सुकुटेमा ‘एडभेन्चर क्रेज’

पछिल्लो समय थ्रिल भ्यालीमा सञ्चालित ह्याममक केबुलकार, ३६० डिग्री स्वीङ र स्काई साइकलिङ आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा परेका छन् ।

फाल्गुन ३, २०८०

अनिश तिवारी

सिन्धुपाल्चोक — वरिपरि जंगल र लोभलाग्दा पहाड । ठ्याक्कैबीचमा कञ्चन सुनकोसी नदी । कठ्यांग्रिँदो चिसोबीच पनि साहसिक ‘र्‍याफ्टिङका लागि संसारकै दस उत्कृष्टमा गनिने भोटेकोसी र सुनकोसीको सुकुटे क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक घटेका छैनन् । कारण हो- यहाँ चर्चित साहसिक खेल बन्जी, र्‍याफ्टिङ, क्यानोनीङ, जंगल सफारीसहित बगरको रमाइलो बास ।

सुनकोसीका रित्ता बगर, वरिपरि घना जंगल । यहाँ रिसोर्ट र होटलको परिकल्पना सहज थिएन, अझै ‘र्‍याफ्टिङ’ सञ्चालन गर्नु त निकै कठिन थियो । यद्यपि पुराना पर्यटन व्यवसायी महेन्द्रसिंह थापाले २८ वर्षअघि प्रसिद्ध सुकुटे रिसोर्ट सुरु गर्दा सुकुटेको पर्यटन समृद्धिको भविष्य देखेका थिए । २०५२ सालमा ५० लाख रुपैयाँ खर्चेर सुकुटे बगर क्षेत्रमा सुकुटे बिच रिसोर्ट निर्माण गरेको सम्झँदा थापालाई अहिले सपना जस्तै लाग्छ ।

‘त्यतिबेला ६ रोपनीभन्दा बढी जग्गा भाडामा लिएर रिसोर्ट सुरु गर्नु ठूलो युद्ध लड्नु जस्तै थियो, समुदायलाई चित्त बुझाउन झनै जटिल थियो, अहिले त सुकुटे साहसिक पर्यटनको हब र पर्याय बनिसकेको छ । रिसोर्ट र होटल पनि थपिँदै छन्,’ विगत सम्झँदै थापा भन्छन् । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री र नेता बाक्लै रूपमा आउने सुकुटे बिच रिसोर्ट अहिले पनि उत्तिकै लिइने नाममा गनिन्छ । विदेशी पर्यटक तानिने सुकुटे पर्यटकीय हब बनेको उनको तर्क छ । ‘यो सुखद हो, यसले जिल्लाको मात्रै नभई देशको पर्यटन क्षेत्रमा इँटा थपेको छ,’ उनले भने ।

चौतारा साँगाचोकगढी–१० सुकुटेका अञ्जन खड्काले ०६९ सालमा पुराना व्यवसायी मेघ आले र अरुण श्रेष्ठसँग मिलेर दुई करोड लगानीमा सुनकोशी बिच रिसोर्ट तथा अर्गानिक फर्म सुरु गरेका थिए । त्यतिखेर र्‍याफ्टिङसहित फार्म सञ्चालनमा ल्याइए पनि पर्यटकको रोजाइअनुसार अन्य सेवा थप्दै गएको खड्काले बताए । ‘र्‍याफ्टिङ मुख्य लक्ष्य भए पनि त्यसबाहेक पर्यटकको इच्छाअनुरूप बिच स्टे, क्यानोनिङ, रक क्लाइबिङ जंगल सफारी, अर्गानिक भोजनजस्ता सेवा बढाउँदै लग्यौं,’ खड्काले भने ।

थ्रिल भ्यालीमा ह्याममक केबुलकार, ३६० डिग्री स्वीङ र स्काई साइकलिङ सञ्चालनमा छन् । गत असोजबाट पर्यटन व्यवसायी महेन्द्र श्रेष्ठ र राजकुमार केसीसँग मिलेर झन्डै २ करोड लगानीमा थ्रिल भ्यालीमा यस्ता सेवा सुरु गरेको सञ्चालक सम्झना खड्का कार्कीले बताइन् । ‘यहाँको पर्यटन विकासमा थप योगदान पुर्‍याउन नयाँ एडभेन्चर टुरिज्म सुरु गरेका हौं । यो प्रभावकारी पनि देखिएको छ ,’ उनले भनिन् । थ्रिल भ्यालीझैं सुकुटे रिभर फन, माया बिच, रिभर वे, रक रिभरजस्ता दर्जनौं रिसोर्ट नयाँ साहसिक एडभेन्चर सेवा दिने प्रयासमा देखिन्छन् । थ्रिल भ्यालीबाहेक अन्य रिसोर्टको मुख्य आकर्षण भने र्‍याफ्टिङ नै हो ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी शिव अधिकारीका अनुसार सुनकोसी र भोटेकोसीमा र्‍याफ्टिङसहितका झन्डै १० रिसोर्ट सञ्चालनमा छन् । यीबाहेक दुई दर्जनभन्दा बढी होटल र रिसोर्ट छन् । ‘यो भेग एक प्रकारले साहसिक पर्यटनका लागि प्रख्यात बनेको छ, अझै थ्रिल भ्यालीले यसमा अर्को रङ थपेको छ, यो हाम्रा लागि सुखद पक्ष हो, यसले धेरैले रोजगारी पाएका छन्,’ अधिकारीले भने ।

कठ्यांग्रिँदो मौसममा पनि सुकुटेमा र्‍याफ्टिङ र अन्य साहसिक खेलमा पर्यटक तानिइरहेका उनले बताए । र्‍याफ्टिङ र अन्य साहसिक खेलको मज्जा लिन यसअघि दैनिक एक रिसोर्टमा कम्तीमा ५० आन्तरिक र २० बाह्य पर्यटक भित्रिने गरेका थिए । अहिले भने एक रिसोर्टमा दैनिक २० पर्यटक यस्ता खेलको आनन्द लिन आउने गरेका नेपाल र्‍याफ्टिङ एसोसिएसन (नारा) ले जनाएको छ । एडभेन्जरको मनोरञ्जन गर्न सिन्धुपाल्चोकमा एक सातामा दुई हजारसम्म पर्यटक भित्रने गरेका जनाइएको छ ।

ह्याममक केबुलकारसहित ३६० डिग्री स्वीङ र स्काई साइकलिङमा मात्रै दैनिक २० देखि ३० पर्यटक आउने गरेको थ्रिल भ्यालीले जनाएको छ । ‘ह्याममक केबुलकार र ३६० डिग्री स्वीङ नेपालमै पहिलो भएकाले पनि यसमा सबैको चासो बढेको छ, यसलाई केन्द्रित गरेर पर्यटक आउने गरेका छन्,’ सञ्चालक खड्काले भनिन् । यी रोचक खेल ५ मिनेटको समयमा ६ जना दक्ष क्रु गाइडद्वारा गरिने उनको भनाइ छ ।

एडभेन्चर लिन सुकुटे

काठमाडौं टोखा नगरका अजय सूर्यवंशीले पहिलो पटक ह्याममक केबुलकारसहित ३६० डिग्री स्वीङ र स्काई साइकलिङ गरिरहँदा खुबै उत्साहित देखिए । ‘नेपालमै यस्तो एडभेन्चरको आनन्द लिन पाइयो । साँच्चिकै भित्रैबाट गहिरो आत्मविश्वास बढेको छ । बन्जी र र्‍याफ्टिङले चर्चित सुकुटेमा यो भने निकै फरक र साहसिक स्वादको अनुभव गरियो,’ सूर्यवंशीले भने ।

खासमा सूर्यवंशीसहितको ७ जनाको समूह र्‍याफ्टिङको लक्ष्य बोकेर सिन्धुपाल्चोकको सुकुटे आएको थियो । तर पहिलो पटक यस्तो प्रकारको खेल सुरु गरिएको देखिएपछि उनले सबै खेलको आनन्द लिन भ्याए । ह्याममक केबुलकारबाट पारी पुग्दै गर्दा सुनकोसी र वरिपरिका हरियाली जंगल मन्दिर, पहाड देख्दा उनी दंग परे । ३६० डिग्री स्वीङ गर्दा भने डर र खुसी मिश्रित स्वरमा चिच्याएको बताए ।

जर्मनकी एन्नी कुइजी हेलम्बु, पाँचपोखरी हुँदै यस क्षेत्रका पर्यटकीय स्थल घुम्ने क्रममा यही लक्ष्य बोकेर सुकुटे आएकी थिइन् । नेपालबाहेक अन्य मुलुकमा यस्ता एडभेन्चरका लागि स्थान भए पनि यहाँ पनि यस्तो खेल उपलब्ध देखेर उनले ३६० डिग्री स्वीङ र स्काई साइकलिङले अनुभव लिएको बताइन् । अघिल्लो वर्ष उनी यही समयमा बन्जी हान्ने र पशुपतिनाथमा शिवरात्रिको परम्परागत पूजा हेर्न नेपाल आएकी उनले यस पटक फरक अनुभव लिएको बताइन् । ‘यसले मलाई खुब आनन्दित बनायो, वारि सुकुटे बजारबाट पारि पुग्दा ती उचाइबीच फरक अनुभव गरें । धेरै मज्जा आयो,’ एन्नीले भनिन् ।

चौतारा साँगाचोकगढी–७ सानो सिरुबारीका रमेश दुलालको एडभेन्चर थ्रिल अनुभव झनै रोचक छ । चौताराका वन अधिकृत दुलालले यहाँको ३६० डिग्री स्वीङ र स्काई साइकलिङ फेरि गर्ने लक्ष्य बोकेका छन् । ‘पर्यटनको अनेक एडभेन्चर अनुभवमा यो साँच्चिकै रमाइलो अनुभव हो । यो निकै अद्भुत छ,’ दुलालले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully