दुर्गमले दबिएको सुमधुर स्वर

पुस १, २०८०

डीबी बुढा

(जुम्ला) — डोल्पाको सिमाना जोड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्रा । यही गाउँकी तेजआङ्मु महतारालाई धेरैले लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा चिन्छन् । तेजआङ्मुले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छैनन्, न त उनको गीत इन्टरनेटको दुनियाँमा भेटिन्छ । अहिलेसम्म उनको स्वरको तारिफ चोत्रा गाउँमै सीमित छ । 

१० कक्षा पढ्दापढ्दै १७ वर्षमा बिहे गरेकी तेजआङ्मु आफूले हिँडेको दुःखको यात्रा गीत बनाएर गुनगुनाउँछिन् । स्कुलमा पढुन्जेल मञ्चहरूमा उनको स्वर गुन्जिन्थ्यो । स्कुल छुटेसँगै दुनियाँले तेजआङ्मुको स्वर सुन्नुपर्‍यो भनेर सम्झिने मञ्चहरू पनि छुटे । त्यसपछि उनले वनपाखा, खोला किनारलाई मञ्च बनाइन् । दुःख र वेदनाका गीतहरू गुनगुनाउन थालिन् । उनी हिजोआज घाँसदाउरा र स्याउलापात गर्ने बेलामा मन बहलाउन गीत गाउँछिन् ।

उनको जीवनमा दुःखमाथि दुःखको खात लागेजस्तो लाग्छ । माइतमा उनका बुबा र आमा दुवै अपांगता भएका छन् । ससुरा अपांगता भएका थिए, गत वैशाखमा खुट्टा भाँच्चिएर राम्ररी उपचार नहुँदा सासू पनि हिँडडुल गर्न नसक्ने भएकी छन् । ‘माइत र घर दुवैतिर उस्तै छ । जता सम्झ्यो बैरागमात्रै लाग्छ,’ उनले भनिन्, ‘रुवाइ छुट्छ । जीवनमा निराशाको घनघोर बादल मडारिरहेजस्तो लाग्छ । अनि पीर भुलाउन गाउँछु ।’

तेजआङ्मुका श्रीमान् भारतमा व्यापार गर्थे । व्यापारमा डुबेपछि उनी यार्चाको कारोबारमा लागे । त्यसमा पनि घाटा खाए । तेजआङ्मुले ऋणको भारीले परिवार नै दुःखमा परिरहेकाले आफ्नै खर्चले गीत रेकर्ड गर्ने सम्भावना नभएको र ऋण थपेर गीत रेकर्ड गर्ने आँट नआएको सुनाइन् । ‘ऋण तिरेर सकिन्जेल स्वरले साथ दिएछ भने मनको धोको पूरा होला,’ उनले भनिन्, ‘नभए यत्तिकै हुने भयो ।’

उनी अरूले गाएको सुनेर दुरुस्तै गाउन सक्छिन् । कहिलेकाहीं ती लयमा आफ्ना शब्द हालेर पनि गाउँछिन् । पुस्तान्तरण हुँदै आएका शब्दहरू उनले पनि टिपेर राखेकी छन् । तिनमा लय हालेर गीत रेकर्ड गराउने उनको धोको पूरा हुन्छ/हुँदैन उनी आफैंलाई थाहा छैन । तर, चोत्रागाउँदेखि मनिसांगुसम्मका वनपाखाले उनको स्वर रेकर्ड गरिरहेका छन् ।

गुठीचौर गाउँपालिका–१ चोत्राका वडाध्यक्ष अर्जुनकुमार महताराले उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगको खोजी भइरहेको बताए । ‘तेजआङ्मुको स्वर दुनियाँलाई सुनाउन जरुरी छ,’ उनले भने, ‘उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगी मन भएकाहरूबाट सहयोग हुने विश्वास लिएको छु ।’

युवा ग्यालरी

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully