मौलिक पहिरन मोह

काठमाडौँ — भक्तपुर ठिमीकी रोशनी चक्रधरले हाकुपटासी सानैदेखि लगाउने गरेकी हुन् । नेवार समुदायकी भएकाले पनि हाकुपटासी अनिवार्य भयो । तर, उनलाई अन्य समुदायको परिहनप्रति पनि उस्तै उत्सुकता थियो । सांस्कृतिक पहिरन औधी मन पराउने रोशनी अन्य समुदायका संस्कृतिको पनि उत्तिकै सम्मान गर्छिन् ।

‘हाम्रो समाज सांस्कृतिक रूपले विविधता छ,’ उनी भन्छिन्, ‘मिल्ने भए, सबै समुदायका पहिरन लगाएर फोटो खिच्दै फेसबुकमा राख्न मन लाग्छ ।’ उनी सांस्कृतिक विविधतामाथि गर्व गर्छिन् ।
केही समयअघि मात्रै उनले ब्राह्मण समुदायको संस्कृति झल्किने, गुन्यू, चोली र गरगहना लगाएर फोटो खिचाइन् । पेसाले स्टार्फ नर्स रोशनीले परम्परागत पहिरनमा सजिँदा राष्ट्रिय भाव महसुस हुने बताइन् । अन्यभन्दा युनिक देखिएन पनि सांस्कृतिक पहिरन रोजाइमा पर्ने गरेको उनले बताइन् । भक्तपुर क्यान्सर अस्पतालमा गएको वर्ष विश्व क्यान्सर दिवस पारेर रोशनी र उनका साथीले गुन्यू–चोली लगाई नृत्य पस्किए ।
हाकुपटासी जति सजिलो सस्तो हुँदै गएको छ, अरू संस्कृतिसँग जोडिइएका पहिरन तुलनात्मक रूपमा महँगो भएको उनले बताइन् । किनेर लगाउनुभन्दा पनि भाडामा किन्न सकिने सुविधा हुँदा कार्यक्रममा विभिन्न समुदायको संस्कृति झल्किने गहना र पहिरन उनको पहिलो रोजाइमा पर्छ । ‘सेर्पाको बक्खु, तामाङको लुंगी लगाएकी छु,’ उनी भन्छिन्, ‘पाए भने सबै समुदायका पहिरन लगाएर ट्राई गर्ने मन छ ।’
रोल्पाकी मुना विक घुमफिर गर्न रुचाउँछिन् । केही महिना दाङको तुलसीपुरस्थित गणेश पार्क घुम्न जाँदा रमाएको क्षण उनी क्यामेरमा कैद गरेर राख्छिन् । त्यहाँ उनको सबैभन्दा सम्झनायोग्य कुरा भनेको थारू पहिरन लगाएर खिचेका तस्बिरहरू थिए । मुनाका अनुसार पार्कमै विभिन्न संस्कृति झल्किने पहिरन लगाएर फोटो खिच्न पाउने व्यवस्था थियो । मगर, नेवारी, थारूलगायत समुदायका संस्कृति झल्किने पहिरन शुल्क तिरेर लाउन पाइन्थ्यो । उनको आँखा भने थारू पहिरनले खिच्यो ।
सेतो फरिया, कालो ब्लाउज र शिरदेखि पाउसम्मै थारूका गहना लगाएर मुनाले तस्बिर खिचाइन् । ‘एक घण्टा लुगा लगाएको सय रुपैयाँ तिरेर खिचाए,’ उनी भन्छिन्, ‘सबैले मलाई काटेकुटे थरूनी देखिइस् भन्दै जिस्क्याउँदै थिए ।’ प्रतितस्बिर १५ रुपैयाँ तिरेर तस्बिर खिचाएको उनले बताइन् । हुन त मोबाइल पनि राम्रो थियो उनीसँग । ‘तर प्रोफेसनल फोटोग्राफरले खिचेको तस्बिरको मज्जै बेग्लै,’ उनले भनिन् । मुनाले आन्तरिक पर्यटकको आकर्षण बढाउने तरिका सांस्कृतिक पहिरन बन्दै गएको बताइन् ।
मुना जस्तै, सांस्कृतिक पहिरन भनेपछि भुतुक्कै हुन्छिन्, शिला भण्डारी । गुल्मीदेखि अध्ययन गर्न काठमाडौं आएकी उनले मगर पहिरन र गुन्यू–चोली लगाइसकेकी छन् । ‘अब लाउने धोको हाकुपटासी हो,’ उनी भन्छिन्, ‘नेवार कल्चरमा निकै लोभिएकी छु ।’ उनले नेवार साथीसँग हाकुपटासी मागेर लगाएको बताइन् । ‘त्यसको बदलामा साथीलाई गुन्यू–चोली दिए,’ उनी भन्छिन्, ‘उसलाई मेरो कल्चरल ड्रेस मन पर्ने मलाई उसको ।’ स्नातक दोस्रो वर्ष अध्ययनरत शिलाले युवापुस्तामा सांस्कृतिक अन्तर घुल बढ्दै गएको बताइन् । एकअर्काको समुदायको आत्मीयता महसुस गर्न पहिरनदेखि सांस्कृतिक गतिविधिमा सरिक हुन युवापुस्ता मन पराउँछन् । उनी भन्छिन्, ‘अनेकतामा एकता भनेको यही हो ।’
सांस्कृतिक अन्तरघुलनको मनोभाव विकाससँगै युवापुस्तामा सांस्कृतिक पहिरनप्रति सम्मान बढ्दै गएको फेसन डिजाइनर शोभा गौतम बताउँछिन् । शंखमूलमा बुटिक सञ्चालन गर्दै आएकी उनले नेवारको हाकुपटासीसँगै तराईमा लगाउने लेंगा–चोलीदेखि थारू पहिरन, हिमालको शेर्पा पहिरन र तामाङ, मगर ड्रेस बनाउने डिमान्ड बढ्दै गएको सुनाइन् । ‘कल्चरल पहिरन विदेशमा बस्नेले बढी किन्छन्,’ उनी भन्छिन्, ‘अचेल यही नेपालमै बस्ने युवाले समेत अर्डर गर्न थालेका छन् ।’ सांस्कृतिक पहिरनमा महँगो बनाउनु हुँदैन । सजिलो र सुलभ बनाई आधुनिक शैलीमा पस्किन सके युवापुस्तामा मौलिक पहिरनमा मन लगाउन सकिने शोभाको बुझाइ छ ।
