काठमाडौँ — सन् २००१ मा आजकै दिन (जनवरी २६) मा भारतको गुजरातमा विनाशकारी भूकम्प गएको थियो । भारतको गणतन्त्र दिवसका दिन पाकिस्तानी सीमा नजिकैको भुज गाउँलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका कारण २० हजार मानिसको ज्यान गएको थियो भने १ लाख ७० हजारभन्दा बढी घाइते भएका थिए । दसौं लाख घरविहीन भएका थिए । ८ हजार गाउँका कम्तीमा ३ लाख ४० हजार भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । कुच जिल्लाको सदरमुकाम भुजसहित अन्य केही सहरहरू पनि नराम्ररी प्रभावित भएका थिए ।
उक्त भूकम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक उदयसँग पनि जोडेर हेरिन्छ । भूकम्पपछि गुजरातमा बिग्रँदो शासन व्यवस्थाका कारण भारतीय जनता पार्टी (भाजपा) ले केसुभाइ पटेललाई हटाएर नरेन्द्र मोदीलाई मुख्यमन्त्री बनाएको थियो ।
त्यतिबेलासम्म खास कुनै राजनीतिक अनुभव नभएका मोदीले पुनर्निर्माणमा गरेको चमत्कारले उनको उचाइ निकै बढ्यो । मोदी सरकारले ५ सय दिनमा ८ लाखभन्दा बढी घर निर्माण गरेको थियो । २००२ मा भएको हिन्दु–मुसलमान दंगाका कारण आलोचित भएपछि मोदीले सोही वर्षको अप्रिलमा मुख्यमन्त्रीबाट राजीनामा दिए र संसद् विघटन भयो ।
त्यसपछिको चुनावमा भाजपा गुजरातका १ सय ८२ मध्ये १ सय २७ सिटमा विजयी भएको थियो । २००२ को डिसेम्बरमा पुनः मुख्यमन्त्री बनेका मोदीले गुजरातमा २०१४ सम्म शासन गरे । त्यस अवधिमा उनले गुजरातलाई भारतीय अर्थतन्त्रको मुख्य हिस्साका रूपमा विकास गरे ।
जसका कारण २०१४ को आमनिर्वाचनमा मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको भाजपाले चुनावी सफलता चाख्यो । २०१४ को मे २६ मा प्रधानमन्त्री बनेका मोदी त्यसयता निरन्तर सत्तामा छन् ।
