बन्जी ‘क्रेज’

नेपालमा बन्जी गर्नेमध्ये अधिकांश युवा छन् । युवाको उत्साह र सपनाका कारण पर्यटनमा बन्जीको महत्त्व पनि बढ्दै गएको छ । र, त्यसमा युवा पुस्ताको योगदान बढी छ ।

श्रावण २८, २०८०

अनिश तिवारी

सिन्धुपाल्चोक — वरिपरि जंगल, अग्ला डाँडाको काखमै तिब्बत छोएर उर्लंदो भोटेकोशी नदी । त्यहीमाथि केही शेर्पा समुदायका दुई बस्ती जोड्ने झोलुंगे पुल । आइतबारे नामले चिनिने त्यही पुलबाट ‘बन्जी’ गर्दा चितवनको खैरेनी–३ गवाइका २७ वर्षीय रामकुमार थापा रोमाञ्चित भए ।

खासमा पहिलो पटक एक सय ६० मिटर तल हाम फालेका हुन् उनी । पुलबाट तल पुग्दा खुट्टामा बाँधेको डोरी झट्किँदा उनी निकै चिच्याए । अनि तत्कालै उत्साहित भएका उनीमा खुसी भरियो । 

पाँच वर्षयता थापा काठमाडौंदेखि आइतबारे पुलसम्म धेरै पटक आएका थिए । तर बन्जी हान्ने आँट भित्रैबाट नआएकैले त्यत्तिकै फर्किए । मनमा सोच पलाएको लामो समयपछि बन्जी हानेका उनी निकै खुसी देखिन्थे । ‘बन्जी हानिसकेपछि मनैदेखि रुन र हाँस्न मन लाग्यो । मृत्युलाई नजिकबाट नियालेको अनुभूति पनि भयो । भित्रैदेखि केही गहिरो अनुभवसहित भावुक पनि भइयो,’ थापाले बन्जी अनुभव सुनाए । 

साहससँगै रोमाञ्च अनुभव गरेपछि उनले फेरि पनि बन्जी हान्ने योजना बनाएका छन् । ‘बन्जी जम्प’ को संसारमा पुगेर डरलाई जितेकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ मानेश्वाराकी ३२ वर्षकी रन्जना तिमल्सिनाले शरीरमा छुट्टै ऊर्जा र फुर्ती अनुभव गरिन् । ‘लाग्छ आज मृत्युलाई जितेर नै फर्केको छु, साँच्चै अनौठो र व्यक्त गर्न नसकिने खुसी मिलेको छ,’ उनले बन्जी पुलमुनिको गहिराइ देखाएर उत्साह पोखिन् । बन्जी जम्पले जीवन जिउनुको अर्थलाई अनुभूत गराएको बताउँछिन् उनी । पेसाले शिक्षक उनी । आध्यात्मिक दर्शनबाट खुवै प्रभावित रहेको बताउँछिन् । आफ्नो अस्तित्वलाई नजिकैबाट हेर्न सकिने अनेकौं ध्यानजस्तै बन्जी एउटा योग रहेको उनको बुझाइ छ । ‘बन्जी जम्प एउटा योग जस्तै हो । यसले जीवनप्रति गहन अर्थमा बोध दिलाएको छ,’ उनले भनिन् ।

अमेरिकाको लस एन्जलसकी २७ वर्षीया एलेना स्टेन्थ पनि बन्जीमा रमाउने गर्छिन् । काठमाडौंका बौद्धनाथ, पशुपतिनाथ, स्वयम्भू र पाटनको कृष्ण मन्दिरमात्र होइन, आइतबारे पुलको ‘बन्जी’ ले धेरै पटक तानेको छ उनलाई । वृत्तचित्र बनाउने लक्ष्यले नेपाल घुम्ने उनी यहाँ आउने कारण भने उही हो– ‘बन्जी जम्प’ को आनन्द । ‘बन्जी जम्प सकिएपछि मलाई भित्री हृदयमा ऊर्जा बहिरहेको महसुस हुन्छ । त्यतिबेला म फरक संसारमा पुग्छु,’ उनले भनिन्, ‘वास्तवमा, मेरो जीवनप्रतिको लगाब बन्जीले झनै बढाएको छ ।’ 

बन्जी र स्विइङकी महिला क्रु मेम्बर हुन्– भोटेकोशी–५ त्याङ्थलीकी २९ वर्षीया मीना श्रेष्ठ । ‘बन्जी’ ले आफ्नो जीवन र दैनिकीलाई नयाँ मोड दिएको उनको अनुभव छ । भोटेकोशी नदीमाथिको ‘द लास्ट रिसोर्ट बन्जी’ विश्वकै उत्कृष्ट दस एड्भेन्चर बन्जीमा गनिन्छ । यही रिसोर्टमा स्टोरकिपरदेखि बन्जी र स्विइङ क्रु बनेकी मीनाले युवा जमातले बन्जीलाई चासो दिएका र मज्जा लिएका बताउँछिन् । ‘२०/२५ वर्ष उमेर समूहका बढी आउने गर्छन्,’ उनले भनिन् । पहिलो पटक बन्जी गर्दा रमाइलो र डरलाई जितेको अनुभव गरेकी मीनाले धेरै पटक बन्जी गर्दै जाँदा भने फरकफरक अनुभव बटुलेको बताइन् । 

बाह्य पर्यटक हुन् या आन्तरिक, भोटेकोशी गाउँपालिकाको मार्मिङ र लिस्तीकोटबीचको एक सय ६० मिटर उचाइमा गरिने प्रख्यात ‘बन्जी’ हान्ने जोकोही मृत्युलाई जितेजस्तै अनुभव गरेको दाबी गर्छन् । एसियाकै तेस्रो प्राकृतिक साहसिक खेल मानिने नयाँ पुलमा हुने एड्भेन्चर ‘बन्जी’ मा आउने पर्यटकमा विशेष गरी युवा जमातको ‘बन्जी क्रेज’ झनै बढ्दो छ । ‘द लास्ट रिसोर्ट बन्जी नेपाल’ का कार्यकारी व्यवस्थापक भुवन शर्माका अनुसार अहिलेसम्म बाह्य र आन्तरिक गरी झन्डै पाँच लाखले बन्जी गरिसकेका छन् । जसमा अनुमानित १० हजारभन्दा बढी नेपाली छन् । ‘बन्जी गर्न आउनेमा ७० प्रतिशत युवा नै हुन्छन्,’ शर्मा भन्छन्, ‘बन्जी गर्नमा युवाको उत्साह बढ्दो देखिन्छ, पर्यटनमा बन्जीको आफ्नै क्रेज छ, जसमा युवाले अग्रता ओगटेका छन् ।’

बन्जी क्षेत्र र सिन्धु पर्यटनमा लामो समयको अनुभव बटुलेका शर्माले आठ पटक बन्जी गरिसकेका छन् । बन्जी किशोरावस्थाको सपना नै भएको उनले बताए । भूकम्पअघि बन्जी एड्भेन्चरमा विदेशी पर्यटकको आगमन धेरै हुने गर्थ्यो । भूकम्प र भोटेकोशी बाढीपछि तंग्रिँदै गएको बन्जीमा अहिले विशेष गरी नेपाली युवा धेरै हुने गरेका छन् । ‘अहिले सातामा झन्डै दुई सय पर्यटक भित्रिन्छन्, जसमा अधिकांश नेपाली हुन्छन्,’ उनले भने ।

उनका अनुसार दैनिक ७० जना पर्यटकमा ४५ नेपालीले बन्जी हान्ने गरेका छन् । सोमबार बिदा राखेर अन्य सुरक्षित काम र शैलीबारे विश्लेषण गरेर बन्जीलाई व्यवस्थित बनाइने गरिएको छ । २०५६ सालमा पहिलो पटक न्युजिल्यान्डका डेबिड र नेपाली विष्णुप्रसाद न्यौपानेबाट सञ्चालित बन्जी जम्प पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब डेढ सय जनाले रोजगारी पाइरहेका छन् । त्यसका साथै, राजमार्ग क्षेत्रका झरनामा क्यानोनिङ, टिम बिल्डिङ स्पोर्ट, रक क्लाइबिङ, र्‍याफ्टिङजस्ता थुप्रै ‘एड्भेन्चर एक्टिभिटिज’ को मज्जा बेग्लै छ । 

सुरक्षित ‘बन्जी जम्पिङ’ गराउनका लागि सात जनाको टिम हुन्छ । जसमा बन्जी मास्टर, अपरेटर, आर्नेसरदेखि तत्काल सूचना दिनेलगायत रहन्छन् । जसमा ब्रिफिङ, हार्नेस्ट, डोरी हुकिङदेखि रिचेक, वेटिङ बोके गरी पाँच प्रक्रिया र चरणमा साढे ३ मिनेटको समयमा ‘बन्जी जम्प’ सकिन्छ । सुरक्षित जम्पका लागि मुटुसम्बन्धी रोग, प्रेसर र ढाड दुख्ने समस्या, कुलत, वजन जस्ता समस्याको परीक्षण तथा सोधपुछ तथा परीक्षा अनिवार्य गराइएको द लास्ट रिसोर्ट नेपालले जनाएको छ । स्वदेशीका लागि बन्जी जम्प शुल्क पाँच हजार दुई सय र विदेशीलाई आठ हजार दुई सय रुपैयाँ लाग्छ । 

युवा ग्यालरी

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully