सराय संरक्षणमा पल्लीकोटका युवा

खुकुरी, तलबार, खुँडा, खड्ग र लट्ठी आदि हतियार हातमा लिएर नचाउँदै बाजाका तालमा नाचिने परम्परागत नाच सराय

माघ १३, २०८०

सन्जु पौडेल

लुम्बिनी — गुल्मीको छत्रकोट–२, पल्लीकोटका २१ वर्षीय विशाल मगर सराय नाच्ने भनेपछि हुरुक्क हुन्छन् । १३ वर्ष पुगेका थिए उनी, गाउँमा सराय नाचेको पहिलो पटक देखेपछि उनलाई सिक्ने रहर पलायो । अनि ओखडा बसेर (१० देखि १५ दिनसम्म तालिम) सराय नाच्न सिकेको उनले बताए । सुरुमा डर लागे पनि दाइहरू नाचेको हेरेर नक्कल गरेपछि त सिकाउने भएको उनले बताए । ‘पहिले गाउँमा धेरै जनाले सराय नाच्थे,’ उनले भने, ‘अहिले हामी छौं ।’

सराय नाच्छु भन्दा परिवारले समेत नाइनास्ती नगरेकाले सिक्न सहज भएको उनले बताए । ‘हामीलाई पहिले नै खुँडा नचाउन सिकाउनु हुँदैन,’ उनले भने, ‘लौरो नचाउन पोख्त भएपछि मात्र खुँडा पाइन्छ ।’ अहिले गाउँमा सिक्न चाहने बालकलाई फुर्सद मिलाएर सिकाइदिने गरेको उनले बताए । ‘म सुरुमा खेल्दा टाउकोमा चोट लागेको थियो,’ उनले भने, ‘लगातार ३ वर्ष खेलें, बीचमा छोडें । अहिले जोगाउने कसले त भन्ने प्रश्न आउन थालेपछि अरूलाई समेत सिकाउँदै छु ।’

विशेष पर्वका अवसरमा मन्दिरभित्रका खुकुरी, तलबार, खुँडा, खड्ग र लट्ठी आदि हतियार हातमा लिएर नचाउँदै, लडाउँदै बाजाका तालमा नाचिने परम्परागत नाच सराय हो । यो नाच खासगरी गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका जिल्लाको प्रसिद्ध र ऐतिहासिक नाच हो । 

तत्कालीन राजाका सैनिकहरूले दरबार र कोट घर पूजा गरी लडाइँमा जाँदा हतियार पुजेर लैजाने गर्थे । शत्रु पक्षबाट आफ्नो संरक्षण गर्न उनीहरूले हाते हतियार प्रयोग गरेर लड्ने गर्थे । तिनै सेनाले हतियार चलाएर आफ्नो संरक्षण गरेजस्तै सराय नाच्ने मानिसले आफूसँगै जोडीका रूपमा नाचुन्जेलको दुश्मनसरहको साथीसँग आफ्नो बचाउ गर्दै प्रदर्शन गरिने नाच नै सराय भएको पल्लीकोटका पूर्ववडाध्यक्ष रुकबहादुर राकसकोटीले बताए । उनका अनुसार सेनाले धारिला खुँडा र लौरो लिएर लड्थे । सोही हतियार आफूहरूले पनि सराय नाच्दा प्रयोग गर्ने गरेको उनले बताए ।

‘धारिला नभए पनि हामीले असली खुँडा नै प्रयोग गर्छौं,’ उनले भने, ‘हरेक स्थानमा फरक तरिकाले नाचेको पनि देखिन्छ ।’ सराय मालौरो नाच, लहरपट्टा, छुट, बजौटे, कैंची, गुरुगाउँ आदि प्रकारका नाच देखाइने गरेको उनले बताए । खेलौं भाइ हो वाख्खै (सबै एकजुट होऔं) भन्ने नारा सुरु गरेपछि सराय नाच्न थालिन्छ । यो नाराले खुसीयाली र तयारीलाई बताउने अर्का युवा मोहन पल्लीले बताए । उनको पुस्ताले गाउँमा सराय नाच्ने र अरूलाई सिकाउने गरेको इतिहास छ । हाल उनका काका कृष्णबहादुर पल्ली छत्रकोटका गुरु नै हुन् । ‘मैले त १० वर्षको हुँदादेखि घरमै सराय नाचेको देखें,’ उनले भने, ‘आफ्नो इच्छा जाग्यो, अहिले आफू नाच्छु ।’ 

उनका बुबा नरेन्द्र पल्ली हाल २ का वडाध्यक्षसमेत छन् । ‘बुबा, काका र म अहिले खेल्छौं, हजुरबुबा पनि खेल्नुहुन्थ्यो,’ मोहनले भने, मैले पनि पुस्तान्तरण गर्न पाए यो जीवन्त रहिरहन्छ ।’ करिब तीन वर्ष विदेशमा रहँदा नाच्न नपाएपछि अरूले नाचेको भिडियो हेर्दै रुँदै गरेको उनले बताए । ‘विदेशमा रहँदा निकै सम्झना आउने । अहिले गाउँमा युवा नै छैनन्,’ उनले भने, ‘हामी ८/९ समूह खेल्थ्यौं, अब ३ वटा समूह पुर्‍याउन पनि नसकिने अवस्था छ ।’ सरायलाई आफूहरूले संस्कृति मानेकाले यसको संरक्षण र जगेर्ना दुवै आवश्यक रहेको उनले बताए । आफ्ना काकाले नै सिकाएकाले आफूलाई सजिलो भएको उनले बताए ।


सराय संरक्षणमा पल्लीकोटका बुढापाकासमेत उत्तिकै लागिपरेका छन् । युवाको खोजी र उनीहरूलाई सिकाउने काम गरिरहे पनि आफूहरू सँगसँगै नाच्ने र सरायबारे बताउने गरेको गाउँका गुरु कृष्णबहादुर पल्ली बताउँछन् । ‘बाइसे–चौबिसे राजाका पालामा पल्ली (मगर) पुजारीले कोटमा पूजा गर्थे, त्यसबाट नै हाम्रो गाउँको नाम पल्लीकोट रहेको सुनेका थियौं,’ उनले भने, ‘यस्तो गाउँ जहाँका मानिस सबैभन्दा कम बसाइँसराइ गरेका छन् र हरेक घरमा सराय नाच्नुपर्छ भन्ने छाप छोडिएको छ ।’ 

सराय सोह्रश्राद्ध सुरु भएपछि नसकिँदासम्म सिकाउने अथवा ओखडा पस्ने चलन छ । यो समय शुद्धताको समय र पितृ, देवताको पूजा हुने समय भएकाले त्यस बखत सराय सिकाउने गरेको पल्लीले बताए । पल्लीकोटमा दसैंको टीकापछिको द्वादशीका दिन फूलपाती विसर्जन गरेर सराय नाच्ने गरिन्छ । कहीं पूर्णिमाका दिनसमेत यो नाच देखाउने गरिएको उनले बताए । 

नाचका लागि नौमती बाजा बजाएर ताल दिने गरिन्छ । यसका लागि चाहिने ताल भने फरक खालको हुने र बाजा बजाउने मानिस त्यसबारे ज्ञान भएको चाहिने पल्लीले बताए । पल्ली गाउँका युवा र किशोरलाई सम्झाएरै नाच सिकाउने गरेको र त्यसले संरक्षणमा सहयोग पुगेको उनले बताए । सिकाउने समय भने बिहान र बेलुका एक/एक घण्टा रहने गरेको उनले बताए । १० देखि १५ दिनमा सबैलाई पोख्त बनाउने सकिने उनले सुनाए ।

सराय मनोरञ्जनको पाटोसँग मात्र नजोडिएको लीलबहादुर रजाली मगरले बताए । ३९ वर्षीय उनले सराय नाच्न थालेको २० वर्ष भइसकेको छ । उनले यसलाई व्यायामका रूपमा समेत बुझ्ने गरिएको बताए । सराय नाच्दा हातखुट्टा र शरीरको चाल धेरै नै चालिने भएकाले यसलाई त्यसबेला सेनाले साथी–साथीबीच पनि व्यायाम गरेसरह खेल्ने गरेको सुनेको उनले बताए । 

मगरका अनुसार पल्लीकोटमा उनीहरूको सराय समूह पनि छ । कसैले सराय देखाइदिन आग्रह गरेको खण्डमा समूहले अन्य स्थानमा पुगेर पनि नाच देखाउने गरेको छ । ‘यसले हाम्रो नाच देखिने र गाउँलाई चिनाउन सकिने भएकाले सरायकै लागि हामी विभिन्न जिल्लामा पुग्ने गरेका छौं,’ उनले भने, ‘नयाँ ठाउँमा यसलाई हेर्ने र रमाउनेको उत्साह निकै पाउँछौं ।’ छिमेकी पहाडी जिल्लामा यो सामान्य भए पनि तराईका जिल्लाका लागि भने यो बिल्कुल नौलो नाच भएको उनले बताए । 

केही समयअघि बुटवलको होटल पौवामा नाच देखाउन आएका पल्लीकोट सराय समूहका युवाले सहरी वातावरणमा सराय चिन्न खोज्नेहरूको संख्या निकै भएको बताए । तर अहिलेको अवस्थामा यसको निरन्तरताका लागि पनि युवामाझ यसको महत्त्व बुझाउन आवश्यक रहेको उनीहरूको भनाइ छ । 

बुटवलको होटल पौवाले नेपाली संस्कृतिमा पर्ने सराय नाच सहरका मानिसलाई जानकारी दिनकै लागि कार्यक्रम गरेको पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully