‘कर्नाली मर्म’ माथि परिचर्चा

श्रावण २४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्णाली दुर्गम कि सुगम ? विकासका सम्भावना र चुनौती समेटिएको पुस्तक ‘कर्नालीको मर्म’ पुस्तक प्रकाशनमा आएको छ । डा. दीपेन्द्र रोकायाको पुस्तकबारे मंगलबार परिचर्चा गरिएको हो । 

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष नवराज खतिवडा, राधिका बुढथापा खत्री र राजेन्द्र महर्जनले पुस्तकमाथि समीक्षा गरे । नवराजले पुस्तकको भाषा, शैलीदेखि विषयवस्तुमाथि मिहीन ढंगले टिप्पणी गरेका थिए । 

कर्णालीको भौगोलिक विकाससँगै धार्मिक महत्त्व पुस्तकमा रोचक ढंगले उठाइएको नवराजले बताए । राधिकाले पुस्तकमा सामाजिक, सांस्कृतिक, भौगोलिक र इतिहास समेटिए पनि कर्णालीका महिलाको विषय गौण उठान गरिएकामा गुनासो गरिन् । कर्णालीलाई सधैं गरिब र बिचराको दृष्टिकोणले हेर्न नजर परिवर्तन गर्न जरुरी रहेको राधिकाको सुझाव छ । त्यस्तै, लेखक राजेन्द्रले पुस्तकको तथ्य, तथ्यांक र विषय प्रस्तुतिमा पुस्ट्याइँको कमी रहेको बताए । 

रोकायाको यो ८ औं पुस्तक हो । राष्ट्रिय योजनाका आयोगका पूर्वसदस्यसमेत रहेका उनले पुस्तकमा धूवाँ नआउने उद्योगको परिकल्पना गरेको र यसले कर्णालीमा समृद्धि ल्याउन सघाउने बताए । त्यस्तै, कर्णालीका सम्भावित पर्यटकीय क्षेत्रको पनि पुस्तकमा समेटिएको जानकारी रोकायले दिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully