कर्णाली र सुदूरपश्चिमको मौलिक संस्कृति देउडा गीतमा मायाप्रेमसागै राजनीतिक र सांस्कृतिक विषयवस्तुमा आधारित भएर दुःख–पीडा पोखिँदै
(वीरेन्द्रनगर) — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्च । जहाँ दैनिक सैयौं मानिस ओहोरदोहोर गर्छन् । यहाँ बेलाबेला विभिन्न औपचारिक सभा/समारोह पनि आयोजना हुन्छन् । पछिल्लो समय भने खुलामञ्च कर्णाली र सुदूरपश्चिमको सांस्कृतिक पहिचान जोगाउने थलो पनि बनेको छ ।
हरेक महिनाको १ र १५ गते यहाँ देउडाप्रेमीको जमघट हुन्छ । प्रत्येक महिनाको दुई दिन झण्डै ३ हजारदेखि ५ हजारसम्म मानिस देउडा हेर्न खुलामञ्चमा पुग्ने गर्छन् । सहभागीमध्ये धेरैले देउडा नाच्छन् पनि । दुई/चार जना देउडा गायक–गायिका (देउडिया) सँगै गएका दर्शकले भाका मिलाउँछन् र नाच्छन् ।
दैलेखको महाबु गाउँपालिकाबाट बसाइँ सरेर सुर्खेत वीरेन्द्रनगर झरेका ५७ वर्षीय पूर्णबहादुर रावत महिनाको १ र १५ गते जहिल्यै खुलामञ्चको देउडामा भेटिने गरेका छन् । सानैबाट देउडा हेर्दै र खेल्दै आएका उनलाई सहरमा बसाइँ सरेपछि देउडा प्रत्यक्ष रूपमा देख्न, खेल्न र हेर्न पाइन्न कि भन्ने पिर थियो । खुलामञ्चमा हुने देउडाले आफ्नो देउडाप्रतिको मोहको प्यास मेटाउने गरेको उनले बताए । त्यसैले आफू महिनाको दुई दिन देउडा हेर्न र खेल्नकै लागि खुलामञ्चसम्म आउने गरेको उनले सुनाए । ‘यसरी देउडा भएको ठाउँमा आउँदा आफ्नो संस्कृति जोगिन्छ, मनोरञ्जन हुन्छ र गाउँघरको झल्को पनि मेटाउँछ,’ उनले भने, ‘यहाँ आफन्त, इष्टमित्र र साथीभाइ पनि आउँछन्, उनीहरूसँग मायाप्रेम पनि साटिन्छ ।’ उनले नयाँ साथी बनाउने थलो पनि खुलामञ्च बनेको बताए । बुढापाकाहरूले पहिले सुनेको, खेलेको देउडा बुढेसकालमा पनि हेर्न, सुन्न र खेल्न पाउँदा आनन्द महसुस गरेको उनले बताए ।
बुढेसकाल लागेकाहरूका लागि खुलामञ्चमा हुने देउडा खेल मन भुलाउने थलो बनेको कालीकोटको मान्मबाट १० वर्षअघि वीरेन्द्रनगर बसाइँ सरी आएका ६० वर्षीय वीरजित खत्रीले बताए । उनका अनुसार खुलामञ्चमा आयोजना हुने देउडामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रमाउने गरेका छन् । ‘हामी त गाउँघरमा देउडा खेल्दै हुर्किएको मान्छे हो, बजारमा आउँदा पनि आफ्नो संस्कृतिको माया लाग्छ,’ उनले भने, ‘त्यसैले यहाँ आउन कहिल्यै छुटाउँदैनांैं ।’ कर्णाली र सुदूरपश्चिमको मौलिक संस्कृति देउडा गीतले पहिलेका दुःख–पीडा दर्शाउने र नयाँ सन्देश दिने गरेको उनले बताए ।
दैलेखको गुराँस गाउँपालिकाका लोकबहादुर शाही २०६४ सालबाट वीरेन्द्रनगरमा बस्दै आएका छन् । सुर्खेत झरेबाटै देउडाका लागि आफू खुलामञ्च पुग्ने गरेको उनले बताए । विभिन्न विषयवस्तुमा गायक–गायिकाले देउडा गाउने गरेको उनले बताए । माया प्रेमसँगै राजनीतिक र सांस्कृतिक विषयवस्तुमा आधारित भएर गाइने देउडा हेर्न अहिले १/२ दिन हिँडेरै पनि कतिपय वीरेन्द्रनगर आउन थालेको उनको भनाइ छ । स्थानीय अगुवा प्रेमप्रसाद आचार्यका अनुसार वीरेन्द्रनगरमा २०३५/३६ सालतिर रमाइलो मेला भनेर पीपल चौतारामा मेला लाग्ने गरेको थियो । त्यहाँ व्यापारसँगै कला र गला भएका कर्णाली र सुदूरपश्चिका विभिन्न जिल्लाबाट आएका मानिसले देउडा गाउँथे । त्यसयता बिस्तारै देउडाको प्रभाव बढ्दै गएको उनी बताउँछन् । ‘त्यसपछि मंगलगढी चोकमा मान्छेहरू यसरी नै भेला भएर देउडा गाउन र खेल्न थाले, पछि खुलामञ्चमा ठूलो जमघट भएर देउडा खेल्न थालिएको हो,’ ८२ वर्षीय उनले भने ।
१३ वर्षदेखि धेरै मान्छे जम्मा भएर देउडा खेल्न थालिएको देउडा गायक भानुप्रभात पाण्डेयले बताए । कालीकोट घर भएका उनी देउडा खेल्नका लागि हरेक महिना २ दिन वीरेन्द्रनगर झर्ने गर्छन् । कैलालीदेखि लिएर भारतसम्म पनि आफू देउडा खेल्नका लागि जाने गरेको उनले सुनाए । सुदूरपश्चिमका ९ वटै जिल्ला र कर्णालीका रुकुम पश्चिम र सल्यानबाहेक अरु जिल्लाको महत्त्वपूर्ण संस्कृति देउडा भएको उनले बताए । ‘सुर्खेत झरेका मान्छेहरू भनेका कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका छन्, पहाडबाट झरेका मान्छेसँगै देउडा सुर्खेतमा पनि आएको हो,’ उनले भने, ‘पहाडतिर भएको देउडा वीरेन्द्रनगरमा नभएपछि उताबाट यता सरेर आएकाहरूले सुरु गरेको देउडा अहिले नेपालभरि फैलिएको छ ।’
अहिले देउडा पारखीले यसको संरक्षणका लागि कर्णाली लोक तथा सांस्कृतिक मञ्च गठन गरेका छन् । मञ्चका अध्यक्ष बलिराम देवकोटाले वीरेन्द्रनगरमा देउडा खेल्न थालेपछि आसपासका जिल्लामा पनि देउडा मोह बढ्दै गएको बताए । ‘खस भाषाको सुरुवातसँगै देउडाको सुरुवात भएको मानिन्छ,’ उनले भने, ‘कर्णालीमा बच्चा जन्मदादेखि विवाहको रमाइलोसँगै देवीदेवताको पूजापाठसम्ममा देउडा खेलिन्छ ।’
देउडामा गाउनका लागि खुलामञ्च पुग्ने अर्की कलाकार हुन्– कालीकोटकी ४५ वर्षीया सुनसरा शाही । उनी भ्याएसम्म देउडामा सहभागी हुन खुलामञ्च आएकी हुन्छिन् र देउडाको अग्रपंक्तिमा हुन्छिन् । ‘पुरुषलाई भन्दा महिलालाई बाहिर आएर देउडा खेल्न असहज छ, घरपरिवार र समाजले साथ दिनुपर्छ,’ उनले भनिन्, ‘अहिलेसम्म सबैको साथ पाएकी छु, जसले देउडाप्रतिको समर्पण बढाइरहेको छ ।’ २०६० सालबाट खुला रूपमै देउडा खेल्ने गरेकी उनी बेलाबेलामा कर्णालीबाहेकका जिल्लामा पनि पुग्छिन् ।
अहिले खुलामञ्चमा युवाहरू पनि छुट्टाछुट्टै समूह बनाएर देउडा खेल्छन् । कालीकोटको मान्म घर भएर सुर्खेतमा पढ्न बसेका २८ वर्षीय तेज न्यौपानेले पनि मौका मिलेसम्म देउडा खेल्न आइरहने बताए । ‘म पढ्न यहाँ बसेको हुँ तर महिनाको २ दिन समय मिलाएर देउडा हेर्न आउँछु, साथीहरूसँग खेल्छु पनि,’ उनले भने, ‘रमाइलो लाग्छ, मनोरञ्जन हुन्छ, यसले आफ्नो संस्कृतिको संरक्षणमा पनि मद्दत पुगेको छ ।’ जुम्लाबाट पढ्नका लागि वीरेन्द्रनगर झरेका ३१ वर्षीय सुकबहादुर रेउलेलाई वीरेन्द्रनगरको देउडा हेर्दै गएपछि संस्कृति जोगाउनुपर्छ भन्ने लागेको छ । ‘यस्ता संस्कृति पुस्तान्तरण हुन जरुरी छ,’ उनले भने, ‘लय र सुर मिलाएर देउडा गाउन नजाने पनि यहाँ आउन थालेदेखि फुर्सदको समयमा साथीहरूसँग देउडा खेलेर रमाउँछु ।’
संस्कृतिविद् दुर्गाप्रसाद सापकोटाका अनुसार यसलाई देउडा भाका, देउडा गीत, लोक देउडालगायत नाम दिइएको छ । ‘देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्यप्रधान गीत हो, यस गीतमा गरिएको नृत्यलाई देउडा वा न्याउले खेल भनिन्छ,’ उनले भने, ‘यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ ।’
स्थानीय भाषिकामा सिर्जित भई लोकप्रियता कमाएको देउडाले यस क्षेत्रभन्दा बाहिर पनि प्रभाव छोडेको उनले बताए । देउडा खेल र गायनको प्रक्रिया कर्णालीमा दसैं–तिहार, होली, विभिन्न मेला, पुतला, रत्यौली र विवाहमा प्रस्तुत गरिने उनले जानकारी दिए । यो गीतलाई एकल रूपमा पनि गाउन सकिने उनी बताउँछन् । ‘नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई देउडा नामकरण गरिएको बताइन्छ,’ उनले भने, ‘संस्कृत भाषाको देउदुराय शब्दबाट देउदुरा हुँदै देउडा शब्द बनेको किंवदन्ती छ ।’
देउडा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले बर्सेनि साउन १ गते सार्वजनिक बिदा पनि दिने गरेको छ । सरकारले जनभावनाको कदर गरेर सार्वजनिक बिदा नै दिन थालेको कर्णाली प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसी बताउँछन् । ‘कर्णाली देउडाको धनी प्रदेश हो, कर्णालीमा देउडाप्रतिको मोह धेरै छ,’ उनले भने, ‘वर्षमा एक दिन भए पनि गरिएको सार्वजनिक बिदाले देउडा संस्कृति जोगाउने आशा छ ।’
