मोरङ — सूचना प्रविधिको क्षेत्रमा सक्रिय मेगाटेकले नेपालमै पहिलो पटक च्याचिस नम्बरसहितको विद्युतीय रिक्सा निर्माण गरेको छ । मेगाटेक प्रालिले सामुराई ब्रान्डका विद्युतीय रिक्सा शनिबार बजारमा ल्याएको हो ।
सामुराई प्लस, सुपर प्लस, सामुराई भेजी ओपन, सामुराई भेजी क्लोज, सामुराई फुडिज र सामुराई पावर लोडर नाम दिइएका मोडलको बिक्री थालिएको मेगाटेकका प्रबन्ध निर्देशक सुजन थापाले बताए ।
सामुराई प्लस र सुपर प्लस भने यात्रुवाहक विद्युतीय रिक्सा हुन् । अरू मोडललाई दैनिक रूपमा तरकारी बेच्न, बेकरी क्याफेका रूपमा प्रयोग गर्न, फास्टफुड बिक्रीका लागि उपयोगी बनाइएको कम्पनीका बजार व्यवस्थापक विकास उप्रेतीले जानकारी दिए । चिया, नास्ता पसल, तरकारी पसल सञ्चालन गर्ने गरी तयार पारिएको रिक्साले स्वरोजगारीका लागि उपयोगी भएको उनको भनाइ थियो ।
एसियन ब्याट्री उत्पादन गर्दै आएका मेगाटेकले यसअघि अन्य विद्युतीय रिक्सा उत्पादक कम्पनीलाई ब्याट्री आपूर्ति गर्दै आएको थियो । रिक्सा बिग्रिँदा विद्युतीय रिक्सा उत्पादक कम्पनीले आफ्नो कमजोरी लुकाई ब्याट्रीमा नै समस्या भएको भनेर हैरान पार्दै आएकाले आफैंले उत्पादन सुरु गरेको प्रबन्ध निर्देशक थापाले बताए ।
उनले बजारमा उपलब्ध रहेका विद्युतीय रिक्सामा जस्तो रंग नउड्ने र उच्च गुणस्तरको फलाम प्रयोग गरेर निर्माण गरिएको बताए । चारवटा ब्याट्री लाग्ने रिक्साले एक पटकको चार्जमा १५० किलोमिटर गुड्ने क्षमता रहेकोथापाले बताए ।
