुपातिकबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । संसद्‍मा चुनिएर मुलुकको आर्थिक विकासमा योगदान गर्ने लक्ष्य रहेको उनी बताउँछन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य रहेका चौधरी अहिले पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा आफू सामान्य परिवारमा जन्मे हुर्केको बुझाउँदै मतदातासित घुलमिल भइरहेका छन् । निर्वाचन क्षेत्रका समस्या बुझ्दै भावी योजना सुनाइरहेका चौधरीसित कान्तिपुरका दीपेन्द्र बडुवाल, माधव ढुंगानानवीन पौडेलले गरेको कुराकानी:

तपाईंको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी रहर होइन । यसबारे मेरो आफ्नो बुझाइ छ । यसअघि म दुईपटक सांसद भएँ । एकपटक संविधानसभा सदस्य थिएँ । त्यतिबेला दलको सदस्यता लिएर म त्यहाँ गएको थिइन । विशेषज्ञको हैसियतले संविधानसभामा पुगें । गतिशील संविधान आओस् भन्ने थियो । त्यसबेला ऐतिहासिक जिम्मेवारी थियो । त्यो काम सफलतापूर्वक पूरा गर्‍यौं । २०७४ सालमा लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी थियो । त्यसबेला आर्थिक विकास प्राथमिकता थियो । त्यसका लागि राजनीतिक सीमा हुन्छ, तपाईं अगाडि बढ्नुस्  भनेर पार्टीले मलाई आह्वान गर्‍यो । त्यसबेला पार्टी सभापतिले नै आह्वान गर्नुभएको थियो । पार्टीलाई  अप्ठेरो परेको थियो । त्यतिबेला वाम गठबन्धन बनिसकेको थियो । त्यो अप्ठेरो बुझेको थिएँ । पार्टीले पनि मलाई देशभरी क्याम्पेनिङ गर्ने जिम्मेवारी दिएको थियो । मैले क्याम्पेनिङ गरें, मुलुकभर ४० भन्दा धेरै निर्वाचनका सभामा सहभागी भएँ। 

अहिले प्रत्यक्षमा उम्मेदवारी किन ? 

मेरो मान्यता के रह्यो भने, यदी राजनीतिमा सक्रिय हुने हो भने केही न केही परिवर्तन ल्याउन सकिन्छ भन्ने बोध छ । मैले जानेको परिवर्तन भनेको विकास नै हो । मेरो उद्देश्य चौतर्फी विकास नै हो । विकासका विभिन्न आयाम हुन्छन् । ती  आयामलाई सँगै लिएर जानका लागि संगठन र जनताबाट अनुमोदित भएर आउनुपर्छ भन्ने लाग्यो । नत्र राजनीतिमा खासै प्रभाव पार्न सकिँदैन भन्ने महसुस गरें । यो चुनौतिका लागि पनि मैले एउटा निर्णय गर्नुपर्ने बेला आयो । जनताको राजनीति गर्ने गरी अहिले उम्मेदवार बनेको हुँ । 

राजनीतिमा योगदान नगरेको मान्छे भन्लान् नि ?

मलाई थाहा थियो, मैले ४५ वर्षसम्म संघर्ष गरें । सुखी जीवनका लागि सबै उपलब्धी हासिल गरें । यस्तोमा जे भएपनि आनन्दसँग बसेर जीवन बिताउन सकिन्थ्यो । अहिलेसम्म कमाएको प्रतिष्ठाको सेरोफेरोमा रहेर आनन्दले बस्न सक्थें होला । त्यसैले राजनीतिमा सक्रिय रुपमा लाग्न न मलाई नाम चाहिएको छ, न त दाम नै । अन्तर्मनले के भन्यो भने, 'होइन तिमी सबैको सम्पर्कमा आउँछौ । विशेष गरेर युवा सर्कलसँग जोडिएका छौ । मसँग १४/१५ लाख युवा सम्पर्कमा सामाजिक सञ्जालको माध्यमबाट जोडिएका छन् । ती सबैले प्रश्न गर्छन् कि तपाईं जत्तिको अन्तर्राष्ट्रिय जगतसँग जोडिएको र अन्तर्राष्ट्रिय जगतमा नेपालको एउटा झण्डा फहराउन सक्ने मान्छेले किन हाम्रा लागि नेपालमै बस्ने वातावरण बनाउने काम गर्न सक्दैनौ?'

मैले त्यो कुरालाई गम्भिरतापूर्वक लिएँ र राजनीतिमा आएँ । मैले नेपाली कांग्रेसको वडा समितिको निर्वाचन लडें । निर्वाचन लड्नु सजिलो काम थिएन । पार्टीको केन्द्रीय महाधिवेशनमा लाखौं मतदातालाई हात जोड्दै भोट मागें । केन्द्रीय सदस्य भएँ । स्थानीय निर्वाचनमा सक्रिय भएँ । गाउँ-गाउँ पुगें । पहाड पुगें । त्यसपछि मात्र अहिले म यहाँ उभिएको छु । 

तपाईंलाई स्थापित उद्योगपतिका रुपमा धेरै चिन्छन् । यस्तोमा आममान्छेको रुपमा बुझाउन कति सजिलो/अप्ठेरो छ ? 

तुलना हुने कुरै हैन । म विनोद चौधरी पहिला सार्वजनिक बसमा चढेर सामान्य सरकारी विद्यालयमा पढेको व्यक्ति हुँ । अहिले म त्यही सामान्य व्यक्तिका रुपमा मतदाता माझ छु । म साधारण परिवेशबाट आएको व्यक्तिले एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित सञ्जाल बनाउन सक्छु भने अहिलेसम्म मुलुक किन बनेन ? महत्त्वपूर्ण कुरा त्यो हो । पटकपटक देशमा परिवर्तन नभएका त होइनन् । सरकामात्र होइन व्यवस्था नै बदलियो । राजतन्त्र बदलियो । संघीय गणतन्त्र आयो । तर देश बनेन । सय रुपैयाँ विकासका लागि बिनियोजन गर्छौं, तर खर्च दश रुपैयाँमात्र गर्छौं। हाम्रो बढेको भनेको त खाली साधारण खर्च हो । राजश्व घट्दो छ । ब्याजदर बढ्दो छ । त्यसले उद्यमी व्यवसायी सडकमा उत्रेको अवस्था छ । देश बिग्रियो है । श्रीलंकमा हुन् लाग्यो भन्ने जमात पनि छ । उद्यमको हिसाबबाट यस्तो सेरोफेरोमा रहेर एउटा सडकपतिबाट विश्वमा एउटा पहिचान बनाएँ । एउटा नेपालीको छोरो माटोबाट उठेर त्यो ठाउँमा पुगें । यसमा सबै नेपालीले गर्भ गर्नुपर्छ, गरेका पनि छन् । कतिपयले यसलाई राजनीतिक कुण्ठाको रुपमा लिएर बङ्ग्याउने पनि प्रयास गरे ।  

तपाईंका एजेण्डा के-के छन् ?

मैले विकास कसरी गर्नुपर्छ भन्ने बुझेको छु । देश कसरी सम्पन्न बन्छ भन्ने पनि थाहा छ । विश्वका कतिपय देश कसरी विकसित भए भन्ने पनि ती देशको इतिहासलाई आँखै अगाडिबाट हेर्ने मौका पाएको छु । सीमा पारीकै देश (भारत) कसरी अगाडि बढ्यो देखेको छु । मलाई के आत्मविश्वास छ भने विकासका लागि सही राजनीतिक नेतृत्व आवश्यक छ । जेलनेल खाएर राजनीतिक परिवर्तन ल्याउने नेतालाई सम्मान गर्छु । यति हुदाँहुँदैपनि मुलुकको विकासका लागि गर्नुपर्ने राजनीतिको आफ्नै एउटा दिशा र बाटो छ । आफ्नै खालको रणनीति हुन्छ । आफ्नै खालको प्रक्रिया हुन्छ । हामीलाई कित्ताकाट गरेर फरक ठान्नु हुँदैन । एउटा उद्योगी, एउटा डाक्टर, एउटा इञ्जिनियर, प्रोफेसर, अर्थ विशेषज्ञ जस्ता पृष्ठभूमिबाट आएकालाई किन कित्ताकाट गर्ने ? उनीहरुलाई किन राजनीतिमा अग्रस्थान बनाउन नदिने ? किन तिनीहरुलाई छेकेर राख्ने ? के एउटा उद्योग गर्नु अपराध हो ? के डाक्टर र इञ्जिनियर बन्नु अपराध हो ? राजनीति गर्ने मान्छेभन्दा ऊ दोस्रो दर्जाको नागरिक हो ? मेरो नजरमा होइन ।

विश्वको इतिहास हेर्नुस् विश्वलेपनि त्यही गरेको छ । हो, ५० औं वर्षसम्म जेलनेल खाएर आन्दोलनमा होमिएर घरबार लुटाएर मुलुकमा परिवर्तन ल्याउनेलाई म पनि नमन गर्छु । त्यत्तिकै म पनि त ४५ वर्षसम्म एउटा संस्थाको निर्माण कसरी हुन्छ? कसरी त्यो संस्थाले परिवर्तन ल्याउँछ? सशस्त्र द्वन्द्वकै बेलामा एउटा उद्योगग्राम बनाएको होएन र? 

तपाईंको क्षेत्रमा  कस्ता समस्या छन् ?

यहाँ समस्या नै समस्या छन् । २५ वर्षसम्म यहाँको डुबान समस्या किन सम्बोधन भएन ? सिंचाई समस्या छ । मलखाद र बीउ बिजन पाएनन् ? गतिलो शिक्षालय, गतिलो अस्पताल किन बनेन । बेरोजगारी समस्या समाधान भएन । युवा विदेशिन बाध्य छन् । मुसहरदेखि दलितको घरको हालत देख्नुभएको छ ? त्यहाँ गर्नुपर्ने विकासको जिम्मेवारी कसले लिने ? त्यसको जिम्मेवारी राजनीतिलाई दिने की ? पटकपटक एकैजनालाई आँखा मिचेर जिताएर आठ–आठपटक मन्त्री खानेलाई दिने? नेपाली कांग्रेसको वर्चश्व भएको ठाउँमा किन हार्छ? केही त होला नि कारण? त्यसलाई अनुसन्धान गरौं न ।  मेरो भनाइ के हो भने, जुन कुरा जे हो त्यसलाई त्यही चश्माले हेर्नुपर्छ । त्यसमा अलिकता मिक्स गर्न खोज्दा रिजल्ट अर्कै आउँछ । 

तपाईंको क्षेत्रमा नागरिकताको पनि समस्या छ नि  ? 

हो, नागरिकताको समस्या बल्झाएर राख्ने को हो ? म त्यही संगठनको सदस्य हुँ जसले दुई पटकसम्म नागरिकता विधेयक सदनबाट पास गरेर पठाएको हो । हामीले त संविधानको सीमामा बसेर दुईचोटी नागरिकता विधयेक पास गरेर पठायौं । यतिबेला नागरिकता राजनीति हो ? जसले नागरिकता विधेयक रोकेको हो उसलाई प्रश्न गर्नुस् । नागरिकता समस्याबाट साढे ७ लाख नागरिक पिल्सिएका छन् । यो समस्या मधेसको मात्र होइनन् । पहाडको पनि समस्या हो । विदेशी र छिमेकी नागरिकता लिन्छन् भन्नेपनि होइन । यो नेपालीको समस्या हो । नागरिकताको अभावले राम्रो अध्ययनबाट वञ्चित हुनुपरेको छ । एउटा सिमकार्ड किन्न नपाएको अवस्था छ । एउटा युवा विदेश जानबाट वञ्चित हुनुपरेको छ । बैंकको खाता खोल्न नपाउनु समस्या हो । नागरिकता समस्यालाई गलत ढंगले व्याख्या गरेर २०६३ देखि लम्ब्याउने काम भयो । 

यस क्षेत्रमा भूमि सम्बन्धि समस्या धेरै छ हैन र ?

भूमि आयोगले समाधान गर्नुपर्ने धेरै समस्या छन् । यो यहाँको दोस्रो ठूलो समस्या हो । सुकुम्बासी समस्या छ । घर छ लालपुर्जा छैन । लालपुर्जा छ तर अर्कैको नाममा छ । पालिकामा फाइल तयार भएको छ, तर जग्गा नापजाँच छैन । सुकुम्बासीको नाममा राजनीति गर्नेलाई सोध्नेकी नसोध्ने ? अहिले जनप्रतिनिधि आएको बल्ल चार महिनामात्र भयो । त्योभन्दा अगााडि स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिलाई सोध्ने कि नसोध्ने ? किन उनीहरुको लगत समेत तयार भएन ? भनेर । जग्गाधनी दिलाउँछु भन्दै हिँड्ने राजनीति गर्दै हिँड्ने ।तर उनीहरुको लगतपनि नराख्नु अपराध हो की होइ न ? मेरो ठाउँमा यदि अर्को मान्छे भएको भए खाली भोटकोमात्र कुरा गर्ने थियो ।

मेरो मान्यता के हो भने, भोटको राजनीतिको एउटा आफ्नै सीमा छ, प्रक्रिया छ र विकासको आफ्नै प्रक्रिया छ । यो दुवै प्रक्रिया सँगसँगै जान सक्छ । एकले अर्कोसँग साटासाट गर्नुपर्ने आवश्यकता छैन ।  

तपाईंले क्षेत्र विकासलाई कसरी लैजानु हुन्छ ?

यहाँका जनता पिल्सिएर बसेका रहेछन् । २५ वर्षसम्म डेलिभरी नभएको विकासलाई डेलिभर गर्ने मेरो लक्ष्य छ । म आएको २५ सातापनि भएको छैन । बल्ल अहिले उनीहरुमा अब केही हुन्छ की भन्ने आशा जागेको छ । गठबन्धनभन्दा फरक कित्तामा रहेकाले पनि आशा गरेका छन् । अब केही हुन्छ यसपाली भनेर । ममाथि सबैभन्दा ठूलो नैतिक दबाब नै यही हो । २५ वर्षसम्म जम्मा गरेर थुपारेर राखेको फोहोरको थुप्रोलाई सफा गर्न कति समय लाग्छ भन्ने नै हो । २५ वर्षसम्म थुप्रिएर बसेका विकासका आयोजनालाई कसरी तह लगाउने हो ? एउटा प्रक्रियामा रहेर, एउटा पार्टीको सिस्टममा रहेर स्थानीय, प्रदेश तहको साथमा लिएर काम गर्छु । पाँच वर्षमा हामी यो सबै काम गर्छौं भन्ने आत्मविश्वास ममा छ । 

कान्तिपुर

Link copied successfully