काठमाडौँ — सन् १९७४ मा आजकै दिन (अगस्ट ८) मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले राजीनामा दिएका थिए । ‘वाटरगेट काण्ड’ का कारण झन्डै महाभियोग सामना गर्नुपर्ने भएपछि उनी राजीनामा गर्न बाध्य भएका थिए ।
सन् १९६९ मा राष्ट्रपति भएका निक्सनको पहिलो कार्यकाल सफल भएको मानिन्छ । पहिलो कार्याकालमा निक्सनले सोभियत संघ, चीन तथा कतिपय अरब देशसँगको सम्बन्ध सुधार गरेका थिए । जसका कारण उनी जुनसुकै हालतमा दोस्रो कार्यकाल राष्ट्रपति हुन चाहन्थे ।
त्यसैले उनले सन् १९७२ जुन १७ मा वासिङ्टन डीसीको वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक पार्टीको राष्ट्रिय समितिमा आफ्ना सुरक्षा संयोजकसहित पाँच जनालाई सुराकीका लागि खटाए । निक्सनले खटाएको टोलीले थुप्रै कागजातहरू चोरेका थिए । तर उनीहरू पक्राउ परेपछि घटना ढाकछोप गर्न निक्सनले राज्य संयन्त्रको अधिकतम दुरुपयोग गरे ।
तर वासिङ्टन पोस्टका पत्रकारहरू बब उडवार्ड र कार्ल बर्नस्टिनले खोजमूलक समाचार गरेपछि निक्सनको कर्तुत बाहिरियो । पछि सर्वोच्च अदालतको आदेशअनुसार निक्सन सुराकी गरेर खिचिएका टेप र कागजात बुझाउन बाध्य भए ।
त्यसका साथै, सिनेटको न्यायिक समिति र हाउस अफ रेप्रिजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोगको प्रस्ताव अघि बढाएको खण्डमा आफू बर्खास्तमा पर्ने निश्चित भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै निक्सनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै तत्कालीन उपराष्ट्रपति जेराल्ड फोर्ड अमेरिकाको राष्ट्रपति बने । पछि फोर्डले आफ्नो संवैधानिक शक्ति प्रयोग गर्दै निक्सन सजाय हुनबाट बचाएका थिए । निक्सनको ८१ वर्षको उमेरमा १९९४ को अप्रिल २२ मा मृत्यु भएको थियो ।
