चितवन — चितवनस्थित कला मन्दिरमा भरत नाट्यम कार्यशाला सम्पन्न भएको छ । कला साहित्यसम्बन्धी चितवनको पुरानो संस्थाको नारायणगढमा रहेको प्रेक्षालयमा गत साता सुरु भएको कार्यशाला आइतबार सकिएको हो ।
समापन कार्यक्रममा स्वजन रंघुवंशीले आफ्ना विद्यार्थीसँगै र एकल पनि कला प्रदर्शन गरे । महाभारतमा कौरव पाण्डबबीच भएको जुवा र द्रोपतीको वस्त्र हरण तथा श्रीकृष्णको सहायताको कथालाई उनी एक्लैले नृत्य भावमा उतारे ।
भरत नाट्यममा निपुण हुँदै गएका नेपाली युवा स्वजन प्रमुख प्रशिक्षक भएर चलेको कार्यशालामा ४३ जना सहभागी भए । ‘भरत नाट्यम यसो हेर्दा सजिलो हो जस्तो लाग्छ । तर गर्नेलाई नै थाहा हुन्छ, यो कत्तिको गाह्रो छ । यसका आधारभूत स्टे पनि राम्रोसँग सिकेर पारंगत हुन एक/डेढ वर्ष लाग्छ,’ प्रशिक्षक रघुवंशीले भने । उनले पाँच दिनसम्म सिकाएका प्रशिक्षार्थीले मञ्चमा जे जस्तो प्रदर्शन गरे त्यसबाट आफू सन्तुष्ट भएको बताए ।
कार्यक्रममा नारायणगढको स्मेल हेभन मोडल स्कुलका विद्यार्थीले पनि भरत नाट्यम प्रस्तुत गरेका थिए । समिरा सुनारले ‘राग’ प्रस्तुत गरेर अगाडि बढेको कार्यक्रममा नृत्यअघि विमल लामिछानेको समूहले शास्त्रीय संगीत सुनायो । पलेसा रघुवंशी कुमारी चर्या नृत्य सकिएपछि भरत नाट्यमको समय सुरु भएको थियो । कार्यशाला नृत्य निर्देशक संघ चितवन शाखा र कला मन्दिरले संयुक्त रूपमा गरेको हो । नृत्यको शास्त्रीय विधामा पनि स्थानीय कलाकारलाई अभ्यस्त बनाउन कार्यशाला आयोजना गरेको संघका अध्यक्ष पुष्प श्रेष्ठले बताए ।
