लुम्बिनी — सौन्दर्यकलामा सानैदेखि रुचि त थियो तर एक दिन यसैमा रमाउँला भन्ने सोचेकी थिइनन् । खासमा सरकारी जागिरे वा सञ्चारकर्मी बन्ने चाहना थियो उनलाई । त्यहीअनुसार अध्ययन र तयारीसमेत गरिरहेकी थिइन् । तर, जीवन सोचेजस्तो कहाँ हुन्छ र ?
परिस्थितिले यात्रा अन्तै मोडियो । पढेको भन्दा परेको कुराले उनलाई स्वरोजगार बनायो । सौन्दर्य सीप सिकेपछि त्यसैले उनलाई नाम र दाम मिलेको छ ।
करिब तीन दशकअघि स्याङ्जाको भीरकोट–६, बयरघारीमा जन्मिएकी हुन् सुनिता अर्याल । पाँच दिदीबहिनी र एक भाइ गरी ६ सन्तानमा माइली छोरी हुन् सुनिता । आमा शिक्षक र बुबा सरकारी जागिरे हुन् । सबै दिदीबहिनी सामुदायिक विद्यालयमा पढ्दै हुर्किए । जागिरको सिलसिलामा बुबा बुटवलमा कार्यरत थिए ।
सुनिता पनि बुबासँगै बसेर पढाइलाई निरन्तरता दिन २०६२ सालमा बुटवल आइन् । सुनिताले बुटवलस्थित कालिका मानवज्ञान माविबाट एसएलसी परीक्षा दिइन् । नतिजा पर्खाइमै तीन महिना बित्यो । त्यही बेला सीटीईभीटीले सञ्चालन गरेको ब्युटिसियन तालिम लिइन् । कक्षा ११ मा भर्ना हुनासाथ २०६५ सालमा उनको विवाह भयो । ‘१५ वर्षकी मात्र थिएँ, तराईमा जमिन, घर भएका पाएपछि पाल्छ भन्दै विवाह गरिदिए,’ उनले भनिन्, ‘सानैमा बिहेपछि संघर्ष गरेर एक्लै भिड्न सिकायो ।’
बिहेपछि बिहान क्याम्पस जाने उनले दिनभरि ब्युटिसियन तालिम लिने गर्थिन् । सुनिताका श्रीमान् वैदेशिक रोजगारीमा गएका थिए । घर व्यवहार सम्हाल्दै सुनिताले पढाइ अगाडि बढाइन् । घरधन्दा छँदै थियो । सीपलाई पनि प्रयोग गर्ने सोच बनाइन् उनले । तर, सुरुआतमा श्रीमान् र परिवारले सौन्दर्य पेसालाई ‘नक्कल’ पार्ने पेसाका रूपमा बुझेकाले मनाउनै कठिन भएको उनले बताइन् । ‘पहिला त काम गर्नै दिनुभएन,’ उनले भनिन्, ‘सम्झाइबुझाइ गरेपछि श्रीमान् राजी हुनुभयो, मैले आँटें ।’ बुटवल–११ देवसिद्ध चोकमा २०६६ मा सटर भाडामा लिएर व्यवसाय थालेको बताइन् । सुरुमा ७० हजार रुपैयाँ लगानी गरेर क्रिस्टिना ब्युटिपार्लर खोलेकी उनले आफ्नै पार्टटाइम जागिरबाट कमाएको केही पैसा सँगालेर खर्च गरिन् । केही रकम श्रीमान्ले लगानी गरिदिए । त्यहींबाट सुरु भयो सुनिताको उद्यमी यात्रा ।
कस्मेटिक्स सामान बेच्ने तथा ग्राहकलाई सिँगार्ने उनले केही वर्षपछि पार्लर विस्तार गरिन् । जहाँ उनका दैनिक २० देखि ३० जना विद्यार्थीले सिक्छन्, सिजनमा दिनकै १५ जना ग्राहक कपाल काट्ने, मेकअप गर्ने, अनुहार सिँगार्न आउँछन् । सुनिता बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छिन् । उनले विभिन्न एड्भान्स तालिम, सीटीईभीटीको मान्यता लिनका लागि स्किल टेस्टमा सहभागी हुन विभिन्न ठाउँमा पुगिन् । भारतको दिल्लीमा डेढ महिना बसेर मेकअप क्लास लिइन्, गोरखा पुगी सीटीईभीटीको स्किल पास गरिन् ।
साथसाथै उनी नेपाल ब्युटिसियन संघमा आबद्ध हुन पाइन् । ०७० सालमा रूपन्देहीको सचिव भइन् भने हाल प्रदेशकी सचिव रहेको उनले बताइन् । सुनिताले स्किल एसेसरको समेत कक्षा लिई उत्तीर्ण भइन् । हालसम्म उनले ४ हजारभन्दा बढीलाई तालिम दिइसकेकी छन् । उनले प्राविधिकतर्फका मन्टेश्वरी, टेलरिङ, चुरा बनाउने, कुसन बनाउने तालिम दिने गरेकी छन् ।
