पछिल्लो समय मौलिकभन्दा पनि व्यावसायिक गीतको बाढी आएको र बजारमा बिक्ने गीतका कारण लोककला र संस्कृति संरक्षणमा चुनौती थपिएको भन्दै युवा पुस्ताका गायकहरू रुकुम र आसपासका मौलिक सिंगारु, पैसेरु, टप्पा, ठाडी भाका, साइलो जी र सोरठी ख्याली भाका संरक्षण र प्रवर्द्धनमा जुटेका छन् ।
(रुकुम पश्चिम) — पछिल्लो समय रुकुम र आसपासका मौलिक भाकामा शब्द र संगीत संकलन गरेर बजारमा ल्याउन युवा पुस्ता सक्रिय भएका छन् । त्यसैमध्येका एक हुन्, जय देवकोटा । रुकुम मुसीकोट–५ का ३२ वर्षीय देवकोटा काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।
उनले ५६ वर्षीया आमा देवकुमारीसँग मिलेर लोकभजन सार्वजनिक गरेका छन् । आफैंले शब्द संकलन गरेर मौलिक भाकामा गाएको भजनले रुकुम र आसपासमा चर्चा कमाएको छ ।
एसएलसी पास गरेर ०६४ सालबाट व्यावसायिक रूपमा गायन थालेका देवकोटाले करिब १५ सय गीतमा शब्द, संगीत र स्वर दिएको बताउँछन् । ‘गाउन त मैले विभिन्न प्रकारका गीत गाएँ । तर मलाई आफ्नै गाउँठाउँका मौलिक भाकाले पहिचान दिलायो,’ उनी भन्छन् । ‘क्या राम्रो पुतली बस्यो, ए बड्डा र गाई चराउने चौर (सिंगारु), ‘बाजेको पालामा (टप्पा), ‘रन्देउ बगालौं (बनगारी) लगायत विभिन्न गीत देवकोटाका केही प्रतिनिधि हुन् । उल्लिखित गीतका टिपिकल शब्द संकलन गरेर संगीत भरी अन्य कलाकारसँगको सहकार्यमा स्वर दिएका उनका यस्तै थुप्रै गीत यो क्षेत्रमा निकै चर्चित छन् ।
‘हाम्रै बाबाआमा र दाजुदिदीहरूले घाँसदाउरा गर्दा गाएका भाका मैले रेकर्ड गराएको हुँ । यसमा मेरोभन्दा धेरै हाम्रै पाखापखेरामा रमाइरहेकाहरूको योगदान छ,’ देवकोटा भन्छन्, ‘यसकारण मौलिक गीतको रचनाकार होइन । म आफूलाई संकलक मात्रै भन्न रुचाउँछु ।’ पछिल्लो पुस्ताले मौलिक जीवनशैली र भाका बिर्सन लागेकाले यसको संग्रह र प्रचार–प्रसार जरुरी बनेको देवकोटा बताउँछन् । उनले मौलिक भाकाको खानीका रूपमा रहेको अघिल्लो पुस्ताबाट हामीले बेलैमा यस प्रकारका गीत–संगीतबारे जानकारी हासिल गर्न ढिला गर्न नहुने उनको तर्क छ ।
रुकुम पश्चिमका अरुण शाह पूर्वप्रहरी अधिकृत हुन् । ५९ वर्षका उनी ७ वर्षअघि डीएसपीबाट रिटायर्ड भए । प्रहरी सेवामा जोडिनुभन्दा पहिलेदेखि नै उनको गीत–संगीतमा विशेष रुचि थियो । खासगरी रुकुमसँगै साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्र (हालको कर्णाली र लुम्बिनीको केही जिल्ला) मा गाइने मौलिक भाका संकलन गरेर रेकर्ड गरेको श्रेय उनलाई जान्छ । २०४२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका उनलाई रेडियो नेपालले वरिष्ठ लोकगायकको उपाधिसमेत दिएको छ ।
रुकुम आसपासमा गाइने ख्याली परिवारभित्रका विभिन्न भाकामा उनले स्वर र शब्द उनेका छन् । ‘मुसकोट टटेलामा पँधेर्नीको लाम छ, तर्केर जाने मायालाई सलाम छ’ बोलको गीत २०४२ सालमा पहिलोपल्ट रेकर्ड गराएको सम्झिँदै शाह आफूले हालसम्म करिब पाँच सय गीतमा शब्द र भाका संकलन एवं स्वर भरेको बताउँछन् । यस भेगमा प्रचलित विभिन्न लोक भाकाहरूमध्ये सिंगारु, पैसेरु, टप्पा, ठाडी भाका, साइलो जी र सोरठी ख्याली लोक परिवारभित्र पर्ने उनको भनाइ छ । ‘यससँगै झ्याउरे र लोक भजन पनि हाम्रोतिर चर्चित छन्,’ उनले भने, ‘यी भाकाहरूभित्र पनि गाउँठाउँ विशेष फरक–फरक लय र विभिन्न हाँगाबिँगा छन् । यसको गहिरो अध्ययन जरुरी छ ।’
कर्णाली क्षेत्र ख्याली परिवारभित्रका मौलिक भाका र लोक संस्कृतिको खानीका रूपमा रहेको बताउँदै शाहले यसको उद्गमस्थल जुम्लाको सिञ्जा भएको बताए । त्यहीँबाट विकास तथा विस्तार हुँदै सुर्खेत, जाजरकोट, सल्यान र रुकुमसम्म यस प्रकारका गीतसंगीतको लहरो फैलिएको उनको बुझाइ छ । यहाँका मौलिक भाका अरू गीतजस्तो झट्टै नक्कल गर्न र बिगार्न नसक्ने बताउँदै शाहले २०४२ सालयता विभिन्न बेलामा आफ्नै शब्द संकलन, लय र स्वरमा रहेका केही मौलिक गीतका मूल शब्द यसरी सुनाए ।
– ख्याली : ‘जोगिनी मालभोगी केरा हाल दाजु अर्कल, रसी माया बसी लाउला भेट भयौं भर्खर ।’
– सिंगारु : ‘उत्तरतिर सिस्ने हिमाल रुकुम कमल दह, पोखे पनि सकिँदैन यो मनको बह ।’
– टप्पा : ‘मसीकोट साईकुमारी जुम्ला चन्दननाथ, माया लगाऊ मेरो हजुर बसौं एकैसाथ ।’
– ठाडी भाका : ‘रातामाटा पीपलनेटा सल्ले सेरिगाउँ, माया मेरो हत्केलीमा लेख्छु तिम्रो नाउँ ।’
यस प्रकारका मौलिक शब्दमा संगीत भरेर रेकर्ड गराएका शाह आफूले योसँगै करिब ५ सय बढी गीतमा स्वर, शब्द र संगीत भरेको बताउँछन् ।
यस्तै यहाँका अर्का चर्चित कलाकार हुन् तिलक परियार । ३३ वर्षका परियारले विसं २०६७ मा ‘गलीमा लाउने गली ठुमरा, कानैमा लाउने सुनकै भमरा’ बोलको सिंगारु गीतमा गायिका देवी घर्तीसँग स्वर दिएपछि उनको गायकीको व्यापक चर्चा भयो । लक्ष्मण ओलीले गरेको यो गीतको शब्द संकलनमा परियारले नै भाका चुनेका थिए । यसअघि नै केही गीत गाइसकेका परियार रुकुमका मौलिक गीत–संगीत संरक्षणमा जुटेका उम्दा कलाकार हुन् । उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य पनि छन् ।
अहिले मौलिकभन्दा पनि व्यावसायिक गीतको बाढी आएकाले बजारमा बिक्ने गीतका कारण लोककला र संस्कृति संरक्षणमा चुनौती थपिँदै गएको कलाकार परियारको बुझाइ छ । ‘हामीले सुनको भमरा ल्याएपछि मौलिक गीतको बाढी नै आयो । खासगरी दसैं–तिहारताका हामीले लोक सिर्जनामा जोड दियौं,’ उनले भने, ‘तर एउटा निश्चित भूगोल र समुदायको प्रतिनिधित्व गर्ने र उनीहरू नै रम्ने भएकाले हाम्रा गीतले राष्ट्रिय चर्चा पाउन भने सकिरहेको छैन ।’
‘माछी खेल्ने तालको पानीमा, जान्छ बैंस फर्केर आउँदैन लाम त माया जिन्दगानीमा’ बोलको झ्याउरे भाकामा स्वर दिएर सांगीतिक बजारमा झुल्किएकी रुकुमकै अर्की कलाकार हुन् राधा बीसी डाँगी । ३७ वर्षीया डाँगीले पनि यस भेगका विभिन्न मौलिक भाकामा स्वर दिएकी छन् । श्रीमान् रमेश डाँगीसँगको सहकार्यमा ‘माया जाने रुकुमको मुसीकोट’ बोलको लोक गीत र त्यसपछि जय देवकोटासँगको सहकार्यका ‘गुवालाले भैंसी लैगो निगालपानी भीरमा, कताबाट आउनुभयो रंगी रुमाल शिरमा’ बोलको सिंगारु भाकामा पनि स्वर भरिन् । श्रीमान् रमेशको लय तथा शब्द रहेको योसँगै अरू पनि विभिन्न गीतमा काम गरेको डाँगीको भनाइ छ । उनले भनिन्, ‘हाम्रा स्थानीय भाकाहरू नै त हाम्रा परिचय हुन् । तर यिनको संरक्षण गर्ने कुरामा हामी कलाकारकै मिहिनेत पुगेको छैन ।’
२०६२ सालदेखि व्यावसायिक रूपमा संगीत यात्रा थालेका यहाँका अर्का कलाकार हुन् किरणबाबु पुन । ‘माया छ यो मनमा’ बोलको लोक गीतमा विष्णु माझीसँग स्वरमा सहकार्य गरेका पुन पनि निरन्तर लोकसंगीत जोगाउन लागिपरेका पछिल्लो पुस्ताका एक हस्ती हुन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जन्मेका पुनले १ सयभन्दा धेरै मौलिक गीतमा शब्द, संगीत र स्वरमा काम गरेको बताए । ‘गाउँघरका मेलापात र चाडपर्वमा गाइने भाकाहरू नै हामीले रेकर्ड गर्यौं । यसले गर्दा एकातिर ती गीत–संगीतको संरक्षण भयो अर्कोतिर हाम्रो परिचय र सांगीतिक सक्षमताको वृद्धि विकासमा सहयोग पुग्यो ।’
पुनले आफ्नै शब्द, संगीत र स्वरमा सिंगारु गीत ‘सुन मैना, बुबाको शब्द संकलनमा गायिका टीका पुनसँगको स्वरमा सहकार्य गरेर अर्को सिंगारु भाका ‘तमाख्या ओइरागी’ का साथै आफ्नै शब्द संकलन र स्वरमा ‘हाय कान्छी कलिलै’ र ‘तम्रा–हाम्रा पिरिम’ बोलको सिंगारु भाका पनि बजारमा ल्याएका छन् । उनले तिलक परियारसँगको सहकार्यमा ‘बास्मती चावल’ बोलको पैसेरु भाकाका साथै ‘साई हजुर’ बोलको टप्पा गीत पनि बजारमा ल्याए । यीलगायतका विभिन्न गीतमा काम गरेका कलाकार पुनले गाएका कैयौं मौलिक भाका रुकुम र आसपासमा खुबै रुचाइन्छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला केन्द्रीय विभागमा संगीत विषयमा स्नातकोत्तर गरिरहेका पुनले यो क्षेत्रका भाकामध्ये पैसेरु र यससँग सम्बन्धित पक्षका विषयमा शोध अध्ययन गरिरहेको बताए । ‘हाम्रो मौलिक गीत–संगीतको संरक्षणका लागि यसको उत्पत्ति, विकास र अगामी दिनमा गर्न सकिने प्रयासका विषयमा गहन अध्ययन जरुरी छ,’ उनी भन्छन्, ‘सर्जक स्वयंले सिर्जना गर्ने गीतहरू बजारमा छिटो चर्चाको चुलीमा पुग्ने गरेका कारण संकलित सिर्जनातर्फ दर्शक–श्रोताको ध्यान जान सकेको छैन । तर हामीले हाम्रा भाकाहरूतर्फ दर्शक–श्रोताको ध्यान केन्द्रित गर्नका लागि थप मिहिनेत गर्न जरुरी छ ।’ रुकुम र आसपासका गीत संगीतलाई शब्द, स्वर र लयका माध्यमबाट संरक्षणमा जुटेका पछिल्ला पुस्ताका अन्य धेरै कलाकार छन् । लक्ष्मण ओली, भद्र नकाल, अमित परियार, प्रकाश रन्का, तुल देवकोटा, डिल्ली परियार, बलाराम विश्वकर्मा, निर्मल केसी, रमेश डाँगी, अमितबाबु रोका, जमुना सेर्पाली, संगीत सुनाम, यज्ञ ओलीलगायतका कलाकारले पनि विभिन्न मौलिक गीत–संगीत संरक्षण काम गरेका छन् । मौलिक भाका र त्यसमा कथिएका शब्दहरू सबैले सजिलै नबुझ्ने भएका कारण लोकगीत सर्वप्रिय हुन नसक्ने कलाकार अरुण शाह बताउँछन् ।
‘निश्चत भूगोलमा बसोबास गर्ने जाति, भाषा र समुदायको प्रतिनिधित्व गरेर लोकगीत तयार हुन्छन्,’ उनले भने, ‘यसकारण सबैले यसको मर्म नबुझ्न सक्छन् । सबै खोजीनिती गरेर चासोका साथ सुन्ने बनाउन पनि हाम्रो प्र्रयास पुगिरहेको छैन ।’ मौलिक भाका संरक्षण र प्रचारप्रसारका लागि गतिलै ढंगले काम हुन नसकेको अर्का कलाकार जय देवकोटाको भनाइ छ । ‘अहिले अडियो मात्रैले गीत चल्दैन । एउटा गीतको भिडियो बनाउन कम्तीमा २ लाख लाग्छ,’ उनले भने, ‘लाखौं लगानी गरेको गीतले लागत नै उठाउँदैन अनि बजारमा प्रतिस्पर्धा गर्न अरू प्रकारका गीत गर्नुपर्ने बाध्यता छ ।’ लोकसंस्कृतिसँग जोडिएका गीतको संरक्षण र प्रवर्धनमा स्थानीय सरकार र सरोकारवालाले कुनै चासो र चिन्ता नराखेको देवकोटाको गुनासो छ ।
