घाइतेहरूको ‘घाउमा मह्लम’ लगाउने आशिका अब संसद्मा पुगेकी छिन् । उनको प्रण छ– म आफ्नो जिम्मेवारी निर्वाह गर्नेछु ।
What you should know
काठमाडौँ — दुई महिनाअघि आशिका तामाङले जेन-जी घाइतेहरूसँगै बसेर एउटा व्यंग्यात्मक भिडियो बनाएकी थिइन् ।
जेन-जी आन्दोलनको आइकोनिक जुत्ताका हकदार घाइते प्रकाश बोहोरालाई सडकमा साक्षी राखेर भनेकी थिइन्, ‘उसको जुत्ता सडकमा । त्यो जुत्ता बनाउने गोल्डस्टार मालिक्नीचाहिँ सदनमा। ल हेर्नुस् देशको हबिगत । जुत्ताको राजनीति ।’
हिजो सडकमा बसेर वेथिति र गलत प्रवृत्तिविरुद्ध खबरदारी गरिरहने उनै आशिका अहिले सदनमा पुगेकी छन् । धादिङ क्षेत्र नं १ बाट रास्वपाकी उम्मेदवार बनेकी उनी ३९ हजार १ सय २८ मत ल्याएर प्रतिनिधिसभामा निर्वाचित भइन् । निर्वाचित भइसकेपछि उनले फेसबुक पोस्टमार्फत् धन्यवाद दिँदै मतदाताहरूलाई भनिन्, ‘अब मलाई शुभकामना मात्र होइन, काम दिनुहोस्, जवाफदेही बनाउनुहोस्, आदेश दिनुहोस् ।’
हिजो सडकबाट घाइतेहरूको ‘घाउमा मह्लम’ लगाउने र गलत वेथितिविरुद्ध चर्को आवाज उठाउने आशिकाको शैलीसँग जनताहरू परिचित छन् । डिजिटल दुनियाँमा फैलिएको उनको अभिव्यक्ति र क्रियाकलापले आशिका सामाजिक सञ्जालमा छाएको करिब ८ वर्ष भयो । २०१८ तिर उनले भिडियोमा रुँदै निर्दोष खसीहरूलाई किन काट्ने भनेर कारुणिक प्रश्न गरेकी थिइन् । उनको प्रस्तुति नाटकीय र अस्वभाविक लागेर फेसबुक प्रयोगतर्कताहरूले ट्रोलसमेत गर्न थाले । उनी ‘खसिनी दिदी’ उपनामले भाइरल बनिन् ।
त्यसपछि विभिन्न समयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान खिचिरहेकी आशिका पछिल्लो दुई वर्ष यता सडकमा आक्रमक देखिन थालिन् । आँखामा रेवन चस्मा लगाएर उनी सडक, होटल, बसपार्कदेखि विमानस्थलका पार्किङसम्म पुगिन् । चस्मामा भएको क्यामेराले उनका गतिविधिहरू रेकर्ड गर्थ्यो । उनी कहिले होटलमा गएर बोतलमा बेच्ने पानीको मूल्यलाई लिएर चर्को प्रश्न गर्थिन् । पार्किङस्थलमा पुगेर नि:शुल्क पार्किङ हुनुपर्ने भन्दै त्यहाँका कर्मचारीलाई गाली गर्थिन् ।
राजमार्ग छेउका होटल होटलमा पुगेर गुणस्तरहीन खानालाई महंगोमा बेचेको भन्दै खबरदारी गर्थिन् । शौच गरेको शुल्क उठाएको विषयमा आक्रोशित देखिन्थिन् । सडकमा फोहोर फाल्ने होस् वा शौच गर्नेहरूलाई उनी भिडियोमार्फत् सार्वजनिक गर्दै खबरदारी गर्थिन् । उनी जहाँ जहाँ जान्थिन् विवादित दृश्य कैद गर्थिन् र सार्वजनिक गर्थिन् ।
उनका कामलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा, गाली र ट्रोल सँगसँगै गरिन्थे । उनको कार्यशैली भने आलोचित र कानुनविपरीत थियो । उनको गतिविधिले कुनै कर्मचारी र व्यक्तिहरूको गोपनीयता भङ्ग भइरहेको थियो । धेरेले उनको यो गतिविधिलाई 'सस्तो लोकप्रियता' र 'स्टन्ट'को रूपमा टिप्पणी पनि गरे । र उनी एकाएक राज्यको आँखामा समेत बिझाउन थालिन् ।
मानिसहरूलाई दुर्व्यवहार गरेको आरोपमा आशिका दुई पटक पक्राउ परिन् ।
२०८१ माघ २ गते पहिलो पटक उनलाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा हालिएको थियो । विनाकारण महिला कर्मचारी निकालेको भन्दै उनको समूह २०८१, २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । करिब १३ दिन काठमाडौं प्रहरीको हिरासतमा रहिन् । उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भइन् ।
दोस्रो पटक पुनः माघ १४ गते काठमाडौंबाट पक्राउ परिन् । धरौटीमा छुटे लगत्तै उनलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । भक्तपुरको सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध 'आपराधिक उपद्रव' को मुद्दा हालेको थियो । सांगास्थित झोलुङ्गे पुलमा नगरपालिकाले लगाएको २० रुपैयाँ शुल्कको विरोध गर्ने क्रममा उनले रसिद च्यात्ने र जलाउने तथा नगरपालिकाको सूचना बोर्ड तोडफोड गरेको आरोप थियो । माघ १८ गते भक्तपुर जिल्ला अदालतले उनलाई २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो ।
आशिकालाई जसले ट्रोल गर्थे, गाली गर्थे । एकाएक उनीहरू नै आशिकालाई प्रेमको आँखाले हेर्न थाले । उनीप्रति मानिसहरूको दृष्टिकोणमा अचानक कसरी युटर्न आयो त ? यसका लागि जेन-जी आन्दोलनपछिका दृश्यहरूतर्फ फर्कनुपर्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाए भने सयौँ घाइते भए । जतिबेला घाइतेहरू अस्पतालमा छट्पटाइरहेका थिए । उनीहरूको परिवार आर्थिक अभावसँग जुधिरहेको थियो । राज्यको उपस्थिति कमजोर भइरहेको बेला घाइतेहरूलाई प्रेमपूर्ण व्यवहार गर्दै आशिका अस्पतालका शय्या र अभावले रित्तिएका डेराहरू पुगिन् । त्यो दृश्य उनले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेकी थिइन् ।
अस्पताल र डेराहरूमा पुगेर उनले खाद्यन्न र पैसा पीडितहरूलाई बाँडिन् । जेन-जी घाइते मात्र हैन, अस्पतालमा असहाय र पैसाकै कारण उपचार औषधि रोकिएकाहरूलाई पनि आर्थिक सहयोग गरिन् । अघिल्ला भिडियोहरूमा रुखो र आक्रोशित देखिने आशिकाको कोमल र स्नेहजडित स्वरुप देख्दा मानिसहरू भावविह्वल भए । उनी डेरा वा अस्पतालमा पुग्दा परैदेखि घाइतेहरूलाई स्नेही लवजमा बोलाउँथिन्, ‘बाबु, कान्छा । कस्तो छ तिमीलाई ?’ कतिपय घाइतेहरूले आँखाभरि आँसुसहित भन्न थाले, ‘तपाईं त हाम्रो दिदी हो । आशिका दिदी ।’
आशिकाले मानव प्रेममात्र हैन, जनावरप्रेम पनि उत्तिकै व्यक्त गर्थिन् । जस्तो कि पशुपति परिसरमा उनी बाँदरहरूका लागि फलफूल बाँडिरहेको देखिन्थिन् । चराहरूलाई चारो खुवाइरहेको देखिन्थिन् । यसलाई देखेर धेरैले तारिफ गर्थे । तर पनि घाइतेहरूको भिडियाे खिचेर सहयोग गर्ने कुराले व्यक्तिको गोपनीयतालाई प्रभाव पार्थ्यो । तर आशिकाको मत थियो, ‘मैले सहमतिमै मात्र भिडियो पोस्टहरू गरेको छु ।’ उनले जेन-जी घाइतेहरुलाई सहयोगका लागि सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोगका लागि आह्वान समेत गरिन् । उनलाई देश विदेशबाट सहयोग आए ।
गत फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै थियो । अचानक आशिकाले पुस २५ गते काठमाडौं क्षेत्र नं १ वा ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरिन् । ‘आज म एउटा महत्त्वपूर्ण निर्णयमा पुगेकी छु । लामो समयको जनताको साथ र मेरो आत्ममन्थनपश्चात्, म आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दछु । म कुनै पनि दल वा राजनीतिक विचारको बन्धनमा रहन चाहन्नँ,’उनले लेखेकी थिइन् । उनले आफूलाई राजनीतिक दलको झण्डा नचाहिने, जनताको साथ चाहिने उल्लेख गरेकी थिइन् । उनले आफू एक्लै भए पनि परिवर्तनको यात्रामा निस्किएको बताएकी थिइन् ।
उम्मेदवारी घोषणा गर्नुअघि पुस १३ गते उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनद्र शाहले समानुपातिकतर्फबाट उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । तर उनले यो प्रस्ताव अस्वीकार गरेकी थिइन् ।
सुरुमा स्वतन्त्र उम्मेदवारी दिएकी आशिका आफ्नै वचनमा भने प्रतिवद्ध भइनन् । राजनीतिक दलविनानै उठ्छु भनेकी उनी पछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरिन् । माघ ५ गते आशिकालाई रास्वपा नेता गणेश पराजुलीले केन्द्रीय कार्यालयमा धादिङ- १ को टिकट हस्तान्तरण गरे ।
रास्वपाबाट टिकट पाएकी आशिकाले केही अफ्ठ्यारा परिस्थितिहरुको सामना गरिरहनुपर्याे । आशिकाका श्रीमान् थोमस जर्मन नागरिक भएकाले उनीसँग जर्मनको पीआर भएको हल्ला फैलाइएको थियो । त्यसकारण उनीमाथि प्रश्न उठिरहेका थिए । नेपालको कानुनअनुसार विदेशी मुलुकको स्थायी बसोबास अनुमतिपत्र वा ग्रिन कार्ड लिएको व्यक्ति नेपालको प्रतिनिधि सभाको सदस्य हुन अयोग्य हुन्छ । तसर्थ, उनको उम्मेदवारीको योग्यतामाथि नै कानुनी प्रश्न खडा भएको थियो ।
यही प्रश्नले उनलाई निर्वाचन आयोगसम्म पुर्याएको थियो । उनले यी आरोपहरू खण्डन गरिरहेकी थिइन् । आफू नेपाली नागरिक रहेको र आफूसँग नेपालको नागरिकता तथा राहदानी (पासपोर्ट) बाहेक कुनै पनि विदेशी परिचय पत्र नभएको स्पष्ट पारेकी थिइन् । निर्वाचनको समयमा उनको उम्मेदवारी खारेज भएको भन्दै गलत वा भ्रामक सूचनाहरू समेत फैलिएका थिए । निर्वाचन आयोगले उनको कागजात छानबिन गर्दा उम्मेदवारीका लागि चाहिने कानुनी मापदण्ड पूरा भएको पाएपछि उनको उम्मेदवारी कायमै रह्यो ।
चुनावको बेला पनि आशिका ट्रोल हुन छाडिनन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनी कहिले कुखुराको भालेसँग भोट मागिरहेको देखिन्थिन् त कहिले बाख्रासँग । जनावरहरूसँग प्रेमपूर्ण व्यवहार गर्ने आशिकाको यो भिडियो ट्रोल भयो । चुनावको केही समयअघि उनले भाषण गर्ने क्रममा जिब्रो चिप्लिएर एउटा भन्न खोज्दा अन्यथा भएको थियो, ‘म यहाँ भ्रष्टाचार गर्न आएकी हुँ ।’ वास्तवमा उनको भनाइको आशय भ्रष्टाचार रोक्न आएको हुँ भन्ने थियो । ट्रोल, गाली र प्रशंसाहरूको लहरमा अन्तत: आशिकालाई त्यहाँका मतदाताले चुने । उनले भारी मतले चुनाव जितिन् ।
बालश्रमिकदेखि सामाजिक अभियन्तासम्म
आशिकाले केही महिनाअघि सञ्जय सिलवास गुप्तासँगको पडकास्टमा भनेकी थिइन्, ‘कसैले बालश्रमिक भाइबहिनी देख्यो भने आशिका दिदी सम्झनू ।’ उनी चाहन्नन् कि कोही लेखपढ गर्ने उमेरमा श्रम गरोस् ।
किनकि बालश्रमिकको पीडा आशिकाले बाल्यकालमै भोगेकी छन् । धादिङको मलेखुमा वि.सं. २०४५ साल असोज १ गते जन्मिइन् आशिका । जन्मेको केही वर्षमै आमा र बाको सम्बन्धविच्छेद भयो । आशिका बासँगै रहिन् । बुझ्ने हुँदादेखि नै गरिबी र अभावमा हुर्किएकी आशिकालाई धेरै वर्षसम्म थाहा थिएन कि उनीहरू बसिरहेको घर पनि आफ्नो हैन भनेर । ‘मलेखुमा बा कँडेलको घरमा हली बस्नुभएको रहेछ । बाले जिन्दगीमा अर्काको घरमा बसेर काम गर्नुभयो । मैले त धेरैपछि थाहा पाएँ त्यो हाम्रो घर हैन भनेर,’ उनले एक पोडकास्टमा सुनाएकी थिइन् । अर्की आमाको अपहेलना र घरको आर्थिक अभावका कारण आशिकाले पनि ८ वर्षकै उमेरमा बाको साथ छाड्नुपर्यो ।
उनी चितवनमा अर्कैको घरमा बालश्रमिक बनेर स्कुल पढ्न थालिन् । उनी चितवन लंखुस्थित लक्ष्मीमाविमा भर्ना भइन् । बिहान ५ बजेदेखि उठेर स्कुल जानुअघिसम्म काम गर्दा उनीसँग आफ्नो निम्ति समय नै हुन्न थियो । ‘म स्कुलमा पनि जहिल्यै १० मिनेट ढिला पुग्थेँ,’ उनी भन्छिन् ।
केही वर्ष चितवन बसेर पुन: मलेखु फर्किइन् उनी । तर अर्की आमाले सहिनन् । त्यसपछि उनलाई बाले मितको घरमा लगेर राखे । घरको पिँढीमा आशिकालाई बस्नका निम्ति एउटा सानो कोठा बारिएको थियो । ‘त्यही घरमा बसेर मैले एसएलसी दिएँ,’आशिका सम्झन्छिन् ।
एसएलसीपछि आशिका नर्सिङ पढ्नका निम्ति काठमाडौं आइन् । सुरुमा बायोलोजी लिएर पढेकी आशिका पहिलो वर्ष अंग्रेजी बाहेक सबैमा फेल भइन् । उनलाई नर्सिङ पढ्ने रहर थियो । उनले फेरि नर्सिङ जोइन गरिन् । उनले स्कुलदेखि नै जर्मन संस्थाको स्कलरसिपमा पढेकी थिइन् । खर्च जर्मन संस्थाले बेहोरिदिन्थ्यो ।
बरु मासिक ३ हजार ७ सय खर्च पनि आउँथ्यो । त्यही खर्चले उनले काठमाडौंको खर्च धानिन् । नर्सिङ कोर्स सकाएलगत्तै उनले साप्ताहिक पत्रिकामा जर्मनमा वर्क भिजा खुलेको देखिन् । उनी कन्सल्टेन्सीमा गएर जर्मन भाषा पढ्न थालिन् । उनले भाषामा राम्रो प्रगति गरिन् ।
आशिकाको बाको चाहना थियो, छोरी प्लेन चढेको हेर्ने । छोरीलाई पासपोर्ट बनाउन पनि उनले सहयोग गरेका थिए । आशिकालाई भन्थे, ‘तँ जर्मनी गएको हेर्ने ठूलो सपना छ ।’ दुर्भाग्यबस् आशिकाको भिजा लागेकै दिन बाले संसार छाडे ।
आशिका जर्मनी त गइन् । तर सुरुमा ६ महिनाभन्दा बढी टिक्न सकिनन् । फर्केर नेपाल आइन् । मलेखुमा भएका भाइबहिनी विचल्ली भएको देखिन् । उनीहरूलाई काठमाडौं ल्याएर पढाउन थालिन् । त्यो बेलामा उनी आफैंले कन्सल्टेन्सी सुरु गरेकी थिइन् । तर आर्थिक बोझ बढ्दै गएपछि पुन: जर्मन जाने तयारी गरिन् । थोमससँग आशिकाको भेट अघिल्लो पटक नै भएको थियो । उनीहरूबीच कुरा भइरहन्थे । दोस्रो पटक जर्मनी पुगेपछि भने आशिकाले थोमससँग विवाह गरिन् । उनलाई थोमको इमान्दारिपनाले प्रभाव पारेको थियो ।
कुनै समय आर्थिक अभावले ठूलो संघर्ष गर्नुपरेकी आशिकाको निम्ति यस्तो दिन पनि आए, उनीसँग धेरै अब्सनहरू थिए । उनलाई आफू चिनिन मन थियो । उनले फिल्म रोजिन् । आफैं लगानी गरेर सन् २०१५ मा फिल्म ‘सुश्री’ बनाइन् । अभिनेता आर्यन सिग्देलसँग स्क्रिन सेयर गरिन् । तर फिल्मले घाटा ब्यहोर्याे । १ करोडभन्दा बढी नोक्सानी उनले व्यहोरिन् । आफूलाई मानिसले चिनुन् भन्ने थियो आशिकालाई । तर न फिल्म चल्यो न कसैले चिने । उनी गहिरो पीडामा पुगिन् । त्यसपछि जर्मनी फर्किइन् । शुभचिन्तकले सम्झाए, ‘थोमसको पनि उमेर ढल्किँदै छ । अब आमा बन ।’
२०१६ मा उनले पहिलो सन्तानका रुपमा छोरा आरोनलाई जन्म दिइन् । अहिले आशिकाका ९ वर्षीय छोरा आरोन र ४ वर्षीया छोरी आना छन् ।
छोरा जन्मिएपछि आशिकालाई ठूलो कुरा बोध भयो । उनले त्यसअघि कहिल्यै आमा सम्झिएकी थिइनन् । ‘पहिलो पटक म आमा भएपछि मात्र फिल भयो कि म पनि कसैको पेटबाट जन्मेको रहेछु,’ आशिकाले सञ्जय सिलवालसँगको पोडकास्टमा भनेकी थिइन् । त्यसपछि उनी आमा सम्झेर बर्बराउन थालिन् । तर कहिल्यै देख्न नपाएकी आमा यो धरतीमा छन् कि छैनन् पनि थाहा छैन आशिकालाई । ‘अहिले मलाई संसारले चिन्छ,तर मेरी आमाले चिन्नुहुन्न,’ भावुक हुँदै उनले भनेकी थिइन् ।
आशिकाले २०१६ तिर ग्रिन एण्ड क्लिन फाउन्डेसन सुरु गरेकी थिइन् । जर्मनीबाट फर्केपछि मात्र देशमा भएका फोहोर याद गरेकी थिइन् । फोहोर फाल्न हुन्न भन्ने कार्यक्रमै नभएको कस्तो देशमा आफू जन्मेछु भन्ने कुराको भान भयो आशिकालाई । त्यसपछि उनले सचेतना र सरसफाइ अभियान सुरु गरिन् । कोभिड- १९को बेलामा उनले आफ्नो फाउन्डेसनमार्फत् सहयोगहरू पनि गरिन् ।
ज्याला मजदुरी गरेर काठमाडौंमा बसेकाहरूलाई खाद्यन्न वितरण गरिन् । सुरुमा त उनले आफ्नै २ हजार युरोबाट सहयोगको हात अघि बढाएकी थिइन् । त्यतिबेला पनि आफूले सहयोग गरेको फोटो भिडियो उनले आफ्नो फेसबुक पेजमा राखेकी थिइन् । जाजरकोटका भूकम्प पीडितका लागि पनि उनले त्रिपालहरू सहयोग गरेकी थिइन् ।
आशिका आफू चिनिन चाहन्थिन् । फिल्मबाट त सम्भव भएन । तर २०१८मा सामाजिक सञ्जालमा एउटा दशैंमा राखिएको भिडियोले भने उनलाई भाइरल बनायो । आफू चिनिन पाउँदा उनी खुसी बनिन् । २०१९ देखि कुमार बेन, विक्रम केसी, भिक्टर पौडेल, सन्दीप बस्नेत लगायत रुटिन अफ नेपाल बन्द टिमसँग भेट भएपछि उनको सामाजिक काम अझ संगठित रूपमा अघि बढेको थियो ।
‘त्यसपछि सामाजिक कार्यहरू सञ्चालन गरियो । यस अन्तर्गत: व्यापक सरसफाइ अभियान सञ्चालन, वृक्षारोपण कार्यक्रम फोहोरमैला छुट्याउने जनचेतना अभियान, बालबालिकालाई लत्ताकपडा, शैक्षिक सामग्री र पुस्तक वितरण खेलकुद सामग्री वितरण बाढी पीडितहरूलाई राहत तथा सहयोग वितरण, कोभिड-१९को बेला लकडाउनका समयमा खाद्य सामग्री वितरण लगायत थुप्रै कामहरू गरेँ,’ कान्तिपुरले गरेको प्रश्नमा आशिकाले जवाफ पठाइन् ।
राजनीतिमा लाग्ने सोच उनमा पलाएको भने धेरै भएको छैन । पशुपति विकास कोषका करार कर्मचारीहरूलाई एक्कासी हटाइएको विषयमा प्रश्न उठाउँदा प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । त्यतिबेला उनी सोच्न बाध्य भएकी थिइन् ।
‘यी घटनापछि व्यवस्था सुधार गर्न कानुनी र नीतिगत रूपमा काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ । त्यसपछि ग्रिन एण्ड क्लिन फाउन्डेसनका उपाध्यक्ष सन्दीप बस्नेतसँग छलफल गर्दै उहाँमार्फत कुमार बेन र भिक्टर पौडेलसँग सम्पर्कमा रहेँ । त्यसपछि राजनीतिक रूपमा अगाडि बढ्ने निर्णय लिएँ,’ उनी सुनाउँछिन् ।
अबको पाँच वर्ष आशिका संसद्मा हुनेछिन् । पाँच वर्षको अवधिमा उनका योजनाहरू के छन् ? हामीले सोध्यौँ । ‘मेरा मुख्य प्राथमिकताहरू भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाउने, बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने, विद्यार्थीलाई लत्ताकपडा, जुत्ता, झोला तथा खेलकुद सामग्री उपलब्ध गराउने, डिजिटल शिक्षाको व्यवस्था गर्न पहल गर्ने, वातावरण प्रदूषण कम गर्ने तथा अवैध खानी दोहन रोक्ने कानुनभन्दा बाहिर भएका गतिविधिहरू नियन्त्रण गर्ने, घुस माग्ने र जनतालाई दुःख दिने भ्रष्ट कर्मचारीमाथि कारबाही गराउने, काम नगर्ने ठेकेदारमाथि कारबाही गर्ने जनतासँग नियमित संवाद गरेर नीतिगत सुधार गर्ने कुरामा हुनेछन् ,’ आशिका भन्छिन् ।
थप्छिन्, ‘विकासका काममा हुने ढिलासुस्ती अन्त्य गर्ने आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने साथै धादिङलाई कृषि हबको रूपमा विकास गर्ने योजना छ ।’
‘मेड इन धादिङ’ अभियान चलाएर किसानलाई मल, बीउ तथा कृषि सामग्री सहज रूपमा उपलब्ध गराउने कानुनी व्यवस्था गर्ने लक्ष्य पनि आफ्नो रहेको पनि उनले बताइन् ।
सडकमा आफ्नै शैलीमा खबरदारी गरिरहेकी आशिका अब नीति निर्माण र जवाफदेही ठाउँमा आफैं उभिएकी छन् । अबको पाँच वर्षमा उनी कति सबल र सफल देखिनेछिन्, त्यसको लेखाजोखा भने हुन बाँकी छ ।
