वर्ष २०२४ मा झन्डै ३० फिल्म हलमा लागिरहँदा नयाँ र युवा निर्देशकका फिल्म बढी चले भने ‘स्टार’ संलग्न फिल्मले हावा खाइरहँदा ‘बोक्सीको घर’, ‘पूर्णबहादुरको सारंगी’ जस्ता चरित्रप्रधान फिल्मले अत्यधिक सफलता पाए ।
काठमाडौँ — नेपाली फिल्म क्षेत्रमा एकाधबाहेक अधिकांश फिल्महरूले असफलता बेहोर्थे । सन् २०२४ मा भने फिल्म क्षेत्रले नेपाली फिल्मकर्मीलाई पुनः आशा जगायो । फिल्म क्षेत्रका लागि २०२४ को सुरुवात उत्साहजनक नभए पनि वर्षको पुछारसम्म आइपुग्दा नयाँ बहार देखापर्यो ।
चैतमा रिलिज प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ देखि सरोज पौडेल निर्देशित फिल्म ‘पूर्णबहादुरको सारंगी’ सम्म आइपुग्दा दर्शकहरूले प्रक्षेपण गरिरहेका छन्, ‘नेपाली फिल्म सय करोड क्लबको नजिक छ ।’ किनकि यो फिल्मले नेपालमा मात्रै ५० करोड हाराहारीको व्यापार गरेको थियो । नेपालबाहिर पनि फिल्मले व्यापारको नयाँ कीर्तिमान कायम गरिदियो ।
२०२४ मा सुरुवातको घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ देखि बाबु बलामी निर्देशित फिल्म ‘देववाणी’ सम्म कम्तीमा ३० नेपाली फिल्म हलमा आए । अघिल्ला वर्ष हिट फिल्मका सिक्वेल र चल्तीका केही ब्यानरका फिल्मले मात्र जेनतेन धानिरहेको बक्सअफिसमा वर्ष २०२४ ले भने धेरै आशा जगाएर गएको छ ।
प्रदीप भट्टराई निर्देशित ‘महाजात्रा’ त यसकै सफल ‘जात्रा’ सिक्वेलका कारण पनि प्रदर्शनपूर्व नै प्रतीक्षित थियो । सफल पनि भयो । तर केही यस्ता फिल्महरू पनि आए, जसलाई सुरुवातमा खासै महत्त्वका साथ हेरिएको थिएन, तिनैले यस पटक अनपेक्षित सफलता हासिल गरेर फिल्म क्षेत्रमा हलचल मच्चाए ।
अनुभवी र नाम कहलिएका निर्देशक तथा ब्यानरका फिल्म वा ‘स्टार’ भनिएका हूलका हूल हिरोहरू राख्दासमेत अधिकांश फिल्मले हावा खाइरहँदा वैशाखमा एउटा फिल्म आयो, ‘बोक्सीको घर’ । निर्देशक थिए, रंगकर्मबाट पहिलो पटक फिल्ममा हाम फालेका सुलक्षण भारती । पुरुष पात्र गौण रहेको उक्त फिल्मले नायिका केकी अधिकारीको काँध थापेको थियो ।
फिल्मको व्यापारले धेरैको अनुमानलाई फेल खुवाइदियो । हिरो नभई फिल्म चल्दैन भन्ने मान्यतालाई एक्ली केकीले गतिलो झापड हानिदिइन् । त्यसपछि हेर्ने हो भने अधिकांश फिल्मले सुखद व्यापार गरे । ‘पुजार सार्की,’ ‘फर्की फर्की’, ‘घरज्वाइँ’, ‘मनसरा’, डिग्री माइला’, ‘गाउँ आएको बाटो’, ‘खुस्मा’ हुँदै ‘साम्बाला’ सम्म कुनै पनि फिल्मले निर्मातालाई निराश बनाएनन् । केहीले लगानी सुरक्षित गरे त धेरैले राम्रो व्यापार गरे ।
दसैंयता ‘बेहुली फ्रम मेघौली,’ ‘ज्वाइँसाब’, छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सम्म आइपुग्दा प्रायः सबैको व्यापार उच्च देखियो । अर्का युवा निर्देशक सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारंगी’ले त व्यापारमा कीर्तिमान मात्रै राखेन, फिल्म क्षेत्रमा नयाँ मानक पनि स्थापित गरिदियो । उक्त फिल्मले पनि ‘हिरो’ बिना पनि फिल्म चल्छ भनेर देखाइदियो । जसका मुख्य अभिनेता विजय बरालले फिल्ममा चरित्र कलाकारका रूपमा जबर्जस्त अभिनय गरेर बहुसंख्यक दर्शकलाई रुवाइदिए ।
नेपाली फिल्ममा पछिल्लो समय चलेको विधा थियो– कमेडी । कमेडीबाहेक अरू विधाका फिल्म चल्दैन भन्ने भाष्य सिर्जना भएको थियो । तर, यो वर्ष त्यो भाष्य तोडिन सफल भएको छ । किनकि लामो समयदेखि नेपालमा एक्सन प्रधान फिल्म चलिरहेको थिएन । तर ‘१२ गाउँ’ले बक्सअफिसमा राज गरिरहेको ‘छक्का पञ्जा’ सिरिजलाई व्यापारमा उछिन्यो । धेरैलाई लागेको थियो, ‘अब नेपालमा एक्सन प्रधान फिल्ममात्र चल्छ ।’ तर सामाजिक कथामाथि बनेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले दर्शक तथा विश्लेषकहरूलाई पनि चकित बनाइदियो ।
‘डार्क स्टोरी’ माथि बनेको फिल्म ‘बोक्सीको घर’देखि लिएर मौलिक कथाका फिल्महरू ‘घरज्वाइँ’, ‘गाउँ आएको बाटोसम्म’ व्यावसायिक हिसाबमा सफल भए । यद्यपि, अन्तर्राष्ट्रिय फेस्टिभलमा राम्रो उपस्थिति जनाएको फिल्म ‘द रेड सुटकेस’ भने व्यावसायिक हिसाबमा सफल भएन ।
तर अझै पनि धेरै फिल्मले सफलता पाउन भने सकेनन् । जसमा २०२४ को सुरुवातमा रिलिज दीपक श्रेष्ठको ‘पर्खी बसें तिमीलाई’ फ्लप भयो । त्यसपछि माओत्से गुरुङको ‘दयारानी’ र सिमोस सुनुवारको ‘हात्तीछाप’ को नियति पनि उस्तै रह्यो । आकाश मगर निर्देशित ‘जिग्री’, मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’ ले बक्सअफिस खासै तताउन नसकिरहेका बेला आएको सौरभ चौधरी निर्देशित एक्सन फिल्म ‘अगस्त्य’ ले केही आशा देखायो ।
त्यसपछि फेरि ज्ञानेन्द्र ओझा निर्देशित ‘उपहार’, अर्जुन सुवेदी निर्देशित ‘रंगेली’, नवल खड्का निर्देशित ‘काँडेतार’ ले फिल्मको संख्या थप्नु बाहेक स्वदेशी फिल्म क्षेत्रलाई उल्लेख्य उपलब्धि केही दिएनन् । न सोभित बस्नेत निर्देशित ‘बद्री बहादुर’ नै बक्सअफिसमा बहादुर सावित भयो । बरु रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ ले व्यापार र समीक्षामा ठीकठाकको उपस्थिति जनायो ।
वैशाखयता उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’, दिनेश राउत निर्देशित ‘पुजार सार्की’, सुयोग गुरुङ निर्देशित
‘फर्की फर्की’ ले ‘अभोब एभरेज’ को व्यापार गरिरहँदा घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ ले फेरि असफलताको झन्डा गाड्यो । बरु अनिल मगरको डेब्यु निर्देशन रहेको ‘घरज्वाइँ’ ले तारिफ बटुल्यो । रूपेश तामाङ निर्देशित ‘दानवी’, शंकर कोइराला निर्देशित ‘मोदीबेनी’, सुदर्शन थापा निर्देशित ‘रावायण’ व्यापारमा फिक्का देखिए । आकाश बराल र साजन काफ्लेको पहिलो निर्देशन रहेको ‘बेहुली फ्रम मेघौली’ हलमा राम्रै चलिरहेका बेला यसका निर्माता निश्चल बस्नेतले प्रदर्शकको व्यवहारमा असहमति जनाउँदै निकाले । तैपनि फिल्मले उनलाई घाटामा भने पुर्याएन ।
वर्षकै सर्वाधिक भिडन्तका रूपमा दसैं मिति देखियो । प्रायः ‘छक्कापञ्जा’ सिरिजले एकलौटी कब्जा गरिरहेको दसैं उत्सवलाई यस पटक वसन्त निरौला निर्देशित ‘ज्वाइँसाब’ र विराज भट्ट निर्देशित ‘१२ गाउँ’ ले राम्रै चुनौती पेस गरे । तीन फिल्म भिड्दा पनि व्यापारिक हिसाबले कुनै निर्मातालाई पनि नोक्सान भने भएन । बरु जोन योञ्जन निर्देशित ‘आँखा’ हलमा आए–गएको अवस्थामा रह्यो भने सिद्धार्थ पुडासैनी निर्देशित ‘सानो संसार’ ले दुई–दुई पटक हलमा रिलिज गर्दा पनि दर्शक पाउन सकेन ।
विदेशी महोत्सवमा उल्लेख्य उपलब्धि हासिल गरेर आएको मीन भाम निर्देशित ‘साम्बला’ ले समीक्षात्मक रूपमा राम्रै चर्चा बटुल्यो भने बिग बजेटमा दक्षिण भारतीय कलाकारको भीड जम्मा पारिएको चन्द्र पन्त निर्देशित ‘ह्रस्वदीर्घ’ तथा शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ ले मध्यम व्यापार गरे ।
यस पटक फिल्म क्षेत्रमा दुई अभिनेताको चर्चा भने नौलो तरिकाले भयो । फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गरेका समीर भट्ट विशेष आकर्षणका रूपमा रहे । उनको नृत्य र एक्सनको तारिफ निकै भयो । त्यसैगरी सधैं सहायक चरित्र निभाइरहेका अभिनेता विजय बरालको चर्चा ‘पूर्णबहादुरको सारंगी’सँगै चुलियो । उनी नयाँ इतिहास रच्ने अभिनेताका रूपमा दरिए । फिल्ममा उनको अभिनयको चर्चा पनि निकै भयो । सन् २०२४ ले त फिल्म क्षेत्रमा उत्साह भरिदियो । आगामी फिल्महरूको उपस्थिति कस्तो होला ? त्यो भने हेर्न बाँकी छ ।
