सडकमा जोखिम हवाई सेवामा हैरानी

सडक यातायात सहज नभएका हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालीकोटलगायत क्षेत्रमा हवाई कम्पनीले विभिन्न बहाना बनाएर नियमित उडान नगर्दा स्थानीय मर्कामा

भाद्र ५, २०८०

कृष्णप्रसाद गौतम

सुर्खेत — साउन तेस्रो साता हुम्लाको सिमकोट गाउँपालिकाका चार बालकको जिल्ला अस्पतालमा उपचार भइरहेको थियो । अवस्था गम्भीर देखिएपछि स्वास्थ्यकर्मीले जिल्ला बाहिर सुविधासम्पन्न अस्पताल लैजान सुझाए । तर अभिभावकले तत्कालै बाहिर लैजान सकेनन् । उपचार अभावमा सबैको ज्यान गयो ।

‘हामीले स्रोत साधनले भ्याएसम्म प्रयास गर्‍यौं । नसकिने भएपछि सुर्खेत वा नेपालगन्ज लैजान भनेका थियौं,’ जिल्ला अस्पताल हुम्लाकी सूचना अधिकारी अनमी सरिता बोहराले भनिन्, ‘तुरुन्तै लैजान सकेनन्, ढिलो हुँदा बचाउन सकिएन ।’ 

सिमकोट गाउँपालिका–६ का ६ महिने बालक इमरान सुनार, सिमकोट–७ का ७ महिने रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिने आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुहारले उपचार अभावमा ज्यान गुमाउनुपर्‍यो । शाही र सुनारलाई झाडापखाला थियो भने परियार निमोनिया र लुहार कुपोषणले ग्रसित थिए । चारै जना नाबालकले ज्यान गुमाउनुको पहिलो कारण त उपचार हुन नसक्नु नै थियो । दोस्रो, रेफर गरिएका उनीहरूलाई तत्काल सहरको अस्पताल लैजान हवाई सेवा नहुनु बन्यो । ‘एक त जहाजको पहिलेजस्तो नियमित उडान छैन, चले पनि टिकट पाउनै गाह्रो छ,’ मृतक इमरानका बुबा सुरज सुनारले दुखेसो गरे, ‘समयमै बाहिर लैजान नसक्दा छोरा गुमाउनुपर्‍यो ।’ 

अहिले कर्णालीका हिमाली जिल्लामा पर्याप्त चामल छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सबै जिल्लामा चामल बिक्री रोकेको छ । हुम्लामा ६ सय ५० क्विन्टल चामल मात्र मौज्दात भएपछि आपत्कालीन अवस्थाका लागि भन्दै बिक्री रोकेको हो । हुम्लाका लागि कम्तीमा २ हजार ५ सय क्विन्टल चामल मौज्दात हुनुपर्छ । ‘हुम्लाका लागि रोग, भोक, जीवन, मरण सबैमा हवाई सुविधा जोडिएको छ,’ स्थानीय अगुवा विजय लामाले भने, ‘एक दिन उडान नभए पनि हामी सबैखाले सम्बन्धबाट विच्छेद हुन्छौं ।’ 

हुम्लामा पछिल्लो साता जम्मा ५ उडान मात्र भए । जबकि, एक महिनाअघि सातामै ४० वटासम्म उडान भएका थिए । सडक सुविधा नहुँदा स्थानीयले चार्टर उडानमा १४ हजार ९ सय र नियमित उडानमा ९ हजार २ सय १५ रुपैयाँ भाडा तिरेरै भए पनि हवाई यात्रा गर्न बाध्य छन् । तर पछिल्लो समय उडानमा उल्लेख्य कटौती हुँदा त्यही हवाई यात्रा पनि मुस्किल परेको छ, हुम्लीका लागि । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार सडक सञ्जालमा नजोडिएको हुम्लामा एक साता मात्रै उडान नभए दैनिक उपभोग्य सामग्री र खाद्यान्नको हाहाकार पर्छ । 

प्रतिकूल मौसमको कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १५ देखि मध्याह्न १२ बजेपछि सिमकोट विमानस्थलमा व्यावसायिक उडानमा प्रतिबन्ध लगाएको छ । व्यापक विरोधपछि निर्णयलाई केही खुकुलो बनाए पनि कर्णालीका हिमाली जिल्लामा उडान नियमित भने छैन । ‘वर्षा र हिमपातका बेला उडान अवरुद्ध भएको भयै हुन्छ,’ सिमकोटका हस्तबहादुर रोकायाले भने, ‘कुनै ठूलो दुर्घटना भए वा जटिल बिरामी भए जहाज कुर्दाकुर्दै ज्यान जान्छ ।’ 

अर्को हिमाली जिल्ला डोल्पामा २६ दिनपछि गत बुधबार एउटा मात्र उडान भयो । गत शुक्रबार तारा र समिट एयरका जहाज अवतरण भए । तर यहाँको जुफाल विमानस्थलमा दैनिक सरदर १ सय यात्रु हवाईजहाजको पर्खाइमा हुने गर्छन् । पर्याप्त उडान नहुँदा पालो पर्खाइ लामो बन्ने गरेको छ । ‘उपचारलाई बाहिर जाने बिरामी र अत्यावश्यक काम हुनेहरू मात्र हुँदा पनि उड्न पाएका छैनन्,’ विमानस्थल नजिकै होटल व्यवसाय गरिरहेका चक्रबहादुर बुढाले भने, ‘दिनभर टिकट पाइन्छ कि भनेर विमानस्थल जान्छन्, साँझ निन्याउरो हुँदै फर्कन्छन् ।’ एक महिनाअघिसम्म समिट एयरको नेपालगन्ज–हुम्ला दैनिक उडान हुन्थ्यो भने तारा र सीता एयरले सातामा कम्तीमा ५/५ उडान भर्थे । नेपाल वायु सेवा निगमले एक महिनादेखि उडान भरेको छैन । 

डोल्पामा सडक सुविधा भए पनि भरपर्दो छैन । भेरी करिडोरअन्तर्गत जाजरकोट–दुनै खण्डमा यातायात चले पनि विभिन्न खोला र भेरी नदीमा पुल नहुँदा यात्रुलाई ठाउँ–ठाउँमा गाडी फेर्नुपर्ने बाध्यता छ । ‘सडक यातायातको जोखिम र सास्ती उस्तै छ । एक त, कच्ची सडक त्यसमा पनि वर्षायाम,’ डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले भने, ‘यस्तो सडकमा पहिरो र हिलो पन्छाउँदै ५/६ पल्ट गाडी फेर्दा यात्रा कस्तो होला ?’ हवाई यात्राको अवस्था पनि महँगो हुँदाहुँदै भरपर्दो पनि छैन । ‘एक त जहाज नै नियमित चल्दैनन्, त्यसमा पनि चार्टरका नाममा लुट छ,’ काइके गाउँपालिकाका मनोज बुढाले भने, ‘न गाडी भरपर्दो, न त प्लेन नै, हामीले आउजाउमै ठूलो सास्ती भोगिरहेका छौं ।’ 

मुगुस्थित रारा विमानस्थलमा पनि जहाज भरपर्दो छैन । पछिल्लो साता ४ वटा मात्र उडान भएको विमानस्थल प्रमुख सन्तोष गौतमले बताए । उनका अनुसार साउन १५ अघि दैनिक ८ वटासम्म उडान हुन्थे । ‘जहाज नहुँदा धेरैजसो अहिले गाडीमै यात्रा गर्न बाध्य छन्,’ उनले भने, ‘नियमित उडान भएको भए दैनिक सय जनासम्म यात्रु हुन्थे ।’ यसअघि समिट, तारा र सीताले मुगुमा दैनिक २/२ वटासम्म उडान भर्ने गरेका थिए । मुगुबाट ७ हजार ४ सय २० रुपैयाँ हवाई भाडा तोकिएको छ । 

नेपाल एयरलाइन्सले आइतबार र सोमबारलाई उडान तालिका तोकेको भए पनि नियमित छैन । कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र जुम्लामा अहिले यात्राका लागि जहाजकै भर छ । सुर्खेत–जुम्ला जोडिएको कर्णाली राजमार्ग ‘सिंगल लेन’ को हुँदा स्थानीयलाई जहाजकै भर पर्नुपरेको नागरिक अगुवा दुर्गाप्रसाद सापकोटा बताउँछन् । ‘वर्षायाममा पहिरोले गाडी नरोकिएको र हिलोले नफसेको दिन हुँदैन, एउटा गाडी रोकिँदा घण्टौं जाम हुन्छ,’ उनले भने, ‘५ वर्षअघि गरिएको राजमार्गको कालोपत्र पूरै उप्किएपछि हिउँदमा पनि धुलाम्मे हुन्छ ।’ 

यहाँको अर्को हिमाली जिल्ला कालीकोटमा विमानस्थलमा लामो समयदेखि उडान ठप्प छ । दैलेख, जाजरकोट, सल्यानमा भने विमानस्थल नै छैनन् । रुकुम पश्चिममा चौरजहारी र सल्ले गरी २ विमानस्थल भए पनि चौरजहारीमा लामो समयदेखि उडान हुन सकेको छैन । ‘न सडक गतिलो छ, न प्लेन नै आउँछ,’ मुगु गमगढीका रत्नबहादुर शाहीले भने, ‘कोही जटिल बिरामी भइहाले ज्यान गुमाउनुको विकल्प छैन ।’ नाग्मा–गमगढी सडक कालोपत्र नहुँदा बर्सेनि जीर्ण बन्दै गइरहेको छ । यहाँ सडक दुर्घटनामै २ वर्षमा ४० जनाले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

'माथिल्लो कर्णालीमा भरपर्दो यातायात नै हवाई सेवा हो, तर कहिले प्राधिकरणको नियम, कहिले मौसम त कहिले निजी जहाजका मनपरीले वर्षौंदेखि सास्ती भोगिरहेका छौं'

कर्णालीमा अझै पनि गर्भवती र सुत्केरी उद्धारका लागि हेलिकोप्टर ‘रेस्क्यु’ कै भर छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती र सुत्केरीको उद्धार भइरहेको हो । ‘अकालमै ज्यान गुमाउने अवस्थामा पुगेका विकटका गर्भवती र सुत्केरीलाई तुरुन्तै उद्धार गरिने हुँदा यो कार्यक्रम ज्यादै प्रभावकारी छ,’ प्रदेश स्वास्थ्य निर्देशक डा. रवीन खड्काले भने, ‘उद्धार गरिएका सबैजसो महिलाको ज्यान बचाउन सफल भएका छौं ।’

हवाई उडान नहुँदा माथिल्लो कर्णालीमा बेलाबेलामा अघोषित ‘नाकाबन्दी’ जस्तै हुने गरेको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए । ‘भरपर्दो यातायात नै हवाई सेवा हो, कहिले प्राधिकरणको नियम, कहिले मौसम त कहिले निजी जहाजका मनपरीले वर्षौंदेखि सास्ती भोगिरहेका छौं,’ उनले भने, ‘सरकारी जहाज पनि नियमित नचल्दा मारमा परेका छौं ।’ उनका अनुसार सबै जहाज नियमित नचल्दा टिकटका लागि पनि सोर्सफोर्स चाहिने अवस्था छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले संखुवासभामा निर्माणाधीन हाइड्रो कम्पनीका सामान सिलिङ गर्ने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएपछि देशभर सबै हेलिकोप्टरहरूको सिलिङ फ्लाइट (झुन्ड्याएर सामान ओसार्ने) र ६ जनाको ज्यान जाने गरी मनाङ एयरको माउन्टेन उडान सोलुखुम्बुमा दुर्घटनामा परेपछि दुवैखाले उडानमा प्रतिबन्ध कायमै छ । एक हेलिकोप्टर कम्पनीका प्रतिनिधिका अनुसार चार्टर उडान नहुँदा हुम्लामा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र अन्य अत्यावश्यकीय वस्तु ढुवानीमा समस्या भएको छ ।

सन् २०२३ भर नेपाली आकाशमा पछिल्ला ८ महिनामा एउटा यतीको एटीआर जहाज र चार वटा हेलिकोप्टर दुर्घटना भएका कारण उडान सुरक्षामा नियमनकारी निकाय कठोर र निर्मम हुनुपरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ‘नेपालमा ७० वर्षको हवाई यातायातको इतिहासमा १ सय ८ वटा दुर्घटना भए । यीमध्ये अधिकांश दुर्घटना पहाडी भूभागमा भएका छन् । त्यसमा पनि ४ वटा हेलिकोप्टर दुर्घटना भएपछि मनसुनमा सुरक्षित उडान गराउन यसअघिका बर्खामा झैं ‘मनसुन सर्कुलर’ जारी गरिएको हो,’ सहप्रवक्ता भुलले भने, ‘यो सर्कुलरले बर्खामा हेलिकोप्टरबाट हुने पर्वतीय उडान, सिलिङ उडान, पुष्पवृष्टि, लङलाइन उडानमा रोक लगाएको हो । दुर्गममा हुने उडानमध्ये चार्टर र व्यावसायिक उडानलाई सुरक्षा मापदण्डअनुसार दिउँसो सञ्चालनमा रोक लगाइएको हो । तर उद्धार, मेडिकल तथा आकस्मिक उडानलाई भने खुलै राखिएको छ ।’ प्राधिकरणले हिमाली जिल्लामा उपचारको अभावले मृत्यु भएका घटनालाई उडानसँग जोड्नुलाई विषयान्तर गरिएको जनाउँदै निराधार भनेको छ । उसले अहिले मौसममा अत्यधिक बदली भइरहेकाले कर्णालीका अधिकांश विमानस्थलमा उडान हुन नसकेको जनाएको छ । 

 कर्णाली जिल्लाको प्रदेश राजधानी वीरेन्द्रनगरसम्म उडान सम्बन्ध जोडिएको छैन । जसका कारण यात्रु लुम्बिनी प्रदेशको नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । कर्णालीमा साउन दोस्रो सातादेखि अन्तिम सातासम्म उडान नहुँदा विभिन्न हिमाली जिल्लामा जाने झन्डै २ सय ५० यात्रु रोकिएको सुर्खेतस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख राजनराज ढुंगेलको अनुमान छ । उनले यसअघि प्राधिकरणको नियमले उडानमा समस्या भए पनि अहिले मौसमका कारण समस्या भइरहेको बताए । कालोपत्र भएका विमानस्थलमा जहाज चलाउन पहल गरिरहेको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताए । ‘प्रदेश राजधानी वीरेन्द्रनगरबाट पनि हिमाली जिल्लामा नियमित उडान गर्न संघीय सरकारको ध्यानाकर्षण गराइरहेका छौं,’ उनले भने, ‘जहाज नचल्ने विमानस्थलमा पनि छिट्टै उडानको व्यवस्था मिलाइनेछ ।’

कोटवाडा विमानस्थलमा उडान ठप्प

सात वर्षअघि परीक्षण उडान भएको कालीकोटस्थित कोटवाडा विमानस्थल कालोपत्र भइसके पनि अहिलेसम्म अर्को उडान भएको छैन । रुकुम पश्चिमको चौरजहारी विमानस्थल पनि कालोपत्र गरेदेखि नै ८ वर्षयता अलपत्र छ । स्थानीय भने विमानस्थल कालोपत्र भएपछि जहाज आउने आशामा छन् । स्थानीय ७५ वर्षीय नरबहादुर विष्ट ३३ वर्षको उमेरदेखि कोटवाडाको पाखो खनेर विमानस्थल निर्माणमा संलग्न भएका थिए । उनी सुरुमा कुल्ली (कामदार) बाट विमानस्थल निर्माणमा खटिएका हुन् भने पछिल्लो समय मेट (कामदारको नाइके) समेत बने । ‘अहिलेजस्तो खन्ने डोजर, ढुंगा, माटो बोक्ने र टिपर भए त उहिल्यै काम सकिन्थ्यो,’ उनले भने, ‘कोदालो, साबेल, गैतीले खनेर भैंसीको छालामा माटो बोकेर काम गर्‍यौं ।’ उनले ०४२ सालमा निर्माण सुरु भएको विमानस्थलमा सुरुदेखि नै काम गरे भने झन्डै एक महिना श्रमदान पनि गरे । 

६ महिनाअघि १३ करोड ८६ लाख रुपैयाँमा कोटवाडा विमानस्थल कालोपत्र भएको छ । ६ सय ४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको हो । सशस्त्र द्वन्द्वका बेला ०५८ फागुनमा अछाम मंगलसेन आक्रमणका दोषी खोज्दै आएको सेनाले धादिङ जोगीमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३५ जनाको हत्या गरेपछि अवरुद्ध भएको विमानस्थल निर्माणको काम शान्ति स्थापनापछि सुचारु भएको थियो । कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट कोटवाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ । 

त्यस्तै रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पनि लामो समयदेखि उडान भएको छैन । कच्ची धावनमार्ग हुँदासम्म उडान भइरहने विमानस्थल कालोपत्र भएपछि ठप्प भएको हो । चौरजहारी विमानस्थल ०७० फागुनदेखि ०७२ भदौसम्मको समय लगाएर कालोपत्र गरिएको थियो । ५ करोड ५९ लाख रुपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि त्यसयता एउटा पनि जहाजको उडान भएको छैन । सुरुमा नेपाल वायु सेवा निगमले जहाज नभएको भन्दै उडान बन्द गराएको थियो भने हाल यात्रु नभएको कारण देखाउँदै जहाज आउन छोडेका छन् । चौरजहारीमा रहेको नेपाल वायु सेवा निगमको कार्यालय हटाएकै ६ वर्ष भएको छ । ‘कार्यालय हुँदा कहिल्यै जहाज आइहाल्छ कि भन्ने आस हुन्थ्यो,’ स्थानीय झुपबहादुर बुढाले भने, ‘वायु सेवा निगमले कार्यालय नै हटाएपछि त्यो आस पनि मरेको छ ।’ 

स्थानीय गाडीबाटै जिल्ला बाहिर जान थालेपछि विमानस्थल थप ओझेलमा परेको स्थानीय अगुवा यदु आचार्यले बताए । ‘अब त चौरजहारीमा जहाज आउँछ भन्ने कुरा कथाजस्तै भयो,’ उनले भने, ‘उडान नहुँदा जरुरी काम हुनेहरू र बिरामीलाई जिल्लाबाहिर जान निकै सास्ती छ ।’ उनका अनुसार रुकुम पश्चिम, सल्यान र जाजरकोटलाई लक्षित गरी ०२८ सालमा विमानस्थल बनाइएको थियो । विमानस्थल सुचारु नहुनुको कारणबारे आफू अनभिज्ञ रहेको नेपाल वायु सेवा निगमका जुनियर सहायक सुरेन्द्र नेपालीले बताए । ‘नियमित जहाज आएपछि यात्रु नपाइने भन्ने हुँदैन,’ उनले भने, ‘तर किन हो, यहाँ जहाज पठाउन निगमलाई मुस्किल भइरहेको छ ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully