काठमाडौँ — केही दिन भयो, सीबीसीमा एउटा नयाँ कार्यक्रम सुरु भएको । यो रियालिटी सोको नाम हो, ‘सुपरफ्यान’ । यसमा सहभागी हुनेमा खासै केही विशेष गुण चाहिन्न । यसमा सहभागी हुनेलाई न त ढंगले गाउन आवश्यक छ, न त नृत्य गर्न नै ।
अझ केही अविश्वसनीय जादू जान्न पनि आवश्यक छैन् । खालि आफू कोही कसैको कति धेरै प्रशंसक हो भनेर सिद्ध गरे पुग्छ । यसका लागि आफूलाई मन परेका गायक गायिका र नायक नायिकाबारे सबथोक जान्नुपर्छ, बुझ्नुपर्छ र भन्न पनि सक्नुपर्छ ।
पहिलो सिजन कार्यक्रममा केही विशेष पाहुना छन् र सहभागी हुनेले तिनै पाहुनाको आफू कति धेरै प्रशंसक हो भनेर प्रमाणित गर्ने मात्रै हो । यिनै केही विशेष पाहुनमा पर्छन् पिटबुल । भनेपछि एउटा तथ्य त सिद्ध भएको छ, यी पिटबुल असाध्यै कहलिएका छन्, लोकप्रिय छन् । आम प्रशंसकलाई मन पर्ने खालका छन् । नत्र उनलाई यो कार्यक्रममा किन बोलाइन्थ्यो । कार्यक्रममा सहभागी हुनेमध्ये केहीले यिनै पिटबुलको जीवनका साना साना अंशबारे पनि जानेर बुझेर आफूलाई ‘सुपरफ्यान’ भनेर देखाए ।
नामैमा केही फरकपन पाइन्छ, पिटबुलबारे । खासमा उनको यो अर्को सांगीतिक नाम हो । उनको खास नाम त आरमन्डो क्रिस्टियन पेरेज । नामैले भन्छ, यसमा स्पेनी छनक पाइन्छ । तर यी परे, अमेरिकाको मियाामीका । फेरि मियामी सहर आफैंमा फरक छ, अमेरिकाका अन्य ठूला सहरको तुलनामा । त्यसैले यी पिटबुल पनि धेरै फरक छन् । केही अर्थमा नयाँ पनि छन्, भलै उनले पश्चिमेली संगीतमा हात हाल्न थालेको पनि दुई दशक जति भयो ।
कारण भने स्पष्ट छ, फरक हुनुका । पिटबुलको सिधा सिधा परिचय हुनेछ, अमेरिकी र्यापरका रूपमा । उनी गीत लेख्छन् पनि, गाउँछन् पनि । उनी हल्का अभिनेता पनि हुन् । अनि व्यवसायी पनि । अरू र्यापरभन्दा उनी फरक हुनुको कारण उनले समातेको शैली नै हो, अनि उनी स्पेनी भाषा र संस्कृतिबाट प्रभावित रहे नै । उनको दुई खास विधा छन् । पहिलो भयो, रेगेटन । यसको सुरुवात पानामाबाट भएको मानिन्छ । पछि प्युटोरिकोको यो अझ बढी लोकप्रिय भयो ।
अर्को भयो क्रन्क म्युजिक । यो हिपहप संगीतको त्यस्तो विधा हो, जसको खास सुरुवात सन् नब्बेको दशकको सुरुतिर भयो । यसले खासै लोकप्रियता पाउन थालेको भने सन् २००० यता मात्रै हो । पिटबुल आफैं भने आफूलाई पप आर्टिस्टका रूपमा मात्र चिनाउन चाहन्छन् । सन् २००४ मै मात्र उनको पहिलो एल्बम आएको हो, ‘मियामी’ को नाममा । उनको खास परिचय भने सन् २००९ मा बन्यो, जति बेला उनको चौथो अल्बम ‘रेबुलेसन’ निस्क्यो ।
त्यही एल्बमको एउटा गीत हो, ‘आई नो यु वान्ट मी’ । यो गीतले उनलाई आधुनिक पश्चिमेली संगीतमा स्थापित गरायो । यो बाहेक पनि उनका धेरै गीत लोकप्रिय छन् र यसै कारण तीन बरोबर बिलबोर्ड चार्टमा पनि परिरहन्छन् । अहिलेसम्म उनका ११ स्टुडियो एल्बम निस्के । यी अल्बम २ करोड ५० लाखको संख्यामा बिक्री भएका छन् । १ करोड जति उनका गीत बिकेका छन् । त्यसैले ठ्याक्कै अहिलेका समयका सबैभन्दा लोकप्रिय संगीतकर्मीमा पर्छन्, पिटबुल ।
उनको सुरुमै लोकप्रिय भएको गीतमा पर्छ, ‘रेन ओभर मी’ । यो डान्स पप ट्र्याक रहेको छ । यसमा साल्सा नृत्य प्रभाव पनि पाइन्छ । ‘आई नो यु वान्ट मी’ त पिटबुलको परिचय नै भयो । बिलबोर्ड चार्टमा यसले तहल्का नै मच्चाएको थियो । यसको सबैभन्दा ठूलो विशेषता यसका उम्दा शब्द संयोजन नै हो । ‘होटल रुम सर्भिस’ उनको अर्को चलेको गीत भयो । आफ्ना प्रेमीसँग होटलमा बस्दाको रोमान्स यस गीतमा वर्णन गरिएको छ ।
‘फिल डिस मोमेन्ट’ सन् २०१३ मा रिलिज भएको गीत हो । यो पनि डान्स पप गीत हो । ‘इन्टरनेसल लभ’ पनि डान्स पप गीतमै पर्छ । ‘अन द फ्लोर’ सन् २०११ को गीत हो र यो ८० लाख बिक्री भएको थियो । यसमा पिटबुलसँगै देखिन्छन्, जेनिफर लोपेज पनि । यो गीत धेरै देशमा नम्बर १ सावित भयो । ‘गिभ मी एभ्रिथिङ’ र ‘टिम्बर’ पनि उत्तिकै लोकप्रिय गीत हुन् । यी सबै गीतमा केही न केही मात्रामा ल्याटिन संगीतको प्रभाव रहेकै छ ।
पिटबुलले सानोमा बिताएको जीवन पनि धेरै फरक छ । अझ यो जीवन नारकीय थियो भन्दा पनि हुन्छ । आप्रवासी परिवारका सन्तानले अमेरिकामा के कस्तो कहालीलाग्दो जीवन बिताउनुपर्छ, त्यसका लागि उनी राम्रा उदाहरण हुन सक्छन् । सन् १९८१ मा पेरेजको जन्म त्यस्तो परिवारमा भएको थियो, जसको मूल क्युवासँग जोडिन्छ । उनको आमाबाबु आप्रवासीका रूपमा हनोइबाट मियामी आएका थिए । क्युबाबाट सबैभन्दा नजिकको सहर हो, मियामी ।
यो पृष्ठभूमिले त्यसै पनि भन्छ, उनको परिवार क्युबेली नेता फिडेल क्यास्ट्रोका विरोधी हुन् । क्यास्ट्रो विरोधी राजनीतिक गर्ने क्रममा उनको परिवातर मियामी आइपुगेको हो । त्यसैले पेरेजले सानै उमेरदेखि क्युबेली राजनीतिज्ञहरूको विरोधबारे मात्र सुने । सुरुमा उनको दक्षता स्पेनी भाषामै मात्र थियो । पछि सिनेमा हेर्दा हेर्दै उनले राम्रोसँगै अंग्रेजी पनि सिके । उनको जीवनमा बुबाको उपस्थिति निकै कम छ । आमाले नै उनलाई उक्लै हुर्काएको बढाएको भन्दा हुन्छ ।
पेरेजले पछिल्ला केही अन्तर्वार्तामा आफ्ना सुरुवाती दिनबारे खुलेर भनेका छन् । उनको परिवार अमेरिकाले आएयता बेहोरेको सबैभन्दा ठूलो समस्या भनेकै लागू पदार्थको दुर्व्यसनी थियो । किशोर उमेरमै उनले लागूपदार्थ प्रयोग गर्न सिके । यसै कारणले उनले परिवार पनि त्याग्नु रेको थियो । पछि कसोकसो उनी संगीत क्षेत्रमा आए र ती सबै पुरानो इतिहासलाई त्यहीं छाडे । अहिले तिनै परेज निकै सफल पिटबुल भएका छन् ।
