गत वर्ष मरुवाले मार्सीमा क्षति पुर्याएपछि केही किसानले खेतमै आगो लगाएका थिए । त्यही बिउले यसपालि जिउलोमा संक्रमण भित्रिएको अनुमान छ । भित्र्याउने बेलाको धान सुकेर नष्ट भएपछि भोकमरी लाग्ने डरले किसान चिन्तामा छन्
जुम्ला — तातोपानी–४ श्रीनगरकी झुपु गिरीको १२ मुरी खेतको काली मार्सी डाँठदेखि पात सबै सुकेका छन् । बालामा दाना छैनन् । यतिबेला पहेँलपुर हुने लाम्रा जिउलो पराल सुकाए जस्तो देखिएको छ । नेक ब्लास्ट (घाँटी मरुवा) संक्रमण फैलिएपछि जिउलोभरिका धानका बोट सुकेका हुन् । अन्य ठाउँमा किसान धान भित्र्याउने चटारोमा रहेका बेला यहाँ भने बोटमै आगो झोस्नुपरेको छ ।
‘न धानका दाना लागे न पराल गाईबस्तुको काम लाग्ने भयो,’ झुपुले भनिन्, ‘अब त खेतमा आगो लगाउनुको विकल्प छैन । धानका बोट हेर्नै मन लाग्दैन ।’ लाम्रा जिउलोको १२ मुरी खेतमा फल्ने १३ क्विन्टल धान गिरीले ६ महिना मार्सीको भात खान राखेर थोरै बेच्ने पनि गर्थिन् । यसपालि रोगले बिउ राख्न पनि नहुने गरी बोट नै सुकेको उनले बताइन् । ‘दाना लाग्ने बेलासम्म निकै राम्रा बोट थिए, हलक्क बढेको बोटले जिउलो भरिएको देख्दा भरोसा जाग्थ्यो । दाना लाग्नुपर्ने बेला बोट नै सुकेर गए,’ उनले भनिन्, ‘खेतमा धानका बाला लागेनन् । घरका भकारी रित्ता छन् । यस्तो पराल त चौपायाले पनि खाँदैनन् ।’
गत वर्ष हियाखोला गाउँमा फलेको धानबाट उनले यसपालि बिउ राखेकी थिइन् । जहाँ गत वर्ष मरुवाले मार्सीमा क्षति पुर्याएपछि केही किसानले खेतमै आगो लगाएका थिए । त्यही बिउले यसपालि जिउलोमा संक्रमण भित्रिएको उनको अनुमान छ । भित्र्याउने बेलाको धान सुकेर नष्ट भएपछि भोकमरी लाग्ने डरले किसान चिन्तामा छन् । धानका बोटमा जरा रातो देखिने र डाँठ हुँदै बिस्तारै टुप्पोसम्म सुक्दै गएको स्थानीयको भनाइ छ । तातोपानी–५ की इसारा सार्की जिउलो पूरै सुकेको देख्दा भक्कानिन्छन् । उनले पहिलो पटक लाम्रा जिउलोमा धानका बोट यसरी सुकेर गएको बताइन् । साढे २ क्विन्टल धान फल्ने खेतमा अहिले एक किलो पनि नहुने स्थिति रहेको उनले सुनाइन् । ‘दसैं/तिहारमा अक्षता बनाउने चामलसमेत निस्कने अवस्था छैन,’ अर्की किसान राधिका चौलागाईं भन्छिन्, ‘धान भित्र्याउन नपाइने भयो । अब क्या गरी गुजारा गर्ने ? यसपालि त मंसिरमै बेसाहा गर्नुपर्ने भयो ।’
धानमा रोग देखिने बित्तिकै पालिकाका कृषि प्राविधिकलाई जानकारी दिइए पनि नियन्त्रणका लागि पहल नगरेको किसानको गुनासो
गत वर्षसम्म लाम्रा जिउलोमा धान निकै राम्रो फल्थ्यो । यो समयमा धान झुलेको देख्दा किसानको मुहारमा चमक देखिन्थ्यो । अहिले खेतमा जानै मन नमानिरहेको अधिकांश किसान सुनाउँछन् । धानमा रोग देखिनेबित्तिकै गाउँपालिकाका कृषि प्राविधिकलाई जानकारी दिइए पनि नियन्त्रणका लागि पहल नगरेको किसानको गुनासो छ । ‘फेदमा रातो र बोट सुक्न लागेजस्तो देखिनेबित्तिकै रोग निवारणका लागि जुटेको भए यो स्थिति आउने थिएन । अहिले भित्र्याउने बेला चासो देखाएर कुनै काम छैन,’ किसान पूर्णप्रसाद न्यौपाने भन्छन्, ‘अब त खेतमा आगो लगाएर अर्को वर्ष रोग लाग्न नदिनुको विकल्प छैन ।’ रासायनिक मल र जथाभावी विषादीको प्रयोग र अत्यधिक वर्षाले गर्दा पनि धानमा रोग लागेको कृषि प्राविधिकहरूको भनाइ छ । जिल्लाको तातोपानी–४ हाँकु, ५ र ६ को लाम्रा जिउलोको धान मरुवाले सखाप भएको हो ।
कृषि अनुसन्धान केन्द्र विजयनगरका प्राविधिक धनबहादुर बुढाले अनुकूल मौसम नभएको र रासायनिक विषादीको अत्यधिक प्रयोगको प्रभाव धानमा देखिएको बताए । उनले भने, ‘यो पटक धान कुनै पनि हालतमा बचाउन सकिँदैन । आगामी दिनमा रोप्ने समयदेखि नै यो जिउलोमा उच्च निगरानी राख्न आवश्यक देखिन्छ ।’ कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले दुई दशकदेखि मार्सीमा मरुवा रोगको संक्रमण देखिइरहेको बताए । रासायनिक विषादी प्रयोग र यसपालि बढी वर्षा हुँदा आर्द्रता बढेर धानमा रोग लागेको उनको भनाइ छ ।
खेतको झारपात नष्ट गर्न किसानले लुकिछिपी ‘ब्युटाकोलर’ नामक रासायनिक विषादी प्रयोग गरिरहेका छन् । अर्गानिक प्रदेश घोषणा गरिएको कर्णालीमा विषादी बिक्रीमा भने रोक लगाइएको छ । एग्रोभेटहरूले लुकिछिपी विषादी भित्र्याइएर बेच्ने गरेका छन् । उक्त विषादीले पनि धानमा विभिन्न रोगको संक्रमण गराइरहेको उनको भनाइ छ । २०६५ मा १४ औं जिल्ला परिषद्ले जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेसँगै यहाँ विषादी र रासायनिक मलको प्रयोगमा बन्देज लगाइएको थियो । अहिले भने प्रदेश सरकारले नै रोक लगाएको छ । ‘यो धान दाना लाग्ने समयमा सुकेको देखिन्छ । अब यो वर्ष रोग नियन्त्रण लिन सकिने अवस्था छैन,’ देवकोटाले भने । अर्को वर्ष उन्नत जातको धान रोप्न किसानलाई सुझाव दिएको उनले बताए ।
तातोपानी–५ का धनप्रसाद चौलागाईंको भकारी पनि यसपालि रित्तै रहने भएको छ । २२ मुरी खेतबाट करिब २२ क्विन्टल मार्सी धान फल्ने चौलागाईंको भित्राउने बेला रोग फैलिएर खेतभरिका बोट सखाप भएपछि उत्पादन शून्य भएको उनले बताए । ‘वर्षभरि मजाले खान पुग्थ्यो, पात डढेर केही बाँकी रहेन,’ चौलागाईंले भने, ‘धानले भकारी भर्ने बेला खेतमै बोटमा आगो लगाउनुपर्ने अवस्था आइलाग्यो ।’ भकारी मात्र रित्तिएका छैनन् सयौं किसानले भोकमरी र खाद्य संकट झेल्नुपर्ने अवस्था छ । एकाएक भित्र्याउन लागेको धानमा क्षति भएपछि कसरी छाक टार्ने चिन्तामा छन् ।
कृषि विकास कार्यालयका अनुसार मरुवा रोगले ८० हेक्टर क्षेत्रफल जमिनमा रोपिएको काली मार्सी नष्ट हुँदा १ सय ४० मेट्रिक टन धान उत्पादनमा गिरावट आउनेछ । ठूलो क्षेत्रमा रोग फैलिएर धानमा क्षति भएपछि एक साताअघि जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा विपद् व्यवस्थापनको टोलीले स्थलगत अनुगमन गरेको थियो । ‘ब्लास्ट’ रोगका कारण धानबाली सखाप भएपछि तातोपानीका किसानले अप्रत्याशित ठूलो क्षति व्यहोर्नुपरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । पहिलो पटक मार्सी उत्पादनमा यति ठूलो क्षति भएको उनको भनाइ छ । ‘सयौं किसानको पसिनाको कमाइ बालुवामा मिसियो । किसानको पीडा हामी पनि बुझ्छौं । तर हामीसँग स्रोत छैन । सीमित स्रोतले आधारभूत विकास गर्दै ठिक्क छ,’ उनले भने, ‘पालिकाबाट राहत दिएर सम्भव छैन । जिल्ला विपद् व्यवस्थापन समिति र गाउँ कार्यपालिकाबाट किसानको राहत र पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्छौं ।’ विगतमा असिनापानीले केही मात्रामा दाना झरे पनि यसरी ठूलो क्षति भएको पहिलो पटक हो । ‘सहनै नसक्ने क्षतिले किसान क्षतविक्षत छन् । किसानको पीडामा मलम लगाउन जुटिरहेका छौं,’ उनले भने । अहिलेसम्म ८० हेक्टर मार्सी फाँटको धानमा क्षति भएको भनिए पनि यकिन विवरण आउन बाँकी छ ।
विश्व बजारमा माग बढेको मार्सी धानमा बढ्दो संक्रमणले किसानमात्र नभई मार्सी धानको पहिचानसमेत संकटमा परेको छ । चौलागाईंका अनुसार प्रदेश र संघीय सरकारले उचित राहत बेलैमा नदिए किसानको उठीबास हुने निश्चित छ । जुम्लामा बर्सेनि कतै न कतै मार्सी धानमा ब्लास्ट रोग लाग्ने गरेको कृषि विज्ञ बताउँछन् । वातारणीय प्रभावका कारणले फैलिने ब्लास्ट तीन किसिमको हुने विज्ञहरूको भनाइ छ । लिप ब्लास्ट (पातमा), फिंगर ब्लास्ट (धानको डाँठमा) लाई नियन्त्रण गर्न सकिने भए पनि धानको बालामै लाग्ने नेक ब्लास्ट (घाँटी मरुवा) रोग नियन्त्रणमा समस्या हुने गरेको कृषि अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक सुशीलराज सुवेदी बताउँछन् । ‘घाँटी मरुवाले बाला सुकाउने, दाना पोटिलो नहुने र दूध नभरिँदै झर्ने समस्या हुन्छ । यो अन्तिम अवस्थामा लाग्ने भएकाले पनि नियन्त्रणमा समस्या छ,’ सुवेदीले भने । अहिले मार्सी धानमा लागेको रोग पनि यही हो ।
काँचो मलको प्रयोग, बिउ राखेको बर्ना, सिँचाइ असुविधा, अत्यधिक वर्षालगायतका कारणले यस्तो समस्या निम्तिने उनको भनाइ छ । उन्नत जातको धानमा ब्लास्ट रोगले कुनै असर नगरे पनि रोग प्रतिरोधात्मक क्षमता नै कम भएको रैथाने मार्सी धानमा बढी क्षति गरेको सुवेदीले बताए । ‘नेक ब्लास्ट रोगसँग लड्ने क्षमता मार्सीमा छैन । यस वर्ष वर्षा पनि बढी भयो । धानको फूल फूल्ने बेलामै पानी परेको र सापेक्षिक आर्द्रता बढी भएपछि यो रोग फैलिएको हो,’ उनले भने । यता जिसस प्रमुख आचार्य र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायत दलका प्रतिनिधिले तत्काल जिल्लामा विपद् व्यवस्थापन समिति बैठकबाट किसानलाई राहतका लागि पहल गर्ने बताएका छन् ।
जुम्लामा धान खेती हुने २९ सय ५० हेक्टर क्षेत्रफलमध्ये एक हजार हेक्टरमा मार्सी धान रोप्ने गरिन्छ । एक हजार हेक्टरबाट २ हजार मेट्रिक टन मार्सी उत्पादन हुने गरेको कृषि विकास कार्यालयको भनाइ छ । जुम्लामा चन्दननाथ १ र ३ तथा लेकाली १ र ३ जातका उन्नत धानको समेत खेती भइरहेको छ । १९ सय ५० हेक्टरमा लगाएको उन्नत जातको धानले ४४ हजार मेट्रिक टन उत्पादन दिन्छ । जुम्लाका आठ स्थानीय तहका ६ सय ९ वडामध्ये ५८ वडामा मार्सी धानको खेती हुन्छ । दुई वर्षअघि सिंजा, गत वर्ष तातोपानीको गौतमबाडा मार्सीका बोट सुकेका थिए । संक्रमण नष्ट गर्न गौतमबाडाका किसानले भने खेतमै आगो लगाएका थिए । यसपालि गौतमबाडा जिउलोमा मार्सी राम्रो फलेको छ । यो वर्ष तातोपानी ४, ५ र ६ र चन्दननाथका ४ वडाका जिउलोमा रोग देखिएको हो । बाला लाग्ने बेलामा धान सुक्ने गरेको किसानले बताएका छन् ।
मार्सीमा देखिएको रोगबारे कृषि अनुसन्धान केन्द्रले अनुसन्धान थालेको दशक बिते पनि विकल्प दिन सकेको छैन । मार्सीको विकल्पमा मार्सी नै दिने गरेर अनुसन्धानमा लागिपरेको केन्द्रले जनाएको छ । धानमा भएको क्षतिको विवरण संकलनका लागि पालिकाले कृषि प्राविधिक खटाएको छ । विवरण संकलन सकिएपछि राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरिने गाउँपालिका अध्यक्ष चौलागाईंले बताए ।
मार्सी क्यालेन्डर
संसारमै सबैभन्दा उचाइ अर्थात् समुद्री सतहबाट करिब ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी दुर्लभ प्रजातिको धान हो । यो जुम्लाका सीमित क्षेत्रमा उत्पादन हुने स्थानीय जातको धान हो । राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सीको चामल हुलाक चलान गरी काठमाडौं पठाइन्थ्यो । किंवदन्तीअनुसार सुरुमा जुम्लामा कुनै धान नफलेपछि बाबा चन्दननाथले कश्मीरबाट बीउ ल्याएर लाछु जिउरो (तातोपानी नजिकको गाउँ) मा रोपेपछि अन्य ठाउँमा विस्तार हुँदै मार्सी धान फैलिएको भनाइ पनि छ । जुम्ला सदरमुकाम खलंगा वरपर र सिंजा क्षेत्रमा कालीमार्सी धानको बिउ राख्ने काम हरेक वर्ष चैत १२ गते हुन्छ । चैत १२ गते कालीमार्सीको बिउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा मनाउने प्रचलन छ । यी दिनमध्ये छर्ने दिन विशेष रूपमा मनाइन्छ । जुम्लालगायतको उच्च भूभागमा झन्डै आठ महिनामा उत्पादन हुने धान मार्सी रातो चामलका विभिन्न प्रजातिमध्ये एक हो । पौष्टिकताले भरिपूर्ण मानिने यो धान अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले प्रांगारिक रूपमै उत्पादन हुन्छ । बिउ राखेको समयदेखि किसानले १० महिना मिहिनेत गरेपछि मार्सी भित्र्याउन सक्छन् । स्वाद र स्वास्थ्यका हिसाबले राम्रो मानिने यो चामल अहिले सहरियाका भान्सामा फैलिन थालेको छ ।
