प्रदीप भट्टराईले आफ्नी आमालाई जहिल्यै शान्त देखे । जस्तोसुकै अशान्त समयमा पनि आमाको अनुहारमा अधैर्य भाव देखेनन् । आमाको आवाजमा विद्रोह कहिल्यै सुनेनन् । कसैसँग झगडा नगर्ने, कसैलाई दुर्वचन नबोल्ने । सन्तानका लागि गर्ने, सन्तानकै लागि बाँच्ने ।
काठमाडौँ — खचाखच भरिएको काठमाडौंको सिनेमा हलभित्र मधुरो प्रकाश छरिएको थियो । धमिलो प्रकाशमा पनि चहकिलो अनुहार बनाउँदै बसिरहेका थिए बाआमा । पहिलो पटक आफू उभिएको मञ्चबाट उनले बाआमालाई हेरे । सायद उनीहरू प्रफुल्ल थिए, ‘छोरालाई दुनियाँले चिनेकोमा ।’ मञ्च र दर्शकदीर्घाबीचको दूरीमा उनले बाआमाको खुसी नापे । स्नेहलाई शब्दमा हैन, व्यवहारमा व्यक्त गर्ने उनीहरू अरू दिनभन्दा भिन्नै मुद्रामा थिए ।
आफ्नो चौथो फिल्म ‘महापुरुष’को प्रिमियर शोमा अनुभूति साट्न उभिएका प्रदीप भट्टराई त्यसपछि एकाएक भक्कानिए । करिब तीन वर्षपछि स्मृतिमा त्यही दृश्य दोहोर्याउँदा उनले भने, ‘त्यतिबेला म निर्देशक हैन, छोरा भएर सोचेछु ।’
फिल्म हेरेर फर्किंदै गर्दा बा नारायणहरि दंग थिए । आमा सीताको आँखाका डिल भने भरिएका थिए । छोरालाई टिलपिल आँखा पार्दै उनले केहीबेर हेरिन् । अनि अँगालो हाल्दै रोइन् । आमा त्यतिबेला किन रोइन् ? उनले सोधेनन् । बरु लख काटे, ‘बाआमाका दुःख बुझाउने फिल्म बनाएछ भनेर पो हो कि ।’
कहिलेकाहीं प्रदीपलाई लाग्थ्यो, ‘मेरो कामबारे केही भनिदिए पनि हुने ।’ फिल्म बनाइसकेपछि आस लाग्थ्यो– ‘बाआमाले स्याबास् भनिदिए पनि हुने ।’ तर कहिल्यै ‘स्याबासी’ नपाउँदा खिन्न पनि हुन्थे । एकदिन बिहानै गाउँको स्टेसनरीका भाइले प्रदीपलाई कल गरेर सोधे, ‘दाइ, आज तपाईंको पत्रिकामा केही छापिएको छ ?’ प्रदीपले सोधे, ‘किन ?’
‘अघि ठूलोबा आउनुभएको थियो । दुई/तीन वटा पत्रिका किनेर लैजानुभयो,’ भाइले सुनाए । सुनेर प्रदीपलाई हाँसु कि रोऊँ जस्तो महसुस भयो । एकदिन घर पुग्दा यो भाव अझै बढ्ता भएर गयो । ‘मैले संकलन गरेका भन्दा धेरै पत्रिका त बाआमासँग रहेछ,’ प्रदीपले आँखा रसिलो बनाउँदै भने ।
***
तीन सन्तानकी आमा हुन्, ६७ वर्षीया सीता । सर्लाहीमा दाइ प्रमोद र दिदी प्रमिलापछि प्रदीप जन्मिए । प्रदीपले आफ्नी आमालाई जहिल्यै शान्त देखे । जस्तोसुकै अशान्त समयमा पनि आमाको अनुहारमा अधैर्य भाव देखेनन् । आमाको आवाजमा विद्रोह कहिल्यै सुनेनन् । ‘कसैसँग झगडा नगर्ने, कसैलाई दुर्वचन नबोल्ने । सन्तानका लागि गर्ने, सन्तानकै लागि बाँच्ने,’ उनी आमाको न्यानो स्वभावबारे भन्छन् ।
सीताले जीवनका लामा हिस्सा उखुबारीमै काटिन् । फागुन र चैतका टन्टलापुर घाममा पनि उनी उखुबारीमै हुन्थिन् । उखु खेतीले धानिएको थियो प्रदीपको घर । सखारै निस्केकी आमा बेलुकी अबेर फर्कन्थिन् । त्यतिन्जेल खाना पनि उखु, खाजा पनि उखु । प्यास लाग्थ्यो, पानी पनि उखु । ती दिन सम्झेर आमा अहिले पनि भन्छिन्, ‘कति दिनसम्म त मैले उखुको रसमात्र खाएर बाँचेको छु ।’
उखुबारीका काम नभ्याउने डर भइरहन्थ्यो सीतामा । स्कुले जीवनमा त प्रदीपलाई आमाको यो दैनिकी सामान्य लाग्थ्यो । जब कलेज पढ्नका लागि काठमाडौं आए, अभाव झेले, संघर्ष भोगे । बल्ल सम्झिए, गाउँमा आमाका दुःख । उनी एकदिन गाउँ गए । सुसेधन्दा गरिरहेकी आमाको हात नियालेर हेरे । उमेरभन्दा अगाडि नै चाउरी परेका छन् छालाहरू । घामले डढेका छन् हातहरू । मन गह्रुँगो पार्दै उनले पहिलो पटक महसुस गरे, ‘आमाले त आफू डढेर हामीलाई न्यानो बाँड्नुभएको रहेछ ।’
हरेकलाई आफ्नो बाल्यकाल प्रिय लाग्छ । तर त्यसलाई प्रिय बनाउने काम आमाहरूले नै गर्छन् । आमाका अगाडि घुर्की लगाउनु, मनमा सन्तोष नमिलुन्जेल रिसाउनु, रुनु । अनि आमाले न्याना हातरूले सुम्सुम्याउँदै फकाउनु । प्रदीपको बाल्यकाल पनि यस्तै थियो । राति बच्चालाई सुताएर आमाहरू सिनेमा हेर्न जान्थे । ननिदाउन्जेल प्रदीपलाई पनि लाग्थ्यो, ‘आमा पछ्याउँदै जान्छु ।’ जाने सपना साँच्दासाँच्दै उनी निदाउँथे । उठ्दा त आमा हुन्थिनन् । सिनेमा हेरेर आएकी आमाका अगाडि प्रदीप पिलपिलाउँदो अनुहार बनाउँदै रुन थाल्थे । आमाले फकाएर फेरि सुताउँथिन् ।
एक पटक आमा बिहे भोजमा गएकी थिइन् । आमासँग जान नपाएका प्रदीप मुर्मुरिँदै बसेका थिए । बिहेभोजबाट आइसकेपछि आमाले भोकाएका प्रदीपलाई दाल र भात दिइन् । रिसले खानाको भाँडा हुर्याउँदै भने, ‘तपाईंचाहिँ भोज खाएर आउने । मलाई चाहिँ दालभात ?’
१० वर्षको हुँदा उनलाई जुत्ता लगाउने खुब रहर थियो । अरूका खुट्टाहरूमा टिलिक्क टल्लेका जुत्ता देखेपछि आमालाई रुँदै पिराउन थाले । एक जना साथीको जुत्ता थियो । त्यो साथीलाई सानो भएको थियो । ‘आमाले ३ पसेरी धानसँग जुत्ता साटेर मलाई लगाइदिनुभएको थियो,’ उनी सम्झन्छन्, ‘त्यतिबेला जुत्ता लगाएर भुइँ टेक्न पाउनु निकै गर्वको कुरा हुन्थ्यो । केही दिनसम्म त म हिँड्दा पनि सान दिएर हिँड्थें ।’
गाउँको धूलो र हिलोमा पनि सीताले कहिल्यै सन्तानलाई फोहोर लुगा लगाइदिनन् । साबुन र सरफ हत्तपत्त पाइन्न थियो । तैपनि आमा चाहन्थिन्, ‘मैलो त लगाइदिनुहुन्न ।’ बिहानदेखि खेतमा काम गरेर राति झमक्क परेपछि घर आउने आमा घरधन्दा सबै सकेर छोराछोरीको लुगा धोएर बस्थिन् । सफा लुगा देखेर गाउँमा छिमेकीले भन्थे, ‘तिमेरूको लुगा धेरै धोएर चाँडो फाट्यो ।’
प्रदीपका बा सामाजिक काममा बढी सक्रिय थिए । गाउँको काममा भुलेर घरको काम बिर्सन्थे । कोही बिरामी भयो भने पनि हप्ता दिनसम्म कुरुवा बस्न जान्थे । बा नहुँदा आमालाई के बित्थ्यो, प्रदीपले बुझेनन् । उनले हरेक रात बाबिना कसरी निदाउने भन्ने मात्र सोचे । ‘त्यतिबेला मलाई सुत्ने चिजले गाह्रो भएको रहेछ । बुबा नहुँदा आमाले धान्नुभएको व्यावहारिक पाटो कहिले महसुस भएनछ,’ प्रदीप सुनाउँछन् ।
***
स्कुले जीवनको उत्तरार्द्धतिर प्रदीपको घरमा आर्थिक संकटले गाँज्यो । त्यसको प्रभाव कलेज जीवनमा पनि पर्यो । २०५७ तिर प्रदीप काठमाडौं आईकम पढ्न आए । घरबाट पैसा पठाउन सक्ने अवस्था थिएन । बाँच्न र पढ्नका लागि पनि काम गर्नैपर्थ्यो । सुरुमा उनले फर्निसिङ पसलमा काम गरे । पच्चीस सय तलब तोकिएको थियो । तर साहुले पन्ध्र सय मात्र दिए । उनले जागिर छाडे । त्यसपछि पत्रिका पढ्दै गर्दा सिनेमाबारे थाहा पाए । उनी हिँडे सिनेमाको अप्ठ्यारो बाटो । तिनताका कैयौं रात भोकै सुत्नुपर्ने बाध्यता प्रदीप आफैंलाई पनि कथाजस्तो लाग्छ अहिले ।
गोजीमा पैसा नहुनु, सडकमा बेच्न राखिएका अंगुर, बदाम, अमला र चना चाख्दै पेटलाई चित्त बुझाउनु । यो कठोर बाध्यता बनेको थियो । ‘त्यस्तो बेलामा बढी याद त आमाकै आउने रहेछ,’ उनले भने ।
अप्ठ्यारामा आमा सम्झिने मात्र हैन । आमाले पनि सन्तानका अप्ठ्यारा कैयौं कोस टाढाबाट महसुस गरिसकेकी हुन्छिन् । प्रदीप ‘जात्रा’ बनाउँदाताकाको दिन सम्झन्छन् । पहिलो फिल्म बनाउँदा प्रदीपले श्रीमतीको गहना बन्दकी राखेका थिए । भएको दौलत फिल्ममा लगानी गरेपछि टाट पल्टिएका थिए उनी । साथमा एक रुपैयाँ थिएन । केही महिनादेखि डेराभाडा खप्टिएको थियो । जीवनको सबैभन्दा संघर्षशील क्षणमा एकदिन आमाले फोन गरिन् ।
फोनमा बोल्दाबोल्दै सोधिन्, ‘तँलाई अहिले गाह्रो छ हो ?’ उनी चकित परे, ‘आमालाई कसरी थाहा भयो ?’ उनले ‘होइन’ भन्दै फोन काटे । अनि श्रीमतीलाई सोधे, ‘आमालाई केही भनेको हो र ?’ दिदीलाई पनि फोन गरेर उही प्रश्न गरे । ‘केही भनेको छैन’ भन्ने जवाफ आयो । साँझ फेरि आमाले फोन गरेर भनिन्, ‘तँलाई गाह्रो छ । बालाई भनेर अलिकति पैसा पठाइदिन्छु ।’
***
प्रदीपकी आमा दुःख भन्दिनन्, देखाउँदिनन् पनि । कोरोना संक्रमणकालको पहिलो लकडाउनमा प्रदीप घर गए । झन्डै ११ महिना घर बसे । घर, बा र आमालाई छाडेका छोरा वर्षौंदेखि सहरमा थिए । त्यतिन्जेल लगातार तीन फिल्म ‘जात्रा’, ‘जात्रैजात्रा’ र ‘शत्रु गते’ हिट भइसकेका थिए प्रदीपका । आफूले छाडेर गएको घर झन्झन् जीर्ण हुँदै रहेछ । टन्टलापुर घाममा बाआमाको छाला उसैगरी पोल्दो रहेछ । बर्खा बेलामा छानाबाट पानी चुहिँदा रहेछन् । एकदिन त वर्षात्को बेला आमाछोराले निकैबेर पानी फालिरहनुपर्यो । बाआमाका लागि त सामान्य दैनिकी थियो । तर प्रदीपका लागि ? उनले आमालाई हेरे । भन्दै थिइन्, ‘ठूलो पानी परुन्जेल त हो नि । नत्र त चुहिँदै चुहिन्न ।’
उनीसँग फिल्मबाट कमाएको सीमित पैसा थियो । लकडाउन कहिलेसम्म जान्छ पनि थाहा थिएन । सोचे, ‘मेरो डरभन्दा ठूलो बाआमाको दुःख हो ।’ त्यसपछि दाइ प्रमोद र प्रदीप मिलेर २ तले पक्की घर ठड्याए । घर बनाउने क्रममा आमाले भनेकी थिइन्, ‘मलाई एउटा पूजाकोठा बनाइदिनू ल ।’ पछि उनीहरूले छुट्टै मन्दिर नै बनाइदिए ।
आजकल प्रदीप गहिरिएर सोच्छन्, ‘हाम्रा सजिलोका लागि बाआमा अप्ठ्यारोमै बाँच्नुभयो । हामीले पनि उहाँहरूको सजिलोका लागि अप्ठ्याराहरू भुल्नुपर्छ ।’
अहिले प्रदीप घर जाँदा आमाकै वरिपरि हुन्छन् । घाममा आमासँगै तोरी सुकाउन तम्सन्छन् । गहुँ फिजार्न लम्कन्छन् । बिग्रेको धारा बनाइदिन्छन् । ‘बालाई सजिलो हुने काम खल्तीसँग होला । आमालाई सजिलो हुने काम मनसँग हुन्छ,’ उनी भन्छन् । सानोमा प्रदीप आमालाई आफूलाई चाहिने कुरा माग्दै पिराउँथे । तर कमाउन थालेको छोरालाई यो चाहियो भनेर आमाले चाहिँ कहिल्यै भनिनन् । बरु छोराले सोध्दा पनि टारिरहन्छिन् ।
***
बाआमा गाउँमा दाइभाउजूसँग छन् । प्रदीप यता सहरमा । हरेक दिन आमासँग कुरा हुन्छ प्रदीपको । फोनमा न्यास्रिरहने आमा अहिले भिडियो कलमा छोरा, बुहारी र नातिको अनुहार देखेर खुसी हुन्छिन् । केही वर्षअघि दाइले घरमा इन्टरनेट जोडे । प्रदीपले आमालाई फोन किनेर लगिदिए । सुरु सुरुमा चलाउन जान्दिनथिइन् । अहिले भन्छिन्, ‘अब त जान्दछु ।’
बढ्दो उमेरसँगै बाआमाका स्वास्थ्यमा समस्या देखिन थाल्छन् । समस्या देखिए पनि लुकाउन खोज्छन् । प्रदीप फोनमा भन्छन्, ‘रोग पालेर नबस्नु । गाह्रो भयो भने भन्नु ।’ बाआमालाई कुनै समस्या हुनासाथ उनी यतै बोलाउँछन् । ‘सजिलै आउनुहुन्न । पैसा छैन होला भनेर टार्न खोज्नुहुन्छ । जबर्जस्ती बोलाउनुपर्छ,’ प्रदीप भन्छन् ।
***
जीवनमा प्रदीपले जति पढे, जति सिके, उनलाई सबैभन्दा महत्त्वपूर्ण दर्शन आमाकै लाग्छ । आमाको एउटै अडान छ, ‘जीवनमा परिवार टुट्नुहुन्न ।’ आमाले प्रदीपलाई कहिल्यै सिकाइनन् संसार जित्ने कुरा । सायद भनिनन् होला प्रगतिका सूत्र । तर एउटै कुरा भनिरहिन्, ‘जे गर, खुसी भएर गर ।’
काम, रहर र सपनाले उनीहरू अलगअलग ठाउँमा भए पनि आमाको विश्वास कायम छ, ‘एकदिन सबै एकै ठाउँमा हुन्छौं ।’ दुःखमा सतिसालझैं एकै ठाउँ उभिएर खराब दिनहरूलाई परास्त गर्ने आमालाई प्रदीपले निकैपछि बुझेका छन् ।
प्रदीप जहाँ हिँडे, आमाले देखाएकै बाटो भएर हिँडे । जहाँ पुगे, आमाकै दर्शन बोकेर पुगे । अब चाहन्छन् पनि, ‘आमाको यही गहिरो दर्शनमाथि फिल्म बनाउन ।’
