बन्दीपुरबाट झरेका नेवार समुदाय बढेसँगै बल्ल चितवनमा बाघजात्रा सुरु भएको हो । सुरूमा जात्रामा बाघ बनेर नाच्ने मान्छे कोही नभएपछि बन्दीपुरबाटै ल्याउनुपरेको थियो । तर यसपालिदेखि भने नारायणगढकै युवा राजु परियारले बाघ बनेर नाचेका छन् ।
चितवन — बाघ बनेर नाँच्दै बजारबजार डुल्नु सहज हुने कुरै भएन । तर पनि शरीर फुर्तिलो भए केही सहज हुन्छ । कारण, नाँच्दै डुल्दा श्वास फुल्दैन । नेवार समुदायको बाहुल्य रहेको तनहुँको पहाडी गाउँ बन्दीपुरमा बाघ आक्रमणबाट जोगिन बाघ जात्रा निकाल्ने चलन बस्यो ।
बन्दीपुरबाट बसाइँ सरेर नारायणगढ आएका नेवार समुदायले पनि बाघजात्रा निकाल्न बिर्सेनन् । चितवन देशमै सबैभन्दा बढी बाघ पाइने क्षेत्र हो । तर जात्रामा बाघ बनेर नाच्ने मान्छे भेट्टाउन भने यहाँ गाह्रो भयो । चितवनमा बाघले आक्रमण गरेर मान्छे तथा चौपाया घाइते बनाउने र ज्यानै लिने घटना बर्सेनि हुन्छन् । तर बन्दीपुरमा जात्रा निकालेर बाघबाट जोगिन खोजे जस्तो उपाय चितवनमा कस्ले लगाउने ? बन्दीपुरबाट आएकाहरूका घर बाक्लिँदै र परिवार फैलँदै गएपछि बल्ल यहाँ पनि सुरु भयो बाघजात्रा । बाघले भरिपूर्ण जिल्ला भनेर के गर्नु जात्रामा बाघ बनेर नाच्ने मान्छे भने उतै बन्दीपुरबाटै ल्याउनुपर्ने बाध्यता रह्यो । तर यो क्रम भंग भएको छ । यो वर्ष बाघ बनेर नाच्न यही नारायणगढकै एक युवा तयार भए ।
भरतपुर महानगरपालिका–१ दियालोरोड नारायणी पथका ३६ वर्षीय राजु परियार बाघ बनेर नाँच्दै बजार डुल्ने भएपछि जात्रा आयोजकलाई ठूलो राहत भएको छ । ‘नभए बाघ बन्ने मान्छे लिन उही बन्दीपुर नै पुग्नु पर्दथ्यो,’ जात्रा आयोजक संस्था लोकसंस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठानका अध्यक्ष निर्जनलाल श्रेष्ठले भने । राजु नारायणगढमै जन्मेहुर्के । तर उनले जान्ने भएदेखि बजारमा बाघ जात्रा निस्केको देखेका छन् । ‘अहिले ठूलो १२/१४ वर्षको भएपछि बाघ लखेट्न पछिपछि दौडने कुकुरको अभिनय पनि गर्दै कुद्न थाल्यौं । यो जात्रामा धेरै अगाडिदेखि रस बसेको हो,’ राजुले भने । तर बाघ नै बनेर जात्राको मुख्य आकर्षण भइएला भनेर उनले सोचेका थिएनन् । निर्जनलाल बाघ बन्नुपर्यो भन्दै जाँदा उनले झट्ट निधो दिन पनि सकेनन् ।
बाघको मुखौटा र बाघको छाला जस्तो पोसाक लगाएर बाघ जस्तै चार हातखुट्टाले टेकेर, बाघकै चालमा बजार डुल्नुपर्दछ । घरी घरी नाच्ने, उफ्रने, आक्रमण गर्न आउने सिकारी र कुकुरलाई छल्ने, जाइ लाग्ने पनि गर्नुपर्छ । त्यसैले यो मिहिनेतको काम हो । उमेरले युवा, स्वस्थ र फुर्तिलो पनि हुनुपर्यो । कराते खेल्ने गरेका राजुले निर्जनलालबाट आएको प्रस्ताव स्वीकार गरेर भोलिपल्टै बाघ बन्न तयार रहेको निर्णय सुनाए । राजुको निर्णय सुनेलगत्तै आयोजकले उनलाई तालिममा खटाए । बन्दीपुर पुर्ख्यौली थलो भएका महेन्द्र श्रेष्ठले महिना दिन तालिम दिएर राजुलाई तयार गराएका हुन् । ‘तालिम नै कष्ट भयो नि । तिघ्रा घुँडा, कम्मर सप्पै चलाउनुपर्दछ । यी सप्पै अंग दुखेर करकर हुन्छ,’ राजुले भने । तर सप्पै दुःख बिर्सेर सोमबार साँझ राजु बाघजात्राको यात्रामा निस्के । दुई घण्टा जस्तो बाघ बनेर उनले जात्राको मर्म र उल्लासलाई जोगाए ।
नेवारी बाजा ढोलक (ढल्की) तीनवटा र दुईवटा झ्याली (भुचे) बच्दा आउने झ्याइँझ्याइँको आवाजमा ताल मिलाउँदै नारायणगढको पोखरा बसपार्कबाट बाघ अघि लाग्यो । र, उसको पछि लागे राजारानीको रूप लिएका र मन्त्री बनेका मान्छेहरू । टोलीमा सिकारी छुट्ने कुरै भएन । सिकारीका पछाडि सिकार खेद्ने कुकरहरू पनि कुदे । बाघ मार्न जानु छ, केही दुर्घटना भए उपचार गर्न डाक्टर, नर्स पनि साथ लाग्ने नै भए । झकिझकाउ यस्तो झाँकीको पछिपछि अन्य सर्वसाधारण हाँस्दै रमाउँदै हिँडे । ‘यस्तै जात्रा निकालेर बन्दीपुरमा परापूर्वकालदेखि हाम्रा पुर्खाले बाघबाट जोगिने उपाए लगाएका थिए,’ निर्जनलालले भने । बन्दीपुरमा बाघ आउँथ्यो कि चितुवा मेसो भएन । अहिले त्यो पहाडी इलाकामा बाघ बस्दैन । त्यो बेलामा पनि चितुवा नै आउँथ्यो कि ? बन्दीपुर बस्दासम्म निर्जनलालले शरीरमा पाटा भएको बाघ हैन, थोप्ला भएको चितुवा नै देखेका थिए ।
हाल ६६ वर्षका भएका निर्जनलाल विसं २०३२ सालदेखि नारायणगढमा बस्दै आएका छन् । बन्दीपुरकै जस्तो बाघजात्रा उनी आउँदा चितवनमा पनि निस्कन्थ्यो । सायद ०२२/२४ सालदेखि नै नारायणगढमा बाघजात्रा निस्कन लागेको उनको भनाइ छ । पछिल्ला वर्षहरूमा सामाजिक संस्था राइनो क्लबले नारायणगढमा बाघ जात्रा निकाल्थ्यो । गत वर्षदेखि राइनो क्लब सहआयोजक रहेर प्रतिष्ठानले बाघजात्रा निकाल्न सुरु गरेको हो । ‘मान्छेहरू आफ्नै पेसा व्यवसायमा व्यस्त हुँदा जात्रा पर्व कायम राख्न समय दिन नभ्याउने भए । नारायणगढमा ०६४ सालदेखि हामीले लाखे नाच प्रतियोगिता गर्दै आएका छौं । गतवर्ष सल्लाह भयो र बाघजात्रा पनि निकालौं न भन्ने भयो,’ निर्जनलालले भने । बन्दीपुरमा बाघजात्रा दुई दिन निस्कन्छ । जनैपूर्णिमाको भोलिपल्ट पर्ने गाईजात्राको चौथो र पाँचौं दिन बन्दीपुरमा बाघजात्रा निस्कने चलन रहेको उनले बताए । बन्दीपुरमा अघिल्लो दिन बाघ नचाउँदै बजार डुलाइने गरिन्छ । भोलिपल्ट बाघलाई राजारानी, मन्त्रीहरू (अभिनय गरेकाहरू) को रोहबरमा बजारमा मारेर बाघजात्राको अन्त्य गरिन्छ । ‘दुवै दिन साँझपख जात्रा निस्कन्थ्यो । मध्यरातसम्म जात्रा चल्थ्यो,’ बन्दीपुरमा जन्मेर ०४६ सालपछि नारायणगढमा बस्दै आएका राजेन्द्र पियाले भने ।
बाघजात्रा बन्दीपुरमा सुरु भएर त्यहीँबाट बसाइ सरेकाले नारायणगढमा पनि गर्दै आएको निर्जनलाल श्रेष्ठ बताउँछन् । गाईजात्रापछि आयोजना हुने बाघजात्रा बन्दीपुर र नारायणगढबाहेक अन्यत्र खासै नहुने उनको दाबी छ । ‘बन्दीपुरमा दुई दिन भए पनि यहाँ बाघको मुखौटा, पोसाक र बाघ बन्ने मान्छे नै नपाइने र यी चिज पनि बन्दीपुरबाटै ल्याउनुपर्ने भएकाले सुरुदेखि नै दुई दिन बाघ जात्रा गर्न सकिएन,’ निर्जनलालले भने । बाघ मार्ने दिन गाईजात्रापछिको पाँचौं दिन पर्ने हुँदा त्यी दिन नारायणगढमा बाघजात्रा निस्कँदै आएको श्रेष्ठले बताए । पछिल्ला वर्षहरूमा बाघ नमारेर बेहोस बनाउन डार्ट गरी निकुञ्जलाई बुझाएको अभिनय गरी जात्रा समापन गर्ने गरेको उनले बताए । ‘बाघ त जोगाउनुपर्दछ । बाघ मारे १५ वर्ष जेल हुन्छ । त्यसैले जात्रामा पनि बाघ नमारेर बेहोस बनाएर निकुञ्जमा बुझाउने अभिनय गर्दछौं,’ निर्जनलाल श्रेष्ठले भने ।
नेवार समुदायको बाहुल्य रहेको बन्दीपुरको बाघजात्राको मुख्य पक्ष बाघ बन्न दलित भनिने समुदायका राजु परियार अग्रसर भए । निर्जनलाल श्रेष्ठ यो जात्रा कुनै खास जातिको नभएको बताउँछन् । ‘बन्दीपुरमा पनि नेवार मात्रै कहाँ थिए र ? मगर र दलित बस्ती पनि बाक्लै थियो । बाघले आएर सबैभन्दा पहिला बाख्रा, बोका तान्ने भनेको दलित समुदायको खोरबाट नै थियो,’ उनले भने । त्यसैले बन्दीपुरमा पनि सबै समुदाय जात्रामा सहभागी हुन्थे । बन्दीपुर बजारको पश्चिमतर्फ छ गुरुन्चे डाँडा । जंगलबाट त्यही डाँडा हुँदै बाघ गाउँ छिर्ने गर्दथ्यो । बाघजात्रामा बाघ नाचेको हेर्न रात परेपछि बाघ नै गुरुन्चे डाँडामा आउने गरेको बूढापाकाले बताउने गरेको निर्जनलाल श्रेष्ठले सुनाए ।
‘बाघले दुःख दिएपछि के गर्ने त भन्दा यसरी जात्रा देखाउँ भन्ने चलन बसेको हो । जात्रा गरेपछि बाघले दुःख दिँदैन भन्ने मान्यता बस्यो । यसले बाघलाई दुःख दिने हैन जोगाउने नै काम गर्यो,’ उनले भने । बाघजात्राले मान्छे र वन्यजीवको पुरानो सम्बन्ध उजागार गर्ने र एकअर्कामा कसरी मिलेर बस्न सकिन्छ भन्ने विधिका बारेमा विमर्श गर्न प्रेरित गर्ने श्रेष्ठको भनाइ छ । ‘यो संरक्षणसँग जोडिएको संस्कृति हो । त्यसैले हामीले यसलाई निरन्तरता दिन खोजेको हो । चितवनमा बाघ पनि बढेका छन् । बाघका आक्रमण पनि बढेका छन् । यस्ता जात्राहरूले संरक्षण र आक्रमणका बारेमा विमर्श गर्ने वातावरण बनाउँछ,’ श्रेष्ठले भने ।
चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा नेपालमै सबैभन्दा धेरै बाघ पाइन्छ । गत वर्ष सार्वजनिक नतिजाअनुसार देशभर ३५५ बाघ रहेकोमा चितवनमा सबैभन्दा धेरै १२८ बाघ छन् । बाघको आक्रमणको घटना पनि उल्लेख्य हुने गरेको छ । दुई वर्षअघि चितवन र यस आसपासमा बाघले आक्रमण गर्दा १४ जनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए ।
