गोरखामा समानुपातिकतर्फ रास्वपा पहिलो

समानुपातिक मत अनुसार कांग्रेस दोस्रो, नेकपा तेस्रो र एमाले चौथो दल बनेको छ । 

फाल्गुन २७, २०८२

हरिराम उप्रेती

RSP wins first in Gorkha in proportional representation

गोरखा — प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ र २ को दुवै क्षेत्रमा विजयी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकमा पनि ५८ हजार ५ सय ५२ मत प्राप्त गरेको छ । गोरखाको समानुपातिकतर्फ दुवै क्षेत्रको मतगणना बुधबार सकिएको छ ।

रास्वपाले गोरखा–१ मा ३० हजार ८ सय ४८ र गोरखा–२ मा २७ हजार ७ सय ४ मत प्राप्त गरेको छ । यसअघि कांग्रेस र माओवादीले आलोपालो जित्दै आएको गोरखाको दुवै निर्वाचन क्षेत्रमा यसपटक रास्वपा अत्यधिक मतसहित विजयी बनेको छ । २०६४ को निर्वाचनमा दुवै क्षेत्रमा वर्चस्व काम राख्दै आएको (तत्कालीन माओवादी) हालको नेकपा तेस्रो स्थानमा पुगेको छ । समानुपातिकमा २४ हजार ५ सय १६ मत प्राप्त गरेर कांग्रेस दोस्रो स्थानामा छ । कांग्रेसले गोरखा–१ मा १४ हजार १ सय ६९ र गोरखा–२ मा १० हजार ३ सय ४७ मत प्राप्त गरेको छ । 

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले २० हजार ९ सय ५३ मत प्राप्त गरेको छ । नेकपाले गोरखा–१ मा १० हजार ७ सय १ र गोरखा–२ मा १० हजार दुई सय ५२ मत प्राप्त गरेको हो । प्रत्यक्षतर्फ पनि गोरखाको दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार दोस्रो र नेकपा उम्मेदवार तेस्रो बनेका थिए । 

प्रत्यक्षतर्फ सदर मतको १० प्रतिशत कटाउन नसकेर जमानत जफत भएको एमालेले समानुपातिकमा ६ हजार ७ सय २० मत प्राप्त गरेको छ । प्रतिनिधिसभा गोरखा–१ मा ३ हजार ७ सय ७९ मत प्राप्त गरेको छ भने २ मा २ हजार ९ सय ४१ मत ल्याएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १ हजार ३ सय ४८ मत प्राप्त गरेको छ । राप्रपाले गोरखा–१ मा ६ सय २२ र गोरखा–२ मा ७२६ मत प्राप्त गरेको छ । 

बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले दुवै क्षेत्रमा गरेर १ हजार १ सय २३ मत प्राप्त गरेको छ । गोरखा–१ मा ५ सय ४१ र गोरखा–२ मा ५ सय ८२ मत प्रलोपाले प्राप्त गरेको हो । 

श्रम संस्कृति पार्टीले १ हजार एक सय ८२ मत प्राप्त गरेको छ । गोरखा–१ मा ४ सय ८६ तथा गोरखा–२ मा ६ सय ९६ मत श्रम संस्कृति पार्टीले प्राप्त गरेको हो । 

राष्ट्रिय परिवर्तन पार्टीले गोरखा–१ मा ९६ र २ मा ४६८ मत प्राप्त गरेको छ ।  राष्ट्रिय मुक्ति आन्दोलन नेपालले गोरखा–१ मा ८० र गोरखा–२ मा ७४ मत प्राप्त गरेको छ । नेकपा(माओवादी)ले गोरखा–१ मा ६९ र गोरखा २ मा १०९ मत प्राप्त गरेको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully