काठमाडौँ — सन् १९६५ मा आजकै दिन (जनवरी २४) मा बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु भएको थियो । उनी दुई कार्यकाल बेलायतको प्रधानमन्त्री भएका थिए ।
चर्चिल पहिलो पटक दोस्रो विश्वयुद्धका बेला १९४० देखि १९४५ सम्म र दोस्रो पटक १९५१ देखि १९५५ सम्म बेलायतको प्रधानमन्त्री थिए । प्रेरणादायी राजनेता, लेखक तथा वक्ताका रूपमा प्रसिद्ध चर्चिल मानिसहरूलाई प्रभावित पार्न सक्ने क्षमता, रणनीतिक चातुर्यता र अद्वितीय व्यक्तित्वका कारण उनी विश्वभर चर्चित थिए ।
बेलायतको अक्सफोर्डसायरमा १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिल १८९५ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका थिए । ब्रिटिस इन्डिया, एंग्लो सुडान तथा दोस्रो बोएर युद्धको अनुभव लिएका चर्चिल युद्धसम्बन्धी रिपोर्टका कारणसमेत चर्चित बनेका थिए । उनी १९०० देखि १९२२ सम्म र १९२४ देखि १९६४ सम्म बेलायतको सांसद थिए ।
१९०४ देखि १९२४ सम्म लिबरल पार्टीका सदस्य रहेका चर्चिलले १९४० देखि १९५५ सम्म कन्जरभेटिभ पार्टीको नेतृत्व पनि सम्हालेका थिए । सांसदका रूपमा उनको कार्यकालमा बेलायतमा भिक्टोरिया, एडवार्ड सातौं, जर्ज पाँचौं, एडवार्ड तेस्रो, जर्ज छैटौं र एलिजाबेथ द्वितीयसहित ६ जना राष्ट्र प्रमुख थिए । चर्चिलको १९६५ को जनवरी २४ मा लन्डनमा मृत्यु भएको थियो ।
