‘झम्के गुलेली’ मा झुमे दर्शक

श्रावण २१, २०८०

कान्तिपुर संवाददाता

धनकुटा — संखुवासभाका लोकगायक कमलीकान्त भेटवालले पछिल्लो समय काठमाडौंमा रहेर लोकसंस्कृतिमा विद्यावारिधि गर्दै छन् । उनै भेटवालले शनिबार धनकुटामा आयोजित कार्यक्रममा चर्चित गीत ‘झम्के गुलेली’ गाएर दर्शकलाई नचाएका छन् । कार्यक्रममा उनले आधा दर्जन गीत गाए । 

भेटवालले ‘सबैर बाख्रा उकाली लागे, घोर्ले बाख्रा खोइ भन, झुम्के गुलेली’ गीत गाउँदा अधिकांश दर्शकले नाचेर साथ दिए । ननाच्नेहरूले तालीले साथ दिए । संखुवासभाका उमाकान्त अधिकारीले संकलन गरेको चर्चित गीतले आफूलाई लोकगायनमा स्थापित गरेको भेटवाल बताउँछन् । यस वर्षको भाष्कर लामिछाने लोकसंस्कृति पुरस्कार ग्रहण गर्न धनकुटा आइपुगेको अवसर उनले दर्शक नचाउन सदुपयोग गरेका हुन् । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाले उनलाई उक्त पुरस्कार प्रदान गरेको थियो । 

बृहत् साहित्यिक कार्यक्रममा सहभागी हुन धनकुटालगायत मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभालगायत जिल्लाबाट आएका दर्शक/श्रोताको उपस्थिति थियो । गाउँठाउँ पुगेर संकलन गरेर लोकसंस्कृतिको संरक्षण गर्नुपर्नेमा पछिल्लो समय कोठामा रचना गरेर लोकगीत बनाउने गरेकामा भने उनले आपत्ति जनाए । ‘मैले जति लोकगीत गाएँ, सबै गाउँबस्ती, मेलापातमा गाइएका हुन्,’ उनले भने । 

भेटवाललाई ११ हजार १ सय ११ रुपैयाँ र दोसल्लासहित अग्रज साहित्यकार दधिराज सुवेदी, प्राध्यापकद्वय टंक न्यौपाने र गोपालप्रसाद भण्डारी, पुस्तकालयका संस्थापक तथा संरक्षक टीकाप्रसाद लामिछानेलगायतले सम्मान गरेका हुन् । पुस्तकालयबाट प्रदान गरिने गर्गश्री सम्मान झापाका कमलाकान्त आत्रेय, गंगाराम भद्रशिला स्मृति पुरस्कार मोरङका नरेन्द्र परासरलाई प्रदान गरिएको छ । मधुश्री विशिष्ट पुरस्कारबाट काजी रोश र वेणीमाधव कृष्णकुमारी समाज सेवा पुरस्कारबाट सुनसरीका सरला कायस्थलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष घनश्याम बरालले बताए । 

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully