जंगली धान खोज्दै कृषि वैज्ञानिक

३० वर्षदेखि पाल्पाको प्रभासमा अध्ययन, विकासे जातको आकर्षणसँगै मिचाहा झारले धानका पुराना प्रजाति लोपोन्मुख

आश्विन ३०, २०८०

माधव अर्याल

पाल्पा — राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी पाल्पाको प्रभास क्षेत्रमा जंगली धान खोज्न व्यस्त भए । तीन-चार घण्टा खोजी गर्दा उनले निवारा जातको जंगली धान फेला पारे ।

प्रभास सिमसार क्षेत्रमा धानको पुर्खा खोज्दा नभेटेर निराश जोशी एक गाँज देखिनासाथ प्रफुल्लित बने । उनले भने, ‘हराइ नै सकेछ भन्ने भएर निराश थिएँ, अहिले एक गाँज भेटियो धेरै खुसी लागेको छ ।’

उनले तत्कालै राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र काठमाडौंका प्राविधिक अधिकृत डा. मुकुन्द भट्टराईलाई फोन गरेर बोलाए । स्थानीय बासिन्दा, कृषि विज्ञ टोली पनि साथमा थिए । सबैले जंगली धान देखेपछि हर्ष नै छायो । निवारा जातको धानको पुर्खा भेटिनु खुसीको कुरा भएको उनले सुनाए । डा.भट्टराईले एक महिनाअघि विज्ञ टोली नै ल्याएर प्रभास क्षेत्रमा यही धानको खोजी गरेका थिए । नभेटिएपछि निराश भएर फर्केको उनले सुनाए । 

‘अन्य झारको बीचमा एक गाँज निवारा जात पाइयो,’ डा. जोशीले भने, ‘यसले हामीलाई खुसी नै तुल्याएको छ ।’ डा. भट्टराईले यहाँको पुस्तैनी धानका विषयमा ३० वर्षदेखि अध्ययन भइरहेको बताए । जीन बैंकमा यस अघि नै लगेको बीउ छ । लिटसिय जातको धानको पुर्खा धेरै भेटिएको छ । तर निवारा नभेटिएर फर्केको डा. भट्टराईले बताए । यही क्षेत्रमा पाइने रुफीपोगन जातको धानको पुस्ता पनि लोप भइसकेको छ । 

‘प्रभास क्षेत्रमा सिमसार रहेको र धानको पुस्ता भेटिने क्षेत्रका रुपमा हामीले विकास गरेका छौं,’ उनले भने, ‘अहिले भेटिएका धानको पुस्तालाई सुरक्षित गरेर राख्नुपर्छ ।’ आगामी दिनमा प्रभास ताल जलीय कुण्ड जीन बैंक स्थापना गर्नेसमेत निर्णय भएको उनले बताए । सुन्तला जात फलफूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र र वडा कार्यालयले यसका लागि पहल गर्ने डा. जोशीले बताए । जनचेतनामूलक बोर्ड राख्ने, जंगली धान निवारा र लिटसियलाई जोगाउन पहल गरिनेछ । 

जंगली छिता (सिता) धानको गाँज पोखरीमा सार्ने, एक गाँज सुन्तलाजात फलफूल विकास केन्द्रमा समेत राखिने भएको छ । छिता धान पाकेपछि बीउ संकलन गरी राष्ट्रिय जीन बैंकमा राख्ने निर्णय भएको सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाका प्रमुख दीपक भट्टराईले बताए । फलेको बीउ प्रभास तालमा पनि छरेर आगामी दिनमा यसलाई जोगाउन पहल गर्ने निर्णय भएको उनले बताए । माडीको बुडुवा क्षेत्र र रामपुरको सीता कुण्ड क्षेत्रमा पनि यही धानको जात पाइने भएकाले अध्ययन गरिनेछ । जलमा पाइने सबै स्थानीय माछाहरु, सामा, जंगली सखरखण्ड, जंगली धान, लिट्सिय संरक्षण गर्न वडा कार्यालयलाईसमेत आग्रह गरिएको छ ।

राष्ट्रिय जीन बैंकमा तालबाट यसअघि संकलन गरिएको धानको बीउ पुनर्स्थापन गर्ने, पोखरीमा भएको सबै कृषि जन्य आनुवंशिक स्रोतहरुको अभिलेखीकरण गर्ने निर्णय भएको वडाध्यक्ष प्रदीप खनालले बताए । 

प्रभास मात्र होइन, पाल्पाका सिमसार क्षेत्रमा पाइने जंगली धान संरक्षणको अभावमा लोप हुँदै गएको छ । रामपुरको सीताकुण्ड,  प्रभासताल, सुकेताल, माडी बुडुवा लगायतका स्थानमा केही वर्षअघिसम्म जंगली धान प्रशस्त पाइने स्थानीयले बताएका छन् । सरोकारवाला निकायको ध्यान नपुग्दा र स्थानीयको बेवास्ताले त्यस्ता धान पछिल्ला वर्षमा देखिनै छाडेको हो । 

प्रभास लगायत अन्य स्थान सिमसार क्षेत्र पुरिएको, अन्य झारसँगै जंगली धान पनि हटाएकाले केही वर्षयता देखिनै छाडेको यसका अध्यता झपेन्द्रबहादुर जीसीले बताए । उनका अनुसार निवारा र लिटसिय जातका दुई जंगली धानका प्रजाति एक दुई बोट भेटिए पनि रुफीपोगन जात भेटिनै छाडेको छ । माडीको बुडुवा, प्रभास, सुकेतालमा यस्ता धान प्रशस्त थिए । ‘कसैलाई मतलब भएन, जथाभावी डोजर चलाए,’ उनले भने, ‘सबै नष्ट भएर गयो । अब खोजी गरेर जोगाउने पहल भएको सुन्दा खुसी लाग्यो ।’

जंगली धानलाई चाहिने बासस्थान नष्ट भएको छ ।  अन्य झारले धानलाई अतिक्रमण गरेकाले नै धान लोप भएको विज्ञ बताउँछन् । जंगली धान भेटिने प्रभास क्षेत्रमा ३२ रोपनी सार्वजनिक जग्गा छ । त्यस बाहेक अन्य क्षेत्र व्यक्तिगत जग्गा पर्छ । कहिँकतै भेटियो भने यसलाई संरक्षण गरेर राख्नुपर्ने अवस्था आएको स्थानीय महेश पन्तले बताए । ‘हामीले खाने धानको पुर्खा जंगली धान नै भएकाले यसलाई थप अध्ययन गरेर संरक्षणका लागि पहल गर्नुपर्ने देखियो,’ पन्तले भने । 

प्रायः सिमसार क्षेत्रहरुमा जंगली धान पाइन्छ । यस्ता क्षेत्रको संरक्षण, प्रवर्द्धन र दिगो विकासमा ध्यान दिएको पाइदैन । वर्षौ अघिसम्म प्रशस्त पाइने जंगली धान, कमलको फूल अहिले लोप हुन लागेकामा चिन्ता लागेको स्थानीय श्रीकृष्ण पाण्डेयले बताए । 

लोपोन्मुख जंगली धानको संरक्षण गर्दा अध्ययन, अवलोकन गर्नेहरुकै कारण पर्यटकीय गतिविधि बढाउन सकिने उनले बताए । स्थानीय तह, वडा कार्यालयबाट धानको संरक्षणमा ध्यान पुग्न नसकेको जनप्रतिनिधि स्वीकार्छन् । ‘विगतमा के भए भन्ने भन्दा पनि अब मैले यसलाई जोगाउन प्रयास थाल्नेछु,’ तानसेन–७ का वडाध्यक्ष खनालले भने, ‘यसका लागि सबैको सहयोग जरुरी छ ।’

सिमसार क्षेत्र विभिन्न कारणले पछिल्लो समय अतिक्रमण भइरहेको छ । नजिकमा ठूला भवन निर्माण, बजार बिस्तार, लुम्बिनी मेडिकल कलेजको फोहोर यही क्षेत्रमा आएर दुर्गन्ध बढेको छ । लोपोन्मुख धान संरक्षणमा स्थानीय जनसहभागिताको खाँचो देखिएको राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुर काठमाडौंका कृषि अर्थ विज्ञ सन्तोष पौडेलले बताए । उनका अनुसार सिमसार क्षेत्रको विकास गर्दै धार्मिक, पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सरोकारवाला निकायसँग हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ । 

सिमसार क्षेत्रको संरक्षण गर्न दीर्घकालीन योजना बनाउनुपर्ने उनले बताए । जिल्लाभित्र सीताकुण्ड, सत्यवती, प्रभासताल, सुकेताल लगायत सिमसार क्षेत्र हुन् । यी बाहेक माडीको बुडुवा, झडेवा, कचल, अर्गली लगायतमा सिमसार क्षेत्र छन् । धेरै विशेषता बोकेको यस्ता सिमसार क्षेत्रहरुलाई संरक्षण, प्रवर्द्धन र दिगो विकासमा ध्यान दिनपर्ने अवस्था आएको उनले बताए । 

अनावश्यक जीवजन्तु र वनस्पतिहरुलाई हटाइ जंगली धान, कमलको फूल जे छन् त्यसलाई संरक्षण गर्नुपर्ने स्थानीय मोहन गैरेले बताए । जलीय जीवजन्तुहरु र वनस्पतिहरुको नियमित परीक्षण अनुगमन र मूल्यांकन गर्न जरुरी रहेको उनको भनाइ छ । सिमसार क्षेत्रमा जंगली धान, कमलको फूल, माछा, सरिसृप, चराचुरुङ्गीको बसोबासस्थल रहेको टोल विकास संस्थाका संयोजक मुक्तिराम भुसालले बताए । 

तानसेनको प्रभास र रामपुरको सीताकुण्डमा रहेका वनस्पतिहरु ‘जंगली धान’ र ‘कमलको फूल’ संकटमा छन् । केही माछाका प्रजाति, सरिसृपहरुलाई वैज्ञानिक तवरले संरक्षण भएको छैन । प्रजनन, अनुसन्धान र सूचना केन्द्र बनाइ महत्त्वपूर्ण वनस्पति उत्पादन तथा प्रवर्धन गर्ने स्थलको रुपमा विकास गर्न सकिने उनले बताए ।

सत्यवती ताल, सीताकुण्ड, प्रभास तालको महत्त्व भिन्नै छ । ‘यसको महत्त्वलाई धार्मिक, आर्थिक, सांस्कृतिक, पौराणिक, जैविक साथै कृषिका रुपमा हेर्न सकिन्छ,’ जिल्ला विकास समितिका पूर्वसभापति झपेन्द्रबहादुर जीसीले भने । माछाका प्रजातिहरु, उभयचरहरु र यसमा आश्रित जलपक्षी छन् । जंगली हाँस, माटिकोरे, डुबुल्की मार्ने चराहरु छन् । माछा र शंखे किराको प्रजातिहरु पनि छ । जंगली धान र कमल फूल लोपोन्मुख वनस्पति हुन् ।

पानीमा भएका घुलित पदार्थहरु, अम्लीयपन, कडापन, नाइट्रोजन, अर्थोफस्फेट, पोटासियम जस्ता मानांक देखिएको छ । मानवीय क्रियाकलापका असरहरु यस क्षेत्रमा भएको छ । प्रभास क्षेत्रमा पाइएको धान एसियामा खेती गरिने धानको पूर्वज भएको वरिष्ठ वैज्ञानिक जोशीले बताए । सिमसार क्षेत्रको सुधार तथा प्रवर्धनका साथै स्थानीय बासिन्दाको सामाजिक तथा आर्थिक विकास हुन्छ भन्ने बुझाउनुपर्ने उनले बताए । 

म्यागेजिन

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully