सुलभको सैलुन संघर्ष

चितवनको भरतपुरका सुलभ सिग्देलले सैलुन सुरु गरेको दस वर्ष पुगेको अवसरमा ६ महिलासहित ३० जनालाई निःशुल्क तालिम दिएका छन् । सुलभले सिकाएकामध्ये २३ जनाले चितवनको माडी, गीतानगर, पर्सा, मुग्लिङका साथै नवलपुरको कावासोती र गैंडाकोटमा सैलुन खोलेका छन् ।

श्रावण २४, २०८०

रमेशकुमार पौडेल

चितवन — केही दिनयता चितवनको भरतपुरकी स्मारिका अधिकारी कपाल काट्ने र शृंगारसम्बन्धी तालिममा व्यस्त छिन् । अधिकारीको टोलीमा ब्युटीपार्लर सिकिरहेका ३० मध्ये ६ जना महिला छन् ।

उनीहरूलाई तालिम दिइरहेका छन् ३४ वर्षीय सुलभ सिग्देल । एक दशक भयो, सुलभले भरतपुरमा सैलुन चलाएको । अन्य युवाले पनि यही पेसा अपनाएर स्वरोजगार बनून् भन्ने आफूले चाहेको बताउँछन् सुलभ । त्यसैले आफूले सैलुन सुरु गरेको १० वर्षको अवसरमा ३० जनाका लागि निःशुल्क तालिम आयोजना गरेका हुन् ।

भरतपुर चौबिसकोठीमा दुइटा कुर्सी राखेर सुरु भएको उनको सैलुन दस वर्षमा निकै फेरिएको छ । अहिले उनी भरतपुर हाइटको सीजी ल्यान्डमार्कको सुविधा सम्पन्न बिजनेस मल सरेका छन् । भाडा मात्रै महिनाको ७० हजार रुपैयाँ बुझाउने बताउँछन् उनी । खासमा कपाल काट्ने पेसा निश्चित भेग र समुदायका मानिसले मात्रै गर्नुपर्ने मान्यता फेर्ने उद्देश्यले सैलुन व्यवसायमा हात हालेका थिए सुलभले । 

अहिले भने उनको व्यापार निकै राम्रो छ । नामसँगै दाम पनि कमाएका छन् । आफूले नभ्याएर चार जना काम गर्ने पनि राखेका छन् । तर यो यात्रा सहजै अघि बढेको भने होइन । भरतपुर महानगर–२१ पार्वतीपुरका सिग्देलको पहिलो रोजाइ अन्य युवाको भन्दा खासै फरक थिएन । त्यो हो, वैदेशिक रोजगारी । सिंगापुर सपना देखेर नेपाल छाडेका उनी मलेसियासम्म पुगे । ७/८ महिना मलेसियामै बरालिएका उनी निराश भएर घर फर्के । 

अनि कतार जाने प्रक्रिया सुरु गरे । त्यसको केही समयमा कतार पुगेका उनी दुई वर्षपछि घर आए । तर खुसीको कुरा, विदेशको मोह भने भंग भइसकेको थियो । ‘विदेशको काम र कमाइ सोचेजस्तो सजिलो कहाँ रहेछ र । दुईवर्षे कतार बसाइ सुखद भएन । फर्केपछि नारायणगढमा फेन्सी सुरु गरें,’ सुलभले सुनाए । फेन्सी पसलबाट पनि फाइदा नभएपछि अन्य काम गर्ने सोच पलायो । त्यही बेला हो उनले सैलुन पेसा सुरु गर्ने योजना बनाएको । त्यसका लागि पहिले कामबारे सिक्नु थियो । नारायणगढमा चलेका पुराना सैलुनमा करिब ६ महिना काम गरे । त्यसपछि भने आफैंले सैलुन खोले पनि चलाउन सक्ने आँट आयो । 

अनि भरतपुर चौबिसकोठीमा एउटा सानो कोठा भाडामा लिएर दुईवटा कुर्सी राखे काम सुरु गरे । ०७० साउन ६ गतेदेखि त्यही कोठाको भित्तामा ऐना अड्याएर ग्राहक कुर्न सुरु गरे सुलभ । 

‘६ महिनासम्म निकै गाह्रो भयो । मैले कपाल काट्छु भनेर मान्छेले पत्याउनै सकेनन् । खासमा सबै ग्राहकले भनेजस्तो गरेर चिटिक्क कपाल काटिदिन सीप पनि थिएन,’ सुलभले उतिबेलाका कुरा सम्झिए । तर हरेस खाएनन् । करिब पाँच वर्ष त्यही कोठामा टिके । त्यसपछि ०७५ सालमा उनले नजिकै अलि फराकिलो ठाउँमा सैलुन सारे । 

‘कपाल काट्नकै लागि चारवटा कुर्सी जोडे । थप दुई कुर्सी राखेर तालिम पनि दिन सुरु गरें,’ उनले भने । सैलुनमा कपाल काट्न र तालिम लिन आउनेको संख्या बढ्यो । अनि उनको आँट पनि बढ्यो । सहरभित्रको सहर भनेर प्रचार गरिएको भरतपुर उकालोको सीजी टावरमा उनले ०७६ साउनमा महिला र पुरुष दुवैको कपाल काट्ने गरेर सैलुन खोले । ‘मैले यो सैलुनमा खोलेको लगानी कम लाग्ने र उधारो पनि नजाने हुँदा फाइदा राम्रै होला भन्ने ठानेर हो । १० वर्ष पूरा हुँदै गर्दा यो सत्य भएको छ । मिहिनेत र लगन कम त छैन, तर सन्तुष्ट छु,’ सुलभले भने । 

सीजी टावरसहित उनले चौबिसकोठी र भरतपुर दूरसञ्चार रोडमा गरेर तीनवटा सैलुन चलाएका थिए । तर कोभिड महामारीसँगै अन्य दुइटा सैलुन बन्द गर्नुपरेको उनले बताए । खासमा त्यसले उनलाई अर्को एउटा कुरा सिकायो । सफलता र असफलता दुवैको अनुभव बटुल्न । अहिले सुलभ जस्ता कपाल काट्ने युवाहरू नारायणगढमा मात्रै नभएर अन्यत्र पनि बढेका छन् । सुलभले सिकाएकामध्ये २३ जनाले चितवनको माडी, गीतानगर, पर्सा, मुग्लिङका साथै नवलपुरको कावासोती र गैंडाकोटमा सैलुन नै खोलेका छन् । उनीहरू सबै सैलुन चलाउने परम्परा धान्नेभन्दा फरक समुदायका युवा हुन् । 

त्यतिमात्र कहाँ हो र, पछिल्लो समय सुलभकोमा काम सिकेर बिदेसिनेको संख्या पनि निकै छ । उनले हाल ४५ दिने आधारभूतदेखि ६ महिना/एक वर्षको विशिष्ट तालिम चलाउँछन् । हेरेर कपाल काट्न सिकेका, सिकेर काम सुरु गरेपछि खारिँदै गएका सुलभ स्वयम् पनि विशिष्ट तालिम लिन बेलाबेला भारतको दिल्लीसम्म पुग्छन् । काम सुरु गर्दा सुलभको कुरा काट्ने पनि टन्नै थिए । ‘काम सुरु गर्दा फलनाका छोराले कपाल काट्न सुरु गरेछ, के देख्नुपर्‍यो भन्ने पनि सुन्नुपर्‍यो,’ सुलभले भने । अहिले भने समय फेरिएको छ । अझ भनौं त्यतिबेला कुरा काट्नेको मुख थुनिदिएका छन् उनले । अझ, पछिल्लो समय त यो पेसामा आकर्षण बढेको देख्दा उनी दंग छन् । कहिल्यै कपाल नकाटेका समुदायका व्यक्ति र महिलाको पनि यो पेसाप्रति लगाब बढेको सुलभ बताउँछन् । 

सैलुन सञ्चालन गरेको दस वर्ष पुग्न लाग्दा उनलाई बेरोजगार ३० जना युवालाई निःशुल्क तालिम दिने सोच बनाए । त्यसको तयारी गरेपछि निवेदन माग गरे । ८३ जनाको आवेदन पर्‍यो । ‘अहिले पनि तालिमको सोधखोज हुने गरेको छ,’ सुलभले भने, ‘तालिम लिन र सीप सिक्न आउनेहरू प्रशस्तै छन् ।’ तर सीप सिकेर आफ्नै समाजमा केही गर्न खोज्नेलाई भने आफूले निःशुल्क तालिम दिने गरेको सुलभले बताए । ‘सैलुनले के कस्तो लाभ पुर्‍याउँछ भन्ने कुरा सुलभको संघर्ष र अहिलेको उनको जीवनशैलीले पुष्टि गरेको छ,’ चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले भने, ‘त्यसैले कुनै संकोच नराखी युवा पुस्ता काममा अघि बढ्नुपर्छ ।’ 

युवा ग्यालरी

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully