मिश्रको एकल कार्टुन प्रदर्शनी

‘कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मान्यता राखेर पाठक/दर्शकका प्रतिक्रिया, विचार र सुझाव सुन्ने गरी आएको छु’

माघ ५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — कार्टुनिस्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी सुरु गरेका छन् । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा क्याफेमा १० दिनसम्म चल्ने प्रदर्शनी बिहीबारदेखि सुरु भएको हो । ‘डिपिक्सन’ शीर्षक दिइएको प्रदर्शनीमा मिश्रका ३५ कार्टुन राखिएका छन् । 

१७ वर्षदेखि कार्टुनमार्फत राजनीतिक, सामाजिक र समसामयिक विषयमा व्यंग्य गर्दै आइरहेका मिश्रले आफ्ना पाठक/दर्शकसँग अन्तरक्रिया गर्ने उद्देश्यसहित प्रदर्शनी सुरु गरेको बताए ।

‘म मेरा कार्टुनलाई ग्यालरी र पत्रिकाबाहेकका ठाउँमा पनि पुर्‍याउन चाहन्थें । यो प्रदर्शनी त्यसैको नतिजा हो,’ उनले भने, ‘प्रदर्शनीमार्फत आफ्ना कार्टुनका पाठकसँग दोहोरो अन्तरक्रिया गर्न सक्छु । कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो मान्यता छ । त्यसैले प्रदर्शनीमा पाठक/दर्शकका प्रतिक्रिया, विचार, सुझाव र सन्देश सुन्ने गरी आएको छु ।’ 

मिश्रले पछिल्लो पाँच वर्षयता बनाएका कार्टुन प्रदर्शनीमा छन् । पत्रिकामा नअटाएका कार्टुनलाई पनि प्रदर्शनीमा राखिएको छ । ‘कर्नर किक’ शीर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिका दैनिकमा प्रकाशित हुन्छन् । कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवसमेत रहेका मिश्रको कार्टुन प्रदर्शनी माघ १४ गतेसम्म चल्नेछ ।




युवा ग्यालरी

कान्तिपुर

Link copied successfully