सन्तोषी १२ वर्षकी मात्र थिइन्, स्कुलमा विभिन्न प्रतियोगिता हुँदै थिए । जुनसुकै बेला कुदिरहने उनलाई साथीहरूले दौडमा भाग लिन सुझाए । हजुरआमा पनि उनलाई भन्ने गर्थिन्, ‘मेरी नातिनी चरा हो ।’ सन्तोषीलाई पनि दौडनु ठूलो काम लाग्थेन । उनी दौडिइन् मात्र, पहिलो नै भइन् ।
काठमाडौँ — सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली एथलेटिक्सले नयाँ इतिहास रचेको क्षण धेरैका लागि ताजै छ । इतिहास रच्ने खेलाडी हुन्– सन्तोषी श्रेष्ठ । उनले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । संसारभरका नेपालीले त्यो खुसीको क्षणलाई ‘सेलिब्रेट’ गरे ।
जितपछि मैदानमा उनलाई क–कसले अंकमाल गरे, बधाई दिए थाहा छैन । तर एउटा न्यायो अंकमाल भने उनी बिर्सन सक्दिनन् । ‘त्यो मेरी आमाको अंकमाल थियो,’ सन्तोषीलाई अहिले सम्झँदा लाग्छ, ‘यति गहिरो माया त आमाले मात्र गर्छिन् ।’
सन्तोषी सम्झँदै थिइन्, स्वर्ण पदक थमाउने हातभन्दा पनि त्यहाँसम्म पुग्ने बाटो कोरिदिने आमाका हातको संघर्षको कथा । त्यस दिन सन्तोषी मैदानमा रफ्तारमा दौडिरहेकी थिइन् । उनको गतिभन्दा पनि तेज धड्किरहेको थियो, आमा लक्ष्मीदेवीको मुटु । जबजब छोरी अरूलाई जित्दै अगाडि लाग्थिन्, उनी गद्गद् हुन्थिन् । जब छोरीलाई अरूले उछिन्दै अघि लाग्थे, उनी विचलित हुन्थिन् । अन्ततः सबैलाई पछि पार्दै सन्तोषीले ‘मिलिसेकेन्ड’ को फरकमा दौड जितिन् । लक्ष्मीदेवीले तब मात्र सन्तोषको श्वास फेरिन् । घर पुगेपछि लक्ष्मीदेवीले भनिन्, ‘त्यस्तो गाह्रो पो हुँदो रहेछ है जित्न, मुटु नै बाहिर निस्केला जस्तो । अबदेखि त हेर्दिनँ ।’
दौडमा सन्तोषी कतिपटक लड्थिन्, चोट लिएर घर आउँदा त्यसको पीडाले छोरीलाई भन्दा बढी आमालाई दुखाउँथ्यो । भावुक स्वभावकी उनी डराई–डराई भन्थिन्, ‘अझै कुद्न पुगेन ?’ तैपनि मैदानमा पुगिसकेपछि छोरीले जितेको सुन्न उनी व्यग्र हुन्छिन् । सन्तोषीको खेल चलिरहेको दिन लक्ष्मीदेवी बारीतिर जान्छिन् । खबर नआउन्जेल आफूलाई व्यस्त राख्छिन् । ‘नत्र त छोरी के भई भन्ने चिन्ताले छट्पटाइरहनुहुन्छ रे’ सन्तोषी भन्छिन् । लक्ष्मीदेवीको आफ्नै अनुमान छ । जब खेलको अवधि सकिएको निकैबेरसम्म पनि खबर आउँदैन, मनमा चिसो पस्छ । ठान्छिन्, ‘पक्कै हारी । जित्या भए त अघि कल गर्थी ।’ त्यसपछि उनी मोबाइलमा नजर दौडाउँछिन् । मेसेन्जर ग्रुपमा जान्छिन् । जब मेसेजको घण्टीसँगै छोरीको फोटो देख्छिन्, गद्गद् हुन्छिन्, ‘अब त पक्कै जिती ।’
•••
२०५० सालमा धादिङको गैरीगाउँमा खडेरी पर्यो । असारमा धान रोप्नुपर्ने खेतहरू बाँझै रहे । खोला नजिक खेत हुने एकाध ठाउँमा मात्र रोपाइँ चलिरहेको थियो । साउन १७ को बिहानदेखि लक्ष्मीदेवी व्यस्त थिइन् । बिहान जमुने खेतमा गोरु चराउन गएकी उनी दिउँसो खेत रोपेर साँझ मकैको भारी बोकेर घरतर्फ लाग्दा लखतरान भइसकेकी थिइन् । राम्ररी थकान पनि मेट्न नपाउँदै उनलाई व्यथा लाग्यो । त्यही रात सन्तोषी जन्मिइन् । बुझ्ने भएपछि सन्तोषीले आमालाई सोधेकी थिइन्, ‘म जन्मेको दिन के गर्दै हुनुहुन्थ्यो ?’ आमाले हाँस्दै भनिदिएकी थिइन्,
‘खै, बिर्सिएँ ।’ हालैको बसाइमा लक्ष्मीदेवीले थपिन्, ‘तर यो जन्मेको भोलिपल्टै झमझम पानी पर्यो । सबै मान्छेहरू धान रोप्न व्यस्त भए । तर म जान पाइनँ ।’
अझै पनि लोककथा सुनाएझैं लाग्छन्, सन्तोषीलाई आमाका प्रशव पीडाका कुरा । अझ दाइ केदार र भाइ बद्री जन्मिँदा आमाले सन्तोषीलाई सुनाएको कथा झनै कहालीलाग्दो छ । व्यथाले च्याप्दै गरेको थाहा पाएपछि लक्ष्मीदेवीले सोचिन्, ‘बच्चा पाएँ भने घाँस लिन जान पाउँदिनँ ।’ त्यसपछि उनी घाँस लिन भनेर बेसी झर्दै थिइन्, बाटैमा थचारिइन् । ‘भित्तामा समातेर ममी रोइरहनुभएको थियो रे । धन्न त्यही बाटो हुँदै मामाघरको हजुरआमा आउँदै हुनुहुँदो रहेछ,’ आमाको भोगाइ सुनाइरहँदा सन्तोषी आज पनि दुःखित हुन्छिन् ।
•••
सन्तोषी स्कुल गएको पहिलो दिन । घर फर्कंदा होमवर्क थियो, ‘एबीसीडी...’ । सिकाइ माग्न उनले आमा गुहारिन् । कहिल्यै स्कुल नटेकेकी लक्ष्मीदेवी छोरीको कुरा टार्न मलको डोको बोकेर लागिन्, तर सन्तोषी के मान्थिन् ? उनी पछिपछि । केही नलागेपछि आमाले भनिन्, ‘मलाई आउँदैन ।’ सन्तोषीलाई लाग्थ्यो, आमालाई संसार थाहा छ । बालसुलभ रिस पोख्दै उनले भनिन्, ‘ममी भएर यति पनि आउँदैन ?’ उमेर बढ्दै गएपछि उत्तर आफैंले थाहा पाइन्, ‘साँच्चै, ममीलाई आउँदो रहेनछ ।’ अहिले बरु लक्ष्मीदेवी नै छोराछोरीलाई सिकाइ माग्छिन्, ‘खै मलाई नि सिकाइदेओ न ।’ सन्तोषी भ्याएसम्म सिकाउँछिन् पनि । यद्यपि, अक्षर नछिचोलेकी आमाभित्र सन्तोषी अथाह ज्ञानसागर भेट्छिन् । भन्छिन्, ‘ममीले गर्ने इन्जिनियरिङ सायदै अरूले गर्छन्, उहाँले मिलाउने केमेस्ट्री सायदै अरूले जान्दछन् ।’ सन्तोषीलाई सम्झना छ, ‘कसैको घरमा धारा नभएको बेला ममी पाइपमा पानी ल्याउने जुक्ति लगाउनुहुन्थ्यो ।’
लक्ष्मीदेवीलाई सबैभन्दा प्यारो लाग्छ, काम । सारा घरधन्दा र खेतबारीको काम भ्याएर पनि आफूलाई खर्च निकाल्ने केही न केही उद्यम गर्थिन् । अरूका बारी भाडामा लिएरै पनि उनी तरकारी फलाउँथिन् । सखारैदेखि साँझ ढल्दासम्म पनि आमा बारीमै व्यस्त भएको देख्नु सन्तोषीका लागि नौलो हैन । अस्वस्थ भइरहने लक्ष्मीदेवीका गाला आगोले झैं पोलिरहन्थ्यो । उनी गालामा पानी
छ्याप्दै काम गरिरहन्थिन् । रातमा त त्यो पीडा अझ असह्य हुन्थ्यो । उनको रुवाइ परसम्म सुनिन्थ्यो । ‘उपचार गर्न काठमाडौं जानुपर्यो भने ५ दिनलाई पुग्ने घाँस एकै पटक काटेर राख्नुहुन्थ्यो,’ सन्तोषी सम्झन्छिन्, ‘अरूलाई दुःख नहोस् भनेर आफैं खट्ने उहाँको बानी थियो ।’
•••
हजुरआमा इन्द्रकुमारी छउन्जेल सन्तोषीलाई लाग्थ्यो, ‘आमा त उहाँ हो ।’ लक्ष्मीदेवीलाई ममी भन्थिन् । लक्ष्मीदेवी उनको दोस्रो रोजाइमा पर्थिन् । कामले गाउँका उकालीओराली गर्दै फुर्सद नपाउने लक्ष्मीदेवीले कहाँबाट छोराछोरी स्याहारेर घरमै बस्न पाउनु ? खेल्दा, रुँदा, भोक लाग्दा वा जे परे पनि हजुरआमा हुन्थिन्, माया गर्थिन्, फकाउँथिन् । स्कुल पढ्न लक्ष्मीदेवीका तीनै सन्तान काठमाडौं बसे । सन्तोषीका बा नेपाली सेनामा थिए । काठमाडौं डेरामा पनि बढीजसो भेट्न हजुरआमा नै आउँथिन् । ‘आउन त ममीलाई पनि कत्ति मन हुँदो रहेछ, तर मन गाँठो पारेरै हजुरआमालाई पठाउनुहुँदो रहेछ,’ उनी सम्झन्छिन् ।
हजुरआमालाई क्यान्सर थियो । डाक्टरले धेरै नबाँच्ने भनिसकेका थिए । जीवनका अन्तिम क्षण हजुरआमाले नातिनातिनासँगै काठमाडौंकै डेरामा बिताइन् । मनोबल कमजोर भइसकेका उनलाई दाइ केदारले ओ हेनरीको ‘द लास्ट लिफ’ सुनाइरहन्थे । त्यो कथाले हजुरआमालाई मात्र हैन, सन्तोषी र भाइलाई पनि ऊर्जा दियो । हजुरआमा डाक्टरले भनेको भन्दा २ वर्ष बढी बाँचिन् । ‘उहाँ बितेपछि हामीले बल्ल ममीको महत्त्व महसुस गर्दै गयौं,’ सन्तोषी सुनाउँछिन् ।
•••
पछि भने लक्ष्मीदेवी पनि छोराछोरी भेट्न काठमाडौं आउन थालिन् । उनी आउँदा सन्तोषीहरू खुसीले फुरुङ्ग हुन्थे, लेख्ने पढ्ने पनि नगरी आमासँगै रमाउँथे । लक्ष्मीदेवीलाई चिन्ता लाग्थ्यो, ‘मेरो छोराछोरीले पढेकै देख्दिनँ, खै पढेर देखाओ त ।’ आमा घर जाने दिन उनीहरूलाई आकाश खसेजस्तो लाग्थ्यो । स्कुल जाने भनेपछि शरीर नै लल्याकलुलुक हुन्थ्यो । अनि सन्तोषी भाइलाई भन्थिन्, ‘बरु ममी नआइदिएको भए पनि हुन्थ्यो ।’ डेरामा पानीका लागि लाइन बस्न प्रायः सन्तोषी जान्थिन् । लाइनमा अरूका आमाहरू देख्थिन् । मनमनै भन्थिन्, ‘मेरो ममी यहाँ भइदिएको भए...।’ घरबाट काठमाडौं आएका दिन भाइ र सन्तोषी क्यालेन्डरमा चिनो लगाउँथे, अर्को बिदासम्मका दिन औंला भाँच्दै गन्थे । यस्तो नियास्रो उता लक्ष्मीदेवीलाई पनि लाग्थ्यो, भलै उनी अरूको सामु व्यक्त गर्दिन थिइन् । अरूले सहानुभूति दिँदा उनी भन्थिन्, ‘हामीले पो दुःख पायौं । उनीहरूले त पढ्नुपर्यो नि ।’ काठमाडौं आएर छोराछोरीसँग बस्ने रहर हुन्थ्यो उनलाई पनि । सन्तानको झल्को आइरहन्थ्यो । अनि रातहरू छोराछोरीकै सम्झनामा रोएरै काट्थिन् ।
•••
सन्तोषी १२ वर्षकी थिइन् । उनी पढेको स्कुलमा ‘गीतामाता स्टार’ भन्ने कार्यक्रम आयोजना हुँदै थियो । कथा, कविता, निबन्धलगायत धेरै प्रतियोगिता एकैसाथ हुन्थे । उनले नृत्य र गायनमा बाहेक सबैमा भाग लिइन् । दौडने कार्यक्रम पनि थियो । साथीहरूले सन्तोषीलाई उक्साए, ‘तिमी त जहिले पनि फास्ट कुदिरहेकी हुन्छ्यौ । पानीको गाग्री बोकेरै पनि कस्तो कुद्छ्यौ, भाग लिऊ ।’ कुद्न त उनी गाउँमा हुँदा पनि कुद्थिन् । हजुरआमाले सामान किन्न पसल पठाइरहन्थिन्, सन्तोषी एक श्वासमै कुदेर पुग्थिन् । छिटो ल्याएको भनेर हजुरआमाले धाप मार्दै भन्थिन्, ‘मेरो नातिनी त चरा हो ।’ उनी फुरुङ्ग पर्दै अर्को दिन झन् छिटो कुद्ने प्रयास गर्थिन् । अरूले बोलाइहाले पनि रोकिन्न थिइन् । उनलाई छिटो पुगेर हजुरआमाको स्याबासी खाने ध्याउन्न हुन्थ्यो । स्कुलको प्रतिस्पर्धामा भाग लिने बेलामा उनलाई लाग्यो, ‘त्यति त यहाँ पनि कुद्न सक्छु ।’
तर भाइले भने, ‘नकुद्नु दिदी, लाज हुन्छ । जुत्ता पनि छैन तपाईंको ।’ तर सन्तोषी कुदिन् । कुदेरै पहिलो भइन् । सबै दङ्ग । सबैभन्दा बढी त भाइ नै । त्यसपछि त उनको दौड स्कुल, नगर, सहर हुँदै राष्ट्रिय स्तरसम्म पुग्यो । सन् २०१९ को सागमा स्वर्णपदक जितेपछि त उनको कुदाइको रफ्तार अन्तर्राष्ट्रिय स्तरसम्मै पुग्यो । त्यसयता सन्तोषीका पाइला रोकिएका छैनन् ।
सुरुसुरुमा लक्ष्मीदेवी छोरीले दौड जितेको कुरा खुसीले गाउँमा सुनाउँदै हिँड्थिन् । पछि कसैले सुनाइदिएछन्, ‘छोरी मान्छेले कुद्नुहुन्न । पाठेघरमा समस्या आउँछ, बच्चा पाउन गाह्रो हुन्छ ।’ त्यसपछि त उनका अनुहारमा चिन्ताका धर्सा देखिन थाले । उनले छोरीलाई भनिन्, ‘कुद्नु हुँदैन, नकुद् ।’
•••
दुःख गर्न सकुन्जेल लक्ष्मीदेवी गाउँमै अडिइन् । बिरामी हुँदै गएपछि पहिलेझैं भारी बोक्न नसक्ने भइन् । सन्तोषीहरूको रहर थियो, ‘आमालाई काठमाडौं ल्याउने ।’ यतिका वर्ष छोराछोरीबाट टाढिएर बसेकी लक्ष्मीदेवी ०७५ सालमा काठमाडौं आइन् । तर आएकै वर्ष कान्छो छोरा अमेरिका उडे । मन खिन्न भयो । काठमाडौं आएको निकै समयसम्म लक्ष्मीदेवीको मन गाउँकै खेतबारीले तानिरह्यो । कामविहीन बस्नु उनलाई निकै सकस पर्यो । पछि काठमाडौंमा घर बन्यो । आमाले विस्तारै आफूलाई घरमा बानी पार्न थालिन् । निकै वर्ष आमाबाट टाढिएर बसेकी सन्तोषीलाई पनि सन्तोक लाग्न थाल्यो ।
आमालाई पहिला चिन्ता थियो, अहिले चैन छ । उतिबेला लाग्थ्यो, ‘छोराछोरी गलत बाटोमा लाग्लान् कि ?’ उनले सद्मार्गमा डोहोर्याइरहिन् । सन्तानको उज्ज्वल भविष्यका लागि टाढिएरै बसिन् । हर साँझ सुखका दिनहरू गन्ती गर्दै । सम्झिल्याउँदा उनका चाहना अहिले पूरा हुँदै गएको लाग्छ । सन्तोषी एथलेटिक्समा अगाडि छिन्, दाइ केदार रंगमञ्चमा चम्किरहेका छन् भने भाइ बद्री पनि अमेरिकामा कमाइरहेका छन् । लक्ष्मीदेवीलाई लाग्छ, ‘सबै सन्तान असल मार्गमा हिँडिरहेका छन् । छोरी त झन् दौडिरहेकी छन् । जसलाई देशले मात्र हैन संसारले नियालिरहेको छ ।’
