सल्यानको बाग्चौर नगरपालिकाका नीरज केसी बालबालिकालाई कुपोषण हुनबाट बचाउने अभियानमा सक्रिय छन् । जिल्लाका विभिन्न पालिकामा कुपोषण नियन्त्रणसम्बन्धी सचेतना फैलाउँदै आएका उनले पोषणयुक्त पिठोसमेत उत्पादन गरेका छन् ।
सल्यान — बाग्चौर नगरपालिकाको ठिनबाङका नीरज केसी सानैदेखि पढाइमा अब्बल थिए । स्कुल पढ्दा कक्षामा सधैं प्रथम हुन्थे । पढाइमा राम्रो भएकाले भविष्यमा डाक्टर बन्ने चाहना थियो । २०४४ सालमा जन्मिएका उनले २०६० मा एसएलसी प्रथम श्रेणीमा पास गरे । बाबु धनीराम केसी स्वास्थ्यकर्मी थिए । बाबु र उनका केही शिक्षकले डाक्टर बन्नुपर्ने बताएपछि विज्ञान पढ्न काठमाडौं लागे ।
कक्षा १२ दोस्रो श्रेणीमा उत्तीर्ण भए । स्नातक भर्ना भएर पढ्न थालेकाले उनले एमबीबीएस प्रवेश परीक्षा दिन पाएनन् । जसका कारण डाक्टर बन्ने उनको सपनामा पूर्णविराम लाग्यो । स्नातक पढेसँगै विभिन्न संस्थामा जागिर सुरु गरेका उनले २०७२ मा त्रिविबाट जनस्वास्थ्य तथा समाजशास्त्रमा स्नातकोत्तर गरे । डाक्टर बन्ने सपना अधुरो भए पनि जनस्वास्थ्यमा स्नातकोत्तर गरेकाले समाजसेवामा जोडिने सोच बताए । फलस्वरूप कुपोषण निवारणका लागि क्रियाशील बने ।
गैरसरकारी संस्थाको जागिर छाडेर बालबालिकालाई कुपोषण हुनबाट बचाउने उनको अभियान जारी छ । हाल उनले जिल्लाका विभिन्न पालिकामा पुगेर कुपोषण नियन्त्रणसम्बन्धी सचेतना फैलाउँदै आएका छन् । त्यसका साथै, पालिकामा पोषण कार्यक्रम लागू गर्नमा पनि उनको भूमिका छ । नीरजले शुल्क नलिई पालिकाको पोषणसम्बन्धी नीति कार्यक्रम बनाउँदै आएका छन् । कुपोषित बालबालिकालाई निःशुल्क परामर्श दिने र उपचारमा सहयोगसमेत गर्दै आएका छन् उनले ।
त्यति मात्र नभई सरकारले विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी नभएको र पसलमा खाजाका रूपमा जंक फुड खान बाध्य भएका बालबालिकालाई पौष्टिक आहार खुवाउन उनी क्रियाशील छन् । पौष्टिक तत्त्वको अभावमा ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषण विकराल समस्या बनिरहेका बेला नीरजको योगदान उल्लेखनीय रहेको स्थानीय बताउँछन् । त्यसका लागि उनी आफैंले पोषणयुक्त पिठोसमेत उत्पादन गरेका छन् । उक्त पिठो पालिकासँग सहकार्य गरेर सहुलियत दरमा विद्यार्थी र सुत्केरी महिला र शिशुका लागि उपलब्ध गराउँदै आएका छन् ।
जिल्लामा कुपोषण निवारणका लागि स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् । तर ती कार्यक्रम खासै प्रभावकारी भने देखिएका छैनन् । जसका कारण जिल्लामा कुपोषणको दर घट्न सकेको छैन । जिल्लामा अहिले पनि करिब ३० प्रतिशत बालबालिकामा कुपोषणको समस्या छ । पोषण कार्यक्रम खासै प्रभावकारी नभएका बेला पोषणविज्ञका रूपमा चिनिएका नीरज जिल्लामा कुपोषण निवारणका सारथि नै बनेका छन् ।
‘लगभग सबै खाले रोग रोकथामको उपाय नै पोषणको पूर्ण मात्रा हो,’ उनी भन्छन्, ‘कुपोषणको समस्या अन्त्य गर्न सम्भव भएकाले नै यसमा लागेको हुँ ।’ पोषणसम्बन्धी उनले गरेको कामको कदर गर्दै जिल्लाका विभिन्न पालिकाले उनलाई सम्मान तथा कदरपत्रसमेत प्रदान गरेका छन् । ‘मेरो डाक्टर बन्ने सपना थियो । त्यो सम्भव भए/नभए पनि पोषणसम्बन्धी काम गर्ने अवसर मिल्यो,’ उनले भने । उनले २०७२ देखि करिब ६ वर्ष यूएसएआईडीको सुआहारा कार्यक्रममा जागिर खाए । जागिरका बेला कर्णालीका विभिन्न जिल्ला घुमे । कुपोषणका कारण बालबालिकाको अवस्था दयनीय भएको देखे । ‘त्यसै क्रममा बालबालिकालाई कुपोषणको सिकार हुनबाट बचाउन पोषणयुक्त आहारको व्यवस्था गर्ने सोच पलायो,’ उनले भने । त्यसपछि जागिर छाडेरै यसतर्फ लागेको बताउँछन् नीरज । सुरुमा जागिरबाट कमाएको झन्डै १० लाख रुपैयाँ लगानी गरी पोषणसम्बन्धी छुट्टै संस्था खोले । अनि कुपोषण नियन्त्रणका लागि स्थानीय स्तरमा उत्पादित खाद्यवस्तु प्रयोग गरी सर्वोत्तम पिठो उत्पादन गरे । उक्त पिठोलाई सरकारले मान्यता दिएसँगै सहुलियत दरमा बिक्री गर्दै आएको बताउँछन् उनी । त्यसका साथै, उनले कुपोषित बालबालिकाको उपचारमा सहयोग पुर्याउँदै आएका छन् ।
उनको सहयोगमा पालिकाहरूले पोषण नीति तथा कार्यक्रम लागू गरेका छन् । ‘त्यसले विद्यालयमा खुवाउने दिवा खाजामा सुधार ल्याउने तथा सुत्केरी महिला र शिशुमा देखिने कुपोषण दर कम गर्न मद्दत पुग्छ,’ उनले भने । त्यसका साथै, आफ्नै पोषण क्लिनिकमा सयभन्दा बढी कुपोषित बालबालिकालाई निःशुल्क परामर्श दिइसकेको र दर्जनभन्दा बढीलाई सहयोग गरेको उनको भनाइ छ ।
‘ग्रामीण क्षेत्रका सुत्केरीलाई विभिन्न काम गर्ने बाध्यता हुन्छ । न उनीहरूले पौष्टिक आहार खान पाउँछन्, न त शिशुले नै । खासमा पोषणयुक्त आहारा चाहिन्छ भन्ने पनि उनीहरूलाई थाहा छैन,’ उनले भने । त्यही भएर नै आफूले अध्ययन र जागिरका क्रममा सिकेको कुरा निःशुल्क बाँडेको उनले बताए । यद्यपि, जिल्लाका पालिकाहरूसँग सहकार्य तथा पोषण कार्यक्रम सञ्चालन गरेबापत भने खाजा, खाना र यातायात खर्च लिने गरेको बताउँछन् उनी । ‘खासमा बुबा स्वास्थ्यकर्मी भएकै कारण म पनि स्वास्थ्य क्षेत्रमा लाग्न प्रेरित भएको हुँ,’ उनले भने ।
