जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार बुधबारसम्म कुनै पनि उम्मेदवारले निर्वाचन खर्चको आधिकारिक विवरण पेस गरेका छैनन् ।
धनकुटा — धनकुटामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका कुनै पनि उम्मेदवारले अहिलेसम्म निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण अनिवार्य रूपमा कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि बुधबारसम्म कसैले पनि आफूले गरेको खर्चको आधिकारिक विवरण पेस गरेका छैनन् । श्रेष्ठले कुनै कुनै उम्मेदवारले खर्च विवरण बुझाउनका लागि मौखिक रुपमा परामर्श भने लिएको बताए। उनका अनुसार भक्तपुरबाट धनकुटा आएर नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएका उत्तम शाखाकर्मीले भने आफूले निर्वाचनमा खर्च नै नगरेको मौखिक जानकारी गराएका छन् ।
धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी लगायत विभिन्न राजनीतिक दलका १७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । तर, हालसम्म तीमध्ये कसैले पनि निर्वाचनमा उम्मेदवार तथा पार्टीले गरेको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छैनन् ।
निर्वाचन आयोगको व्यवस्था अनुसार उम्मेदवारले चुनाव प्रचार, सभा, यातायात, प्रचार सामग्री, कार्यालय सञ्चालन लगायतका शीर्षकमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा पेस गर्नुपर्ने हुन्छ । निर्धारित समयभित्र खर्च विवरण नबुझाएमा जरिवाना लगाउने तथा भविष्यमा निर्वाचनमा उम्मेदवार बन्ने प्रक्रियामा समेत असर पर्ने कानुनी प्रावधान रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले उम्मेदवारहरूलाई तोकिएको समय सीमाभित्रै खर्च विवरण बुझाउन आग्रह गरेको छ ।
