बुटवलको मिलनचोकमा रहेको ‘गाउँले चुलो’ ढिँडो, आँटो, फापर,कोदो, मार्सी खानाप्रेमीका लागि गन्तव्य नै बनेको छ । चुलोमा हाल १६ जनाले रोजगारी पनि पाएका छन् ।
लुम्बिनी — रातो माटो र कमेरोले पोतेको घरको ढोकाबाट छिर्नेबित्तिकै कसौडी, माटोले लिपपोत गरेको सफा चुलोमा दाउरा । भित्तामा मकैका झुत्ता, सुपो, सारंगी टाँगिएका छन् । यी सबै सजावट हेर्दा बुटवलको मध्यभागमा पनि गाउँकै सम्झना आउँछन् । आगो बलेको भान हुने चुलोको अगाडि बसेर गाउँले परिकार खाँदा त झन् ग्राहक मख्खै पर्छन् । एकपटक खाएपछि दोहोर्याएर दाल र भात खान अन्त जानै मन लाग्दैन ।
दुई जना मिल्ने साथीको सोच, उद्देश्य र लगानीमा ७ वर्षअघि बुटवल (पुरानो नाम बटौली) को मिलनचोकमा खुलेको ‘गाउँले चुलो’ भान्साघर खानाप्रेमीका लागि गन्तव्य नै बनेको छ । गाउँले परिवेशका खानाका परिकार पाइने भएकाले पनि ग्राहकहरू टाढाटाढाबाट आउने गरेका छन् । गुल्मी शान्तिपुरमा व्यापारिक घरानामा जन्मिएका विपिन श्रेष्ठ र रूपन्देहीको तिलोत्तमाका विक्रम गुरुङ घनिष्ठ साथी हुन् । दुवै साथी सर्कलमा भएको भेटघाटबाट नजिकिएका थिए । त्यसअघि विक्रम ठेक्कापट्टाको काम गर्थे । विपिन बुटवलमै बसेर गुल्मीमा रहेको व्यापारका लागि सामान पठाउने, व्यावसायिक कामकाज सिक्ने गरिरहेका थिए ।
विपिन राष्ट्रिय भलिबलका पूर्वखेलाडी पनि हुन् । १७ वर्षकै उमेरमा मुलुकका लागि खेलेका थिए । त्यसपछि भने तीनवटा जति राष्ट्रिय प्रतियोगिता खेलेपछि उनी अध्ययनका लागि काठमाडौं पुगे । ‘त्यहाँ कक्षा १२ सम्म अध्ययन गरें,’ विपिनले भने, ‘त्यसपछि फर्केर बुटवलमा बसोबास थालेको हुँ ।’ दुवै जनाले कक्षा १२ सम्म मात्र अध्ययन गरेको बताए ।
विदेश जानका लागि नक्सामा देखिएका विश्वका धेरै मुलुकको बाटो पनि हेरे उनीहरूले । केही मुलुकमा वैदेशिक रोजगारीका लागि जान पैसा पनि लगानी गरे । तर, वैदेशिक रोजगारीमा जान कुनैलाई पनि अवसर जुरेन । त्यसपछि उनीहरूले आफ्नो भविष्यबारे नयाँ योजनामा लागे । एक दिन बसेर छलफल गर्ने क्रममा देशमै केही गरौं भन्ने सोच आएपछि भान्साघर चलाउने योजना बनाएको उनीहरूले सुनाए । ‘सल्लाह गर्दै जाँदा गाउँको ढिँडो, आँटो, फापर, कोदो, मार्सीको भात पकाएर बिक्री गरौं भन्ने योजनामा पुग्यौं,’ विक्रमले भने, ‘गाउँकै झल्को दिने खाना खुवाउने भनेपछि गाउँले चुलो नाम जुर्यो र सुरु गर्यौं ।’
६० लाख रुपैयाँ लगानीमा थालिएको चुलोमा अहिले १६ जना कर्मचारी छन् । कर्मचारीका लागि दिनमा तीन पटक खाना, तलब र बस्ने कोठासमेत आफूहरूले व्यवस्था गरिदिएको गुरुङले बताए । आफूहरूले सुरु गरेको व्यवसायबाट अन्य युवाले रोजगारी पाएका र व्यावसायिक रूपमा गाउँले चुलोले बजारमा राम्रो छाप छोड्न सकेकाले आत्मसन्तुष्टि मिलेको उनीहरू बताउँछन् । घरभाडामा मात्रै उनीहरूले ७० हजार तिर्ने गरेका छन् । त्यसमा कर्मचारी तलब, पानी, बिजुली, भान्साघर मर्मत आदि थपिँदा मासिक ५ लाख खर्च हुने गरेको विपिनले बताए ।
विपिन धेरै समय चुलोमा भेटिन्छन् । उनको मिहिनेत र कामप्रतिको लगाब सानैदेखिको व्यावसायिक वातावरणले भएको हुन सक्ने विक्रम बताउँछन् । विपिन र विक्रम एकअर्कालाई ‘सोल्टी’ सम्बोधन गर्छन् । दुवैले एकअर्काका बारेमा बुझेका छन् । विक्रम विपिनको व्यापारिक आइडियाले गाउँले चुलोको बजार तथा खाने पाहुनाको राम्रो आगमनले हर्षित हुन्छन् । विपिन विक्रमको शान्त स्वभाव र जे कुरामा पनि आफूलाई साथ दिने बानीले हालसम्म साझेदारीमा व्यवसाय र साथीत्व निभाउन सकिरहेको बताउँछन् । चुलोमा नेपालका गाउँघरमा पाक्ने हरेक परिकार पाइन्छन् । मासको दाल, गुन्द्रुकको अचार, ढिँडो, कोदोको रोटी, आँटो, मही, आलु भुजिया, खसीको भुटन, खुसार्नीको अचार, लोकल कुखुराको झोल, साग चुलोको मुख्य खाना सेट हो । साकाहारी खानालाई २ सय २०, चिकन खानालाई ३ सय ८० र मटन खानालाई ४ सय रुपैयाँ दर राखिएको चुलोमा हरेक दिनमा सरदर एक सय ग्राहकले खाना खान्छन् ।
बिहान ७ देखि रातिको १२ बजेसम्म भान्साघरमै रहेर काम गर्ने गरेका यी दुई साथीहरूको दिनचर्या ७ वर्ष पहिलेको तुलनामा परिवर्तन भएको छ । साथीभाइसँग रमाउने, खाने, हिँड्ने गरेका उनीहरूलाई पहिलो ७ महिना जति काममा खट्न र व्यवसाय सम्हाल्न विक्रमलाई भने गाह्रो पर्यो । तर पछिपछि विपिनलाई हेरेर आफू पनि पसलमै बस्ने, काम गर्ने बानी बसाल्दै गएको उनले बताए । ‘विपिन सोल्टीको सानैदेखि व्यापार लाइन, उहाँ त्यसमै केन्द्रित हुन सक्ने,’ उनले भने, ‘मलाई त यसरी गर्न एकै ठाउँ बसिरहन सकुँला जस्तो लाग्थेन ।’ चुलो सञ्चालन गर्न थालेपछि व्यावसायिकता, परिपक्वता विकास हुँदै गएको अनुभव उनले सुनाए ।
विक्रम घरको कान्छो छोरा हुन् । उमेरले ३९ पुगेका उनले विवाह भने गरेका छैनन् । ‘काम, साथीभाइ र विपिन सोल्टीको साथले रमाइलो जिन्दगी चलिरहेको छ,’ उनले भने, ‘समयको आवश्यकताअनुसार त्यो पनि हुँदै जाला ।’ अहिले आफू र आफ्ना पार्टनर व्यवसायमा भइरहेको सकारात्मक प्रतिक्रिया, आयस्रोत र खानाको स्वादलाई कायम राख्न लागिपरेको उनले बताए । विपिन भने जेठा छोरा हुन् । विवाहित उनलाई श्रीमती र आमाबुवाले काममा मिहिनेत गर्नु भनेर साथ दिइरहेका छन् । ‘सुरुसुरुमा साथीभाइले यिनीहरूले भात बेचेर बस्ने भए भनेर नजिस्काएका पनि होइनन्,’ विपिन सम्झन्छन्, ‘तर धैर्य गरियो र काम सानोठूलो हुँदैन भनेर सन्देश दिन पनि सकियो ।’ अहिले खाना रुचाएर आउनेको संख्या र प्रतिक्रिया राम्रो रहेको उनले बताए ।
गाउँले चुलोमा नेपालका विभिन्न जिल्लाका मानिसबाहेक भारतीय, कोरियाली, चिनियाँ तथा बेलायती पर्यटक पनि आउने गरेका छन् । ‘हामीले खाना खुवाउने ग्राहकमध्ये युवाहरू हूल बाँधेर आउँछन्,’ विपिनले भने, कसैको जन्मदिन हो ? भनी सोध्यो भने, होइन, भिसा लागेको खुसियालीमा हो भन्ने जवाफ पाइन्छ ।’ यस्तो जवाफले भने मन कटक्क खाने गरेको उनले बताए । ‘काम गरेर खान नेपालमा गाह्रो छैन, व्यवस्था बलियो नहुँदा बिदेसिनु बाध्यता बनेको छ । अवसरलाई चिनेर सरकारले युवाका लागि रोजगारयुक्त काउन्सिलिङ नगरिदिँदा यो समस्या देखा परेको छ,’ विपिन भन्छन् । उनीहरू दुवै जना खाली बस्दा देश, युवा र यहाँको व्यवस्थाबारे चिन्तन गर्ने गर्छन् । ग्राहक आएर विदेशका कुरा गर्दा, आफूहरूले काम दिइरहेका कर्मचारी ४/५ महिनामै भिसा लगाएर विदेश जाँदा किन जान खोजे होलान् जस्तो लाग्छ ।
उनीहरू भने देश बदलिएन भने पनि गाउँकै पाखापखेरामा तरकारी लगाएर, खान सकिएला भन्नेमा छन् । त्यस्तै, बाख्रापालन, कुखुरापालन र अन्य ससाना व्यवसायका भरमा आनन्दको जीवन बाँचिरहेका नेपालीबाट अन्यले सिकेर देशलाई माया गर्नुपर्ने उनीहरूको भनाइ छ । गाउँले चुलोमा मसलाको रूपमा जिरा र धनियाँ मात्र प्रयोग गरिन्छ । बाहिरको ‘प्याकिङ’ मसला प्रयोग गरिँदैन । मसला बनाउन मात्रै एक जना खटिन्छिन् । चुलोको २ वर्षयता भैरहवामा समेत शाखा छ । यी दुई जना बुटवलमा बसे पनि स्वाद र चुलोको सजावट दुवैतिर उस्तै छ ।
