सुर्खेत — घना जंगलको छेउमा सानो बस्ती । छेउमै छ प्रसिद्ध काँक्रेविहार मन्दिर । त्यसको आडैमा छ दाह्रीभाइको चिया पसल । ठूलो बोर्डमा ‘चिया गफमै देश बनाउने कि देशमा चिया खाने’ स्लोगन लेखिएको छ ।
यही ‘स्लोगन’ ले तान्छ काँक्रेविहार पुग्ने जोकोहीलाई चिया पसलमा ।
पसलका सञ्चालक हुन्, वीरेन्द्रनगर–१० का २५ वर्षीय सुरज क्षेत्री । मुखै छोपिने गरी पालेको दाह्रीले उनलाई परिपक्व देखाउँछ नै, दाह्रीभाइको चिया पसलले सबैको मन पनि तानेको छ । स्नातक गरिरहेका सुरज सुर्खेतमा बढी चिया बेच्ने व्यापारीमा गनिन्छन् ।
उनले चिया पसल सुरु गर्ने योजना बनाएको २०७५ सालमा हो । नाम के राख्ने होला भन्ने सोचमा थिए । मनमा फ्याट्ट आइहाल्यो– ‘दाह्रीभाइ’ । त्यो बेला उनका दाह्री खासै थिएनन् । तर चिया पसलको नाम दाह्रीभाइ राख्ने सोचपछि दाह्री काट्न छाडे । ‘अहिले सुर्खेत आउने जोकोहीले पनि मलाई दाह्रीभाइकै रूपमा चिन्छन्,’ उनले भने, ‘मड्कामा चिया बिक्री गर्न थालेपछि काँक्रेविहार मन्दिर आउने धेरैजसोले यहाँ चिया पियर जानुहुन्छ ।’
दस हजार रुपैयाँबाट सुरु गरेको पसलमा उनले हाल मासिक डेढ लाख हाराहारीको चिया बेच्छन् । सुरुमा उनले भक्तपुरबाट ल्याएका ३० वटा मट्काबाट व्यवसाय सुरु गरेका हुन् । हाल मासिक ४ हजार मट्काका गिलास आउँछन् ।
चिया खाइसकेपछि मट्कामा नाम लेखेर सजाइदिने भएकाले पनि युवापुस्ताले आफ्नो चिया पसल मन पराएको उनको भनाइ छ । ‘सिसाको गिलासमा भन्दा मट्कामा स्वाद पनि फरक हुन्छ,’ उनले भने, ‘त्यसैले एउटा चियाको ५० रुपैयाँ तिर्दा पनि उहाँहरू सन्तुष्ट हुनुहुन्छ ।’ उनले चिया पसल सुरु गरेयता झन्डै २१ लाख रुपैयाँको करिब ९ लाख मड्का नेपालगन्जबाट ल्याएको उनको भनाइ छ । अहिले पनि दैनिक एक सय जनाले आफ्नो पसलमा चिया खाने उनी बताउँछन् ।
त्यस्तै, वीरेन्द्रनगरस्थित कटकुवाचोकमा २५ वर्षीय दीपक बस्नेतले पनि ‘द टि प्वाइन्ट’ स्थापना गरेका छन् । बिहान ६ बजेबाट खुल्ने चिया पसल बेलुका ९ बजेसम्म चल्छ । धेरैजसो विद्यार्थीहरूको चिया पिउने अड्डा बनेको प्वाइन्टमा १५ रुपैयाँदेखि ५० रुपैयाँसम्मको चिया पाउँछ । सानै उमेरमा बुवाआमा गुमाएका दीपकले दिदीभिनाजुबाट सापटी र इन्स्योरेन्स कम्पनीबाट लोन लिएर ‘टि प्वाइन्ट’ सुरु गरेका हुन् ।
‘सबैले चिया बेचेर कति बचाउँछस् भनेर सोध्छन् तर मेरो उत्तर सुनेपछि ओहो भन्छन्,’ उनले भने, ‘चियाको बाफमा मेलै धेरै ठूलो सपना देखेको छु ।’ मासिक डेढ लाख रुपैयाँसम्मको चिया बिक्री गर्दै आइरहेको उनले बताए । सात हजार कोठा भाडासहित सबै खर्च जोडेर ६० हजार पुग्छ । आफूले एक्लै नभ्याउने भएपछि उनले खानबस्न दिएर एक जना सहयोगी राखेका छन् । उनलाई १० हजार तलब दिन्छन् ।
होटल म्यानेजमेन्ट पढेका उनले जागिर नपाएपछि आफैं पसल सुरु गरेका हुन् । चार लाख रुपैयाँ लगानी गरेर खोलेको उनको पलसमा अहिले झन्डै सात लाख रुपैयाँको सामान थपिएको छ । ‘बजार एरियाबाट अलि पर भएकाले मानिसहरू फ्रेस हुन पनि मेरोमा आउँछन्,’ उनले भने, ‘अब वीरेन्द्रनगरमै यसको दुइटा जति शाखा खोल्ने योजना छ ।’
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षुमण कँडेलले सबै युवाहरू स–साना रोजगारमा लागे विकृति, कुलत र बेरोजगारले निम्याउने घटना कम हुँदै जाने बताए । ‘सरकारले पनि युवालाई आफ्नै देशमा काम गर्ने वातावरण बनाउन जरुरी छ,’ उनले भने, ‘आफ्ना देशका युवालाई बेरोजगारको ट्याग दिएर खाडीमा पठाउनुभन्दा यही केही गर्ने योजना ल्याउन जरुरी छ ।’
