काठमाडौँ — घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले काठमाडौंको विश्वज्योति हलमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरेको हो । फिल्मको यसअघि ‘नजरैको हानाहान’ बोलको गीत र पोस्टर सार्वजनिक गरिएको थियो ।
सोमबार सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ । फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरेलगायतका कलाकारको पनि अभिनय छ ।
फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनीष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ । महेश पौडेलको छायांकन तथा बनिश शाह र सन्देश शाहको सम्पादन रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।
सन्तोष अधिकारी फिल्म्स्को व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, विजय बस्यालको पोस्टर डिजाइन छ । नेपालमा फिल्म वितरणको जिम्मा श्री कृष्ण फिल्म्स्ले लिएको छ । अस्ट्रेलिया अधिकार भने अविनाश रोका मगरले लिएका छन् ।
