डाक्टरी सेवासँगै बोटबिरुवाको हेरचाह

पेसाले स्वास्थ्यकर्मी भए पनि पछिल्लो समय सामाजिक सञ्जालमा ‘नर्चरिङ प्लान्ट’ मार्फत पनि चिनिएकी छिन् उनी । सुनौलो बिहानीसँगै दिनको सुरुवात भएजस्तै, विभिन्न जातका बिरुवालाई सुम्सुमाएर श्रेयाको दैनिकी सुरु हुन्छ ।

मंसिर २८, २०८०

ज्योती श्रेष्ठ

काभ्रे — धुलिखेल नगरपालिका–७ स्थित हुर्खाकी २७ वर्षीया डा. श्रेया श्रेष्ठ, पेसाले स्वास्थ्यकर्मी हुन् । उनी हाल धुलिखेल अस्पतालमा कार्यरत छिन् । दिनभर बिरामीको सेवामा खटिने उनको घर प्रवेश गर्दा भने फरक अनुभव हुन्छ । प्रवेशद्वारदेखि कौसीसम्म उनको घर विभिन्न जातका बोटबिरुवाले सजाइएको छ । 

स्नेक प्लान्ट, रोजमेरी, स्ट्रिङ अफ पर्ल्स, स्ट्रिङ अफ हर्ट, स्ट्रिङ अफ डल्फिन, मार्बल क्विन पोथोस, पार्लर प्लामलगायत दुई सय जातका बोट बिरुवाले कौसी भरिएको छ । खासमा बिहान झिसमिसे उज्यालो हुन नपाउँदै ती बोटबिरुवाको हेरचाह र स्याहार–सुसारमा जुट्छिन् श्रेया । 

पेसाले स्वास्थ्यकर्मी भए पनि पछिल्लो समय सामाजिक सञ्जालमा ‘नर्चरिङ प्लान्ट’ मार्फत पनि चिनिएकी छन् उनी । सुनौलो बिहानीसँगै दिनको सुरुवात भएजस्तै, विभिन्न जातका बिरुवालाई सुम्सुमाएर श्रेयाको दैनिकी सुरु हुन्छ । आफ्नो व्यस्त दैनिकीबाट बिहान र साँझ दुई/दुई घण्टाको समय उनले बोटबिरुवाको स्याहारका लागिछुट्याएकी छन् । 

बोटबिरुवाको स्याहारबारे उनले गुगल तथा युट्युबबाट जानकारीहरू लिने गरेको बताउँछिन् । आफूले पाएको जानकारी उनले आफ्ना ग्राहकलाई पनि बाँड्ने गछिन् । कौसीमा हुर्काएका बिरुवा उनले बिक्री गर्दै पनि आएकी छन् । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामका पेज ‘नर्चरिङ प्लान्ट’ मार्फत उनले बिरुवाहरू बिक्रीका लागि मूल्यसहित राखेकी छन् । 

त्यसका साथै आफूले बिक्री गरेको बिरुवाहरूको अवस्था के छ ? कसरी स्याहार गरिरहनुभएको छ ?, भनेर ग्राहकहरूसँग बुझ्ने गरेकी छन् । यहाँबाट पठाएको बिरुवा मर्‍यो अथवा सरेन भने, सित्तैमा फेरि अर्को बिरुवा पठाउने गरेको उनले बताइन् । स्वास्थ्यको क्षेत्रमा काम गरेकाले पनि होला जीवनको महत्त्व उनले धेरै बुझेकी छन् ।

पछिल्लो समय भने बोटबिरुवाको स्याहार तथा यसको सजावटमा धेरैको रुचि बढेको उनको अनुभव छ । फुर्सदको समयमा फूल तथा बिरुवाले घर सजाउने प्रवृत्ति बढिरहेको छ । जसका कारण आफूले यसलाई व्यावसायिक रूपमा अघि बढाएको श्रेयाको भनाइ छ । बोटबिरुवाहरूको स्याहार गर्दा माइन्ड फ्रेस हुने गरेको उनको अनुभव छ । ‘फूल तथा बिरुवाहरूको स्याहारले मानिसलाई जीवनको महत्वबारे बुझाउने र यसले मानिसको मन र मस्तिष्कलाई पनि ताजा बनाइराख्छ,’ उनी भन्छिन् । 

श्रेयालाई फूल तथा विरुवाको स्याहार र यसप्रति लगाब बसेको भने धेरै समय भएको छैन । बिरामीको हेरचाहमा जुटिरहने भएकाले फूल तथा विरुवासँग खेल्न उनले समय नै पाउँदैनथिन् । ‘बिहानदेखि रातीसम्मै हस्पिटलमा ड्युटी हुन्थ्यो,’ उनले भनिन्, ‘कहिले त आफ्नै लागि समय निकाल्न मुस्किल हुन्थ्यो, फूल तथा विरुवाबारे त सोच्नेसम्म पनि समय हुदैंनथ्यो ।’ 

तर उनका लागि कोभिड महामारीले भने उनलाई समय मिल्यो । त्यति बेला, उनले धुलिखेल अस्पतालको इन्टर्नल मेडिसनमा मेडिकल अफिसरको जिम्मेवारी सम्हाल्दै थिइन् । कोभिडको समयमा दिनरात बिरामीको हेरचाह खटिरहन्थिन् । फ्रन्टलाइनरमा रहेर काम गर्दै गर्दा आफै संक्रमित भएपछि केही समय घरमै आइसोलेसनमा बस्नुपर्ने अवस्था आयो । 

‘घरमा बस्न दिक्क लाग्थ्यो, फ्रेस हुनको लागि गार्डेन र कौसीमा केही समय बिताउँथें,’ उनले भनिन्, ‘त्यहाँ बस्दै गर्दा, फूल र बिरुवाहरूसँगको प्रेम बढ्दै गयो, त्यसको स्याहार गर्न थाले, सुकुलेन्टबाट सुरु गरेकी थिएँ । एउटैबाट धेरै बिरुवाहरू उत्पादन हुन्छन्, यसका साथै नयाँ–नयाँ बिरुवाहरू मगाउने, त्यसलाई हुर्काउने गरेर समय बिताउन थाले, त्यसपछि बिरुवाहरू थप्दै गए, गुगल/युट्युबहरूमा नयाँ–नयाँ बिरुवाहरूका बारेमा खोज्ने, त्यसको स्याहारका बारेमा अध्ययन गर्न थाले, त्यसपछि फूल तथा बिरुवाहरूप्रतिको मोह बढ्दै गयो ।’

उनका अनुसार, पहिला नै घरमा फूल तथा बिरुवाहरू त थिए नै, जब यसको स्याहारमा समय बिताउन थाले, त्यसपछि यसलाई बढाउँदै गए । कतै पहुना लाग्न जाँदा होस् या साथीसंगी भेट हुँदा फूल तथा बिरुवाको चर्चासँगै एक्सचेन्ज गर्ने गरेको उनले बताइन् । अहिले उनको कौसीमा विभिन्न जातका इन–डोर र आट–डोर गरेर दुई सयभन्दा बढी फूल तथा बिरुवा छन् । डेढ वर्षयता भने उनले यसलाई व्यवसायीकरण गर्दै उनले ‘नर्चुरिङ प्लान्ट’ नाम दिएकी छन् । 

उनका अनुसार, यसमा धेरै मिहिनेत पनि गर्न पर्दैन । फुर्सदको समय निकालेर एक/दुई घण्टा समय दिए मात्र पनि पुग्छ । यो काममा उनलाई उनको परिवारले पनि सघाउने गर्छन् । ‘आफूले समय दिन नभ्याएको बेलामा परिवारको सदस्यहरूले सघाउनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरूलाई पनि यसको धेरै जानकारी भइसक्यो, हस्पिटलमा ड्युटीमा भएको बेलामा कोही ग्राहक आउनुभयो भने पनि उहाँहरूले नै बिक्री गरिदिनुहुन्छ ।’ डेढ वर्षको अवधिमा आफूले करिब ५/६ सय वटा बिरुवाहरू बिक्री गरेको उनले बताइन् । 

उनका अनुसार पछिल्लो समय मानिसहरूमा फूल तथा बिरुवाहरूमा रुचि बढ्दै गएकाले यसको बजार पनि राम्रो छ, अहिले । पछिल्लो समय विभिन्न संघ/संस्थाहरूले फूल तथा बिरुवाहरू मायाको चिनो स्वरूप दिने भएकाले पनि अहिले बजार राम्रो भएको उनले बताइन् । उनका अनुसार, पोखरा–विराटनगरदेखि अर्डर आइरहेको छ । यो धेरै महँगो पनि छैन । बिरुवा र यसको जात हरेर यसको मूल्य तोकिएको छ । १०० देखि ८ सय रुपैयाँसम्मका बिरुवाहरू छन् । 

सुकुलेन्ट अरेन्जमेन्ट बिरुवा धेरैको रोजाइमा पर्ने भएकाले नै अहिले यो धेरै बिक्री भएको उनले बताइन् । ‘यसको मूल्य ३ सय रुपैयाँ मात्रै हो,’ उनले भनिन्, ‘एउटै पटमा विभिन्न साइजको ५/६ वटा बिरुवा हुन्छन्, हुर्किंदै गएपछि अरू ठाउँमा सार्न पनि मिल्छ, अनि यसबाटै अरू धेरै बिरुवा उत्पादन हुन्छन् ।’ यसको आम्दानीले भन्दा पनि यो कार्यले आफूलाई आत्मसन्तुष्टि मिलेको उनले बताइन् । केही महिनामा नै ‘नर्चरिङ प्लान्ट’ लाई बिस्तार गर्ने उनले योजना बनाएकी छन् । हस्पिटलमा फूल टाइम ड्युटी भएकाले कसैलाई रोजगारी दिएर नै स्टोर खोल्ने तयारीमा उनी छिन् ।

अस्पतालमा ड्युटी भएकाले बिहान र बेलुका मात्रै बिरुवाहरूको स्याहारका लागि समय दिने गरेको उनले बताइन् । त्यही भएर अनलाइनबाटै उनले यसको बिक्री वितरण गर्ने गर्छिन् । अहिले उनले धुलिखेल अस्पतालमा ग्लोबल इन्गेजमेन्ट अफिसरको जिम्मेवारी पाएकी छन् । यसका अलावा अस्पतालले सञ्चालन गर्ने विभिन्न स्वास्थ्य शिविरमा सघाउने पनि गर्छिन् । स्वास्थ्य क्षेत्रसँगै सामाजिक कार्यमा पनि उनको उत्तिकै लगाब छ । रोट्री, रोट्र्याक्ट र इट्र्र्‍याक्टसँग आबद्ध भएकाले पनि स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतामूलक कार्यक्रमहरू लिएर उनी समुदायमा पुग्ने गर्छिन् । 

सामाजिक कार्यप्रतिको लगनशीलता

आफ्नो परिवार, विद्या आर्जन गरेको विद्यालय, विश्वविद्यालयबाटै सिकेको उनले बताइन् । धुलिखेलमा जन्मी–हुर्केकी श्रीयाले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सबाट एमबीबीएस र हार्भार्ड मेडिसन स्कुल, बोस्टनबाट लिडरसिप इन मेडिसन अध्ययन गरेकी छन् । 

फूल तथा बिरुवाको स्याहार, बिरामीको हेरचाह, सामाजिक कार्यमा मात्रै सञ्चार क्षेत्रमा पनि उनको सक्रियता उत्तिकै छ । रेडियो नमोबुद्धमा ‘स्वास्थ्य जागरण’ र नेपाल टेलिभिजनमा ‘युथ टीभी सो’ कार्यक्रम पनि सञ्चालन गर्छिन् उनले । 

युवा ग्यालरी

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully