चितवनको भरतपुरका सुलभ सिग्देलले सैलुन सुरु गरेको दस वर्ष पुगेको अवसरमा ६ महिलासहित ३० जनालाई निःशुल्क तालिम दिएका छन् । सुलभले सिकाएकामध्ये २३ जनाले चितवनको माडी, गीतानगर, पर्सा, मुग्लिङका साथै नवलपुरको कावासोती र गैंडाकोटमा सैलुन खोलेका छन् ।
चितवन — केही दिनयता चितवनको भरतपुरकी स्मारिका अधिकारी कपाल काट्ने र शृंगारसम्बन्धी तालिममा व्यस्त छिन् । अधिकारीको टोलीमा ब्युटीपार्लर सिकिरहेका ३० मध्ये ६ जना महिला छन् ।
उनीहरूलाई तालिम दिइरहेका छन् ३४ वर्षीय सुलभ सिग्देल । एक दशक भयो, सुलभले भरतपुरमा सैलुन चलाएको । अन्य युवाले पनि यही पेसा अपनाएर स्वरोजगार बनून् भन्ने आफूले चाहेको बताउँछन् सुलभ । त्यसैले आफूले सैलुन सुरु गरेको १० वर्षको अवसरमा ३० जनाका लागि निःशुल्क तालिम आयोजना गरेका हुन् ।
भरतपुर चौबिसकोठीमा दुइटा कुर्सी राखेर सुरु भएको उनको सैलुन दस वर्षमा निकै फेरिएको छ । अहिले उनी भरतपुर हाइटको सीजी ल्यान्डमार्कको सुविधा सम्पन्न बिजनेस मल सरेका छन् । भाडा मात्रै महिनाको ७० हजार रुपैयाँ बुझाउने बताउँछन् उनी । खासमा कपाल काट्ने पेसा निश्चित भेग र समुदायका मानिसले मात्रै गर्नुपर्ने मान्यता फेर्ने उद्देश्यले सैलुन व्यवसायमा हात हालेका थिए सुलभले ।
अहिले भने उनको व्यापार निकै राम्रो छ । नामसँगै दाम पनि कमाएका छन् । आफूले नभ्याएर चार जना काम गर्ने पनि राखेका छन् । तर यो यात्रा सहजै अघि बढेको भने होइन । भरतपुर महानगर–२१ पार्वतीपुरका सिग्देलको पहिलो रोजाइ अन्य युवाको भन्दा खासै फरक थिएन । त्यो हो, वैदेशिक रोजगारी । सिंगापुर सपना देखेर नेपाल छाडेका उनी मलेसियासम्म पुगे । ७/८ महिना मलेसियामै बरालिएका उनी निराश भएर घर फर्के ।
अनि कतार जाने प्रक्रिया सुरु गरे । त्यसको केही समयमा कतार पुगेका उनी दुई वर्षपछि घर आए । तर खुसीको कुरा, विदेशको मोह भने भंग भइसकेको थियो । ‘विदेशको काम र कमाइ सोचेजस्तो सजिलो कहाँ रहेछ र । दुईवर्षे कतार बसाइ सुखद भएन । फर्केपछि नारायणगढमा फेन्सी सुरु गरें,’ सुलभले सुनाए । फेन्सी पसलबाट पनि फाइदा नभएपछि अन्य काम गर्ने सोच पलायो । त्यही बेला हो उनले सैलुन पेसा सुरु गर्ने योजना बनाएको । त्यसका लागि पहिले कामबारे सिक्नु थियो । नारायणगढमा चलेका पुराना सैलुनमा करिब ६ महिना काम गरे । त्यसपछि भने आफैंले सैलुन खोले पनि चलाउन सक्ने आँट आयो ।
अनि भरतपुर चौबिसकोठीमा एउटा सानो कोठा भाडामा लिएर दुईवटा कुर्सी राखे काम सुरु गरे । ०७० साउन ६ गतेदेखि त्यही कोठाको भित्तामा ऐना अड्याएर ग्राहक कुर्न सुरु गरे सुलभ ।
‘६ महिनासम्म निकै गाह्रो भयो । मैले कपाल काट्छु भनेर मान्छेले पत्याउनै सकेनन् । खासमा सबै ग्राहकले भनेजस्तो गरेर चिटिक्क कपाल काटिदिन सीप पनि थिएन,’ सुलभले उतिबेलाका कुरा सम्झिए । तर हरेस खाएनन् । करिब पाँच वर्ष त्यही कोठामा टिके । त्यसपछि ०७५ सालमा उनले नजिकै अलि फराकिलो ठाउँमा सैलुन सारे ।
‘कपाल काट्नकै लागि चारवटा कुर्सी जोडे । थप दुई कुर्सी राखेर तालिम पनि दिन सुरु गरें,’ उनले भने । सैलुनमा कपाल काट्न र तालिम लिन आउनेको संख्या बढ्यो । अनि उनको आँट पनि बढ्यो । सहरभित्रको सहर भनेर प्रचार गरिएको भरतपुर उकालोको सीजी टावरमा उनले ०७६ साउनमा महिला र पुरुष दुवैको कपाल काट्ने गरेर सैलुन खोले । ‘मैले यो सैलुनमा खोलेको लगानी कम लाग्ने र उधारो पनि नजाने हुँदा फाइदा राम्रै होला भन्ने ठानेर हो । १० वर्ष पूरा हुँदै गर्दा यो सत्य भएको छ । मिहिनेत र लगन कम त छैन, तर सन्तुष्ट छु,’ सुलभले भने ।
सीजी टावरसहित उनले चौबिसकोठी र भरतपुर दूरसञ्चार रोडमा गरेर तीनवटा सैलुन चलाएका थिए । तर कोभिड महामारीसँगै अन्य दुइटा सैलुन बन्द गर्नुपरेको उनले बताए । खासमा त्यसले उनलाई अर्को एउटा कुरा सिकायो । सफलता र असफलता दुवैको अनुभव बटुल्न । अहिले सुलभ जस्ता कपाल काट्ने युवाहरू नारायणगढमा मात्रै नभएर अन्यत्र पनि बढेका छन् । सुलभले सिकाएकामध्ये २३ जनाले चितवनको माडी, गीतानगर, पर्सा, मुग्लिङका साथै नवलपुरको कावासोती र गैंडाकोटमा सैलुन नै खोलेका छन् । उनीहरू सबै सैलुन चलाउने परम्परा धान्नेभन्दा फरक समुदायका युवा हुन् ।
त्यतिमात्र कहाँ हो र, पछिल्लो समय सुलभकोमा काम सिकेर बिदेसिनेको संख्या पनि निकै छ । उनले हाल ४५ दिने आधारभूतदेखि ६ महिना/एक वर्षको विशिष्ट तालिम चलाउँछन् । हेरेर कपाल काट्न सिकेका, सिकेर काम सुरु गरेपछि खारिँदै गएका सुलभ स्वयम् पनि विशिष्ट तालिम लिन बेलाबेला भारतको दिल्लीसम्म पुग्छन् । काम सुरु गर्दा सुलभको कुरा काट्ने पनि टन्नै थिए । ‘काम सुरु गर्दा फलनाका छोराले कपाल काट्न सुरु गरेछ, के देख्नुपर्यो भन्ने पनि सुन्नुपर्यो,’ सुलभले भने । अहिले भने समय फेरिएको छ । अझ भनौं त्यतिबेला कुरा काट्नेको मुख थुनिदिएका छन् उनले । अझ, पछिल्लो समय त यो पेसामा आकर्षण बढेको देख्दा उनी दंग छन् । कहिल्यै कपाल नकाटेका समुदायका व्यक्ति र महिलाको पनि यो पेसाप्रति लगाब बढेको सुलभ बताउँछन् ।
सैलुन सञ्चालन गरेको दस वर्ष पुग्न लाग्दा उनलाई बेरोजगार ३० जना युवालाई निःशुल्क तालिम दिने सोच बनाए । त्यसको तयारी गरेपछि निवेदन माग गरे । ८३ जनाको आवेदन पर्यो । ‘अहिले पनि तालिमको सोधखोज हुने गरेको छ,’ सुलभले भने, ‘तालिम लिन र सीप सिक्न आउनेहरू प्रशस्तै छन् ।’ तर सीप सिकेर आफ्नै समाजमा केही गर्न खोज्नेलाई भने आफूले निःशुल्क तालिम दिने गरेको सुलभले बताए । ‘सैलुनले के कस्तो लाभ पुर्याउँछ भन्ने कुरा सुलभको संघर्ष र अहिलेको उनको जीवनशैलीले पुष्टि गरेको छ,’ चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले भने, ‘त्यसैले कुनै संकोच नराखी युवा पुस्ता काममा अघि बढ्नुपर्छ ।’
