हस्पिटालिटीमा जम्दै युवा

भाद्र १९, २०८०

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवासमा जन्मेहुर्केकी आस्था भट्टराईलाई सानैदेखि पेन्टिङ र फेसन सोमा निकै रुचि थियो । बर्दिवास–१ स्थित ग्लोबल स्कुलबाट १२ कक्षाको अध्ययन सकेपछि अस्ट्रेलिया जाने तयारीमा थिइन् उनी । तर छोरी नेपालमै बसेर केही गरोस् भन्ने चाहना थियो परिवारको । अन्ततः परिवारको मायाले जितेपछि उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिवासमा ‘ब्याचलर इन हस्पिटालिटी म्यानेज्मेन्ट’ पढ्ने निधो गरिन् ।

‘आर्टमा निकै रुचि थियो, कलेजको कोर्सअन्तर्गत फुड आर्टमा मेरा चाहना पूरा भइरहेका छन्,’ उनले भनिन् । अहिले बर्दिवासमा अडिसन चलिरहेको बर्दिवास फेसन सो तेस्रो सिजनको सहसंयोजकको जिम्मेवारीसमेत पाएकी छन् आस्थाले । एलएन्डएन मोडल एजेन्सीले बर्दिवासमा प्रत्येक वर्ष आयोजना गर्ने फेसन सोमा बर्दिवाससहित मधेश प्रदेशका फेसन सोप्रति रुचि हुने सयौं व्यक्तिको सहभागिता हुने गरेको छ । फेसन सोका आयोजकको आग्रहपछि पढाइबाट अतिरिक्त समय निकालेर आफ्ना सपना पछ्याउन थालेको आस्थाको भनाइ छ । 

पहिलो सिजनमा सहभागी भएकी आस्था आयोजकको प्रस्तावअनुसार यस वर्ष सहसंयोजक बनेकी हुन् । सम्भावना र क्षमताका कारण उनलाई सहसंयोजक चयन गरेको आयोजक संस्थाका प्रमुख सुदर्शन काफ्लेले बताए । हाल दोस्रो वर्षमा अध्ययनरत आस्थाले नाथमबाट निर्धक्क भएर मिठो बोल्न, अनुशासित रहन, होटल टुरिजम, फुड आर्ट, सरसफाइ, नेतृत्व विकास जस्ता शिक्षा प्रयोगात्मक विधिबाटै सिकेर आफू अघि बढेको बताइन् । ‘हामीले व्यावहारिक जीवनमा लागू हुने शिक्षा पढ्न जरुरी रहेछ,’ उनले भनिन् । 

सर्लाहीका संस्कार फुयाल पढाइको सिलसिलामा बर्दिवासमा छन् । विदेश जाने योजना थाती राखेर नाथममा पढाइ सुरु गरेका संस्कारले कक्षाकोठामा पढेका कुरा व्यवहारमा लागू गर्ने चाहना बढेपछि काम सुरु गरे । बर्दिवासमा यूएन्डमी बर्गर हबका व्यवस्थापकीय म्यानेजर भएर हबलाई अघि बढाउन पढाइले निकै मद्दत गरेको उनको अनुभव छ । 

नाथमको प्रयोगात्मक पढाइले ग्राहकहरूसँग गर्ने कुराकानी, व्यवहार र आन्तरिक व्यवस्थापनमा निकै सघाउ पुगेको बताउँछन् संस्कार । त्यसका साथै, होटल म्यानेज्मेन्ट र हस्पिटालिटीको पढाइले देशभित्रै आफ्नो भविष्य उज्ज्वल देख्न थालेको उनले बताए । नाथमबाट प्रयोगात्मक शिक्षाका लागि एक वर्ष बाहिरी देशमा जानुपर्ने भए पनि फर्केर देशभित्रै व्यवसाय गर्ने संस्कारको योजना छ । 

निराजनकुमार कुशवाह

आस्था र संस्कारजस्तै पछिल्लो समय हस्पिटालिटीमा भविष्य खोजिरहेका युवा हुन्, निराजनकुमार कुशवाह । खाना बनाउने, सर्भिस गर्ने, व्यक्तिगत आचरण र नेतृत्व क्षमता बढाउने जस्ता व्यावहारिक शिक्षा पाएकै कारण पढाइसँगै आफ्नो बुबाको पेसा सम्हालेका छन् उनले । बर्दिवास–१४ का निराजनले पछिल्लो समय बुबा उमेशकुमारको व्यवसाय दीपक पार्टी प्यालेस व्यवसाय धानेका छन् । ‘मैले व्यवसाय हेर्नै परेको छैन । छोराले नयाँनयाँ आइडिया ल्याइरहन्छ र व्यवसाय उसैको अग्रसरतामा फस्टाइरहेको छ,’ उमेशले भने । 

पढाइ र बुबाको पेसा मिल्दो भएकाले पनि हरेक दिन पढेका कुरा पेसामै गएर प्रयोगात्मक परीक्षण आफूले गर्ने गरेको निराजन बताउँछन् । ‘युवाहरू देशमा सम्भावना देखिरहेका छैनन्,’ निराजनले भने, ‘मलाई सम्भावना खोजिरहनुपरेको छैन, गरेर देखाउने अवसर पाएकाले राम्रो गर्ने प्रयास गरिरहेको छु ।’ देशमै राम्रो सम्भावना भएकाले सफल व्यवसायीको पहिचान बनाउने उद्देश्यले पढाइ र कामलाई मुस्किलले सँगै अघि बढाइरहेको उनको भनाइ छ । 

बर्दिवासमा २०७७ मा स्थापना भई २०७९ बाट पठनपाठन सुरु भएको नाथम प्रतिष्ठानमा पहिलो वर्ष १७ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये अधिकांशले वैदेशिक यात्राको योजना छाडेर प्रतिष्ठानमा जोडिएका प्रतिष्ठानका प्रमुख शिवेन्द्र मल्लिकको भनाइ छ । विद्यार्थीलाई नाथमले ब्याचलर इन हस्पिटालिटी म्यानेज्मेन्ट र होटल ट्राभल एन्ड टुरिजम विषय आधुनिक र प्रयोगात्मक विधिबाट पढाइरहेको उनको दाबी छ । वर्षमा ४० विद्यार्थीको सिट संख्यामा आवेदन खुल्ने भए पनि दोस्रो वर्षबाट चाप निकै बढ्ने देखिएको मल्लिक बताउँछन् ।

युवा ग्यालरी

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully