काठमाडौँ — आफ्नो कथालाई तपाईंले जति अरु कसैले सुनाउन सक्दैन । कथ्य वाचनमा यो शैलीलाई मेरुदण्ड मानिन्छ । त्यसैले कुनै समुदायको कथा भन्न त्यही समुदायभित्रबाट कथा वाचक खोजिन्छ । किन ? युवा निर्देशक निरञ्जन भेटवालका तीन फिल्म यसको जवाफ हो । भेटवाल खस आर्य समुदायका । उनका फिल्महरुमा ती समुदायका विश्वास, संस्कृति अनि मिथकलाई सुन्दर ढंगले कथामार्फत भनिएको छ ।
'अनहद'ले मृत्युपछिको वैतरणी नदीको विश्वास, आफन्त गुमाएका परिवारले गर्ने संस्कार मिसाउँदै एउटा परिवारले अनुभव गर्दै जाने सान्त्वना देखाउँछ । 'सरस सन्ध्या'मा मृत्युपछिको पुनर्जन्मका मिथकसहितको एउटी आमाले आफ्नी आमा गुमाउँदाको क्षण र उनीभित्रको अन्तर्मन केलाइएको छ । यो वर्ष अन्तर्राष्ट्रिय बजार घुमेको 'साक्षी रुख'ले त व्रतबन्धभित्रको विश्वाससँगै आमा र छोराबीचको जटिल सम्बन्ध, मातृप्रेम अनि अस्तित्वको विषय उठाउँछ । यी सबै फिल्ममा निरञ्जन कहीँ न कहीँ आफ्नो समुदायका मूल्य, मान्यता र विश्वास कथामा उन्छन् ।
'साक्षी रुख'ले श्रीधर नामको एक बालकले खोज्ने अस्तित्त्वको कथा छ । ब्रतबन्धको समय नजकिँदै जाँदा श्रीधरको अगाडिको बुबाको आत्महत्याको रहस्य खुल्छ । आफू अर्कैको सन्तान भएको सत्यले बुवाले त्यस्तो बाटो रोजेको कतै श्रीधरले सुन्छ । उनी आमासँग त्यसबारे प्रश्न खोजिरहन्छन् । आमा भने श्रीधरलाई इमान्दार जवाफ दिउँ वा छोरालाई त्यसले निम्त्याउने भवितव्यबाट जोगाउँ भन्ने अलमलमा हुन्छिन् । 'साक्षी रुख' कोभिड महामारीबीच लेखिएको हो ।
एकदिन साथी नवनिधि दाहालले निरञ्जनलाई भने,'लकडाउनमा खाली बस्नु भन्दा लघु फिल्म लेख' । नवनिधिको हौसलापछि फिल्म लेख्न बसे निरञ्जन । उनलाई पहिल्यैदेखि ब्रतबन्धको विषयले तान्थ्यो । तर, त्यसको कथा कसरी बुन्ने भेउ पाइरहेका थिएनन् । फिल्म लेख्न बसिसकेपछि आफूले सुनेका अनुभूति निरञ्जनको दिमागमा रफ्तारले दौडियो-गाउँमा रहेको कटहरको रुख । त्यो रुखमा कसैले आत्महत्या गरेको थियो । बिहे अगाडिको शारीरिक सम्बन्धले हतारमा बिहे भएका घटना पनि त्यसै दिमागमा घुमिरह्यो । त्यसरी जन्मिएका सन्तानले आफ्नो अस्तित्व कसरी खोज्दो हो ? निरञ्जनलाई लागिरहन्थ्यो ।
धेरैअघिदेखि मनमा गुँथेका यी फरक विषयहरुलाई गाँस्दै लेखे, 'साक्षी रुख' । 'हाम्रो समाजमा बुवाको रगत/वंश भन्ने गरिन्छ नि ! त्यसरी जन्मेको छोरो त्यही घरको हुन्छ वा हुँदैन त ? त्यो बालकले आफ्नो अस्तित्व कसरी खोज्ला त ? जब उसले त्यो घरको सदस्य होइन भन्ने बुझ्छ उसले कस्तो कदम चाल्छ ? उक्त बालक आफ्नो सन्तान होइन भन्ने बुझेका बाबुले उसलाई स्वीकार्लान् कि नस्वीकार्लान्,'कथा लेख्नुपछाडिको हुटहुटी निरञ्जनले पोखे ।
गाउँमा त्यो रुख देख्दा निरञ्जनलाई सँधै त्यहाँ कोही झुन्डिएजस्तै लाग्ने । त्यो रुख आत्महत्याको साक्षी हो भन्ने लागिरहने । त्यहीँबाट फिल्मको शीर्षक फुर्यो । 'त्यो आत्महत्याको घटना देखेका सबै चुपचाप थिए । मौन, त्यही रुखजस्तै । यस्ता घटनाहरु पनि घरभित्रै पनि लुकाइँदो रहेछ । त्यसैले मलाई किन यो कथा मैले नभन्ने त भन्ने लाग्यो,'निरञ्जन सुनाउँछन्,'ब्रतबन्धलाई दोस्रो जन्म भनिन्छ । हामीकहाँ गोत्र दिने, आधिकारिक रुपमा परिवारको सदस्य हुने ब्रतबन्धकै समयमा हो । त्यसपछि तपाईंले पूर्वजहरुको कर्म गर्न सक्नुहुन्छ । बिहे गर्नलाई आधारिकता मिल्यो ।'
ब्रतबन्ध गर्दागर्दै श्रीधर त्यहाँबाट भाग्दै गरेको बिम्बात्मक दृश्य 'साक्षी रुख'मा छ । भागेका छोरालाई आमा भने बारम्बार ब्रतबन्धतिरै ल्याउने कोसिसमा हुन्छिन् । उक्त परिवारमा नजन्मे पनि उनी छोरालाई त्यो परिवारको सदस्य बनाउन चाहन्छिन् भन्ने यो बिम्ब बेजोड छ । 'साक्षी रुख'का अधिकांश दृश्यमा प्रमुख पात्र बाहेक अन्य चरित्र खासै हलचल गर्दैनन् । उनीहरु पर्दामा अचल उभिन्छन्, रुखजस्तै । उनीहरु यी आमा-छोराका कथाका साक्षीकै रुपमा क्यामेराले देखाइरहन्छ ।
'साक्षी रुख' चर्चित फिल्म फेस्टिभल बर्लिनको 'सर्ट फर्म स्टेसन'मा छनौट भयो । बुसानमा वर्ल्ड प्रिमियर भएको यो १५ मिनेट लामो फिल्म 'रोट्रड्याम'सँगै 'क्लेर्मोन्ट फेराड इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल'मा पनि छानियो । यो वर्ष 'साक्षी रुख'ले विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा उपस्थिति जनाइरहँदा निरञ्जनले नेपालमा पनि यस किसिमको महोत्सवको आवश्यकता महसुस गरे । उनी भन्छन्,'हाम्रा फिल्मका लागि हाम्रै फेस्टिभल आवश्यक पर्छ । हामीले कोरियामा फिल्म देखाउँदैछौं भने हाम्रो अनुभव, जीवन जिउने तरिका नै बेग्लै हुन्छ । संस्कृति, धर्म नै फरक छ । त्यो संस्कृतिसँग विदेशी दर्शक कनेक्ट नै हुन सक्दैनन् । त्यसैले हाम्रा फिल्मका लागि हाम्रै दर्शक चाहिँदो रहेछ । हाम्रै दर्शक सजिलोसँग हाम्रा फिल्ममा जोडिन सक्छन् ।' फिचर फिल्म देखाउने फेस्टिभलमा लघु फिल्मले ती फिल्मलेभन्दा बढी प्रशंसा नपाइने हुँदा लघु फिल्म लक्षित फेस्टिभल नेपालमा आवश्यक रहेको उनको धारणा छ ।
निरञ्जनका अधिकांश फिल्ममा अँध्यारा दृश्यको प्रयोग बढी भेटिन्छ । उनी अँध्यारो मनपराउँछन् । अँध्यारो दृश्य सिनेमेटिक लाग्ने तर्क गर्छन् । 'फिल्मका पात्रहरुले केही लुकाइरहेका छन्, केही कुरा अभिव्यक्त गर्न सकिरहेका छैनन् । त्यही अनुभवका लागि यस किसिमको दृश्य प्रयोग गरिएको हो,'निरञ्जनको तर्क छ ।
निरञ्जन निर्देशित 'अनहद'मा पनि अँध्यारा दृश्यको व्यापक प्रयोग छ । आध्यात्मिक विषयतिर झुकाव राख्ने निरञ्जनले 'अनहद'मा पितृ बोलाउने विषय राखेका छन् । एकदिन घरछेउ आइपुगेका पितृ बोलाउनेकहाँ पत्नीको सल्लाहले पुगेका थिए, उनी । कसको पितृ बोलाउने ? हजुरबुवा !
निरञ्जन ११ वर्षको छँदा हजुरबुवा बिते । उनीसँग हजुरबुवाका थुप्रै याद बाँकी थिए । हजुरबुवासँग खेत गइरहन्थे । तमखु पिइरहने हजुरबुवासँग ऐंसेलु खान जान्थे । जब पितृ बोलाउने हजुरबुवाजस्तै खोक्न थाले, निरञ्जन चकित । झिनो विश्वास पलायो । त्यही अनुभवलाई 'अनहद'मा पस्के । कतै अट्किएको आत्मालाई तारिदिने विश्वास फिल्ममा देखिन्छ । पितृ बोलाउँदा मृत बुबाले अह्राएको आदेश छोरा र उनकी पत्नीले कसरी पूरा गर्छन् भन्ने यात्राको मर्मस्पर्शी कथा 'अनहद'मा छ । 'हामी दसैंमा जमरा राख्दा, पितृ पूजा गर्छौं । हामीकहाँ पितृका कुरा सँधैभरी जोडिँदो रहेछ । सपनामा पितृ देखिए भोलिपल्ट पानी चढाइन्छ । यो त हामीसँग जोडिएको विषय हो भन्ने लागेपछि पितृकै लागि गरिने कर्म/यात्रालाई फिल्ममा पस्कें,'निरञ्जनले भने । रोट्रड्याममा विश्व प्रिमियरपछि 'अनहद'ले न्यूयोर्कको 'न्यू डिरेक्टर न्यू फिल्म', डकु फेस्टलगायत थुप्रै फिल्म फेस्टिभलको यात्रा गर्यो ।
लघु फिल्मका लागि नेपालमा बजार छैन । वर्षेनी नेपालमा थुप्रो लघु फिल्म बन्छन्, अन्तर्राष्ट्रिय बजार पनि पुगिरहन्छन् । लघु फिल्मका लागि अन्तर्राष्ट्रिय बजारको विकल्प छैन । लघु फिल्म निर्माणको स्वाद चाखिसकेका निरञ्जन फिचर बनाउन बजेटको समस्या देख्छन् । लघु फिल्म बनाउन निर्देशकलाई बजेटले रोक्दैन । त्यसैले आफू लघु फिल्म निर्माणमै रमाइरहेको निरञ्जन सुनाउँछन् ।
फिल्मले 'भिजिबिलिटी' बनाउने गरेको अनुभव उनीसँग छ । 'कला भनेको आत्मसन्तुष्टिका लागि होजस्तो लाग्छ । फिचर फिल्म तुरुन्तै गर्न गाह्रो छ, बजेटको समस्या हुन्छ । तर, सर्ट बनाउन त मन भए पनि पुग्छ,'निरञ्जन भन्छन्,'लघु फिल्म बनाइरहनु अभ्यास गरिरहनुजस्तै पनि हो । फेस्टिभलमा त तपाईंले बनाएको फिल्मलाई बुझ्ने/मनपराउने दर्शक हुन्छन्,'निरञ्जनले भने,''मेरा फिल्मले चिनाउने त मलाई हो । तर, मलाई मेरा फिल्ममा लगानी गरिदिनेहरुको लगानी उठिदियोस् भन्ने सँधै लाग्छ।'
'एकादेशमा फिल्म फेस्टिभल'मा ग्र्याजुयसन प्रोजेक्ट 'काफल पाक्यो'देखाउँदै 'मडारिएको नीलो धुँवा', 'अनहद', 'साक्षी रुख'सम्म आइपुग्दा निरञ्जनले फिल्म निर्माण मात्रै नभइ फिल्म अध्यापनको अनुभव पनि संगाले । आफ्ना विद्यार्थीसँग मिलेर बनाएको 'सरस सन्ध्या'लाई अन्तर्राष्ट्रिय बजार पठाइसकेका निरञ्जन लघु फिल्मबाट अघाइसके । अब उनलाई ७ वर्षअघि लेख्न थालेको फिचर फिल्म 'इन्द्रेणी पारी' बनाउनुछ । 'लघु फिल्मबाट आफूलाई कति प्रमाणित गरिरहनु । अब सर्ट फिल्मबाट ब्रेक लिन्छु । अबको पालो फिचर फिल्मको हो,'३५ वर्षे निरञ्जन सुनाउँछन्,'एक समय सबै लघु फिल्म बनाउन व्यस्त देखिन्थे । अब सबै फिचरतिर लागे, अब मेरो पनि समय आएको छ।'
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
