पर्यटन प्रवर्द्धनमा ‘बाइक राइडर्स’

मंसिर ७, २०८१

अनिश तिवारी

'Bike Riders' in tourism promotion

सिन्धुपाल्चोक — प्रसिद्धस्थल भैरवकुण्ड, छगाम, बगाम र अरनिको गाउँको पर्यटन प्रवर्द्धनका लागि घुमन्ते बाइक राइडरले ‘एक्सप्लोर भैरवकुण्ड (मिनी मानसरोवर) यात्रा’ गरेका छन् ।

गत शनिबार काठमाडौं, बाह्रबिसे हुँदै अरनिको गाउँबाट सुरु भएको यात्रा तपोभूमि लिस्तीमाई, छगाम, बगामबाट भैरवकुण्डमा पुगेर सकिएको हो । राष्ट्रिय विभूति अरनिकोले बास बसेको मानिने अरनिको गाउँबाट ४ हजार १ सय २४ मिटर उचाइमा रहेको आमा छ्योमेन भनिने भैरवकुण्डमा पुगेर १४ जना बाइक राइडरले राष्ट्रिय झन्डा फहराएका हुन् । 

घुमन्ते बाइक राइडर्सका अभियन्ता दिलबहादुर तामाङका अनुसार यो पर्यटकीय यात्रा घुमन्ते राइडर्स र अरनिको सामुदायिक होमस्टेको आयोजनामा गरिएको हो । ‘शास्त्रअनुसार भैरवकुण्डलाई कैलाश मानसरोवरकै स्वरूप मानिन्छ, त्यही अवधारणालाई लिएर यहाँका विभिन्न पर्यटकीयस्थल चिनाउन यो यात्रा गरिएको हो,’ अरनिको गाउँका अभियन्ता तथा पर्यटन व्यवसायी कुमार राउतले भने । इतिहास बोकेको लिस्तीकोटमा रहेको उग्रचण्डी लिस्ती माई मन्दिर, ध्यानका लागि चिनिएको पर्यटकीय आनी गाउँ छगाम, बगाम, सेबुङमा पुगेका राइडर्सलाई स्थानीयले शेर्पा कला संस्कृतिमार्फत स्वागत गरेका थिए । 

'Bike Riders' in tourism promotion

उनीहरूले पुरानो नाच स्यार्पुसहित अन्य नृत्य, पूजापाठ गरेर आफ्नो कला संस्कृतिबारे घुमन्ते राइडर्सलाई जानकारी गराएका थिए । उत्तरी तातोपानी नाकाको तातोपानी धारा, पुराना गुम्बा, मन्दिर, दुगुनागढीलाई भैरवकुण्डसँग जोड्न यो यात्रा राखिएको राउतको भनाइ छ । जिल्लामा घुमन्ते बाइक राइडिङमार्फत पर्यटकीय अभियान चलाएको सम्भवतः यो पहिलो पटक भएको राउतले बताए । ‘स्वर्ग जाने सिँढीका रूपमा परिचित देउढुंगा, भैरवकुण्ड, तातोपानीसहित यहाँका सम्पूर्ण गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन कार्यक्रम अझ हुन जरुरी छ,’ राउतले भने । 

फर्कंदै होमस्टे

भूकम्प र परकम्पले तहसनहस बनेका पाहुना घरबास (होमस्टे) अहिले धमाधम फर्काउन थालिएको छ । अरनिकोलाई सम्झँदै भोटेकोशी गाउँपालिका–५ स्थित ट्याङ्थलीमा बनाएका घरसहित अन्य पाँच गाउँमा होमस्टे सञ्चालनमा आएका छन् ।

ऐतिहासिक दुगुनागढी, बगाम, छगाम, अन्थलीमा घरबास सञ्चालनमा आइसकेका छन् । होमस्टे विज्ञबाट स्थानीयलाई तीनदिने व्यवस्थापन तालिम दिइएको छ । त्यहाँ मौलिक जीवनशैली, पम्रम्परा, पुराना संस्कृति झल्कने र अर्गानिक खानपानको व्यवस्था छ । ढुंगाका छाना भएका चिटिक्क देखिने घरको लस्कर, छेउमा फूलबारी बीचमा कलात्मक ढुंगालाई कुँदिएको देख्दा जोकोहीको ध्यान तान्छ । 

त्यस्तै गरी करिब १ सय ६० वर्ष पुरानो दुगुनागढीमा पहिले होमस्टे प्रयास गरिएका यार्मासिंस्थित, पाटीकुना, भेमासिं, ढिसिङ टोल, खाम्गेक विक टोल, भूमाचौर, छिम्थाङ, थाङर्सोर, दुगुनामा स्थानीय आमा समूहद्वारा पुरानै संस्कृति झल्कने गरी फेरि सञ्चालनमा ल्याइएको छ ।

यसअघि यहाँका ५१ घरसहित प्रसिद्ध भैरवकुण्ड जाने बाटोमै पर्ने लिस्ती, छगाम र बगामका लागि भोटेकोशी गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको समन्वयमा केही होमस्टे प्रवर्द्धन सामग्री हस्तान्तरणसमेत गरिएको थियो ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully