काठमाडौँ — लोकप्रिय ब्यान्ड नेपथ्यले जापानका तीन सहरमा कन्सर्ट गर्ने भएको छ । टोकियो, फुकुओका र ओसाका सहरमा कन्सर्ट गर्नका लागि १४ जनाको टोली अगस्ट पहिलो साता जापान जाने भएको हो ।
नेपथ्यले टोकियोस्थित तोयोसु पिटमा अगस्ट ८, फुकुओकास्थित सिभिल हलमा अगस्ट १२ र ओसाकास्थित नाम्बाह्याचमा अगस्ट १७ मा प्रस्तुति दिने जनाइएको छ । जापानको कन्सर्टका लागि टिकट बुकिङ खुला भइसकेको जनाइएको छ ।
जापानको कार्यक्रममा गायक अमृत गुरुङलाई ध्रुव लामाले ड्रमसेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, नीरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाउनेछन् ।
जापानमा पहिलो पटक १९९८ मा प्रस्तुति दिएको नेपथ्यले पछिल्लो पटक २०१८ मा कार्यक्रम गरेको थियो । गायक गुरुङले जापानसँग नेपथ्यका धेरै सम्झनाहरू जोडिएको बताउँदै पुनः कार्यक्रमका लागि जान पाउँदा खुसी लागेको बताएका छन् ।
यसैबीच, क्यानडाको टोरन्टोमा अक्टोबर ८ मा हुने नेपथ्यको कन्सर्टका लागि सबै टिकट बिक्री भइसकेको जनाइएको छ । बुकिङ खुला गरेको १० घण्टामा नै अनलाइनबाट सबै पाँच सय टिकट बिक्री भएको हो ।
