३० वर्ष नपुग्दै शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालको मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हालेकी एन्जिला देश–विदेशका गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न सक्रिय छिन् । त्यसैको सिलसिलामा हालै उनी युगान्डा पुगेर फर्किएकी छन् ।
काभ्रे — काभ्रेको बनेपास्थित शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालको मेडिकल डिरेक्टर हुन्, डा. एन्जिला बस्नेत । ३० वर्ष नपुग्दै मेडिकल डिरेक्टर बनेकी एन्जिलाले हाल अस्पतालको मेडिकलसँगै प्रशासनिक क्षेत्रको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन् ।
‘कतिपय बिरामीले त मलाई नै डाक्टर खोइ भनेर सोध्नुहुन्छ,’ उनी भन्छिन् । खासमा जिम्मेवार पद पाको उमेरका मानिसले मात्रै सम्हाल्छन् भन्ने मानसिकता अझै पनि रहेको बताउँछिन् उनी । ‘त्यसैले कामलाई भन्दा पनि उमेरलाई विश्वास गर्ने गरिन्छ । नेतृत्वको जिम्मेवारी बहन उमेरले होइन, मानिसको दक्षता र क्षमताले गर्छ ।’ खासमा युवाहरूले कुनै पनि क्षेत्रको नेतृत्व सम्हाल्न सक्छन् भन्ने उदाहरण हुन्, एन्जिला ।
पछिल्लो समय भने एन्जिला अस्पतालको शय्यामा मात्र होइन, दुर्गम गाउँबस्तीमा स्वास्थ्य उपचार र सेवामा पनि व्यस्त छिन् । त्यो पनि देश अनि विदेशका । स्वास्थ्य उपचारको अभावमा तड्पिरहेकाहरूलाई औषधि र मलम बनेर गाउँबस्तीमा पुग्न पाउँदा निकै खुसी मिल्ने बताउँछिन् उनी ।
समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा दिने इच्छा उनमा भने अहिले जागेको होइन । उनका बुबाआमा दुवै जना स्वास्थ्य क्षेत्रमै आबद्ध छन् । त्यसैले एन्जिला पनि सानैदेखि आमाबुबासँगै गाउँबस्तीमा पुग्ने गर्थिन् । उनमा पनि स्वास्थ्य क्षेत्रमा क्रियाशिल हुने र ग्रामीण क्षेत्रमा पुगेर सेवा प्रदान गर्ने इच्छा बढ्दै गयो । जसका कारण उनले काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस र भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसबाट इन्टरनल मेडिसिनमा एमडी सकिन् ।
नेपालका विकट र ग्रामीण भेगमा स्वास्थ्य उपचार गराउँदै आएकी उनी हालै मात्र अफ्रिकी देश युगान्डा पुगेर फर्किइन् । उनीसहितको टोलीले युगान्डामा १० दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । टोलीमा विभिन्न देशका स्वास्थ्यकर्मीहरू थिए । शिविरमा इन्टरनल मेडिसिनबाट एन्जिला, अरुण गुप्ता (बाल मुटुरोग विशेषज्ञ) र ताराजंग गुरुङ (प्रशासनबाट) गरी तीन जनाले नेपालको प्रतिनिधित्व गरेका थिए । अन्य देशका ८६ स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका एन्जिलाले बताइन् ।
एडभेन्टिस्ट हेल्थ इन्टरनेसनलले दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राख्ने भएकाले पनि एन्जिला युगान्डा मिसन हेल्थ ट्रिपका लागि छनोट भएकी हुन् । उनी विभिन्न स्वास्थ्य शिविरका लागि नेपालको विकट तथा ग्रामीण क्षेत्रहरूमा पुग्ने गर्छिन् । उनले स्वास्थ्य क्षेत्रमा गरेको योगदान र कार्यको मूल्यांकन गर्दै एडभेन्टिस्ट हेल्थ इन्टरनेसनलले उनलाई चयन गरेको हो ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानमा शिविर सञ्चालन गरी निःशुल्क स्वास्थ्य उपचार, औषधि तथा स्वास्थ्य परामर्शका लागि नेपालको प्रतिनिधित्व गरी सेवा दिन पाउँदा गर्व लागेको उनले बताइन् । ‘आफ्नै देशमा विदेशीहरूले स्वास्थ्य शिविर सञ्चालन गरेको देखिरहेकी थिएँ,’ उनले भनिन्, ‘अहिले आफैं दक्ष जनशक्तिका रूपमा विदेशका शिविरमा सहभागी हुन पाउँदा निकै खुसी महसुस भएको छ ।’
युगान्डाका तीन सहर इसापा, बुगेमा र जिन्जामा सर्जरी, स्क्रिनिङ र जनरल गरी छुट्टाछुट्टै शिविर सञ्चानल गरिएको थियो । तीमध्ये स्क्रिनिङ र जनरलमा आफूले सेवा दिएको उनले बताइन् । उनका अनुसार तीन स्थानमा सञ्चालन गरिएका शिविरबाट करिब १२ हजार जना लाभान्वित भएका थिए । ती स्थानमा सामान्य उपचारको पनि पहुँच नभएको उनको अनुभव छ ।
‘स्क्रिनिङ गर्दा मलेरिया र एचआईभीका बिरामी धेरै पाइए । हर्नियाबाट संक्रमित बालबालिका निकै थिए,’ उनले भनिन्, ‘उनीहरूलाई आफूलाई लागेको रोग र त्यसको उपचारबारे सामान्य जानकारी पनि थिएन ।’ सामान्य रोगको बेलैमा उपचार हुन नसक्दा कति केसहरू निकै जटिल बनेको पाएको एन्जिलाले बताइन् । गरिबीका कारण सूचना–प्रविधि र सञ्चारमा पहुँच नभएकाले पनि त्यहाँका मानिसलाई सामान्य कुराबारे जानकारी नभएको उनको बुझाइ छ ।
‘गरिबीका कारण मानिसहरूले सामान्य उपचार पनि पाएका थिएनन् । बिहान ५ बजे शिविर पुग्दा २/३ सय मानिस लाइन लागिसकेका हुन्थे । स्वास्थ्य उपचार र औषधि निकै महँगो भएकाले एक चक्की औषधिका लागि दिनभर लाइन बस्ने धेरै थिए,’ उनले युगान्डाको अनुभव बाँडिन् । उनका अनुसार, स्वास्थ्य परीक्षण, ल्याब टेस्ट, शल्यक्रिया, औषधि, परामर्शहरू सबै निःशुल्क भएकाले पनि शिविरमा मानिसको बाक्लो उपस्थिति थियो ।
युगान्डा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेका कारण समस्या जटिल बनेको उनको भनाइ छ । ‘कुनै विदेशी संघसंस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेमात्रै त्यहाँका गरिब सर्वसाधारणले उपचार पाउने स्थिति देखियो । ‘हामी पुगेका इसापा, बुगेमा र जिन्जामा पहिलोपटक शिविर सञ्चालन भएको बिरामीहरूले बताए,’ उनले भनिन्, ‘पहिलो पटक शिविरमा उपचार गराउन पाउँदा स्थानीयको मुहारमा छुट्टै खालको खुसी देखिन्थ्यो ।’
ती स्थानमा सञ्चालन भएका शिविरबाट स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीले पनि धेरै कुरा सिक्न पाएको उनले बताइन् । ‘निःशुल्क नयाँ कुरा सिक्न पाएकाले विद्यार्थीमा पनि खुसी छाएको
थियो,’ उनले भनिन्, ‘प्रेसर, सुगरको परीक्षण नै पहिलो पटक सिक्ने पनि निकै थिए । त्यसका साथै ईसीजी मेसिन, एक्स–रे मेसिनको प्रयोगबारे पनि विद्यार्थीलाई सिकायौँ ।’
युगान्डाबाट फर्किएको केही दिनमा फिलिपिन्स पुगेकी एन्जिला हाल भने देशमा फर्केकी छन् । केही समयपछि मलावी जाने तयारीमा छिन् । युगान्डाको स्वास्थ्य शिविरमा गरेको कामको मूल्यांकनका आधारमा उनी मलावीमा हुने मिसन हेल्थ ट्रिपका लागि छनोटमा परेकी हुन् । स्वास्थ्य सेवाका लागि स्वदेश अनि विदेशका दुर्गम क्षेत्रमा एन्जिलाको यात्रा निरन्तर चलिरहेको छ, लामो समयदेखि ।
एडभेन्टिस्ट हेल्थ इन्टरनेसनल अर्गनाइजेसनले विकासमा पछि परेका देशमा मिसन हेल्थ सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमअन्तर्गत आगामी वर्ष नेपालमा पनि मिसन हेल्थ क्याम्पको कार्यक्रम रहेको उनले जनाइन् । उनका अनुसार नेपालमा दक्ष जनशक्ति उत्पादनका विषयमा कार्यक्रमको तयारी भएको छ । ‘नेपालमा पनि कति समुदायमा सचेतना अझै कम छ । अधिकांश महिलामा पाठेघरसम्बन्धी समस्या छ । स्वास्थ्यमा पहुँच भएकाले पनि आफ्ना समस्या लुकाउने गरेका छन् ।’
सुगर तथा प्रेसरसम्बन्धी समस्यालाई सामान्य ठानेर हेल्चेक्य्राइँ गर्नेको संख्या पनि उल्लेख्य रहेको उनको अनुभव छ । त्यसका साथै नियमित रूपमा औषधि सेवन नगर्नु अर्को समस्या छ । तर पनि केही वर्षअघिको तुलनामा नेपालको स्वास्थ्य क्षेत्र सुधार हुँदै गएको एन्जिला बताउँछिन् । ‘स्वास्थ्य पूर्वाधारमा धेरै विकास भएको छ । स्वास्थ्य जनचेतनामा पनि वृद्धि भएको छ,’ उनले भनिन् । तर पछिल्लो समय बिदेसिने दक्ष जनशक्तिको संख्या बढ्दै गएकामा चिन्ता लागेको उनले बताइन् । यसलाई रोक्न राज्यस्तरबाटै नीति निर्माण गरी कार्यान्वयन हुनुपर्ने उनको सुझाव छ ।
