मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ खसेको मतमध्ये ४ हजार ८८३ मत बदर भएको छ भने समानुपातिकतर्फ ३ हजार ५९४ मत बदर भएको छ ।
धनकुटा — धनकुटामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक विगतका निर्वाचनको तुलनामा बढी मत बदर भएको पाइएको छ । मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उल्लेख्य संख्यामा मत बदर भएको पाइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ खसेको मतमध्ये ४ हजार ८८३ मत बदर भएको छ भने समानुपातिकतर्फ ३ हजार ५९४ मत बदर भएको छ । यसअनुसार प्रत्यक्षतर्फ खसेको मतमध्ये ७.६२ प्रतिशत र समानुपातिकतर्फ ५.५४ प्रतिशत मत बदर भएको देखिन्छ ।
यहाँ प्रत्यक्षतर्फ कूल १ लाख १८ हजार ४२५ मतदातामध्ये ६४ हजार ९१ मत खसेको थियो । तीमध्ये ५९ हजार २०८ मत मात्रै सदर भएका छन् । यस्तै, समानुपातिकतर्फ ६४ हजार ८८६ मत खसेकामा ६१ हजार २९२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विगतका निर्वाचनको तथ्यांक हेर्दा यसपटक बदर मतको दर उल्लेख्य रूपमा बढेको देखिन्छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३.९१ प्रतिशत मात्रै मत बदर भएको थियो । त्यतिबेला भने प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ बढी मत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठ बताउँछन् । उक्त निर्वाचनमा समानुपातिकतर्फ ५.५५ प्रतिशत मत बदर भएको थियो ।
यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.४८ प्रतिशत र समानुपातिकतर्फ ५.६५ प्रतिशत मत बदर भएको थियो ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । यद्यपि मतदाता शिक्षा प्रभावकारी नभएका कारण बदर मतको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ ।
