सिन्धुलीका दलित मतदाता भन्छन्– 'जितेपछि कसैको नाकमुख देखिने होइन'

‘चुनावको बेलामा आकाशकै तारा खसाइदिउँलाझैं गर्छन् नेताहरु । कहिले संविधान बनेपछि भन्छन्, अनि कहिले संविधान च्यात्नेको विरुद्धमा भन्छन् । हामीलाई भने खानकै दु:ख छ ।’

कार्तिक २८, २०७९

राजकुमार कार्की

सित्तलपाटी,सिन्धुली — सुनकोसी गाउँपालिका–६ सार्कीगैराका ७४ वर्षीय चन्द्र सार्की आफ्नै उमेर समूहकाहरुसँग खाल्टेबजारमा झरेर भोटका कुरा गर्दै थिए । मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन नजिकिएसँगै गाउँघरमा चाड आए जत्तिकै भएको छ । त्यही मेसोमा खाल्टेबजारमा उम्मेदवार र राजनीतिक दलको विश्लेषण यो पुरानो पुस्ताले गर्दै थियो । सार्की गैरा, उप्रेतीटार,खाल्टेबजार र आसपास गरी यहाँ २५० भन्दा बढी दलित घर परिवार छ । सुनकोसी नदी सुसाएको हरबखत घरबाटै सुन्ने ती दलित परिवारको जमिन भने सुख्खा भएर उब्जाउ छैन् ।

पाँच वर्ष बितेर होस् या अन्य समयमा भएका हरेक निर्वाचनमा यी दलित परिवारलाई पानी दिने वाचा गरिन्छ । निर्वाचन सकिन्छ । जितेर जाने जनप्रतिनिधिले ती सबै बिर्सन्छन् । उनीहरु ओठ सुकाएर फेरि अर्को निर्वाचन कुर्दछन् । 'मत माग्न आउँदा सुनकोसीको पानी लिफ्ट गरेर बाँझो जमिनमा १२ महिना सिँचाइ सुविधा पुर्‍याउने वाचा गर्छन्,' चन्द्रले भने, ‘निर्वाचन सम्पन्न भएपछि नाकमुख देखिने होइन, हाम्रा दु:ख हामीसँगै रहन्छ ।’

चन्द्रभन्दा एक वर्षले जेठा वीरबहादुर सार्कीको पीरलो पनि उस्तै छ । 'भएको जमीनबाट हुने उब्जनीले तीन महिना पनि खान पुग्दैन । एकबाली मकै हुन्छ, अनि वर्षात् लामै समय भएको बेला कोदो हुन्छ, अन्य उब्जाउ केही हुँदैन, जहान केटाकेटीको मुखमा माड लाउन पनि ज्याला मजदुरीको विकल्प छैन्,' वीरबहादुरले आफ्नो व्यथा सुनाए, ‘चुनावको बेलामा आकाशकै तारा खसाइदिउँलाझैं गर्छन् नेताहरु । कहिले संविधान बनेपछि भन्छन्, अनि कहिले संविधान च्यात्नेको विरुद्धमा भन्छन्, हामीलाई भने खानकै दु:ख छ ।’

सार्कीगैरा र उप्रेतीटारमा दलितहरुको दुइ रोपनीदेखि पाँच रोपनीसम्म जग्गाजमिन छ । पहिला हुनेखानेको १५ रोपनीसम्म थियो । सन्तान छिन्नभिन्न भएपछि अंशबण्डा गर्दा पूर्जामा जमिन घट्यो । भिरालो जग्गा भएकाले पानी नअडिँदा बर्खे खेती पनि त्यति राम्रो हुँदैन । उनीहरुले सुनकोसीको पानी तानेर हुनसम्म गरी मेसिन लगाएर जग्गा सम्याइदिए वर्षभरि खान पुग्ने गरी अन्न उब्जाउने सपना बुनेका छन् । उप्रेतीटारका ७० वर्षीय साने सार्की यो पटक मत माग्न आउनेलाई पनि आफ्नो पीडा व्यथा सुनाएको बताउँछन् । अब जनतालाई जसरी हुन्छ धनी बनाउने भएकाले लिफ्ट सिँचाइ गरी गाउँमा नै खोलो बगाइदिने वाचा उम्मेदवारले बाँधेको उनले समूहमा नै कुरा राखे । त्यसमा १५ वर्ष कम उमेरका ध्रुव  सार्कीले आपत्ति जनाए । 'हामी जनता पनि उस्तै हौं,' उनले भने, ‘जेजे भन्छन्, पत्याउँछौं र भोट हाल्छौं, जितेर गएपछि फर्केर आउने होइनन् ।’ 'हामीले मतदान नै नगरे पनि एउटा न एउटा जितिहाल्छ, तै काम गर्छन् कि भन्ने आश त हुन्छ नि,' सानेले ध्रुवलाई सम्झाए ।

बीपी राजमार्गमा हजारौं गाडी आउजाउ गरेको र खाल्टेबजार आसपास होटल चलेको देख्दा उनीहरुलाई तरकारी उब्जाउ गरेर बिक्री गर्न पाए खान लाउन समस्या हुँदैन होला जस्तो लाग्छ तर आफ्नो बारी भएतिर हेरेपछि धुलो उडेको भन्दा केही देखिँदैन् । बीपी राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुहरुलाई लक्षित गर्दै उनीहरु डोकाडालोमा मौसम अनुसारको फलफूल बिक्रीका लागि झार्ने गर्छन् । पानी नपरेको साल त्यो पनि रसिलो नहुने भएकाले सित्तै जस्तो दिनु परेकोमा युवावयका ४१ वर्षीय सेतु विशंखे चिन्ता व्यक्त गर्छन् । 'सबै कुरा राम्रो हुनलाई पानी नै चाहिने रहेछ,' उनले भने, ‘पहिला त हामीलाई पनि कोसीको पानी कसरी उकालो लाग्ला भन्ने लाग्थ्यो, अहिले त पैसा हुने हो भने असम्भव  केही  रहेनछ ।’

लिफ्ट गरेर बारीखेतमा जस्ले सुनकोसीको पानी लगिदिन्छ, यो पटक उसैलाई मत दिने मुडमा यहाँका दलितहरु छन् । योभन्दा अगाडि मासुभात र केही पैसामा बिकेर मतदान गरेकोमा उनीहरुलाई पछुतो छ । जसले भरोसा दिलाउँछ उसैलाई मत दिने सोच भए पनि उम्मेदवार र आसेपासेले एक्लाएक्लै भेटेर प्रलोभनमा पार्ने गरेको तीनै सेतुले बताए ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully