सेन्ट्रल लन्डनको लेस्टर स्क्वायरस्थित आइम्याक्स सिने वर्ल्डमा पहिलो पटक नेपाली फिल्मको इन्टरनेसनल प्रिमियर हुने
लन्डन — दुई शताब्दीभन्दा लामो समयदेखि बेलायत–नेपाल सम्बन्धको प्रमुख आधार स्तम्भका रूपमा रहेका छन् गोर्खा । दुई सय आठ वर्षअघि ब्रिटिस सेनामा भर्ती भएका गोर्खाले बेलायतका लागि कैयौं देशमा लडेका छन् ।
बेलायतका लागि ब्रिगेड अफ गोर्खाजले लडेका महत्त्वपूर्ण युद्धमध्येको एक हो, मलायाको युद्ध । गोर्खाले आपत्कालका बेला कम्युनिस्ट आतंककारीसँग सन् १९४८ देखि १९६० सम्म लडेर वीरता प्रदर्शन गरेका थिए । त्यही मलाया युद्धमा गोर्खाले देखाएको वीरताको कथामा बनेको फिल्म ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरले अहिले चर्चा बटुलेको छ ।
भूतपूर्व गोर्खा सैनिक मिलन चाम्सले निर्देशन गरेको फिल्म आगामी सेप्टेम्बर १० मा सेन्ट्रल लन्डनको लेस्टर स्क्वायरस्थित आइम्याक्स सिने वर्ल्डमा इन्टरनेसनल प्रिमियर हुने भएको छ ।
हलिउड फिल्म प्रिमियर र विभिन्न अन्तर्राष्ट्रिय अवार्डका लागि प्रख्यात हलमा पहिलो पटक नेपाली फिल्म प्रिमियर हुने भएको हो । फिल्मको ऐतिहासिक प्रिमियरका लागि निकै उत्साहित र बहुप्रतीक्षित रहेको बताउँछन् निर्देशक चाम्स ।
गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने लामो समयदेखिको प्रयास सफल भएको उनको भनाइ छ । ‘पहिलो र दोस्रो विश्वयुद्ध लडेका गोर्खालीको कथा विश्वभर पुर्याउने उद्देश्यले चलचित्र निर्माणसँगै निर्देशनमा होमिएको हुँ,’ उनले भने । फिल्म निर्माणका लागि नेपालदेखि भारतका प्राविधिकको सहयोग मात्र नभई लामो मिहिनेत परेको उनी बताउँछन् ।
महत्त्वाकांक्षी फिल्म प्रिमियरका लागि उनले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई समेत निम्ता दिएका छन् । त्यसका साथै, ब्रिटिस सांसद डेमियन कोलिन्सलाई संसद् भवन ‘वेस्ट मिनिस्टर’ मा भेटेर निमन्त्रणा दिएको उनले बताए ।
निर्देशक चाम्ससहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका पहिलो नेपाली काउन्सलर धन गुरुङ, मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाइराजा थापाले सांसद डेमियन कोलिन्सलाई प्रत्यक्ष भेटेर प्रधानमन्त्री सुनकलाई निम्तो दिएका थिए ।
निर्देशक चाम्सका अनुसार रेड कार्पेट प्रिमियरमा लन्डनस्थित नेपाली राजदूत, बेलायती मन्त्री, सांसद, लर्ड्स, ब्रिटिस सेनाको उच्च पदस्थ पदाधिकारी, हलिउड स्टार, वितरक, ब्रिटिस गोर्खा सैनिक, तिनका परिवार र नेपाली दर्शकको उपस्थिति रहनेछ । ‘नेपाली चलचित्रकै इतिहासमा सर्वाधिक महँगो स्थान र बजेटमा हुन लागेको प्रिमियर ऐतिहासिक बनाउने तयारीमा जुटिरहेका छौं,’ निर्देशक चाम्सले भने ।
फिल्मको प्रिमियरबारेका समाचारलाई बेलायती मिडियाले समेत राम्रो स्थान दिएका छन् । प्रिमियरका लागि तयारी तीव्र रूपमा अगाडि बढिरहेको मिडिया कोअर्डिनेटर आकाश सुनुवारले बताए । नेपाली सिनेमाको इतिहासमै पहिलो पटक भव्य प्रिमियर हुन लागेको र यसलाई विभिन्न मिडियाले प्रत्यक्ष प्रसारण गर्ने सुनुवारले बताए ।
‘गोर्खा वारियर’ का निर्माता सुमन राई र सुस्मिता वाइबा हुन् । सहनिर्मातामा सुरेश राई र कार्यकारी निर्माता प्रशान्त थापा छन् भने रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आलेलगायतले अभिनय गरेका छन् ।
सत्य कथामा आधारित फिल्मले मलाया आपत्कालको समयमा गोर्खाहरूले बेलायती सेनासँग मिलेर लडेको घटनाको कथा राम्ररी चित्रण गरेको नायक रितेश चाम्स बताउँछन् । ‘फिल्मले बेलायत र नेपाल तथा जनस्तरमा समेत सम्बन्ध थप मजबुत बनाउने आशा हामीले गरेका छौं,’ उनले भने ।
