कतारमा रहेर फूल व्यवसायमा जमेका झापाको राजगढका अर्पणविक्रम खड्का नेपाली फुटबलको विकासमा सक्रिय छन् । उनको क्लब झापा एफसी हाल काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा प्रतिस्पर्धा गरिरहेको छ ।
झापा — झापाको देहात राजगढका ४२ वर्षीय अर्पणविक्रम खड्का दुई दशकअघि कतार पुगेका थिए । एउटा मल्टिनेसनल कम्पनीमा सहायक लेखापालको काममा रोजगारी ग्यारेन्टीपछि स्नातकोत्तरको पढाइ बीचैमा छाडेर उनी खाडी उडे । ‘दुई तीन वर्षका लागि भनेर गएको बीस वर्ष बितिसकेछ,’ हालैको भेटमा खड्काले सुनाए, ‘कति चाँडो समय बितेछ पत्तै पाइएन ।’
९ वर्ष काम गरेपछि उनले उक्त कम्पनी छाडे २०१२ को अन्त्यतिर । बाहिरिने बेलामा सिनियर एकाउन्टेन्टमा बढुवा भइसकेका थिए ।
जागिर छाडेपछि उनलाई फूलको व्यापारले आकर्षित गर्यो । अनि २०१३ देखि फूल व्यापारमा जोडिए । फूल बेच्ने (फ्लोरिस्ट) कम्पनीमा साथीहरू काम गर्थे । सम्भावना राम्रै देखेपछि उनलाई साथीहरूले फूल व्यापार गर्न सल्लाह दिए । दुई लाख रियल लगानीबाट व्यापार सुरु गरे । सुरुआती दिनमा व्यापार धरमरको अवस्था भयो । २०१३ देखि २०१५ सम्म त ‘ट्रायल’ मात्रै भयो । ‘तीन वर्षसम्म व्यापारले खासै गति नलिएपछि लगानी डुब्ने जोखिम बढ्यो,’ खड्काले भने, ‘बीचमा लगानी थप्नुपर्ने अवस्था आयो ।’ तीन वर्षमा करिब १० लाख रियाल खर्च भइसकेको थियो । लगानी निकै भइसकेकाले व्यापार छाड्न सक्ने अवस्था रहेन । यसबीचमा धेरै चुनौतीको सामना गर्नुपर्यो उनले ।
२०१५ को अन्त्यदेखि भने उनले सोचे, ‘यत्रो लगानी डुबिसक्यो, एक्लै पार लाग्ला जस्तो छैन ।’ अन्ततः भारतीय नागरिक लक्ष्मण सिंहलाई ‘स्लिपिङ पार्टनर’ बनाए । सिंह २० औं वर्षदेखि फूलकै व्यापारमा संलग्न थिए । जसका कारण उनलाई व्यापार अघि बढाउन सहज भयो । सिंहले १० लाख रियाल लगानी गरे । ‘त्यसपछि भने व्यापारले रफ्तार लियो,’ उनले थपे, ‘अहिलेसम्म त्यो रफ्तार जारी छ ।’ सुरुमा होलसेल मात्रै थियो । अहिले तीनवटा मलमा रिटेल आउटलेट पनि छ । उनी विशेष गरी केन्या, नेदरल्यान्ड र उत्तरी अमेरिकाको इक्वेडरबाट फूल आयात गरेर बेच्छन् । दक्षिण अफ्रिका, थाइल्यान्ड, श्रीलंका, कोलोम्बियाबाट पनि बाक्लै आयात गर्छन् । नेपालमा पनि फूल व्यापारको सम्भावना पर्याप्त रहेको उनी बताउँछन् ।
खासगरी कतारमा हरेक कार्जेमा फूल चल्छ । जन्मदेखि मृत्युसम्म फूलको प्रयोग हुन्छ । होटल, कर्पोरेट हाउस, सबैतिर फूलको प्रयोग हुन्छ । बर्थडे, इन्गेजमेन्ट, बिहे पार्टीमा स्टेज चलाउन एक/दुई लाख रियालको फूल नै प्रयोग हुन्छ । ‘फूलको पनि व्यापार हुन्छ र भन्ने बुझाइ थियो धेरैको,’ उनी थप्छन्, ‘कतारमा त कति हुन्छ हुन्छ ।’ आठ वर्षमा उनको फूल व्यापारले ठूलै छलाङ मार्यो । उनका अनुसार मासिक १०/१५ लाख रियालको कारोबार नै हुने गरेको छ । नेपाली, फिलिपिनो र भारतीय गरी २६ जनाले उनको कम्पनीमा प्रत्यक्ष रोजगारी पाएका छन् ।
खड्का सानैदेखि फुटबलको फ्यान थिए । १९९८ को विश्वकपपछि उनमा फुटबलर बन्ने हुटहुटी बढेको थियो । त्यो बेलामा बाटिस्टुटा, रोनाल्डो, सुकरजस्ता स्टार खेलाडीले उनको ध्यान खिचेका थिए । कालान्तरमा रियल मेड्रिडको फ्यान भए । गाउँमा वान डे कपहरू खेल्थे । भाले कप, खसी कपहरूमा भाग लिन्थे । यू–१६ को छनोटमा भिडेका पनि थिए, तर छानिएनन् । राष्ट्रिय खेलाडी बन्ने सपना तुहियो । तर, निराश भएनन् । निरन्तर फुटबल खेली नै रहे । फुटबलबाट असफलता दोहोरिँदै गएपछि उनले सोचे, ‘अब फुटबल छाडेर, केही गर्नुपर्छ ।’ पढाइतिर ध्यान दिए । झापामा आईए सकेपछि बीबीएस पढ्न उक्लिए, काठमाडौं । तर, काठमाडौं अडिन सकेनन् । पोखराको एक होटलमा काम पाएपछि उनी उतै हानिए । होटलमा दुई वर्ष काम गरेका उनले त्यतिबेलै राम्रो अंग्रेजी बोल्न सिके ।
त्यही बेला अस्ट्रेलिया जाने योजना पनि बुनेका थिए उनले । त्यो बेला अहिले जस्तो सहज नभएकाले उनको अस्ट्रेलिया सपना तुहियो । अस्ट्रेलिया सपनाले जागिर पनि गुम्यो । अन्ततः स्नातकोत्तर भर्ना भएका उनी कतारतिर हानिएका थिए । ‘मास्टर्स गर्ने सपना सपनामै सीमित छ,’ पढाइ सक्न नपाएकोमा उनी थकथकाउँछन् । उनलाई यतिबेला लाग्छ, ‘अस्ट्रेलिया गएको भए जीवन त अर्कै हुन्थ्यो होला तर फुटबलमा चाहिँ हुने थिइनँ होला ।’ कतार पुगेर पनि फुटबल खेल्न नछाडेका उनले त्यहीं ‘क्रेजी ब्वाय ग्रुप’मार्फत क्लब बनाए । त्यसै क्रममा नेपालमा क्लब खोल्ने योजना बन्यो । साथीहरूले नेपालमा क्लब खोल्नुपर्छ भनेर हौस्याए ।
२०१० मा बिहे गर्न झापा आएका बखत क्लब दर्ता गरे । खेलाडी उत्पादन, एकेडेमी सञ्चालन गर्ने योजना बनाए । साथीहरू सुजन गौतम, विक्रम थापा, मन्दिप भट्टराई, याम बस्नेत र राजु तामाङले अर्पणलाई क्लब हाँक्न साथ दिए । कतार फर्किने बेलामा २०११ जनवरी २ मा प्राइभेट लिमिटेडका रूपमा क्लब दर्ता गरे । ‘प्राइभेट रूपमा दर्ता भएको हाम्रो क्लब नेपालकै पहिलो हो,’ उनले सगौरव भने । २०११ देखि १८ सम्म क्लबमा करोड हाराहारीको लगानी गरे । राजगढमा तालिम चलाए । केही समय कार्यालयमा कर्मचारी राखे । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा उनको झापा एफसी क्लब पनि सहभागी छ । २०१८ पछि मन मिल्ने ७ जना साथीलाई क्लबमा प्रवेश गराए । क्लबमा अहिले उनीसहित अस्ट्रेलिया र मलेसिया तथा नेपालका साथीहरू जोडिएका छन् ।
क्लबले सन् २०२१ मा ‘सी’ डिभिजनका लागि क्वालिफाई खेल्यो । २०२२ मा पनि खेल्यो । तर, सफल हुन सकेन । जारी नेपाल सुपर लिगमा यस पटक राष्ट्रिय टोलीकै हस्तीहरू अन्जन विष्ट, लाकेन लिम्बू, छिरिङ लामा, योगेश गुरुङ जस्ता खेलाडी टिममा छन् । आइकनिक प्लेयरमा आभास लामिछाने छन् । उनी स्पेनमा जन्मी/हुर्किएका राम्रा फुटबलर हुन् । सर्भियाका गोलरक्षक छन् । उज्वेकिस्थान, स्पेनका खेलाडी पनि छन् । ‘यस आधारमा हाम्रो टिम धेरै मजबुद छ जस्तो लागेको छ,’ खड्काले भने ।
नेपाल सुपर लिगमा मात्रै न्यूनतम दुई करोड रुपैयाँ खर्च हुने उनले बताए । उनका अनुसार खेलाडी र अफिसियलसहित ३० जना खेलाडीलाई तारे होटलमा राखिएको छ । ‘नेपाली र विदेशी खेलाडीको अक्सनसहित सम्पूर्ण खर्च कम्तीमा दुई करोड हाराहारी हुँदै छ,’ उनले भने, ‘नेपाली फुटबलको विकासका लागि यत्रो खर्च चानचुने कुरा हैन ।’ उनी प्रतियोगिताको पहिलो खेल हेर्न कतारबाट काठमाडौं ओर्लिएका थिए । गृहजिल्ला झापामा समेत केही दिन बिताएर उनी कतार फर्किएका छन् । ‘झापा एफसी कसको क्लब हो भन्ने जिज्ञासा आम फुटबल प्रेमीमा थियो,’ उनले थपे, ‘यस पटक त्यो जिज्ञासा मेटाउने प्रयत्न गरेको छु ।’
चाहेको भए उनी पहिल्यै युरोप, अमेरिका भासिन सक्थे । तर, फुटबलले उनलाई रोक्यो । अब बढीमा ८ वर्ष मात्रै कतार बसेर उनी झापा फर्किँदै छन् । भविष्यमा झापामा रंगशाला निर्माणसँगै एकाडेमी निर्माणको योजना उनले बुनेका छन् । ‘त्यसपछि फुटबलको विकासमा लाग्छु,’ उनले भने, ‘नेपालकै फुटबललाई नेतृत्व गर्न पनि इच्छुक छु ।’ पछिल्लो समय खेलाडी पलायन लगायतका समस्याले नेपाली फुटबल झन् कमजोर बन्दै गएको उनको टिप्पणी छ । ‘एन्फा नेतृत्वलाई दोष दिनुभन्दा पनि सिंगो फुटबल सिस्टमकै कारण यो अवस्था आएको हो,’ उनी थप्छन्, ‘फुटबल विकेन्द्रित हुन नसक्नु मूल समस्या हो । लिगको निरन्तरता र होम एन्ड अबे प्रणालीबिना फुटबल विकास हुनै सक्दैन ।’
