कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

मुलुककै उत्कृष्ट तीन सामुदायिक विद्यालय

देशभरका २७ हजार सामुदायिक विद्यालयमध्ये सिन्धुलीका दुई र सल्यानको एक विद्यालयलाई उत्कृष्ट नतिजा ल्याएबापत सरकारद्वारा पुरस्कृत
राजकुमार कार्की, विप्लव महर्जन

सिन्धुली र सल्यान — देशभरका २७ हजार सामुदायिक विद्यालयमध्ये सिन्धुलीका दुई र सल्यानको एउटा विद्यालय माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याएर पुरस्कृत भएका छन् । विषयगत शिक्षक, भौतिक पूर्वाधार, शैक्षिक सामग्रीलगायतको अभावका बीच दुर्गम क्षेत्रका विद्यालय १२ कक्षाको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।

मुलुककै उत्कृष्ट तीन सामुदायिक विद्यालय

शिक्षा र वाणिज्य संकायको पढाइ भइरहेको सिन्धुलीको दुधौली नगरपालिका–११ मैनीस्थित कमला माविबाट १२ कक्षाको परीक्षामा सहभागी ५९ मध्ये ५७ जना ग्रेड वृद्धिको परीक्षामा सामेल हुन नपर्ने गरी अंक ल्याएर उत्तीर्ण भए । गत शैक्षिक वर्षमा १२ कक्षाको नतिजाले देशभरका सामुदायिक विद्यालयमध्ये यो अब्बल दरिएको हो । विद्यालयले सरकारबाट ३ लाख नगदसहित राष्ट्रिय ध्वजा र सिल्डसहितको पुरस्कार पाएको छ । धनुषा र उदयपुरको सिमानामा रहेको यो विद्यालय सदरमुकाम सिन्धुलीमाडीबाट ६० किलोमिटर दक्षिणमा पर्छ । प्रधानाध्यापक राजेश्वर यादवका अनुसार १२ कक्षाका ६० विद्यार्थीमध्ये एक जना परीक्षामा अनुपस्थित भएका थिए । दुई जना ग्रेडवृद्धि परीक्षा दिएर उत्तीर्ण भइसकेका छन् । ‘शिक्षकको लगन र विद्यार्थीको मिहिनेतले शतप्रतिशत रिजल्ट आयो,’ उनले भने । ३.२७ जीपीएसहित उत्तीर्ण भएर वाणिज्य संकायकी लक्ष्मी कट्टेल विद्यालयभरिमा प्रथम भइन् ।

कमला मावि मैनीमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी छैन । मावि तहमा न्यूनतम आठ विषयगत शिक्षक हुनुपर्नेमा सात जना मात्र छन् । दुई जना राहत, एक करार र दुई अनुदान कोटामा कार्यरत छन् भने दुई जना शिक्षकलाई आन्तरिक स्रोतबाट तलबभत्ता दिने गरी नियुक्त गरिएको प्रअ यादवले बताए । ‘विद्यालयको आन्तरिक स्रोत पर्याप्त छैन, बेतन दिने बेलामा हारगुहार गर्नुपर्छ,’ उनले भने, ‘स्रोतसाधन नभएका दुर्गमका विद्यालयलाई माथिबाटै हेर्नुपर्छ । कम्तीमा दरबन्दीअनुसार शिक्षकको व्यवस्था हुनुपर्छ ।’

सिन्धुलीको दुधौली–११ मैनीस्थित कमला मावि

शून्य दरबन्दी भएका विद्यालयलाई स्थानीय तहले कम्तीमा एक शिक्षकको व्यवस्था गर्नुपर्नेमा नगरपालिकाबाट कुनै सहयोग नभएको प्रअ यादवले बताए । उदयपुर, सिरहा, धनुषाबाट समेत अध्ययन लागि विद्यार्थी आउने गरेको उक्त विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत अध्ययन अवलोकन भ्रमण, स्थानीय तहका गतिविधि नियाल्ने, सामुदायिक वनको अवस्था, अन्तर विद्यालय खेलकुद प्रतियोगिता, शिक्षण सिकाइलगायतका क्रियाकलाप हुने गरेका छन् । यसपालि उत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय पुरस्कार पाएपछि शिक्षक, अभिभावक र विद्यार्थीमा अझ बढी सक्रियता बढेको प्रअ यादवको भनाइ छ । कक्षा ११ र १२ गरी दुई वर्षको पढाइ शुल्क ८ हजार ४ सय रुपैयाँ विद्यार्थीले शुल्कबापत बुझाउनुपर्छ । विद्यालयमा १३ वर्षअगाडिदेखि प्लस टुको अध्यापन सुरु भएको हो । यो वर्ष यस विद्यालयमा ४ सय ७६ विद्यार्थी अध्ययनरत छन् ।

निजी स्रोतका दुई शिक्षकको तलबभत्ताका लागि मासिक ७८ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । विद्यार्थीको प्रमाणपत्र शुल्क, प्रतिविद्यार्थी शुल्कबाट प्राप्त हुने रकम, मसलन्द, मुद्दती ब्याज, आँप बिक्रीबाट हुने आम्दानीबाट जुटाइरहेको प्रअ यावदले बताए । संघीय सरकारबाट प्रतिविद्यार्थी अनुदानबापत दुई सयदेखि २ सय ५० रुपैयाँसम्म प्राप्त हुन्छ । देउसी भैलोबाट संकलन गरिएको पाँच लाख रुपैयाँलाई मुद्दती खातामा राखिएको छ । ‘नियमित खर्च जुटाउन समस्या भइरहन्छ । हारगुहार गरेर जसोतसो धानिएको छ,’ उनले भने, ‘सरकारबाट शिक्षकको व्यवस्था भइदिए हामीले सबै लगाव पढाइमा मात्र लगाउन हुन्थ्यो । व्यवस्थापनको पनि समस्या थपिएकाले मुस्किलले धान्नुपरेको छ ।’


कमला मावि मैनीका प्रअ यादवले ३० वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेका छन् । ०४६ भदौबाट शिक्षक सेवा प्रवेश गरेका उनी ०५० बाट प्रधानाध्यापकको जिम्मेवारीमा छन् । ‘३४ वर्षको अवधिमा मेरोविरुद्ध विद्यालयमा कहिल्यै पनि आवाज उठेन । हाम्रोमा शिक्षकबीच टिमवर्क छ,’ उनले भने, ‘प्रत्येक महिनाको अन्तिम दिन शिक्षकको बैठकमा महिनाभरिका शैक्षिक गतिविधि र गुणस्तर बढाउन के गर्न सकिन्छ भनेर गहिरो समीक्षा गर्छौं । अघिपछि पनि नियमितजसो छलफल भई नै रहन्छ ।’

प्रधानाध्यापकको नेतृत्वलाई स्विकारेर टिमवर्कमा अघि बढेपछि सफलता हात लाग्ने प्रअ यादवको अनुभव छ । शिक्षकले विद्यालय कम्पाउन्डभित्र पसेपछि विद्यार्थीलाई आफ्नै छोराछोरी सम्झेर पढाउनुपर्ने उनको तर्क छ । ‘सबैलाई आफ्नै बालबच्चा ठान्नुपर्‍यो । माया पनि गर्ने, उसको कमजोरी सुधार्नका लागि पनि लाग्ने । यति भए नतिजा राम्रो नहुने कुरै हुँदैन,’ उनी भन्छन्, ‘आवश्यकताअनुसार विद्यालय व्यवस्थापन समिति बैठक पनि बस्छ । अभिभावकको सहयोगको खाँचो पनि उत्तिकै रहन्छ ।’ यो विद्यालयले यसअघि निमावि र माविमा जिल्ला प्रथम भएर पुरस्कार पाइसकेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमबहादुर सुनुवार विद्यालयमा आउने समस्या हल गर्ने र शिक्षकलाई टिमवर्कमा काम गर्न हौसला प्रदान गर्ने बताउँछन् । ‘अनावश्यक हस्तक्षेप हामीबाट हुँदैन,’ उनले भने, ‘गाउँको विद्यालय भएकाले स्रोत जुटाउन भने निकै हम्मे परेको छ ।’

आन्तरिक स्रोतबाट दुई जना शिक्षक राखिएको छ । विद्यालयले ११ कट्ठा जमिनमा गरेको आँप खेतीबाट वार्षिक हुने आम्दानी र चन्दा सहयोगबाट तलब खुवाउने गरिएको अध्यक्ष सुनुवारले बताए । विद्यालय वरिपरि नै शिक्षकहरू डेरा लिएर बस्ने भएकाले कमजोर विद्यार्थीलाई बिहान–बेलुका आवश्यकताअनुसार अतिरिक्त पढाइको व्यवस्थासमेत गरिएको छ । अभिभावकलाई विद्यालयमा बोलाउने, घरमा भेट्न जाने, विद्यार्थीको घरमा पढ्ने वातावरण कस्तो छ भनेर हेर्ने समेत गरिएको प्रअ यादवले बताए । एडीबीको सहयोगमा दुईवटा २४ कोठे भवन निर्माणधीन रहेकाले हाल भने जस्ताको छाना र बाँसको टाँटी लगाएको टीएलसी भवनमा अध्यापन भइरहेको प्रअ यादवले बताए । निजी स्रोतका बाहेक १५ जना शिक्षक कार्यरत रहेको प्रअ यादवले बताए । पालिकाले दस जोड दुई चलेका विद्यालयमा विशेष निगरानी गरिरहेको दुधौली नगर प्रमुख दिनेश अधिकारी दनुवारले बताए ।

‘म आफैं फनि बेलाबेलामा शिक्षक र विद्यार्थीसँग अन्तर्त्रिया गर्छु,’ उनले भने, ‘साधनस्रोतले भ्याएसम्म सहयोगमा कन्जुस्याइँ गरिएको छैन । नगरको निगरानी, शिक्षक विद्यार्थीको मिहिनेत, व्यवस्थापनको जिम्मेवारी र अभिभावकको चासोले समस्याका बीच सञ्चालन भइरहेको दुर्गमको विद्यालय पनि आज देशभर प्रथम भएको हो ।’

सिन्धुलीकै कमलामाई–४ ढुंग्रेवासस्थित कमला मावि परिसर ।

संयोग नै मान्नुपर्छ, १२ कक्षाको उत्कृष्ट नतिजा ल्याउने दोस्रो सामुदायिक विद्यालय पनि सिन्धुलीकै कमलामाई मावि ढुंग्रेबास बनेको छ । कमलामाई नगरपालिका–४ ढुंग्रेवासस्थित यो विद्यालयले दास्रो स्थान पाएर दुई लाख नगदसहित राष्ट्रिय पुरस्कार पाएको हो । यो विज्ञान विषय पढाउने सिन्धुलीको एक्लो मावि हो ।

विसं २००७ मा सिन्धुलीगढीमा स्थापना भएको यो विद्यालय सदरमुकाम सरेसँगै सिन्धुलीमाडी झरेको हो । यहाँबाट २०२२ सालको एसएलसीमा महेन्द्रप्रसाद उपाध्याय बोर्डफस्ट भएका थिए । २०७९/८० मा भएको १२ कक्षाको परीक्षामा ३.७३ जीपीए प्राप्त गरी प्रथम भएका छन् । ७१ विद्यार्थी परीक्षामा सामेल भएकामा ६९ जनाले ग्रेडवृद्धि परीक्षा दिनु नपर्ने गरी उत्तीर्ण भएका छन् । दुई जना ग्रेडवृद्धिबाट उत्तीर्ण भइसकेका छन् । २०५७ मा १० विद्यार्थीबाट विज्ञान संकायको ११ कक्षा सञ्चालन भएको कमला माविमा अहिले ९० छात्रा र ७० छात्र अध्ययनरत छन् ।


प्रधानाध्यापक कमलेश चौधरी शिक्षकको मिहिनेत र विद्यार्थीको लगनले परीक्षाफल राम्रो आएको बताउँछन् । विज्ञान संकायमा शिक्षक अभाव हुन नहुने उनी तर्क गर्छन् । गणित, फिजिक्स विषयका लागि कम्तीमा दुई जनाका दरले शिक्षक हुनुपर्ने केमेस्ट्री अध्यापन गराउने प्रअ चौधरी बताउँछन् । ‘प्रयोगशाला कर्मचारी, विद्यार्थी संख्याका आधारमा कम्प्युटर शिक्षकको व्यवस्था, केन्द्रीय स्तरबाट विज्ञान प्रदर्शनीको अवलोकन हुनुपर्छ,’ उनले भने, ‘विज्ञान प्रदर्शनीमा विद्यार्थीको रुचि अनुसार लगानी र सहयोग छैन ।’ विज्ञान प्रदर्शनी र उनीहरूमा भएको क्षमताको राष्ट्रियस्तरबाटै मूल्यांकन हुनुपर्ने खाँचो उनले औंल्याए । नेपाली, अंग्रेजी, विज्ञान, गणित विषयका आंशिक शिक्षक राखिएको छ । शिक्षकको तलब भत्तामा वार्षिक १५ लाख रुपैयाँ व्यहोर्नु परेको छ । प्रअ चौधरीले सप्ताह, यज्ञ आदि लगाएर २० लाख रुपैयाँको मुद्दती कोष बनाएको बताए ।

विद्यार्थीले विज्ञान संकायमा १२ कक्षाको पढाइ सक्दा जम्मा ५० हजार खर्च लाग्ने गरेको विद्यालयले जनाएको छ । विद्यालयले भर्नाकै बेला परीक्षा लिएर उत्कृष्टलाई पूरै छात्रवृत्ति र प्रथम, द्वितीय र तृतीय हुनेलाई ८, ७ र ६ हजार नगदसहित पुरस्कार दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रकुमार पोखरेलले बताए । मधेश प्रदेशका धनुषा, सर्लाही, सिरहा, महोत्तरी तथा वाग्मती प्रदेशका रामेछाप, दोलखालगायत जिल्लाबाट विज्ञान विषय पढ्ने विद्यार्थीको रोजाइमा कमला मावि परेको छ । पढाइको गुणस्तर राम्रो भएकाले छात्रावासको सुविधा भए लाखौं खर्च गरेर राजधानीतिर जाने धेरै विद्यार्थी यतै आउने अभिभावक राजु दर्लामी बताउँछन् । रामेछाप घर भएका उनले छोरी रश्मीलाई विज्ञान संकायमा यहाँ पढाइरहेका छन् । सर्लाहीकी रचना श्रेष्ठ र महोत्तरीकी स्मारिका श्रेष्ठ पनि यहीँ पढिरहेका छन् । ‘यहाँ शिक्षक र विद्यार्थी मिलेर सजिलो तरिकाले पढाइ भइरहन्छ,’ १२ कक्षामा अध्ययनरत विद्यार्थी रामराज महतो भन्छन्, ‘कम खर्चमै गुणस्तरीय शिक्षा पाइरहेकाले यस्तै विषय पढ्न काठमाडौं नै जाने मोह घटाएको छ ।’

तराईका विद्यार्थीको समेत आकर्षण बनेको यो विद्यालयमा निजी शिक्षकलाई तलब खुवाउन माडीबजारमा रहेको जग्गाबाट आउने भाडाले पनि राहत हुने गरेको छ । ‘विज्ञान संकायमा कमजोरी देखाएर काम नै छैन,’ प्रअ चौधरी भन्छन्, ‘दरबन्दीअनुसार शिक्षक नहुनु समस्या भए पनि त्यो देखाएर उम्किने ठाउँ छैन । इन्ट्रान्स लिएर पास भएको विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनु पर्‍यो । समस्या देखाएर लथालिंग पार्ने छुट कसैलाई छैन ।’ कमला मावि ढुंग्रेवासमा ४ सय ५५ जना विद्यार्थी छन् भने आंशिकबाहेक राहत र नगर अनुदानसहित २१ जना शिक्षक छन् । नगरभरिका ८४ सामुदायिक विद्यालयमध्ये विज्ञान संकाय सञ्चालनमा रहेको जिल्लाकै एक्लो विद्यालय भएकाले अनुदानसहित अन्य सहयोग पनि उपलब्ध गराइरहेको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल बताउँछन् । उनले कम्प्युटर, ल्याबलगायतका लागि सहयोग रहेको बताए ।

सालिन्दा नतिजा राम्रो आउनुमा शिक्षकबीचको टिमवर्क मुख्य रहेको प्रधानाध्यापक चौधरीले सुनाए । स्थानीय स्तरमा स्रोत जुटाउन मुस्किल भएकाले सरकारले दरबन्दीअनुसारका शिक्षकको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । विज्ञान संकाय भएकाले तीन/तीन महिनामा आन्तरिक परीक्षा, त्यसबाट आउने परीक्षाफलका आधारमा अतिरिक्त कक्षासमेत हुने गरेको छ । ‘विद्यार्थीको पढाइको अवस्था हेरेर अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेका छौं,’ गणित शिक्षक भरत मल्लले भने ।

कम खर्चमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने थाहा भएर राजधानीतर्फ नगइ कमला माविमा भर्ना भएको महोत्तरीका विशाल ठाकुरले बताए । ‘घरबाट दुई घण्टामा यो विद्यालय आइपुगिन्छ, राम्रो पढाइ हुने भएपछि किन काठमाडौं नै पुग्नु ?,’ उनले भने, ‘सरहरूको पढाइप्रतिको चिन्ता र हाम्रो मिहिनेतले राम्रै नतिजा आउँछ भन्ने छ ।’ तराईका जिल्लामा रहेका विज्ञान संकाय सञ्चालन हुने विद्यालयमा भन्दा यता राम्रो हुने भएपछि रोजाइमा परेको अर्का विद्यार्थी पारश रायले बताए । तराईबाट जागिरको सिलसिलामा सिन्धुली छिरेका शिक्षकहरूबाटै विज्ञान संकायमा कमला मावि अब्बल रहेको सुनेपछि विद्यार्थीले गन्तव्य बनाएका हुन् ।

दुर्गमको नमुना विद्यालय

देशैभरिका उत्कृष्ट तेस्रो सामुदायिक विद्यालयमा सल्यानको कुमाख गाउँपालिकाको रुमालगाउँस्थित नारायण मावि बनेको छ । गत वर्ष कक्षा १२ को परीक्षा दिएका ९६ जनामा सबै उत्तीर्ण भएका थिए । विद्यालयका अनुसार अघिल्लो वर्ष ६१ र २०७७ मा ७४ जनाले कक्षा १२ को परीक्षा दिएकामा सबै विद्यार्थीको नतिजा डी प्लसभन्दा माथि आएको थियो ।

यहाँ मावि र निमावि स्थायी दरबन्दीका शिक्षक छैनन् । कक्षा १२ सम्म सञ्चालित विद्यालयमा १४ जना शिक्षक कार्यरत छन् । विद्यालयमा प्रावि तहको दुई मात्र स्थायी दरबन्दी छ । विद्यालयले गत वर्ष एसईई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षाको व्यवस्था गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक देवेन्द्र रावतका अनुसार २०७९ को एसईई परीक्षामा ८४ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७५ विद्यार्थीले बी ग्रेडभन्दा माथि ल्याएको उनले बताए । २०३२ सालमा स्थापित यो विद्यालयले २०६९ मा माविको अनुमति पाएको थियो । चार वर्षदेखि विद्यालय कक्षा १२ सम्म सञ्चालनमा छ । दरबन्दीअनुसार विद्यालयमा ४ मावि, ३ निमावि, ३ प्रावि र २ जना प्लस टु तहका शिक्षक हुनुपर्ने हो तर अहिलेसम्म स्थायी दरबन्दीका शिक्षक दुई जना मात्र कार्यरत रहेको प्रधानाध्यापक रावतले बताए । उनका अनुसार विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म ६ सय ५२ विद्यार्थी अध्ययनरत छन् । स्थायी दरबन्दी नै नभएका कारण संघीय सरकारको अनुदानबाट माविका तीन र गाउँपालिकाको अनुदानबाट निम्न माध्यमिक तहका तीन जना शिक्षक भर्ना गरिएको छ । विद्यालयले निजी स्रोतबाट ५ जना शिक्षक भर्ना गरेको उनले बताए ।

विद्यालयमा अहिलेसम्म तीनवटा पक्की भवन छन् भने पर्याप्त कक्षाकोठाको अभावमा ११ र १२ का विद्यार्थीलाई बिहान र एकदेखि १० सम्मका विद्यार्थीलाई दिउँसो पढाउने गरिएको प्रअ रावतले बताए । ‘पर्याप्त शिक्षक तथा शैक्षिक सामग्रीको अभावका बाबजुद पनि विद्यालयमा कक्षा १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गरिरहेका छौं,’ उनले भने, ‘नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदा हाम्रा विद्यार्थीले राम्रो नतिजा हासिल गरिरहेका छन् ।’ शिक्षक र अभिभावकबीच सम्बन्ध प्रगाढ बनाउन मासिक रूपमा बैठक बस्ने गरिएको र बैठकको निर्णयअनुसार पठनपाठनलाई व्यवस्थित बनाउने गरिएको उनले जानकारी दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर थापाका अनुसार विद्यालयमा सौर्य ऊर्जामार्फत कम्प्युटर विषयको पठनपाठन भइरहेको छ । उनले विद्यालयमा पर्याप्त शिक्षक नहुँदा निजी स्रोतबाट भर्ना गरिएका शिक्षकलाई तलब खुवाउन वार्षिक करिब १३ लाख रुपैयाँ लाग्ने गरेको बताए । उनका अनुसार त्यो खर्च अभिभावकको सहयोगबाट जुटिरहेको छ । आगामी शैक्षिक सत्रदेखि प्राविधिक धारतर्फको पठनपाठन गराउन पहल थालिएको उनले बताए । उनले आगामी वर्षदेखि टाढाका विद्यार्थीलाई विद्यालयमा ल्याउन सजिलोका लागि बसको व्यवस्था गर्न प्रक्रिया थालिएको सुनाए ।

शिक्षक रामकुमार शर्माका अनुसार विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीका लागि बिहान र साँझ १/१ घण्टाको अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ । ‘विद्यार्थीलाई मूल्यांकन गर्न विभिन्न परीक्षालाई नियमित गरेका छौं,’ उनले भने, ‘एसईईका बेला ३ महिना विद्यार्थीलाई आवासीय व्यवस्था गरी पढाउने व्यवस्था गरिएको छ ।’ शिक्षकको मिहिनेतका कारण छोटो समयमा शैक्षिक गुणस्तरमा धेरै परिवर्तन आएको अभिभावक प्रेमबहादुर रावतले बताए । ‘पूर्वाधार र दक्ष जनशक्ति अभावका बीच पनि हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छन्,’ उनले भने, ‘विद्यार्थीको सिकाइ दर पनि बर्सेनि बढिरहेको छ ।’

प्रकाशित : आश्विन १४, २०८० १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?