उद्यमी कृष्णराज तिमिल्सिना थ्रेड गार्मेन्टमार्फत उत्पादित कपडा टोकियो, सांघाई,सिड्नीलगायत विश्वका मुख्य सहरमा ‘नेपालमा बनेको’ ट्याग राखेर बेच्ने तयारीमा छन् । २० लाख लगानीबाट सुरु भएको थ्रेडमा हालसम्म उनले १५ करोडभन्दा बढी लगानी गरिसकेका छन् ।
काठमाडौँ — रामेछापका कृष्णराज तिमिल्सिना ०६१ सालमा उच्च शिक्षाका लागि काठमाडौं छिरे । आफैंले कमाएर पढ्नुपर्ने बाध्यताका कारण उनले खिचापोखरीस्थित कपडा पसलमा काम गर्दै कक्षा १२ सकाए । त्यसपछि उनलाई आफ्नै कपडा पसल खोल्ने रहर पलायो । विडम्बना, भर्खरका ठिटोलाई कसैले पनि ऋण पत्याएनन् । ऋण नपत्याएकै कारण उनी रोजगारीका लागि मलेसिया भासिए ।
मलेसियामा दुई वर्ष पन्जा फ्याक्ट्रीमा कन्टेनरमा लोड गर्ने काम गरेपछि उनी नेपाल फर्किए । र, जसोतसो मलेसियामा जोहो गरेको ५ लाख रुपैयाँ र आफन्तलाई ऋण मागेर १६ लाख रुपैयाँ खर्चेर न्युरोडमा कपडा पसल सुरु गरे । रिटेल पसल सुरु गरेका तिमिल्सिनाले २ वर्षभित्रमा ७ वटासम्म पसल खोले । ‘आफैंलाई धेरै कपडा चाहिने भएपछि चीन र भारततिर कपडा लिन जान थाले,’ उनले भने, ‘आफ्नो रिटेलसँगै होलसेलमार्फत अन्य पसललाई पनि कपडा बेच्न सुरु गरे, त्यसपछि रिटेल बन्द गर्दै होलसेलमा मात्रै जोड दिएँ ।’ यहीबीचमा उनी कर्मचारीलाई पसल जिम्मा लगाएर चीन र भारतमा कपडाको बजारबारे बुझ्न थाले । ‘आफैं कारखाना गएर कपडा हेरी नेपाल पठाउँथे,’ उनले भने, ‘त्यहाँका कारखाना देख्दा नेपालमा पनि गर्नुपर्छ भन्ने लाग्यो ।’
झन्डै ७ वर्ष उनले बंगलादेश, चीन र भारतबाट तयारी कपडा आयात गरेर बिक्री गरे । सोही अवधिमा कपडाको गुणस्तर, बजार र फेब्रिक उत्पादनबारे पनि प्रशस्त अध्ययन अनुसन्धान गरे । यससम्बन्धी ज्ञान बटुले । रिटेल र होलसेल सुखको व्यापार छोडेर भारत र चीनकै कपडासँग प्रतिस्पर्धा गर्ने उद्देश्यले आफ्नै कारखाना खोलेको उनले सुनाए । अन्य मान्छेलाई रोजगारी दिन सके मात्र पनि देशका लागि केही हुन्छ भन्ने सोचकै कारण उनले सुरुमा घरमै कारखाना राखेर कपडा उत्पादन सुरु गरे । पहिल्यैदेखि आफैंले केही गर्नुपर्छ भन्ने सोच भएका तिमिल्सिनाले कपडाको कच्चापदार्थदेखि बजारसम्मको ज्ञान बटुलिसकेपछि ०७६ मा आफ्नै घरबाट कारखाना सुरु गरेका हुन् ।
सुरुमा उनले आफ्नै घरमा ७ वटा मेसिन १० जना कामदार राखी कपडा उत्पादन थालेका थिए । पसलमा काम गर्दादेखि नै आफ्नै कपडा पसल खोल्ने योजना बनाएका उनको त्यही योजना अहिले ‘थ्रेड गार्मेन्ट’मा विस्तारित भएको छ । पैसा कमाउनका लागि बिदेसिएका उनले अहिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ३ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी दिइरहेका छन् । सुरुवातमा ‘थ्रेड’ ब्रान्डबाट तयारी पोसाक बनाएर बेच्न थालेका तिमिल्सिनाले अहिले १० वटा विभिन्न ब्रान्डमा तयारी पोसाक बिक्री गरिरहेका छन् । केटी जिन्स, कोफी, लिमिटेड एडिसन, अर्बन आउटफिटर्स, डीआरजे, सीएम, जेन्टलम्यान, राइज स्पोर्ट्सलगायत १० ब्रान्डमा तयारी पोसाक उत्पादन र बिक्री गर्दै आएका छन् । थ्रेडसन्तर्गत लङ कोट, सर्ट, प्रिन्टेड टिसर्ट, कटन सर्ट, ब्लेजरलगायत उत्पादन हुन्छ ।
‘नेपालमा बनाएर विदेशमा बनेको भन्दै बेच्ने गलत प्रवृत्ति हटाउनुपर्छ,’ उनले भने, ‘त्यसैले मेरा हरेक कपडामा ‘नेपालमा बनेको’ भनेर लेखिएको हुन्छ, स्वदेशमा मात्र नभएर विदेशमा पनि नेपाली ब्रान्ड चिनाउने रहर छ ।’ सात वर्षअघि सुरु गरेको ‘थ्रेड गार्मेन्ट’ अहिले ललितपुरको इमाडोलमा पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रत्यक्ष रूपमा १ हजार र अप्रत्यक्ष रूपमा २ हजारलाई रोजगारी दिइरहेको उनको भनाइ छ । ललितपुरसँगै इटहरीमा समेत कारखाना खोलेको एक वर्ष भइसकेको उनले जानकारी दिए । ‘अब हरेक प्रदेशमा एउटा गार्मेन्ट खोल्ने योजना छ, जुन प्रदेशमा जस्तो माग हुन्छ, त्यस्तै कपडा उत्पादन गरेर बेच्ने हो,’ उनले भने, ‘कारखाना नै खोलिसकेपछि आफ्नै आउटलेट खोल्नुपर्छ भन्ने हुँदैन । हामी सडकमा बेच्नेदेखि मलसम्मका लागि लुगा बनाउँछौं ।’
आफ्नै आउटलेट खोल्न थालेपछि कपडा पनि आफ्नैमा सीमित रहने भन्दै उनले होलसेलमार्फत देशभर सामान पुर्याउने योजना रहेको उनले बताए । ‘न्युरोडमा थ्रेडको आफ्नै होलसेल छ, साथै अन्य होलसेलमा पनि हाम्रो सामान पाइन्छ,’ उनले भने, ‘होलसेलमार्फत नै देशभर आफ्नो कपडा पुर्याउने हो ।’ स्कुल, पुलिस, आर्मी, सरकारी कर्मचारी, आफ्नै ब्रान्ड र होलसेल पसलले भनेअनुसारका कपडासमेत उत्पादन गरिरहेको तिमिल्सिनाले जनाए । दिनको २ हजारदेखि ५ हजार पिस तयारी पोसाक उत्पादन गर्ने क्षमता गार्मेन्टको छ । गार्मेन्टले आफैं विभिन्न डिजाइन तयार गरी लेडिज तथा जेन्सका पोसाकसमेत उत्पादन गर्दै आएको छ । थ्रेडले जिन्स पाइन्ट भने बनाउँदैन ।
अहिले ८० प्रतिशत कच्चापदार्थ आयातित र २५ प्रतिशत स्वदेशी प्रयोग गरिरहेको तिमिल्सिनाको भनाइ छ । सुरुवातमा सबै कच्चा पदार्थ आयात गर्नुपरेको पनि उनले सम्झिए । ‘चीन र भारतबाट आयात गरेर नेपालमा गर्ने व्यवसाय सुखकै थियो । व्यापार थियो । चीन र भारतमा जाँदा गार्मेन्टबाट हजारौंले रोजगार पाएको देख्थें,’ तिमिल्सिनाले भने, ‘नेपाल पनि कुनै जमानामा तयारी कपडामा राम्रै थियो । त्यसैले यसलाई मैले ब्युँताउन खोजेको हुँ ।’ १५/२० वर्ष लाग्ला । तर विदेशमा पनि ‘मेड इन नेपाल’ लेखिएका कपडा बेच्ने योजना छ । विश्वका टोकियो, सांघाई, सिड्नीलगायत मुख्य सहरमा ‘नेपालमा बनेको’ ट्याग राखेर बेच्ने गरी आफूले काम गरिरहेको उनको भनाइ छ ।
थ्रेडमा अहिलेसम्म १५ करोडभन्दा बढी लगानी पुगिसकेको तिमिल्सिना बताउँछन् । ‘कपडाका लागि बर्सेनि अर्बौं रुपैयाँ बाहिरिन्छ, साथै हाम्रो श्रमशक्ति पनि बाहिरिइरहेको छ,’ उनले भने, ‘त्यसैले थोरैलाई भए पनि देशमै राख्ने उद्देश्य हो ।’ साइँलो दाइ जयराममार्फत मलेसियामा थ्रेडको सामग्री गार्मेन्ट सुरु गरेदेखि नै बेचिरहेको उनको भनाइ छ । विदेशबाट कपडाको अर्डर आए पनि नेपालमा बनेको ब्रान्ड लेखेर बेच्न सकिए मात्र बेच्ने उनको अडान छ । ‘विदेशीको डिजाइनमा कपडा तयार गरेर बेच्न तयार छौं, तर नेपालमै बनेको ट्याग झुन्ड्याएर मात्र बेच्छौं,’ उनले भने, ‘यसबाट पनि नेपालमा बनेको ब्रान्ड चिनाउन सक्छौं ।’
जापानमा आफ्नै आउटलेट खोल्ने अन्तिम चरणमा पुगेको उनको भनाइ छ । विदेशमै रहेका नेपालीसँग मिलेर अन्य ठाउँमा पनि थ्रेडकै आउटलेट खोल्ने उनले बताए । ‘जापानमा आउटलेटको काम अन्तिम चरणमा पुगिसक्यो, अब ५/६ महिनामा सुरु हुन्छ,’ उनले भने, ‘कपडाको माग बढ्यो भने कारखाना नै खोल्न पनि सकिन्छ । त्यहाँ पनि नेपालीसँगै अन्य नागरिकलाई लक्षित गरेर बेच्ने हो ।’ अहिले वार्षिक २५ देखि ३० करोडको कारोबार हुने गरेको उनले सुनाए । मलेसियामा मात्रै २ करोडसम्मको सामान निर्यात हुने गरेको छ । गार्मेन्ट सञ्चालकका लागि भने कोभिड महामारी निकै उपयोगी भएको उनको अनुभव छ ।
‘कोभिड महामारीमा हामीसँग भएका सबै समान बिक्री भए, कपडा उत्पादन गर्न भ्याइनभ्याई भयो,’ उनले भने, ‘कोभिडको समय त हाम्रा लागि गजबै भएको । भारतबाट आउन थालेपछि बिस्तारै व्यापार कम हुँदै गयो । चीन पूरा खुलिसक्यो, गार्मेन्टको हाम्रो माग घट्दै छ ।’
