तीजमा गुन्जिने विष्णु


कास्की — तीज जति नजिकिन्छ, उति नै चर्चाको शिखर चढ्ने गायिका हुन्, विष्णु माझी । अधिकांश नेपालीलाई विष्णुले तीजका लागि कस्तो गीत ल्याउलिन् भन्ने चासो निकै हुने गर्छ । कतिपयले त सामाजिक सञ्जालमार्फत ‘विष्णुको गीत सुनेपछि बल्ल तीज आएजस्तो लाग्ने’ प्रतिक्रिया दिएका छन् । खासमा, गुमनाम रहेर पनि नेपाली लोक तथा दोहोरी क्षेत्रमा राज गरेकी गायिका हुन् विष्णु ।


केही वर्षयता विष्णुले भूमिगत शैलीमा आफ्ना गीत सार्वजनिक गर्छिन् । उनी कुन समय स्टुडियो जान्छिन् र गीत रेकर्ड गराउँछिन् भन्ने पनि निकै कमैलाई मात्र थाहा हुन्छ । गीत ल्याउने तयारीबारे पनि थाहा हुँदैन । थाहा हुन्छ त केवल उनको गीत सार्वजनिक भएपछि मात्र । विष्णुले यस वर्षको तीजलाई लक्षित गरी ‘बलमा’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेकी छन् ।
बुटे चोली धोइछु, छुन्न नभन,
माइत जान्छु राजै, हुन्न नभन ।
हाइ मेरो बलमा
मीठो–मीठो गर्दै बात मायालु,
क्यारी काटौंला र रात मायालु ।
हाइ मेरो बलमा
सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलबाट आठ दिनअघि ‘बलमा’ गीत सार्वजनिक गरिएको हो । बिहीबार साँझसम्म गीतले ३६ लाख १० हजार भ्युज बटुलिसकेको छ । तर यस वर्ष उनको गीतले पहिलेजस्तो बजार तताउन भने सकेको छैन । तीज नजिकिएसँगै विगतका वर्षहरूमा जताततै विष्णुकै गीत घन्किन्थे । यस पटक भने पार्टी प्यालेस वा कार्यक्रमस्थलमा यो कमै सुनिने गरेको छ ।
गत वर्षको विष्णुको गीत ‘चरी जेलैमा–२’ ले भने तीज निकै तताएको थियो । गीतले चर्चा मात्रै होइन, निकै भ्युज पनि बटुल्यो युट्युबमा । उक्त गीत हालसम्म १ करोड १३ लाख पटकभन्दा बढी हेरिसकिएको छ । त्यसअघिको गीत ‘चरी जेलैमा’ भने ४ करोड ८७ लाखभन्दा बढी भ्युज छ ।
ए आमै जुरेन साइत जाम्ला भनेको,
मै छोरी माइत
ओम नम शिवाय ओम नमो नमो
जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुँदै रुँदै बेंसी मेलैमा
घरदेखि सवारीसाधन, पार्टी प्यालेस र गाउँका कार्यक्रमसम्म यिनै गीत घन्किने गर्थे । खासमा विष्णुका गीत सार्वजनिक भएपछि अन्य कलाकारका गीत छायामा पर्थे । पहिलेजस्तो चर्चा नभए पनि विष्णु भने गुमनाम रहेरै बजारमा आफ्नो स्वर सुनाइरहेकी छन् ।
जन्मघर स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाट हो विष्णुको । बाबु–आमाको निधन भइसकेको छ । दाइ र एक बहिनी छन् । दाइले गाउँमै मिस्त्री काम गर्छन् भने बहिनी गायन क्षेत्रमै छिन् । कक्षा ९ मा पढ्दै गर्दा घर छोडेकी विष्णु एक समय निकै चलिन् । गीत रेकर्ड गर्न र कार्यक्रममा गाउन भ्याइनभ्याइ थियो । तर कास्कीका कलाकार सुन्दरमणि अधिकारीसँग बिहे गरेयता भने गुमनाम छिन् । करिब चार वर्षअघि कान्तिपुरसँगको कुराकानीमा बुबा ताराबहादुरले कक्षा ९ मा अध्ययन गर्दागर्दै घर छाडेकी विष्णु घर नफर्केको बताएका थिए ।
बिहेपछि गुमनाम भएको विषयमा कान्तिपुरमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विष्णुलाई झिकाएको थियो । त्यसबेला सुन्दरमणि पनि विष्णुसँगै स्याङ्जा पुगेर तस्बिर खिचाएका थिए । विष्णुका बाबु, आमा, दाजु र भाउजू पनि प्रशासन कार्यालयमा पुगेका थिए । तर, विष्णुले भने माइती पक्षसँग बोलचाल गरेकी थिइनन् । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय नजिकै थियो । दुवै कार्यालय वारपार गर्दा सुन्दरमणि अघिअघि र विष्णु पछिपछि हिँड्थिन् ।
बाहिरी दुनियाँबाट अलग हुने आफ्नै खुसी रहेको उनीहरूको भनाइ थियो । दुई छोरा जन्मिएका र सानै भएकाले पनि घर बाहिर नहिँडेको विष्णु र सुन्दरमणिले प्रहरीलाई बताएका थिए । केही समयपछि सार्वजनिक हुने उनीहरूको प्रतिक्रिया थियो । तर, प्रहरी/प्रशासनलाई त्यसो भनेको पनि चार वर्ष नाघिसक्यो । विष्णु मात्र होइन, सुन्दरमणि पनि गुमनाम नै छन् ।
विष्णुका गीतमा छुट्टै आवाज हुने बताउँछन् नेपाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बीजी । बाल्यकालदेखि नै गायन क्षेत्रमा लागेकी विष्णु विभिन्न लोकदोहोरी प्रतियोगिता कार्यक्रममा भाग लिन्थिन् । त्यस्ता कतिपय प्रतियोगिताको निर्णायक रूपमा हुन्थे रमेश । सानैदेखि उनको आवास सुन्दै आएका रमेशले विष्णु लोकदोहोरी क्षेत्रमै पहिलो स्थानमा रहेको दाबी गर्छन् । ‘भगवान्ले विष्णुलाई गीत गाउनैका लागि जन्माएका हुन्,’ उनी भन्छन्, ‘तर, आफ्नो महत्त्व उनले बुझ्न सकिनन् जस्तो लाग्छ ।’ रमेशले माझीसँग भेट नभएको सात वर्ष पुगेको बताए ।
‘अनुहार पनि बिर्सने बेला भयो,’ उनले भने, ‘वर्षमा एक पटक गीतमा स्वर सुन्न पाइन्छ, त्यति हो । अहिले अत्तोपत्तो छैन ।’ उनले विष्णु बस्ने स्थान पनि थाहा नभएको बताए । एउटै जिल्लावासी भएकाले पनि विष्णुको चासो र चिन्ता लाग्ने रमेश बताउँछन् । लोकदोहोरी गायक शिव हमालले केही समयअघि भनेका थिए, ‘विष्णु माझीको जत्तिकै स्वर अहिलेसम्म कसैको छैन । त्यस्ता कुनै कलाकार नै छैनन् ।’
गायिका माझी र सुन्दरमणिको अहिले पनि प्रतिष्ठानमा निकै चर्चा हुन्छ । रमेशले आफूले अध्यक्ष हुँदा उनलाई खोज्नका लागि निकै पहल गरे पनि असफल भएको बताए । ‘कान्तिपुरमा समाचार आएपछि हामीले पनि सुराकी लगाएर खोजेका थियौं,’ उनले भने, ‘तर, दुवै जनालाई भेटाउन सकेनौं । प्रहरीले स्याङ्जामा झिकायो तर काठमाडौंमा भेटाइएन ।’ विदेशमा पनि विष्णुको माग बढी छ । ‘विदेशमा साथीहरू देख्न मात्र पाए हुन्थ्यो भन्छन्,’ रमेशले थपे । उनले सुन्दरमणि भेटिए मात्र विष्णुलाई भेटाउन सकिने बताए ।
‘उनी जिउँदी छन् कि छैनन् भन्ने प्रश्न पनि नउठ्ने होइन,’ एक सर्जक भन्छन्, ‘ऊ भगवान् हुन् कि मान्छे ? जिउँदो छ भन्ने प्रमाण पनि छैन । माइतीमा बाबुआमा छैनन् । खोजी कसले गर्ने ?’ एकै पटक लामो गीत रेकर्ड गरी बर्सेनि टुक्रा–टुक्रा बजारमा ल्याएको पनि हुन सक्ने उनको भनाइ छ ।
विन्ध्यावासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी भने सार्वजनिक हुन नखोज्नु विष्णुको पनि कमजोरी मान्छन् । कलाकार मान्छे पहिलेको जस्तो समय नभएको बताउँदै उनले इच्छा भएदेखि कसैको अवरोध हुन नसक्ने बताए । ‘सुन्दरमणिले रोकेको भए पनि लडाइँ गरेर बाहिर आउन सक्नुपर्छ,’ उनले भने, ‘अधिकारका लागि लड्न नसक्ने हो भने क्षमता भएर पनि गुमनाम हुनुको विकल्प छैन ।’ समस्या सुन्दरमणिकै कारण भएको उनको दाबी छ ।
‘आफूले जति पैसा कमाउँछिन् । तर, भोगचलन गर्न पाउँदिनन्,’ निर्देशक रेग्मी भन्छन्, ‘कुन गीतमा कति पैसा दिने भन्ने सहमति सुन्दरमणिसँग नै गर्नुपर्छ । गीतको फाइनल पनि उनले नै गर्ने हुन् ।’ विष्णु स्टुडियो पुग्छिन्, स्वर दिन्छिन् अनि फर्किहाल्छिन् । सुन्दरमणिले विष्णुलाई एक्लै हिँड्नसमेत नदिने गरेको रेग्मीको दाबी छ । ‘विष्णुलाई सार्वजनिक गर्न निकै पहल गरियो तर सकिएन । क्षमतावान् कलाकारको खोजी राज्यतर्फबाट नै गर्नुपर्छ,’ उनले भने ।
विष्णुलाई युट्युबमा पनि देख्न पाइँदैन । घाँटीमा माला लगाएको एउटा पुरानो फोटो छ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा खिचिएको घुम्टोभित्रको अर्को फोटो । उनका अनुसार कलाकारले समेत विष्णुलाई भेट्न पाउँदैनन् । कलाकारको क्षेत्रमा काम गर्ने बहानामा गठित विभिन्न संघसंस्था पनि यस विषयमा मौन रहेको सुवासको भनाइ छ । ‘उनी हाम्री चेली हुन् । उनको नाम हामीसँग जोडिएको छ,’ रेग्मी भन्छन्, ‘अरूलाई भन्दा हामीलाई बढी पीडा छ ।’
प्रकाशित : भाद्र २९, २०८० ११:४८