कपिलको शैक्षिक उडान

स्नातकोत्तर तहमा अर्थशास्त्र अध्ययन गरेका उनी चारवटै सेमिस्टरमा सर्वोत्कृष्ट

पुस २, २०८०

पर्वत पोर्तेल

झापा — अथक मिहिनेत, निरन्तरता र अनुशासन कपिल पोखरेलको सफलताको सूत्र हो । मिहिनेत गर्ने सानैदेखिको स्वभावका कारण स्नातकोत्तरमा अर्थशास्त्रमा उनले यस वर्ष चारवटै सेमिस्टरमा सर्वोत्कृष्ट बन्दै स्वर्ण पदक जिते । सीमा सहर काँकडभिट्टामा जन्मिएका यी २५ वर्षे तन्नेरी सोमबार दशरथ रंगशालामा हुने त्रिविको ४९ औं दीक्षान्त समारोहमा तारापद चौधरी, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार, २०७७ को हकदार बन्दै छन् । 

कपिल सानैदेखि पढाइमा तीक्ष्ण रहेको बुबा रुद्रप्रसाद बताउँछन् । रुद्रप्रसादका अनुसार २०६८ को एसएलसीमा स्थानीय सूर्योदय आवासीय माविबाट कपिलले ८४ दशमलव ८ प्रतिशत अंक ल्याएका थिए । उनी कक्षा ६ देखि सूर्योदयमा भर्ना भएका थिए । त्यसअघि स्थानीय सुरज शिशु सदन बोर्डिङबाट उनले पढाइ प्रारम्भ गरेका थिए । ‘पढ्नचाहिँ मलाई सानैदेखि पटक्कै अल्छी लाग्दैनथ्यो,’ कपिलले फोनमा भने, ‘पढाइलाई कहिल्यै झिँजो मानिनँ, जसले मेरो आधार बलियो बनायो ।’ 

राम्रो अंक ल्याएर स्कुल टप भएका उनलाई स्कुले साथी र शिक्षकहरूले विज्ञान पढ्न सुझाएका थिए । उनले विज्ञानमा ९२ नम्बर ल्याएका थिए, सयमा । तर, उनले विज्ञानको साटो व्यवस्थापन संकाय नै रोजे । किनकि डाक्टर या इन्जिनियरिङ बन्ने उनको खास रुचि थिएन । उनको रुचि अर्कै थियो । ‘सीए पढौंजस्तो लागेको थियो,’ उनले सुनाए, ‘अलि महँगो भएकाले त्योचाहिँ आँट गर्न सकिनँ ।’ एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं उक्लिए । काठमाडौं मोडेल कलेज (केएमसी) भर्ना भए व्यवस्थापन संकायमा । केएमसीबाट प्लस टुमा कलेज टप ५ मा परे । शंकरदेव क्याम्पसमा बीबीएका लागि भर्ना भए । ९६ जनाको कोटा थियो । उनले १८ औं नम्बरमा नाम निकाले । शंकरदेवमा पनि बीबीएको गोल्ड मेडलिस्ट बने । ‘छोराले कहिल्यै पनि दोस्रो भएको मलाई थाहा छैन,’ बुबा रुद्रप्रसादले भने, ‘दुःख गरेर पढाएको छोराले प्रगति गरेको खबरले गर्वानुभूति हुँदो रहेछ ।’ 

२०७५ मा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहमा भर्ना भए । स्नातकोत्तरमा थप मिहिनेत गर्नुपर्ने भएकाले उनले उतै डेरा खोजेर पढाइमा केन्द्रित भए । परीक्षा बिग्रिने पो हो कि ∕ भन्ने डरले झन् कडा मिहिनेत गर्न ऊर्जा दियो । जसका कारण उनी निकै कडा प्रतिस्पर्धीबीच पुनः ‘गोल्ड मेडलिस्ट’ बने । ‘मलाई गोल्ड मेडलिस्ट नै बनिहालौंला भन्ने लागेको थिएन,’ उनले सुनाए, ‘रिजल्ट देखेपछि त छक्क परें ।’ उनले आफ्नो सफलताको सूत्र अथक मिहिनेत र व्यवस्थित पढाइ नै भएको जनाए । युवा जमातमा पछिल्लो पटक झाँगिएको ‘पढेर काम छैन’ भन्ने भ्रमलाई चिर्नकै लागि आफूले कडा मिहिनेत गरेको र नतिजा निकालेको उनको दाबी छ । कपिलले भने, ‘जीवनमा सफल बन्ने हो भने मिहिनेत गर्न छोड्नु हुँदैन । परिश्रम र मिहिनेतले सबैलाई सक्षम बनाउँछ ।’ 

बुबा रुद्रप्रसादलाई आफ्नो छोराजस्तो इमानदार मान्छे अरू छैनन् होला जस्तो लाग्छ । कपिलको सफलताको अर्को कारक इमानदारी पनि हो । कपिलको पढाइ अनौठो खालको छ । कक्षाकोठामा अलि ध्यान दिने, कलेजमा पढाएको कुरालाई बिहान–बेलुका घरमा एक पटक पाठ दोहोर्‍याएर पढ्ने उनको स्वभाव छ । ‘परीक्षाका बेलाचाहिँ फिटिक्कै नपढ्ने उसको बानी छ,’ बुबा रुद्रप्रसादले सुनाए, ‘परीक्षा आउन लाग्यो भने बरु फिल्म हेर्न जान्थ्यो । अरू बेला मज्जाले पढ्ने हो, परीक्षाका बेला रिफ्रेस हुने हो भन्थ्यो ।’ रुद्रप्रसादको काँकडभिट्टा बजारमा सानो कपडा पसल छ । त्यही पसलबाट आउने थोरै आम्दानी जोगाएर रुद्रले कपिलको पढाइमा खर्च गरे । दुःख गरेअनुसार छोराले प्रगति गरेको सुन्दा उनको खुसीको सीमा छैन । 

नेपालकै शैक्षिक क्षेत्रमा ‘केही नयाँ’ गर्ने हुटहुटी भएका कपिल चाँडै विद्यावारिधिका लागि विदेश जाने तयारीमा छन् । कुन देश जाने र अर्थशास्त्रभित्रको पनि कुन विषयलाई छान्नेबारे उनी अनभिज्ञ नै छन् । तर, जसरी भए पनि राम्रै कलेजमा विद्यावारिधि गरेर देश फर्किने उनको योजना छ । विदेशमा पढेर फर्किएपछि आफ्नो दक्षता र क्षमतालाई देश निर्माणमा खर्च गर्ने उनको सोच छ ।

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully