काठमाडौँ — काठमाडौंको आईईसी कलेज (कलेज अफ आर्ट एन्ड फेसन) का विद्यार्थीले मंगलबार इन्टेरियर डिजाइनिङसम्बन्धी प्रदर्शनी गरेका छन् । कलेजका अन्तिम वर्षका विद्यार्थीले ललितपुरमा गरेको ‘आईईसी इन्टेरियो स्किमा एक्सआईआई’ कार्यक्रममा ३९ जना विद्यार्थीले बनाएका मोडल प्रदर्शन गरिएको थियो ।
परियोजना सार्वजनिक तथा व्यावसायिक केन्द्र निर्माणको अवधारणामा तयार पारिएको हो । प्रदर्शनीमा राखिएका डिजाइनमा पुस्तकालय, रिसोर्ट, फार्म हाउस, ट्याटु स्टुडियो, कपडा हब, सिनेमा हललगायत समावेश छन् । त्यसका साथै, विभिन्न किसिमका इन्टेरियर डिजाइनिङ मोडल, प्रोडक्ट डिजाइन, स्टुडेन्ट्स पेपरवर्क, स्मार्ट फर्निचरहरूसमेत प्रदर्शनीमा राखिएका थिए ।
सर्वसाधारणमा इन्टेरियर डिजाइनिङका सिद्धान्त र प्रयोगबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको कलेज प्रशासनले जनाएको छ । सन् २०११ देखि नियमित रूपमा गरिँदै आएको कार्यक्रमको उद्घाटन नेपाल महिला उद्यमी महासंघकी पूर्वअध्यक्ष नीरु रायमाझीले गरेकी थिइन् । कार्यक्रममा पूर्वमिस नेपाल तथा आर्किटेक्ट श्रृंखला खतिवडा र अभिनेत्री स्वस्तिमा खड्कालगायतको उपस्थिति थियो ।
